वर्तमान विश्वपरिवेशमा नेपाली जाति महाजातिका रूपमा स्थापित भइसकेको छ भने नेपाली भाषाले विश्वभाषाको स्वरूप प्राप्त गरिसकेको छ । आज जहाँ जहाँ नेपालीहरू छन्, त्यहाँ त्यहाँ नेपाली भाषा छ, नेपाली साहित्य छ, नेपाली संस्कृति छ र नेपाली जातिका पहिचान बोकेका अनेक स्मृतिचिह्नहरू पनि छन् । त्यसैले जहाँबाट भए पनि नेपाली भाषा र साहित्यको सेवा हुनु, कुनै नयाँ अभियानको थालनी हुनु, नयाँ विधाको जन्म हुनु वा कुनै सिर्जनामा नवीन प्रयोगको शुभारम्भ हुनु सिङ्गो नेपाली भाषा साहित्यको सम्पत्तिमा वृद्धि हुनु हो । अहिले एकपटक फेरि नेपाली भाषा साहित्यका क्षेत्रमा एउटा गर्व गर्नलायक काम भएको छ, जसले नेपाली शोककाव्य लेखन परम्परामा नयाँ कोसेढुङ्गाको काम गर्ने छ । भारतको मणिपुरका कवि हर्कबहादुर लामगादे ‘रोहित’द्वारा सिर्जना भएको र मानवीय संवेदनाको चूडान्त प्रयोगका साथै स्वैरकल्पनाको पनि नवीन प्रयोग गरिएको स्मृतिकाव्य ‘आमा–छोराको संवाद’ उल्लिखित कुराको एउटा गर्विलो साक्ष्यका रूपमा नेपाली साहित्य जगत्मा देखा परेको छ ।

नेपाली भाषा साहित्यको उन्नयनमा भारतीय नेपाली स्रष्टाहरूको निकै गर्विलो उपस्थिति देखिन्छ । मणिपुरका पुराना कवि तुलाचन आलेदेखि लिएर आजसम्मका स्रष्टाहरूका सिर्जनालाई हेर्दा नेपाली साहित्यले आजको उचाइ प्राप्त गर्नु, नेपाली जाति महाजाति बन्नु र नेपाली भाषा विश्वभाषाका रूपमा स्थापित हुनुमा भारतीय नेपाली साहित्यकारहरूको पनि नेपालका नेपाली साहित्यकारहरूजत्तिकै भूमिका रहेको देखिन्छ । नेपाली साहित्यका जुनसुकै विधामा पनि उत्तिकै सबल र सफल कलम चलाउँदै आउनुभएका भारतीय नेपाली साहित्यकारहरूको अनुपम योगदानप्रति आँखा चिम्लिने हो भने नेपाली साहित्यको इतिहास लेखन नै अपुरो हुने गर्दछ । चाहे नेपाली पत्रपत्रिकाको प्रकाशनमा होस्, चाहे साहित्यिक सङ्घसंस्थाको निर्माण र साङ्गठनिक गतिविधिमा होस्, चाहे साहित्यका सिर्जना, समालोचना र इतिहास लेखनका सन्दर्भमा होस्, चाहे नेपाली शब्दकोश निर्माण, व्याकरण लेखन र लोकसाहित्यको खोजी गर्ने कार्यमा होस्, चाहे गीतसङ्गीतका माध्यमबाट नेपाली जातिको गौरव बढाउने कार्यमा होस्, चाहे विभिन्न पुरस्कारहरूको स्थापना गरेर स्रष्टाहरूको योगदानको कदर गर्ने र फरक फरक देशमा रहेका नेपाली प्रतिभाहरूलाई जातीय सूत्रमा बाँध्ने कार्यमा होस् भारतीय नेपाली साहित्यकारहरूले प्रदान गर्नुभएको अमूल्य योगदानको मुक्तकण्ठले प्रशंसा गर्नै पर्छ । आदिकवि भानुभक्त आचार्यलाई जातीय गौरवका रूपमा शिरमा राखेर निःस्वार्थ सेवाभावका साथ सिर्जना यात्रामा लाग्नुभएका अनगिन्ती भारतीय नेपाली स्रष्टाहरूको पदचापलाई पछ्याउँदै नयाँ कृतिका साथमा देखापर्नुभएका हर्कबहादुर लामगादे ‘रोहित’ भारतीय नेपाली काव्यसिर्जनाको सुदीर्घ परम्पराका सर्वाधिक पछिल्ला साक्ष्य हुनुहुन्छ ।

भारतको मणिपुरको चारहजारेमा ३ मार्च १९९३ मा पिता तुलाराम लामगादे र माता तुलामाया लामगादेका साइँला सुपुत्रका रूपमा जन्मनुभएका हर्कबहादुर लामगादे ‘रोहित’ भारतीय नेपाली साहित्य जगत्मा एक स्थापित युवास्रष्टाका रूपमा सुपरिचित हुनुहुन्छ । बी.कम. र एम.बी.ए.सम्मको औपचारिक शिक्षा हासिल गरी हाल भारत सरकारका पूर्व केन्द्रीय न्याय तथा कानुन मन्त्री एवम् वर्तमान लोकसभा सांसदका निजी सहायकका रूपमा कार्यरत रोहित दिल्लीमा बसेर आफ्नो जिम्मेवारी वहन गर्नुका साथै नेपाली भाषा साहित्यको सेवामा पनि उत्तिकै समर्पित हुनुहुन्छ । विद्यार्थी कालदेखि नै साहित्य सिर्जनामा समर्पित भए पनि सन् २००७ को ‘गोर्खाज्योति’ पत्रिकामा पहिलो रचना प्रकाशन गरेर नेपाली साहित्यका क्षेत्रमा प्रवेश गर्नुभएका रोहितका यसभन्दा अगाडि नै ‘मन बल्झिन्छ’ (कवितासङ्ग्रह, २०२१), ‘रेडियोरिता’ (कथासङ्ग्रह, २०२२), ‘ईशान प्रवाह’ (हिन्दीको संयुक्त सङ्कलन, २०२४) जस्ता कृतिहरू प्रकाशित छन् । यिनका अतिरिक्त हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, साहित्यपोस्ट, सेतोपाटी, रातोपाटी, शब्दसोपान, साहित्यघर, नेपालटच, फ्री नेपाल डट कम, शब्दाङ्कुर, बुकआन्ट जस्ता विभिन्न राष्ट्रिय अनि अन्तर्राष्ट्रिय पत्रिकाहरूमा कविता, कथा, लेख आदि प्रकाशन गरिसक्नुभएका रोहितको प्रस्तुत ‘आमाछोराको संवाद’ स्मृतिकाव्य उहाँको तेस्रो एकल पुस्तकाकार कृति हो । नेपाली र हिन्दी भाषा साहित्यका क्षेत्रमा सशक्त कलम चलाउँदै आउनुभएका रोहित वरिष्ठ काव्यमञ्च, मणिपुर एकाइका अध्यक्ष, विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाका संयुक्त सचिवलगायत विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थामा रहेर नेपाली भाषा र नेपाली जातिको सेवामा समर्पित हुनुहुन्छ । सूर्या फाउन्डेसन, पूर्वोत्तर हिन्दी अकादमी, भारतीय मुक्तक मञ्च, असम नेपाली सभा सङ्घ, नेपाली संस्कृति परिषद् आदिजस्ता सङ्घसंस्थाहरूबाट विभिन्न समयमा पुरस्कृत तथा सम्मानित भइसक्नुभएका रोहितको प्रस्तुत नवीन कृति ‘आमाछोराको संवाद’ स्मृतिकाव्य नेपाली साहित्यको इतिहासमा नै एउटा फरक शैलीको शोककाव्य हो ।

