अलि लामो समय भएछ, चित्र बनाउन छोडेको । कलाको पुस्तकमै व्यस्त हुन पर्यो । करोनाको माहामारी, कहिले नसुनेको, नभोगेको अनौठो अवस्था । डर र त्रास उमार्न मलजल गर्नेको लर्को लागेको माहोल । के गर्न हुने-नहुने थाहा छैन, सरकारलाई थाहा छैन, आम मान्छेलाई थाहा छैन ।

ढ्वाङ फुक्देऊ भन्ने आदेश मानेर कुर्लिएका कर्कश आवाजहरू चोक र सडकबीच अट्टाहासमा घन्किएको छ । आममान्छेदेखि मान्छेसँग डराउने अवस्था । यस्तै अवस्थाको उपज हो मेरा यी चित्रहरू यसर्थ स्वाभावतः यी मेरा जम्मै चित्रहरू यसै बेलाका हुन् । तुलिकाघातका ठूला-साना धब्बाहरू, मलाई थाहा छैन अलिकता कोमल, अँध्यारोजस्ता भएछन् ।

मूलतः हामी अमूर्ततामा चित्र कोर्दा त्यस बेलाको समयले कुन रङ माग्छ, त्यही पोखाउने जमर्को गर्छौं । भावना, परोक्ष रूपमा मात्र हुने गर्दछ । मथिङ्गलमा कथाहरू बुनेर यसलाई क्यानभासमा उतार्ने क्रम हुँदैन । मनभित्र उम्लिरहेका उकुसमुकुस, छटपटाउटहरू क्यानभासमा पोखिन खोज्छन् । अनि तुलिकाहरू कुर्लीकुर्ली कुद्न थालेपछि अनेक रुपहरू र बिम्बहरू बन्न थाल्छन् । यी मेरा चित्रहरू पनि यसरी नै जन्मेका हुन् ।

अलिकता अन्योल, बढी मात्रमा कृत्रिम त्रास र चारैतिर घनघोर हल्लाहरूबीच कसरी बाँच्ने भन्ने थाहा नभएरै बाँचिरहेको मान्छेहरू, चलिरहेको जिन्दगी, यी र यस्तै कुराहरू, मेरा क्यानभासमा आएका छन् ।

कहीँ अलिकता मीठो पनि भएको छ । घरभित्र बस्दाखेरी, बस्नु पर्दाखेरि समयको सदुपयोग भई एउटा गहिरो पुस्तक पनि तयार भयो । चाडबाड आयो-गयो, छोरोको बिहे यस्तैमा भयो । कोठा भित्रैबाट गरियो । संस्कारहरू सबै नयाँ बने । बिहेमा आउने पर्ने धेरै आफन्त आएनन् । नआएकोमा मलाई पनि दुःख लागेन, नआउनेलाई पनि किन गइएन भन्न दुःख लागेको पनि देखिएन । अलग्ग किसिमको संस्कारको जन्म भयो । तामझाम केही नभई दशैँ पनि गयो । सायद तिहार पनि जाला । यस्तै हुनुपर्छ भन्ने कुरा जम्मै भत्केर नयाँ मानकहरू बन्न पुगे । यस्तै कहिले नभएका, यस्तो होला भन्ने सोचभन्दा सर्वथा पृथक् वातावरण, अवस्था विचार र भावनाहरु मेरा क्यनाभासमा छरिरहेका छन् ।