गत १० जनवरीका दिन क्लासिक कला दीर्घामा एउटा गजबको सामूहिक कला प्रदर्शनी भयो । यो कला प्रदर्शनी आगामी फेब्रुअरीको २० सम्म रहने छ । क्लासिक कला–दीर्घा आफैंमा चाहिँ बढो शान्तभावमा देखिन्छ । अनि यो ग्यालरी अलिकता सुनसान, बजारको हुलहल्लादेखि अलि बाहिर अवस्थित छ । यसो हुँदा पनि शान्त भावले कलाको अवलोकन गर्न मन पराउनेको जमात यहाँ बढी नै देखिन्छ । यो कला प्रदर्शनीमा १४ जना कलाकारहरूले भाग लिइरहेका छन् । एक–दुई अलि पाका होलान् । बाँकी सबैजसो कलाकारहरू नवयुवा नै छन् । कलामा लामो समयसम्म लागिपर्न बाँकी रहेका, अनि जीवनका कैयौं भोगाइहरूलाई झेल्न बाँकी नै रहेका यी कलाकारहरू भए पनि कला चाहिँ गहिरो अनुभवका साथ देखा परेको छ । कलाहरू अलि अनौठो परिकल्पनामा दौडन पुगेका छन् । यसर्थ पनि यस्ता कलाहरू हेरिरहन भावकहरू रमाइलो नै मानिरहेका देखिन्छन् ।

यी सबैजसो कलाकारहरू रियालिस्टिक नै हुन् । यी सबै आकारमै काम गर्ने कलाकारहरू हुन् । अझ भन्नै पर्दा चाहिँ सुपर रियालिस्टिक वा फोटो रियालिज्म एप्रोचमा काम गर्दै गरेका कलाकारहरू नै हुन् । हेर्दा दुरुस्त, फोटो जस्ता पनि देखिने यस्ता चित्रहरू विशेष गरेर आम मान्छेका दिनचर्यालाई प्रत्यक्ष रूपमा सङ्गाल्ने गर्दछन् । विश्वमै पल्लवित भइरहेको यो अहिलेको सर्वनवीन कला शैली पनि हो । जहाँ कलामा थाहा पाएका–नपाएका आकारहरू नै स्पष्ट देखा पर्दछन् । तापनि यो कलामा आधुनिक फर्मका यथेष्ट लक्षणहरू परिलक्षित हुने गर्दछन् । आज विश्वभरि नै देखा परिरहेको यस्तो कलामा भाव–अभिव्यक्ति मात्र देखिँदैन । अन्य थुप्रै कुराहरू मिसिएर देखा पर्ने यसको स्वभाव हुन्छ । स्वभावतः यी कलाकारहरूका कलामा भावना र अवधारणा पनि सँगै गाँसिएर प्रस्तुत भएको देखिन्छ ।

आजका कलाकारहरूमा मान्छे भएको नाताले भाव आउनु त स्वाभाविक नै हो । अहिले चाहिँ यसैमा आफूलाई मनमा लागेको कुराहरू भन्न यस्तै–यस्तै कलाहरूलाई माध्यम बनाउने प्रचलन पनि छ । कलाकारहरू कतै दुखेसो पोख्छन् । कतै असन्तुष्टिहरू अनि कतै खुसीहरू पनि साटासाट गर्ने गर्दछन् । अर्थात् यस्तो रमाइलो वातावरण पनि यही कलाभित्रै रुमलिएर बसेका हुन्छन् । अझ रमाइलो कुरा त यस्ता कलामा अनुभवलाई बढी मात्रामा सेयर गरिरहेका हुन्छन् । यसलाई हिजोआजको कलाको भाषामा कन्सेप्चुअल आर्ट भन्ने प्रचलन छ । यस्ता कलामा वर्तमान अवस्थालाई समेत समेटिने हुँदा यसलाई कन्टेक्स्चुअल कला भन्ने पनि चलन छ ।

आजको बेलामा कलामा कन्सेप्टको कत्ति महत्त्व छ भन्ने कुरा यी कलाकारहरूले राम्ररी बुझेका छन् । आफ्नो विचार पनि पोख्नु अनि सामाजिक घटनाप्रति आफू पनि जिम्मेवार हुनु जस्ता अभिलक्षण देखिने गर्दछ । यस्तै–यस्तै आजको अवस्थालाई मनन गर्नु अनि प्रतिक्रिया जनाउनुमा अग्रसर भएको पनि देखिन्छ । यी आदि–इत्यादि समसामयिक सन्दर्भलाई बटुल्ने स्वभाव हुँदा, बटुल्दै गर्दा पनि यस्ता कलाहरूलाई हिजोआज समसामयिक कला भन्ने प्रचलन पनि छ । यसकारण पनि यी कलाकारहरू आफ्ना प्रतिक्रियात्मक विचारलाई आफ्ना कलामा कतै–न–कतै घुसाएकै देखिन्छ । कलाहरू साधारण देखिन्छन् । तथापि अलि गहिरिएर हेर्दा भने वर्तमान अवस्थालाई चोटिलो प्रहार पनि गरिरहेका हुन्छन् । यही नै आजको कलाको सौन्दर्यता पनि हो ।