शोककाव्यको सैद्धान्तिक स्वरूपलाई हेर्दा यसको मूल रूप कविताको मझौला रूप खण्डकाव्यसँग जोडिन पुग्छ । संरचनात्मक दृष्टिले यो खण्डकाव्य नै हो र विषयगत व्यवस्थापनका दृष्टिले शोककाव्य वा स्मृतिकाव्य हो । कविताको लघु रूपभन्दा ठुलो र बृहत् रूपभन्दा सानो मध्यविन्दुको रचनालाई खण्डकाव्य भनिन्छ । अर्थात् यो फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो हुन्छ । आकारप्रकारका दृष्टिकोणले नै यो दुवैतिरबाट भिन्न हुन सक्छ । अर्थात् यसले कविताको लघु रूप र बृहत् रूप छुट्याउनमा लक्ष्मणरेखाको काम गरेको छ । काव्यको एक देशको अनुसरण गर्ने काव्य नै खण्डकाव्य हो भनी आचार्य विश्वनाथले यसलाई परिभाषित गरेका छन् । खण्डकाव्यमा आख्यानलाई अनुभूतिसँग घोलेर प्रस्तुत गरिएको हुन्छ । फुटकर कविताभन्दा विस्तृत हुँदै गइरहेको अनुभूतिले आख्यानलाई समात्छ भने आख्यानले कवितालाई विकसित हुन सहयोग गर्छ । अनुभूतिको एकोहोरो प्रवाह मात्र वा आख्यानको एक्लो प्रबलता मात्र खण्डकाव्य बन्न सक्दैन, यसमा त यी दुवैको सन्तुलित अभिव्यक्ति हुनुपर्छ । फुटकर कवितामा आख्यानको एउटा सानो ढिस्को हुन सक्छ भने खण्डकाव्यमा एउटा सानो पहाड नै भेट्न सकिन्छ त्यसैले पनि यो कविताको मध्यम रूप हो । ‘खण्ड’ र ‘काव्य’ गरी दुई शब्दको मेलबाट ‘खण्डकाव्य’ शब्दको निर्माण भएको पाइन्छ तर यसले काव्यको एउटा खण्ड, टुक्रा वा अंश नभएर समग्रमा फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो कविताको मझौला रूप भन्ने अर्थ दिन्छ ।

‘काव्य’ शब्दका माध्यमबाट आशयमूलक अर्थमा खण्डकाव्यलाई चिनाउने काममा छैटौँ शताब्दीका भामहदेखि दण्डी, वामन, मम्मट, आनन्दवर्धनको पूर्वभूमिका देखिए पनि खण्डकाव्यलाई ‘खण्डकाव्य’ नै भनेर औपचारिक रूपमा परिभाषित गर्ने प्रथम आचार्य चौधौँ शताब्दीका विश्वनाथ हुन् । विश्वनाथले (खण्डकाव्यं भवेत् काव्यस्यैकदेशानुसारि च) काव्यको वा जीवनको एउटा विशिष्ट कालखण्डको चित्रण गर्ने वा एक देशको अनुसरण गर्ने काव्यलाई खण्डकाव्य भनिन्छ भनी परिभाषित गरेका छन् । यसरी सुरु भएको खण्डकाव्यसम्बन्धी परिभाषामा पछिल्लो चरणका पूर्वीय विद्वान्हरूले पनि विश्वनाथीय परिभाषाकै सेरोफेरोमा रहेर खण्डकाव्यलाई चिनाएको पाइन्छ । खण्डकाव्य कविताको विकसित रूप भएका कारण यसमा पनि कवित्व शक्ति उच्च रूपमा रहनुपर्ने कुरामा विभिन्न विद्वान्हरूले जोड दिएका छन् । अनुभूतिको बाक्लो उपस्थिति देखिने फुटकर कवितामा आख्यानले प्रवेश पायो वा अनुभूति केही तरल बन्न थाल्यो भने खण्डकाव्यको निर्माण हुन थाल्छ । खण्डकाव्य परिभाषाका रूपमा वा सैद्धान्तिक स्वरूप निर्माणमा निकै पछि देखापरे पनि यसको रचनात्मक प्रारूप भने वैदिक कालदेखि नै प्राप्त हुन्छ । वैदिक युगका अपेक्षाकृत लामा र एकै वर्ण्य विषय प्रसङ्गमा केन्द्रित सूक्त, उद्गीथ वा अनुवाक्मा उत्तरवैदिक लघु, खण्डकाव्यको पूर्वाभास प्राप्त हुने कुराको उल्लेख डा. वासुदेव त्रिपाठीले गरेका छन् । उत्तरवैदिक कालखण्डमा कालिदास आदिका सिर्जनामार्फत खण्डकाव्यको विधागत उपस्थिति सबल रूपमा देखापरे पनि सैद्धान्तिक परिभाषा भने केही पछि मात्र भएको हो ।

पूर्वीय साहित्य परम्परामा खण्डकाव्य भनेजस्तै पाश्चात्य साहित्यमा यसलाई लामो कविता भनिन्छ । हुनत, खण्डकाव्य समकक्षी रचनालाई पाश्चात्य साहित्यमा रोमान्स, एलिजी, पास्टोरल, इपिक, लङ पोयम आदि विभिन्न नाम दिइएको पाइन्छ तापनि नेपाली सन्दर्भमा भने लामो कविता (लङ पोयम) नै उपयुक्त मानिन्छ । नेपाली साहित्यमा खण्डकाव्य समकक्षी रचनाहरूलाई गाथा, गाहा, श्रवण, गीतिकाव्य, चरित्र काव्य, साना वंशकाव्य, आख्यान र खास गरी उपाख्यान काव्य, छोटा कथाकाव्य, पयार्यबन्ध र मुक्तक काव्य, स्फूटकाव्य, कोषकाव्य, पत्रकाव्य र दूतकाव्य, सन्देश काव्य, ऋतुकाव्य, शतक, अर्धशतक काव्य, स्तुतिकाव्य, स्तोत्रकाव्य तथा भक्तिकाव्य, लहरी काव्य, प्रशस्ति काव्य र अभिलेख काव्य, साना इतिहास काव्य, नीतिकाव्य, सुभाषित काव्य, शृङ्गार काव्य, वैराग्य काव्य, साङ्गीतिक उपरूपक काव्य, लघुकाव्य, खण्डकाव्य आदि विभिन्न नामले चिन्न सकिने अवधारणा डा. वासुदेव त्रिपाठीको रहेको छ । यी रचनाहरू आन्तरिक प्रवृत्तिका कारण केही फरकजस्ता लागे पनि ती सबै कविताको मझौला रूपअन्तर्गत नै समेटिन आइपुग्छन् । स्मृतिकाव्य वा शोककाव्य पनि त्यही कविताको मध्यम रूप वा खण्डकाव्यअन्तर्गत नै पर्दछ ।

नेपालभित्र लेखिएका नेपाली खण्डकाव्यहरूको ऐतिहासिक सर्वेक्षण गर्ने हो भने नेपाली कविताको प्राथमिक कालमा नै नेपाली खण्डकाव्यको पनि प्रवर्तन भएको हो । वि.सं. १८५६ तिर दैवज्ञकेशरी अर्यालद्वारा लिखित ‘अश्वशुभाशुभ परीक्षा’लाई नेपालीमा लेखिएको पहिलो खण्डकाव्य मानिन्छ । यसपछि वीरधाराका उदयानन्द अर्याललगायतका कविहरू, कृष्णभक्ति धाराका वसन्त शर्मा, रामभक्ति धाराका भानुभक्त आचार्य र निर्गुण भक्तिधाराका ज्ञान दिलदास आदि कविहरूले प्राथमिक कालीन खण्डकाव्यलाई उचाइमा पुऱ्याए भने मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्गेल आदि कविहरूले माध्यमिक कालीन खण्डकाव्यको परिचय प्रदान गरे । यसरी नै आधुनिक कालमा लेखनाथ पौड्याल र बालकृष्ण समजस्ता शास्त्रीयतावादी परिष्कारवादी धाराका कविहरू, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरेजस्ता स्वच्छन्दतावादी कविहरू, गोकुल जोशी, युद्धप्रसाद मिश्रजस्ता प्रगतिवादी कविहरू, मोहन कोइरालालगायतका प्रयोगवादी कविहरू र वर्तमान खण्डकाव्य साधनामा समर्पित समसामयिक धाराका कविहरू सबैको विशिष्ट योगदानबाट वर्तमानमा नेपाली खण्डकाव्यको स्वरूप निर्माण भएको छ ।

भारतीय नेपाली स्रष्टाहरूद्वारा लिखित नेपाली खण्डकाव्यहरूको ऐतिहासिक सर्वेक्षण गर्दा कवि तुलाचन आलेको ‘मणिपुरको लडाइँको सवाई’ (सन् १८९३) सवाईकाव्यसम्म पुग्नुपर्ने हुन्छ । नेपाली खण्डकाव्यको लेखनमा भारतको दार्जिलिङ, सिक्किम, डुबर्स आदि र उत्तर पूर्वाञ्चल क्षेत्रअन्तर्गत पर्ने असम, अरुणाञ्चल, मणिपुर, मेघालय, मिजोराम, नागाल्यान्ड र त्रिपुरा राज्यहरूमा पनि नेपाली कविता तथा काव्यसिर्जना सशक्त रूपमा भएको देखिन्छ । भारतीय क्षेत्रमा खण्डकाव्य लेखनको थालनी अविभक्त बृहत् असम राज्यको समयमा मणिपुरका तुलाचन आलेको ‘मणिपुरको लडाइँको सवाई’ (सन् १८९३) बाट भएको मानिन्छ । आलेको उक्त सवाई नै भारतीय नेपाली साहित्यमा खण्डकाव्य लेखनको वीजारोपण हो । यसपछि पनि त्यस क्षेत्रमा सवाई लेखनको एउटा शृङ्खला नै चलेको देखिन्छ । धनवीर भँडारीको ‘अब्बर पहाडको सवाई’ (सन् १८९४) र ‘भैँचालाको सवाई’ (सन् १८९७), आत्माराम मगरको ‘भैँचालाको सवाई’ (दोस्रो भाग, सन् १९०५), कृष्णबहादुर उदासको ‘अछामको सवाई’ (सन् १९०८), गजवीर रानाको ‘नागाहिल्सको सवाई’ (सन् १९१३), रामचन्द्र ढुङ्गानाको ‘कानीको सवाई’ (सन् १९३३), कमान थुलुङको ‘पैराको सवाई’ (सन् १९५१) आदि भारतीय नेपाली साहित्यमा लेखिएका ऐतिहासिक र महत्त्वपूर्ण सवाईकाव्यहरू हुन् । यिनमा तत्कालीन समयको एउटा चित्राङ्कन पाइन्छ । त्यहाँको भूगोल, समाज, प्राकृतिक विपत्ति र नेपाली जीवनको मनोदशालाई पनि तिनले प्रतिविम्बित गरेका छन् । यिनै सवाईकाव्यहरूको पृष्ठभूमिमा भारतीय नेपाली साहित्यमा खण्डकाव्यको जन्म भएको हो ।

सवाईकाव्यदेखि सामाजिक विषयमा आधारित मौलिक खण्डकाव्य लेखन परम्पराको विकास हुनुमा कवि पारसमणि प्रधानका ‘प्रश्नोत्तर’ (सन् १९४९), ‘कवि र कविता’ (सन् १९५७) र ‘काठमाडौँमा दश दिन’ (२०३२), अगमसिंह गिरीका ‘याद’ (सन् १९५५), ‘आत्मव्यथा’ (सन् १९५९), ‘आँसु’ (सन् १९६८) र ‘युद्ध र योद्धा’ (सन् १९७०) जस्ता खण्डकाव्यहरूको विशिष्ट भूमिका रहेको देखिन्छ । यसपछि क्रमशः रामकृष्ण शर्मा, ध्रुव दवाडी, डा. चन्द्रेश्वर दुवे, हरिभक्त कटुवाल, गोपीचन्द्र प्रधान, पदमप्रसाद ढुङ्गाना, रामलाल अधिकारी, तुलसीराम कश्यप, जीवन थिङ, युद्धवीर राणा, इन्द्रदेव सिंह, नरेन्द्रप्रसाद कुमाईं, तुलबहादुर मालेमा, टीकाराम उपाध्याय ‘निर्भीक’, मोहन दुखुन, शरद क्षेत्री, रामप्रसाद उपाध्याय, रामचन्द्र गिरी, भक्त राई, के. बी. नेपाली, दिलबहादुर सरदार, शिव आचार्य, अनिरुद्ध गौतम, रविन गुरुङ, तुलसीबहादुर क्षेत्री ‘अपतन’, कृष्णविक्रम राणा, लोकनाथ उपाध्याय चापागाईं, छविलाल उपाध्याय, कृष्णहरि शर्मा, भूषण शर्मा, केवलचन्द्र लामा, नन्द हाङ्खिम, कर्णबहादुर चाम्लिङ, खेमराज नेपाल, कालुसिंह रनपहेली, ज्ञान सुतार, पूर्ण क्षेत्री, टी.बी.चन्द्र सुब्बा, राजु प्रधान हिमांशु, रणबहादुर क्षेत्री, जीवन नामदुङ, रूपनारायण पाठक, डिल्लीराज आचार्य, लक्खीदेवी सुन्दास, वीरेन्द्र सुब्बा, पं. विद्यापति दाहाल, जगन्नाथ मिश्र, बुद्धकुमार मोक्तान, कीर्तिमणि खतिवडा, दिलमान राई चोट, नरेश गौतम, जगन्नाथ शर्मा गौतम, रेवतीमोहन तिम्सिना, केएन शर्मा, गोपाल ढकाल, दीनमणि शास्त्री, कुलप्रसाद शर्मा, रामचन्द्र ढुङ्गाना, गुरूप्रसाद कोइराला, घनश्याम कोइराला, नरपति उपाध्याय, विशाल केसी, ज्योति पौडेल, शिव दर्नाल, विमल खतिवडा माइला जस्ता कविहरूले भारतीय नेपाली साहित्यमा खण्डकाव्य तथा लामो कविताको लेखन एवम् प्रकाशनमा निकै ठुलो योगदान दिएको पाइन्छ । कवि हर्कबहादुर लामगादे रोहित यही सुदीर्घ परम्पराका पछिल्ला स्रष्टा हुनुहुन्छ र उहाँको ‘आमाछोराको संवाद’ स्मृतिकाव्य त्यही गौरवशाली काव्य परम्पराको पछिल्लो र नवीन शैलीको काव्यका रूपमा देखापरेको छ ।