यसकारण पनि आजका कलाकारहरू आइडियाको कुरा गर्दछन् । कलाकारहरू थिममा काम गर्दछन् । सिरिजमा काम गर्दछन् । अनि प्रक्रियामा आबद्ध हुनु यी कलाकारहरूको खास विशेषता रहने गर्दछ । आम मान्छेसँग नजिक हुनु आजको कलाको लक्षण हो । यसर्थ पनि आफ्ना सोच–विचारलाई आजको अवस्थासँग द्वन्द्व गराउन रुचाउँछन् । अनि आजका मान्छेले नजिकबाट प्रयोग ल्याइरहेका वस्तुहरूलाई कलामा समावेश गर्न बढी रुचाउने गर्दछन् । आफ्नै परम्परासँग जोडिन अलिकता पुराना कुराहरू, पेसा र व्यवहारहरू, दैनिक अनि सदियौंदेखि चलिआएको संस्कृति र यसको अवयवहरू नै कलाको मुख्य पात्रका रूपमा उभिएका देखिन्छन् । यसो हुँदा पनि यी कलाहरूमा नेपालीपनको सुगन्ध यथेष्ट मात्रामा महसूस हुने गर्दछ । स्वभावतः कलाहरू बोधगम्य हुन्छन् । राम्रा र सरल हुने गर्दछन् । अनि झट्ट हेर्दा पनि बुझिहाल्ने खालका देखिन्छन् । कलामा मिहिनेत देखिन्छ । अनि कलामा हुनुपर्ने कला–तत्वहरू यथेष्ट रूपमा समावेश भएको देखिन्छ । यसर्थ भावकहरू आउनासाथ आहा नभनी सुखै छैन ।

सबैभन्दा महत्त्वको कुरा चाहिँ आजका नवयुवा कलाकारहरू रङ र रेखासँग कसरी खेल्दैछन् । अनि कलालाई कुन धारमा लिएर जाँदैछन् । यसको सानो तस्वीर यो कला प्रदर्शनीमा देख्न सकिने छ । नेपालमा देखा परेका अलि पहिलेका आधुनिक कलाहरूका स्वरूपमा यस्तो खाले स्वभाव देखिँदैन थियो । विशेष गरेर सन् २००० को उत्तरकालमा आधुनिक कलाको उत्तरवर्ती छलाङ्गसँगै उत्तरआधुनिक कलाको प्रवेश भएपछि कलामा यस्तै–यस्तै अत्याधुनिक प्रवृत्तिले पनि प्रवेश पाएको हो । आजको समसामयिक कलामा सोच–विचार र प्रस्तुतिमा निकै फरकपना देखा परेको हो । हुन त त्यसै पनि सन् २००० को उत्तरार्धमा देखा परेका कलाकारहरू आकार–प्रधान नै हुने गरेका छन् । अनि यी कामहरू गर्न र यसैबाट आ–आफ्ना भावनाहरूलाई अभिव्यक्त गर्न थालेको देखिन्छ । यहाँ नेपालमा सन् सत्तरी–अस्सीतिर देखा परेको अमूर्ततामा अहिलेका कलाकारहरूलाई त्यस्तो विघ्न चासो रहेको देखिँदैन ।

अहिले प्रदर्शनीमा देखा परेका सबैजसो कलाहरू अत्याधुनिक शैलीमा देखा पर्दा पनि आजका नवयुवा कलाहरू अनुशासनबद्ध देखा परेका छन् । अनुशासन अनि ध्यान कलामा नभई नहुने तत्व हो । जुन यहाँ यथेष्ट मात्रामा देखिन्छ । यो कलाको सबल पक्ष त हुँदै हो । क्युरेटर अनि कला ग्यालरीको पनि सबल पक्ष हो । किनकि आज पनि कैयौं कला ग्यालरीहरूमा कलामा भइरहेका विकृतिलाई पनि पस्केर होहल्ला गर्ने प्रचलन छ । क्लासिक ग्यालरी यो मानेमा अलग हुनु पनि यसको राम्रो पक्ष हो । यो कला प्रदर्शनीमा दिपमाला महर्जन, सुजन वीर वज्राचार्य, शर्मिला देवी तामाङ, रश्मी अमात्य, सरिता डंगोल, अञ्जली तामाङ, तारा तामाङ, नाट्सुरी, कुन्तीश्री, कृष्णा, रुपक, सोफिया महर्जन, सुदिक्षा डंगोल, योङ लिङ योन आदिका कामलाई अवलोकन गर्न सकिन्छ ।