विषयवस्तुको छनोट कुनै पनि काव्यको एउटा विशिष्ट पक्ष हो । जेका बारेमा काव्य लेखिने हो त्यसलाई ‘विषयवस्तु, घटना वा आख्यान’ भनिन्छ । जेका बारेमा काव्य लेख्न लागिएको हो त्यही विषयवस्तु हो, काव्यमा जुन कुरालाई जोड दिइएको छ त्यो घटना हो र जुन कथावस्तु समेटिएको छ त्यो आख्यान हो । खण्डकाव्यात्मक रचनामा आएको कथावस्तु वा घटना कुनैमा स्पष्ट रूपमा देखिन्छ भने कुनैमा नदेखिन पनि सक्छ । महाकवि देवकोटाको ‘मुनामदन’मा घटनाक्रम र आख्यानको प्रत्यक्ष अनुभव गर्न पाइन्छ तर कविशिरोमणि लेखनाथको ‘ऋतुविचार’मा घटनाक्रम र आख्यान दुवै कुराको अभाव छ । यसका आधारमा खण्डकाव्य ‘मुनामदन’जस्तो आख्यानयुक्त पनि हुन सक्छ र ‘ऋतुविचार’जस्तो आख्यानविहीन पनि हुन सक्छ भन्ने थाहा पाइन्छ तर आख्यानहीनता चाहिँ खण्डकाव्यको साँचो चिनारी होइन । प्रत्यक्ष बाहिर नदेखिए पनि आन्तरिक आख्यानविन्यास हुन सक्यो भने त्यो ‘खण्डकाव्य’ नै मानिन्छ । कवि रोहितको प्रस्तुत काव्य सपाट आख्यानात्मक काव्य नभएर आमाको निधनबाट शोकजन्य संवेदनालाई फरक शैलीमा व्यवस्थापन गरिएको नवीन प्रकृतिको स्मृतिकाव्य हो । यसमा ‘मुनामदन’ परम्पराको जस्तो काल्पनिक कथानकविन्यास पनि पाइँदैन र ‘ऋतुविचार’ परम्पराको जस्तो आख्यानहीन विषयविन्यास पनि पाइँदैन । यसरी नै नेपाली शोककाव्य परम्परामा माधव घिमिरेको ‘गौरी’ खण्डकाव्यलाई सर्वाधिक सफल कृति मान्ने गरिन्छ । यसका साथै धेरै नेपाली स्रष्टाहरूले कसैले आमाको निधनमा, कसैले बुबाको निधनमा, कसैले पत्नीको निधनमा र कसैले चाहिँ हजुरबा, हजुरआमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, साथी वा कुनै शुभचिन्तकहरूको निधनमा पनि कैयौँ शोककाव्यहरू लेखेका छन् । यसका साथै केही कविहरूले चाहिँ आफूले आदर्श मानेको कवि, राजा, नेता, सहिद, समाजसेवी, सन्त, महन्त वा आफ्नो आस्थासँग जोडिएका व्यक्तिहरूको निधनमा पनि शोककाव्यहरू लेख्ने गरेका छन् तर ती सबै शोककाव्य वा स्मृतिकाव्यहरूको आन्तरिक स्वरूप लगभग उस्तै जस्तो लाग्ने गर्दछ । ती काव्यमा काव्यनायकप्रतिको अपार श्रद्धा र शोकको समन्वय पाइन्छ । तिनमा कीर्तिशेष व्यक्तिका विगतहरूलाई सम्झिएर तिनका सत्कर्महरूको गुणगान र अवसानबाट उत्पन्न पीडाबोधको काव्यात्मक उद्घाटन भएको पाइन्छ तर कवि रोहितको ‘आमाछोराको संवाद’ स्मृतिकाव्यमा चाहिँ उल्लिखित सबै खाले शैलीभन्दा नितान्त फरक विषयविन्यास र शैलीको प्रयोग पाइन्छ ।

शोककाव्य वा स्मृतिकाव्यको मूलभूत पक्ष भनेको शोकमा आधारित स्मृतिसंवेदना र संवेगात्मक व्यवस्थापन नै हो । यसका लागि धेरैजसो कविहरूले विगतका स्मृतिबाट उत्पन्न कारुणिक पक्षमा जोड दिएका हुन्छन् भने थोरैले स्वैरकल्पनाको प्रयोग गरेर विषयवस्तुलाई रोचक बनाउने कोसिस गरेका हुन्छन् तर कवि रोहितले यस काव्यमा प्रयोग गरेको संवादात्मक शैली र स्वैरकल्पनाको भिन्न शैलीको प्रयोग आजसम्मका काव्यहरूभन्दा नितान्त फरक प्रकृतिको छ । यहाँको विषयवस्तुको कारण आमाको निधन यथार्थ हो तर कार्यका रूपमा देखा परेको आमाछोराको संवाद चाहिँ स्वैरकल्पनाजन्य हो । यस कुराको जानकारी प्रस्तुत काव्यका स्रष्टा रोहित र यस काव्यभित्र प्रयोग भएका हरेक पात्रलाई छ र स्वतन्त्र पाठकहरूलाई पनि काव्य पढ्न थाल्दैदेखि थाहा हुन्छ तर त्यो यथार्थ त्यति धेरै समय टिक्न पाउँदैन । काव्य पढ्न थालेको एकैछिन पछिदेखि काव्यभित्रका आमा र छोराको संवादले यसरी तान्छ, ती दुईमा एक जना जीवित र एक जना निधन भइसकेका पात्र हुन् भन्ने कुरा नै विस्मृतिमा जान्छ । यसरी निधन हुनुलाई ‘बसाइँ सर्नु’ पदावलीको प्रयोग गरेर अनि लौकिक जीवनभन्दा नितान्त भिन्न प्रकृतिको ‘भावनाको भवन’ निर्माण गरेर त्यही भवनमा हरेक महिना आमाको निधन भएकै दिनाङ्कमा आमासँग भेट गरी संवाद गर्दै शोकजन्य करुणाभन्दा बढी जीवनबोध, समाजबोध र युगबोधसहितको विशिष्ट ज्ञानसागर निर्माण गरिएको र यस्तो अद्भुत साधारणीकरणको प्रयोग भएको शोककाव्य मैले चाहिँ आजसम्म पढ्न पाएको थिइनँ । यस कारण यस्तो सन्दर्भ र शैलीको प्रयोग भएको यो काव्य नेपाली शोककाव्य परम्पराकै एउटा नौलो उपलब्धि बन्न सक्ने देखिन्छ ।

कवि हर्कबहादुर लामगादे रोहितको ‘आमाछोराको संवाद’ सरल भाषा, गम्भीर भाव, संवादात्मक शैली र आन्तरिक सङ्गीत चेतनायुक्त गद्यलयमा लेखिएको नयाँ स्वादको स्मृतिकाव्य हो । यसका गद्यखण्ड र पद्यखण्ड गरी दुईवटा खण्डहरू छन् । यसको गद्यखण्ड सूचना वा जानकारीमूलक शैलीमा लेखिएको एउटा लेख हो भने पद्यखण्ड चाहिँ कवित्व प्रवाहले ढाकेको एउटा विशिष्ट काव्य हो । यस कारण प्रस्तुत काव्यको काव्यखण्ड नै यसको सर्वोच्च शक्ति हो । कवि रोहितकी आमा तुलामाया लामगादेको ८ जनवरी २०२५ मा त्रिसट्ठी वर्षको अल्पायुमा नै असामयिक निधन भयो । त्यस निधनले कवि परिवारलाई शोकविह्वल बनायो । त्यस घटनाको ठिक एक महिनापछि ८ फरवरीमा कवि रोहितले ‘आमा’ शीर्षकको एउटा कविता लेख्नुभयो । त्यही कविता नै यस काव्यको बीज हो । यसपछि उहाँले हरेक महिनाको ८ तारिखमा आमाछोराको संवाद शृङ्खला सुरु गर्नुभयो र बाह्रौँ महिनासम्म पुग्दा एघारौँ संवाद भयो । यसरी ‘आमा’ शीर्षकको एउटा र बाँकी एघारवटा गरी जम्मा बाह्रवटा कवितातन्तुहरूमा प्रस्तुत काव्यको समग्र स्वरूप निर्माण भएको छ । कविका बुबा तुलाराम लामगादे र आमा तुलामाया लामगादेको ठुलो परिवारको सामूहिक शोकको प्रतिनिधिमूलक आवाज नै प्रस्तुत काव्य हो । आमाको जेठो छोरो राजेश लामगादे, जेठी बुहारी मधु लामगादे (रसाइली), जेठी छोरी धनमाया लामगादे ‘सविता’, जेठा ज्वाइँ शोभित शङ्कर, माइँली छोरी लक्ष्मी लामगादे, माइँला ज्वाइँ भरत घतानी, माइँलो छोरो प्रदीप लामगादे, माइँली बुहारी सृजना लामगादे (गजमेर), साइँलो छोरो हर्कबहादुर लामगादे, साइँली बुहारी कमला लामगादे (रामदाम), कान्छो छोरो रमेश लामगादे, कान्छी बुहारी कमला ‘कोपिला’ (घतानी), साइँली छोरी हेमा लामगादे, साइँला ज्वाइँ सुशान घिमिरे, काइँली छोरी मीना लामगादे ‘प्रतिमा’, काइँला ज्वाइँ गोविन्द घतानी र कान्छी छोरी मधु लामगादे (अविवाहित) आदि सबै यस काव्यका शोकाकुल चरित्र हुन् । आमाको दोस्रो सन्तान जन्मेको आठ दिनमा निधन भएको र बाँकी सबैको जीवन जेजसरी भए पनि सञ्चालन भइरहेको कुराको उद्घाटन गर्नका लागि यहाँ आमा र छोरालाई वक्ताका रूपमा प्रस्तुत गरिएको छ ।

विश्वसाहित्यको आजसम्मको इतिहासलाई हेर्दा आमाका बारेमा कविता नलेख्ने कवि सम्भवतः एउटा पनि पाइँदैन । एउटै विषय, एउटै अनुभूति तर भिन्न प्रस्तुतिका कारण विश्वसाहित्यमा आमाका बारेमा अनगिन्ती सिर्जनाहरू भएका छन् तर ती सबै फरक फरक लाग्छन् । कवि रोहितको पहिलो ‘आमा’ शीर्षकको कविता पनि त्यही परम्पराको एउटा साक्ष्य हो तर त्यसपछिका ‘पहिलो संवाद’देखि ‘एघारौँ संवाद’सम्मका एघारवटा शृङ्खलाको विषय, भावविधान र शैली भने उल्लिखित परम्पराभन्दा भिन्न र साँच्चै नयाँ प्रकृतिको रहेको छ । यहाँ कवि स्वयम्को अभिव्यक्तिमा कुनै अस्वाभाविकता पाइँदैन तर आमाको अभिव्यक्तिमा स्वैरकल्पनाको पनि नौलो प्रयोग पाइन्छ । हुनत, यहाँकी आमा कविनिबद्ध पात्र हुन् र उनको अभिव्यक्ति कविनिबद्धवक्तृप्रौढोक्तिका रूपमा आएको छ तर यहाँका पात्रहरूभित्र पसेर तिनको चरित्र उद्घाटन गर्ने कविको कला चाहिँ साँच्चै नै विस्मयकारी देखिन्छ । निधन भएकी आमा हरेक महिना आएर छोरासँग बोल्नु अस्वाभाविक कुरा हो तर यहाँ कविले भावनाको भवन निर्माण गरेर पृथ्वीलोकको मात्र होइन, पितृलोकको पनि अत्यन्त स्वाभाविक ढङ्गले चित्रण गर्नुभएको छ । यो पाटो चाहिँ प्रस्तुत काव्यको साँच्चै अद्भुत देखिन्छ । यस काव्यमा कविले आमासँगको संवादमा परिवारका कुन सदस्यको क्षमता र विशेषता के हो ? उसको कार्यशैली र जीवनपद्धति कस्तो छ र उसले के के कुरामा ध्यान दिनुपर्छ ? भन्ने कुरालाई साँच्चै गहिराइमा गएर विश्लेषण गर्नुभएको छ तर त्यस कुरालाई आमाका मुखबाट व्यक्त गराएर अत्यन्त स्वाभाविक बनाइएको छ । काव्यमा ठुली दिदीले भनेको भन्दै कवि आफैँ यसरी उल्लेख गर्नुहुन्छ—

भाइ तँ सबैको मनपेट कुरा कसरी थाहा पाउँछस् र ?

ठ्याक्कै आमाले भनेजसरी भन्छस् !

कहिलेकाहीँ त लाग्छ

तैँले उतै दिल्लीमा आमालाई थुनेर राखेको छस् होला !