क्लासिक आर्ट ग्यालरी आफैं चाहिँ
क्लासिक कला दीर्घाका निर्देशक, क्युरेटर आदि सबै सरिता डंगोल नै हुन् । यो ग्यालरीको खास विशेषता चाहिँ यहाँ रङ, क्यानभास आदि पनि उपलब्ध छन् । यति मात्र होइन, यहाँ कलाका पुस्तकहरू पनि राखिएका छन् । कलाका रङ र रेखाहरू मात्र होइन, यसैका बारेमा लेखिएका अक्षरहरू पनि सँगसँगै हिँड्नुपर्छ भन्ने उनको बलियो धारणा यो ग्यालरीसँग जोडिनु नै यसको सबैभन्दा सबल पक्ष हो । यो नेपालमा कतै देखिँदैन । यो ग्यालरीको प्राथमिकतामा यस्तै नवयुवा कलाकारहरू रहँदा पनि यस्ता धेरै कलाकारले एक प्रकारको एक्सपोजर पनि पाएको देखिन्छ । अर्को कुरा, उनले नवयुवा कलाकारलाई विशेष रूपमा प्राथमिकतामा राखी नवीन धारमा बगिरहेका कलाहरूलाई ठाउँ दिँदा पनि यो कला ग्यालरी अन्यभन्दा नितान्त पृथक रूपमा देखा पर्दछ । नेपालका कुनै पनि कला ग्यालरीमा यसरी कलाका पुस्तकहरू राख्ने चलन छैन । यहाँ कलाका पुस्तकहरू किन्न पनि पाइन्छ ।

सरिताको यो सोचले युवा वा नवयुवा कलाकारमा कलामा अध्ययन हुनुपर्छ भन्ने गहिरो सन्देश पनि प्रवाह भएको देखिन्छ । कुनै पनि कलाकारलाई, कलाप्रेमीलाई आजको नेपाली कलाबारे जान्न–बुझ्न परे यो ग्यालरी उपयुक्त ठाउँ बनेको देखिन्छ । उनी आफैं पनि थुप्रै केटाकेटीहरूलाई कला बनाउन सिकाउँछन् । अनि कलेज–क्याम्पसहरूमा पनि कलाकारका रूपमा सम्पर्कमा रहँदा विशेष गरेर वास्तुकलासँग नजिक भएका शैक्षिक संस्थाहरूमा ललितकलालाई पुर्याउने काम पनि उनी गर्दैछन् । यसकारण पनि कलाकारकै रूपमा पनि उनी अन्य कलाकारभन्दा पृथक रूपमा देखिन्छिन् ।

 

अब अलिकता कलाबारे


सुजन वीर वज्राचार्यका सबैभन्दा बढी चित्रहरू यहाँ प्रदर्शनमा छन् । सुजन रियालिस्टिक फर्ममा सजिलो गरी खेल्न सक्ने कलाकार त हुँदै हुन् । उनका कलाका मूल पात्रहरू (गेडागुडी, योमरी, बीउ–विजन आदि) ले उनका चित्रलाई अझ रोचक बनाएको देखिन्छ । यी पात्रहरू देवी–देवतासँग मिलेर सगोलमा प्रस्तुत भएका देखिन्छन् । जस्तो कि उनका चित्रपटको एउटा कुनामा अत्याधुनिक फर्ममा मोटिफहरू बसिरहँदा अर्को कुनामा भने परम्परागत देवी–देवताहरू साक्षात् रूपमा उदाएको पनि देखिन्छ । अलिकता आधुनिक अनि थोरै परम्परागत वातावरण उनका कलामा झल्कँदा उनका कलामा अलग प्रकारको स्वादलाई पनि चाख्न सकिन्छ । साक्षात् देव–देवी देखिँदादेखिँदै पनि कल्पना स्वयं चाहिँ मनमा बसे जस्तो पारामा उदाउनु पनि उनको पृथक विशेषता हो ।