(आठौँ संवाद)

काव्यमा दिदीले यसरी व्यक्त गरे पनि यो काव्य पढ्दा हरेक पाठकलाई लाग्ने कुरा नै त्यही हो । साँच्चै एउटा व्यक्तिले यसरी सबैको बाह्य तथा आन्तरिक विशेषताहरूको समेत उद्घाटन गर्न कसरी सक्छ ? त्यसमा पनि आमाले पठाएका सन्देशहरूमा त्यस व्यक्तिका गुणदोष आदि सबै कुराको सन्तुलित विश्लेषण पनि गरिएको छ । यहाँकी आमाबाहेक सबै पात्रहरू जीवित छन् र तिनको चरित्र विश्लेषण जे हो त्यही रूपमा गरिएको छ तर ती कुनै पनि पात्रले चित्त दुखाउने ठाउँ कतै पनि छैन । यो चाहिँ कविको साँच्चै अनुपम क्षमता हो । यहाँका आमाछोराको संवादमा कतै माइँली छोरी क्रिस्चियन भएकाले संस्कार नमिल्दाको पीडाबोध छ, कतै भाइ रमेश विदेश गएकोमा चिन्ता पनि छ, उसले केही गर्दा पनि नफाबेको विश्वास गरिएको छ, पढ्न भनेर दिल्ली, बेङ्लोर गए पनि घरमै आएर पढ्नुपरेको, तीनचार ठाउँमा जागिर गरेको तर छाडेको, कपडाको बिजनेस गरेको, गाडी चलाएको तर केहीले पनि नभएको गुनासो गरी अब सुख र स्थायित्वको अपेक्षा राखिएको छ, कतै भुर्तेलनी आमैका माध्यमबाट आमाबाको हेला गर्ने आधुनिक छोराछोरीको चित्रण गरिएको छ, कतै आमाका साइँला मामा बसाइँ सरेपछिको खबर पनि समावेश गरिएको छ, कतै आमाको नवौँ सन्तान कान्छी छेरी मधु जन्मँदा जेठो छोरो रिसाएको र समाजमा लाजमर्दो भएको सन्दर्भसँग जति सन्तान भए पनि आमाका लागि सबै बराबर हुने सन्देश पनि छ, कतै सपनामा छोरो प्रदीप गुलेली लिएर चरा मार्न गएको र बुबा रिसाएको रोचक प्रसङ्ग पनि छ, कतै आमा र बाबाको बिहे प्रसङ्गमा बुबाको उमेरको धेरै फरक र बाबा निख्खुर काला हुनाले मन नपरेको, मावल गएर एक वर्ष उतै बसेको, डरले मकैका खोसेलामा सुतेको आदि रमाइलो प्रसङ्ग पनि छ, कतै मामा पनि क्रस्चियन भएकाले दसैँमा टीका लगाउन नपाएकामा गुनासो पनि छ । यसरी हरेक कुरालाई अत्यन्त कौतूहलपूर्ण, रोचक र आकर्षक ढङ्गले प्रस्तुत गर्ने र स्वयम् वास्तविक पात्रलाई पनि चित्त नदुख्ने बनाउने कविको कला भने निकै प्रशंसनीय देखिन्छ ।

आमाको निधन भइसकेको छ तर यहाँको संवादमा पसेपछि पाठक यति छिटो रूपान्तरित हुन्छ, उसलाई आमाको निधन भएजस्तै लाग्दैन । आमा त्यहीँ कतै नजिकै जानुभएको छ र एक महिना पुग्नासाथ आएर छोरासँग कुरा गर्न थालिहाल्नुहुन्छ भने जस्तो लाग्छ । अझ यस काव्यको प्रशंसनीय पक्ष त पृथ्वीलोक र पितृलोकको वैशिष्ट्य पहिचान हो । कवि आमाको मुखबाट यस्तो अभिव्यक्ति दिन लगाउनुहुन्छ—

तर साइँला ! यहाँ रुनुको केही अस्तित्व छैन

रुनु हाँस्नुको संज्ञा एकै छ यहाँ

हाँस्नु, रुनु, रिसाउनु, हर्ष हुनु जस्ता इत्यादि भाव

सबै पृथ्वीमा जिउनेका आधार मात्र हुन्

यहाँ आएपछि भावनादेखि माथि उठिन्छ

त्यै तँसँग गफ हुँदा मेरा भावना उर्लिन्छन्

तँ पृथ्वीको हुनाले स्वतः मेरो भावना जोडिन्छ

नभए यहाँ भावनाको केही स्थान छैन छोरा !

त्यही कारणले पनि हो

पृथ्वीबाट कोही बसाइँ सर्न

मन पराउँदैनन् !

(तेस्रो संवाद)

यस्तो मृत्युपछिको जीवनबोध र भावनात्मक सम्बन्धप्रतिको जीवनदर्शन सामान्य कविबाट सम्भव छैन । यहाँको यथार्थ वर्णन त जोसुकैले गर्न सक्छन् तर पितृलोकको संवेगात्मक चित्रण चाहिँ विशिष्ट कविक्षमताबाट मात्र सम्भव छ । पृथ्वीलोक मानवीय अज्ञानता, अहङ्कार र उद्दण्डताको सिकार बन्दै छ, मानवबाट नै मानवता हराउँदै छ, यहाँ धर्म, लिङ्ग, जाति, वर्ग, भूगोल आदिका कारण मानव–मानवका बिचमा नै झगडा हुने गरेका छन् । जुन दिन मानवले मानवसँग मानवीय व्यवहार गर्छ, जुन दिन मानव–मानवबिचका विभाजनरेखाहरू हटेर जान्छन्, त्यस दिन मात्र मानवताले मुस्कुराउने मौका पाउँछ, नत्र भने अहिले पृथ्वीलोकमा मानवबाट नै मानवताको हत्या हुँदै छ भन्ने कुरालाई यहाँ कविले आमाका माध्यमबाट यसरी व्यक्त गर्नुभएको छ—

यहाँ जो पनि छन् ज्ञानी र अलौकिक मात्र छन्

पृथ्वीमा मात्र हो

बुद्धिमत्तामा एकअर्कामा भिन्नता पाइन्छ

त्यही भिन्नताले गर्दा एकअर्कामा लडाइँ चलिरहन्छ

तँ ठुलो कि म ठुलोको होड चलिरहन्छ

तँलाई केही कुरामा लेस मात्र पनि दुविधा हुँदा

मलाई सोध्नू म बाटो देखाउँछु

तँलाई ज्ञानको ज्योति दिन्छु ।

(तेस्रो संवाद)

पृथ्वीमा जहाँ जहाँ जन्मिए पनि, जुनसुकै रूप, धर्म, जाति, भूगोल र संस्कृतिको अङ्ग बने पनि मृत्युपछि जाने ठाउँ एउटै हो, त्यहाँ भने कुनै पनि प्रकारको भिन्नता छैन । त्यस्तै परिवेशको निर्माण पृथ्वीलोकमा पनि हुनु जरुरी छ । त्यसैले अब संसारका हरेक मानवमा दाजुभाइ, दिदीबहिनीको नाता हुनु जरुरी छ भन्ने विश्वबन्धुत्वको भावको स्थापनाका लागि यहाँ कविले अत्यन्त तार्किक र विश्लेषणात्मक शैलीमा आमालाई एक दार्शनिक सन्देश वाहकका रूपमा यसरी उभ्याउनुभएको छ—

अहिले यहाँ बसाइँ सरेपछि

पृथ्वीको धर्म, जाति र समुदायबिचको

लरालर हेर्दा हाँस्न मन लाग्छ

बसाइँ सरेर यहाँ एकै ठाउँ आउने हो

प्राण निस्की सक्दा ऊ स्वतन्त्र हुन्छ

संसारका सबै बन्धनबाट मुक्त हुन्छ

यहाँ न धर्म छ न जात न समुदाय

सबै एउटै ईश्वरका सन्तानका रूपमा बस्छौँ ।

(चौथो संवाद)

पृथ्वीमा ज्ञानी मानिसले

आफ्नै स्वार्थ र स्तुति गुणगानका लागि

अनेकानेक पन्थ र समुदाय बनाएर

एकअर्कामा ठुलोसानोको भेद उत्पन्न गरेका छन्

जातिपन्थको नाममा

संसारभरि रक्तपात मात्र भएको छ

अब आउने कालमा

धर्मको प्रचार गर्ने साधकले

आफ्नो गुणगान गर्न पाउने छैनन्

तिनीहरूको बुद्धिमा

त्यस प्रकारको सोचको विकास हुँदैन ।

(एघारौँ संवाद)

सामान्यतः शोककाव्यहरूमा कविको रुवाइको मात्रा बढी नै हुने गर्छ । ती काव्यहरूमा कविको करुणा, पीडा, दहन, छटपटी, शोक, हारगुहार आदिले ठुलो ठाउँ ओगटेको पाइन्छ तर यस काव्यमा जीवनबोध, संयम, धैर्य र प्राणी जगत्प्रतिको यथार्थबोधसहितको बुद्धत्व प्राप्तिको मात्र बढी देखिन्छ । सामान्य व्यक्तिहरू मृत्युसँग डराउने गर्दछन् तर दार्शनिकहरू मृत्युलाई भोगको समाप्ति वा जीवनको एउटा नियमित प्रक्रियाका रूपमा लिन्छन् । यहाँ कविको त्यही उच्च प्रकृतिको जीवनबोध र स्वाभाविक मृत्युबोध एउटा विशिष्ट सन्देश बनेर यसरी पोखिएको छ—

साइँला ! सत्यलाई स्विकार्न समय लगाउनु हुँदैन,

मेरो पृथ्वीमा जति दिन थियो

मैले बिताइसकेँ

छोराछोरीलाई माया दिएँ, माया पाएँ

अब अहिले यहाँ परलोकमा पितृहरूसँग छु

मैले पृथ्वीको मोह त्यागिसकेँ !

(पाँचौँ संवाद)

पृथ्वीमा जन्मेको मान्छे स्थायी हुँदैन

मृत्यु सत्य र अटल हो

जन्मिनुअघि नै मृत्युको समय भावीले लेखिसकेको हुन्छ

छिटो र ढिलोको कुरा मात्र हो

यो बिमार त निमित्त मात्र हो !

मैले जे जति बिताएँ त्यसैमा अब सन्तोष गर्नतिर लागेकी छु ।

(नवौँ संवाद)

उल्लिखित सन्दर्भबाट कसैको मृत्युमा छटपटाएर आफूलाई थप तनाव दिनुभन्दा शोकलाई शक्तिमा बदलेर मृतकका सपनाहरूलाई पूरा गर्ने कार्यतिर लाग्नुपर्छ भन्ने जीवनवादी व्यावहारिक सन्देश पाइन्छ । यसरी नै सचेत व्यक्तिले आफूमा भएका कमजोरीहरूको आत्मसमीक्षा पनि आफैँ गर्छ । सोही कुरा अरू व्यक्तिले भन्दा गाली हुन्छ, आरोप हुन्छ अनि उपदेश हुन्छ तर आत्मबोधबाट जन्मिएको समीक्षात्मक दृष्टि अरूका लागि पनि मार्गनिर्देशक हुन्छ । यहाँ आमालाई छोराले आफ्ना सुधार्नुपर्ने कुरा केही छन् कि ? वा फेरि मौका पाउनुभयो भने के के कुरामा सुधान ल्याउनुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा आमा यसो भन्नुहुन्छ—

बडो गम्भीर प्रश्न गरिस् त साइँला !

पहिलो बाबाआमालाई चाँडै मर्न दिन्नँ ।

चुरोट पिउने बानी गर्दिनँ

जेठा दाजु, माइँली छोरीलाई विश्वासी हुन दिन्नँ !

अरू त सबै राम्रै रह्यो जीवनमा !

अरूमा केही बिस्मत छैन !

(नवौँ संवाद)

यसबाट आमालाई जीवनमा कुन कुन कुराले दुःखित बनाएको रहेछ भन्ने कुरा थाहा पाइन्छ । यसरी नै दुःखको भोग गर्ने ठाउँ पृथ्वी मात्र हो, निधन त दुःखमुक्तिको मार्ग हो भन्ने पूर्वीय दर्शनको निचोडलाई पनि कविले यस काव्यमा अत्यन्त सरल ढङ्गले यसरी प्रस्तुत गरेको देखिन्छ—

यहाँ दुःख, बिमार, पीडा, भोकै हुनु, पिर केही हुँदैन

सबै परमपिता परमेश्वरको ध्यानमा हुन्छौँ

दिव्यताको चरममा मग्न हुन्छौँ

देवदूतले अह्राएअनुसार चल्छौँ ।

(दसौँ संवाद)

उल्लिखित भनाइमा ध्वन्यात्मक रूपमा पृथ्वीलाई मानवले नै दुःख, त्रास, कपट, असन्तुष्टि, छटपटी, जलन र कुण्ठाको केन्द्र बनाएको हो भन्न खोजेको देखिन्छ । यहाँका हरेक क्रियाकलापमा कपट नै कपटको थुप्रो देखिने हुनाले हामी स्वर्ग गएकाहरूलाई पनि झुक्याएर कपटपूर्ण खेलतिर मोड्न खोज्छौँ तर नियममा चल्ने ठाउँ र व्यक्तिहरू आफ्नो निष्ठाबाट कत्ति पनि विचलित हुँदैनन् भन्ने कुरालाई स्थापना गर्न र पृथ्वीलोकको चरित्रमाथि व्यङ्ग्य गर्न कविले यस्तो संवादात्मक सन्दर्भ प्रस्तुत गर्नुभएको छ—

आमा, मलाई चाहिँ सुटुक्क सुनाउनू न हौ !

सुटुक्क रे !

पृथ्वीलोकको जस्तो

छलकपट यहाँ चल्दैन

देवदूतले एकै क्षणमा जानेर

दण्ड दिन आउँछन् ।

(दसौँ संवाद)

यसरी साँच्चै नै आमाको सशरीर उपस्थितिमा यस्ता गहिरा, दार्शनिक, जीवनमूल्य र नैतिक निष्ठासँग जोडिएका अमृत वचनहरूको वर्षा भइरहेजस्तो लागेका बेलामा आमाका निम्नलिखित अभिव्यक्तिहरू आउँदा हरेक पाठकको छाती ढक्क फुलेर आउँछ, घाँटीमा अचानक गला लागेजस्तो हुन्छ अनि मान्छे अवाक् भएर थाहै नपाई हिकहिकाउन थाल्छ । कविको यस प्रकृतिको कवित्व प्रवाहको शक्ति साँच्चै मर्मस्पर्शी देखिन्छ—

ल त साइँला !