उनको कला स्वयंमा पनि कतै आफू एक्लै यथार्थ हुँदै गर्दा पनि अमूर्ततामा देखा पर्दछ । कतै चाहिँ अनेक भाव–अर्थका साथ अस्वाभाविक अनि स्वैरकाल्पनिकतामा देखा पर्दछ । अनि कतै चाहिँ हाम्रै परम्परागत संस्कारसँग घुलमिल भएर देखा पर्दा यी चित्रहरू अझ घतलाग्दा भएर देखा पर्दछन् । उनका यस्ता चित्रहरू ‘ग्रेन अफ मेमोरी’, ‘हारभेस्टेड डिभोसन’, ‘डम्प्लिङ अन द फूल मून’ आदि यसैका उदाहरण हुन् ।

जस्तो कि एउटा चित्रमा मसिना अन्नका दानाहरूले (गेडागुडी) चित्रपट भरिएको छ । अनि यसैको बीचोबीच भागमा देव आकर्षक पोस्चरमा बसिदिँदा यो चित्र अनौठो संरचनामा देखिन्छ । झट्ट हेर्दा पौभा चित्र जस्तो देखिने यो चित्र संरचनामा जुम गरेर हेर्दै गर्दा चाहिँ अनेकौं बीउ–विजनले अनौठो चलखेल गर्दै गरेको महसूस हुन्छ । उनको अर्को चित्रमा चामलको पिठोबाटै बनाइएका योमरी वा स–साना खेलौना आदिलाई समायोजनमा उतारेका छन् । यथार्थतालाई गहिरो गरी छामेका सुजनले चामलको पिठो अनि यसैबाट बनेका योमरीको नरमपना, कोमलता अनि आलोपनलाई साँच्चिकै हो कि जस्तो पाराले महसूस गर्न सकिन्छ ।

शर्मिलाको सुपररियालिस्टिक काम अझ अर्को आकर्षित रूपमा देखा परेको छ । ‘द नेस्ट’ नामक यो चित्रमा चराचुरुंगीले बनाएको घोस्लामा दुईवटा ताजा लोभलाग्दा अण्डाहरू बसेको देखिन्छ । यस्तै अर्को उनको ‘गोल्डेन एग’ नामक चित्रमा घोस्लाको प्रतीकात्मक विम्बमाथि काल्पनिक अण्डा देखिन्छ । यथार्थतालाई नितान्त अमूर्त भावनामा उठबस गराउँदै देखा परेका उनका पात्रहरूले भावकलाई अनौठो संसारमा लगिदिन्छन् । अनि प्रश्नै–प्रश्नबीचको भूमरीमा छाडिदिन्छन् । यथार्थ विम्बलाई लोकगाथामा प्रस्तुत हुनु–गराउनु उनको अझ खास विशेषता हो । शर्मिलाकै अर्को चित्र ‘क्रिपिङ अफ वर्ड’ यो प्रदर्शनीको अर्को आकर्षक काम हो, जहाँ तारमाथि बसेका दुईवटा स–साना भँगेराहरू देखिन्छन् । अहिले नै उड्ला जस्तो गरेर बसेका यी चराहरू लोभलाग्दो रूपमा पनि दृश्यावलोकन हुन गएको देखिन्छ ।

सरिताको एउटा गहकिलो काम ‘ओडिसी विथ चिल्ली’ नामक सिरिजको थप पाइलाका रूपमा देखा परेको छ । उनले यो खुर्सानीको सिरिजलाई गत वर्षहरूदेखि निरन्तर रूपमा बनाइरहेकी छन् । यो कलाको सिरिजमा उनका किसिम–किसिमका खुर्सानीका अनेक रूपलाई अवलोकन गर्न सकिन्छ । खुर्सानीलाई उनले अनेकानेक वस्तुसँग समायोजनमा प्रस्तुत गरिसकेकी छन् । उनको बचपनको गहिरो घटनासँग जोडिन पुगेको यो सिरिज त्यसै पनि अर्थपूर्ण रूपमा देखा पर्दछ ।

कृष्णले लोककलाका अनेक अवयवहरूलाई एउटा ढंगले आधुनिकतामा प्रवास गराएको देखिन्छ । जसले एउटा आक्रोश अनि पीडालाई नितान्त एकान्तपनमा ओकल्नुलाई प्रतिनिधित्व गरेको छ । डाँडाकाँडा, ठूला–ठूला सनफ्लावरका फूल अनि पानीउँदी देखा परेका छाया आदिले कला स्वयंको अनौठो संरचनालाई पस्कन खोजेको देखिन्छ । दीपमालाको कञ्चन सेतो हाँस रातो ओढनी ओढेर कमलको फूल च्यापेर उड्दै गर्दा साह्रै रमाइलो अनि मनमोहक दृश्य देखिन्छ । उनको चित्रपटमा यसबाहेक कोमल सेतो, हल्का फिक्का खैरोले ढाकिवस्दा अचानक दहबाट उठ्दै गरेका कमलका फूलहरू देखिन्छन् । यसले चित्रलाई थप शोभा बढाएको देखिन्छ ।