बुढा, छोराछोरी हो म गएँ है !

फेरि कहिल्यै देखा नपर्ने गरी

अब म सम्झनामा मात्र रहने छु

एउटा कुरा, मलाई पानी चढाइदिइराख्नू

सालमा एकचोटि श्राद्ध गर्दिनू

म सधैँ खुसीसँग बस्ने छु ।

(एघारौँ संवाद)

यसरी काव्यको थालनीदेखि अन्त्यसम्म नै निरन्तर पाठकलाई तानेको तानेकै गरेर अन्तिममा वास्तविक जीवनबोध गराएर छोडिदिनु यस कृतिको काव्यिक सफलता हो । संवेगको चूडान्त उपस्थिति, कौतूहल र जिज्ञासाको अनन्त वर्षा र जीवनबोधको उच्चतम प्राप्ति यस काव्यको भावगत सफलता हो । यस काव्यका विभिन्न संवादहरूमा आएका परिवारका सदस्यहरू बुबा, छोराबुहारी, छोरीज्वाइँ, नातिनातिना आदिको चरित्र विश्लेषण र जीवनोपयोगी सन्देशहरू पढ्दै जाँदा चकित भएका पाठकहरू एघारौँ संवादमा पुग्दा त झनै छक्क पर्छन् । एउटा व्यक्तिको मस्तिष्कमा कति व्यक्तिहरू अटाउन सक्छन् ? आश्चर्य लाग्दो कुरा छ । यहाँ आमाले नचिनेका, नजानेका, सम्पर्क र सम्बन्ध नगाँसेका कोही पनि व्यक्ति रहेनछन् भन्ने थाहा पाइन्छ । यस्तो हुनुमा आमाको सबैसँग मिल्ने र ‘आँखामा राखे पनि नबिझाउने’ चरित्र नै कारक हो भन्न सकिन्छ तर यस कुराको स्मृति त कवि रोहितको हो नि ! कविले आफ्नो घरपट्टिका, मावलपट्टिका, भाउजू र बुहारीहरूका माइतीपट्टिका, ज्वाइँहरूपट्टिका मात्र नभएर कुनै न कुनै रूपमा नातासम्बन्ध जोडिने र नजोडिने गाउँलेलाई पनि नामैले सम्झिएर आमाका माध्यमबाट जीवनोपयोगी सन्देशहरू सम्प्रेषण गर्नुभएको छ । यो झन् आश्चर्य लाग्दो पाटो हो ।

समग्रमा हेर्दा प्रस्तुत स्मृतिकाव्य स्वैरकल्पनाजन्य पात्रको सजीवीकरण, अदृश्य चरित्रको पनि अद्भुत साधारणीकरण, अनुपम पाठकीय आकर्षण, विषय व्यवस्थापनमा कौतूहल, अतुलनीय समाजबोध, जीवनबोध र युगबोध, सरलताभित्र लुकेको गम्भीरता र मानवीय संवेगका सबै पक्षको सजीव उपस्थितिका कारण साँच्चै सफल र सबल बन्न पुगेको छ । यसका आधारमा हेर्दा कवि हर्कबहादुर लामगादे ‘रोहित’ मानवीय जीवन दर्शनलाई गहिराइमा पुगेर बुझेका एक दार्शनिक कविका रूपमा यस काव्यमा देखापर्नुभएको छ । कुनै पनि सिर्जना स्रष्टाको वैयक्तिक भोगाइ, अनुभूति र दृष्टिकोणको उपज हो तापनि त्यसले निर्वैयक्तिक भावको प्रतिनिधित्व गरेको छ भने त्यो सफल मानिन्छ । प्रस्तुत काव्यकी आमा सुरुमा रोहितकी आमा हुनुहुन्छ तर काव्यले पूर्णता पाउँदा उहाँ हरेक पाठककी आमा बन्नुहुन्छ । यसैलाई साधारणीकरणको सफलता भनिन्छ । यहाँको घटना, विषयवस्तु, दृष्टिकोण, प्रस्तुति आदि सबै कवि रोहितका नितान्त वैयक्तिक सन्दर्भहरू हुन् तर हामी काव्य पढ्न थाल्दाथाल्दै कवि रोहित पनि बिर्सिछौँ र आमा तुलामाया पनि बिर्सिन्छौँ । यहाँको छोरो आफू र आमा आफ्नी आमा बनेर कतै घाँटी हिक्कहिक्क पार्दै, कतै गर्वले छाती फुलाउँदै, कतै बुद्धत्वप्राप्तिमा सन्तुष्ट हुँदै र कतै सुखदुःखको समभावबाट निर्वेदत्व ग्रहण गर्दै अन्त्यसम्म पुग्छौँ । एउटा काव्यले यहाँभन्दा धेरै के दिनुपऱ्यो र ? यो शोककाव्य हो तर यहाँ अनावश्यक रुवाइ छैन, जीवनबोध छ, चीत्कार छैन, सान्त्वना छ, निराशा, हताशा र पीडाबोध छैन, कर्मशील बन्ने सन्देश छ, मृत्युजन्य त्रासदी छैन, सार्थक जीवनका लागि मार्गनिर्देश छ । यस कारण प्रस्तुत ‘आमाछोराको संवाद’ स्मृतिकाव्य शोककाव्य परम्परामा देखिएको एउटा मौलिक, पृथक्, प्रयोगशील र नवीन मार्गका लागि कोसेढुङ्गोका रूपमा नेपाली साहित्य जगत्मा स्थापित हुने छ भन्ने विश्वास गर्न सकिन्छ । सामाजिक रूपमा हेर्दा सुरुमा आमा तुलामायाले छोरा रोहितलाई साइँलो छोराका रूपमा जन्माउनुभयो र अहिले छोरा रोहितले आमालाई पनि कृतिगत साइँलो सन्तानकै रूपमा जन्माइदिनुभयो । लौकिक जीवनमा रहेको आमाछोराको सम्बन्ध कृतिगत जीवनमा आइपुग्दा विपरीतार्थक बन्न पुगेको छ । त्यसैले काव्यिक जीवन लौकिक जीवनभन्दा चमत्कारपूर्ण हुने गर्दछ । यस कारण म एउटा काव्यप्रेमीका नाताले दुवै आमाहरूप्रति एकमुष्ट बधाई ज्ञापन गर्दछु ।

अन्त्यमा, आफन्तजनको मृत्युबाट निरन्तर छटपटाइरहेको नेपाली समाजको आवश्यकतालाई बुझेर आफ्नै भोगाइबाट उत्पन्न ज्ञानगङ्गालाई सबल स्मृतिकाव्यमार्फत नेपाली पाठकमाझ बगाइदिनुहुने कवि रोहितलाई सहर्ष बधाई ज्ञापन गर्दछु र अझै सुन्दर, अझै सशक्त, अझै परिष्कृत, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दै अनि अब यस कृतिमार्फत युगौँयुग बाँचिरहनुहुने आमा तुलामाया लामगादेप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै बिदा हुन्छु ।