अञ्जलीको सानो पाठो च्यापी हँसिलो मुद्रामा देखिएको बालिका अनेकानेक कथाहरू भनिरहेको हो कि जस्तो देखिन्छ । अलिकता रमाइलोपन अनि थोरै कौतुहलता पनि यसमा देखिनुले पनि यो अलि अलग पाराको देखिन्छ । यसो हुँदा पनि यसलाई यसको कलागत संरचनामा भावकहरू रमाइलो मानी हेरिरहेका देखिन्छन् । यसको नाम चाहिँ ‘ह्विस्पर अफ द नाइट भ्लुम’ हो । जसमा सुनसान, चकमन्न रात अनि चन्द्रमाको मधुर प्रकाशले धेरै अर्थ लुकेको भान पनि हुन्छ । यसकारण पनि यसले भावकलाई मन्त्रमुग्ध मात्र पार्दैन, बालिकामा अनेकौं भाव र अर्थहरू खोजिरहेको देखिन्छ । ताराको अर्को गजबको कलागत संरचना छ । फूलको प्रतिबिम्बभित्र गोलाकारमा स–साना खानेकुरा राख्ने डब्बाहरू अनि यसैभित्रको अर्को गोलाकारमा तीनवटा यस्तै डब्बामा रोटी, चना अनि गोलभेँडा र काक्राको सम्मिश्रणमा सन्तुलित भोजनको प्रतिबिम्ब देखिन्छ । योङ लिङले हल्का पातलो रङमा जलरङबाट दृश्य चित्रलाई सिर्जना गरेका छन् । सोफियाले रेखाहरूको बाहुल्यमा काठमाडौं गल्लीमा जीवनयापन गर्दै आएका आम बासिन्दाको जीवनलाई पस्केकी छन् । दैनिक बनाउँदै आएको आम बासिन्दाको दिनचर्यालाई व्यापार र व्यवसायको विम्बबाट प्रस्फुटन हुनु अझ रोचक देखिन्छ ।

सुदिक्षा चाहिँ बालमनोविज्ञानलाई अलि बढी चासोमा राखी बालचित्रकथालाई समायोजन गर्ने गर्छिन् । सरल र सहज रूपहरू उनको क्यानभासमा देखिनु उनको विशेषता हो । उनी आफ्नो चित्रमा हाँसलाई अहम पात्रका रूपमा उभ्याउन पुगेको देखिन्छ । कहिले कालो पृष्ठभूमिमा आमाको रूपमा, कहिले बच्चालाई नुहाउँदै गरेको दृश्यमा देखिनु पनि कम रमाइलो लाग्दैन । यो एउटा बालबालिकासँग खेल्ने–रमाउने, वा बालबालिकाको कथा उनकै तौरतरिकाबाट पस्कनु पनि निकै रोचक देखिन्छ । अनि बालविकासको सन्दर्भमा पनि उनको कलामा गजबले उठेको देखिन्छ । रश्मी चाहिँ बगुन्द्रे घण्टीहरूका साथ देवीको साक्षात् रूपलाई आधुनिक फर्ममा चित्रण गर्न पुगेकी छन् ।

नाट्सुरीले चाहिँ मास्कलाई आकर्षक ढंगबाट प्रस्तुत गर्न पुगेकी छन् । ठूला बाक्ला तुलिकाघातहरू दौडँदै बस्दा रौद्ररूपको दृश्यावलोकन हुन्छ । अनि आवेश र आवेगका साथ रङहरू उछलकुद गरिरहँदा पनि एउटा अजङ्गको रूपलाई मज्जाले समात्न पुगेकी छन् । कुन्तीले स–साना गोलाकारभित्र पातका डफ्फाहरू देखिएकाछन् । बिल्डिङहरूको भीड देखिन्छ । अनि हरेकजसो अवयवहरू अस्वाभाविक ढंगले बसिदिँदा कला संरचना स्वयंमा अनौठो तर चाखलाग्दो रूपमा देखा परेको छ । यी र यस्तै–यस्तै नौलो संरचना, प्रस्तुतिले गर्दा पनि यो समग्रमा चाखलाग्दो देखिन गएको हो ।