भुटानबाट नेपालीभाषी प्रियजनहरूको निष्काशन र त्यसपछिको त्रासद समय — सम्पूर्ण नेपाली महाजातिको एउटा साझा र अभूतपूर्व समस्या हो । हाम्रो साझा सभ्यतामाथिको सङ्कट हो । ससाना कृत्रिम विभाजनरेखा कोरेर छुट्टिन–छुट्याउन बानी परेकाहरूले मेरो यस कथनलाई जसरी पो लिउन् । म मेरो बुझाइमा अडिग छु ।

आज पनि भुटान र उत्तरपूर्वी भारतका कतिपय ठाउँ, पहाड, नदीनाला र खोलाहरूका आधिकारिक, सरकारी गेजेटेड नाम नेपाली भाषाका नामबाट जुराइका छन् । सम्झौँ न — भुटानका एक्लेनीबारी, खँदालबारी, कालीखोला, दरबारे, घट्टे खोला वा सौरेनी, अथवा उत्तरपूर्वी भारतका रिजालटार, मनेडाँडा, सेतीखोला वा खारपानी । यसले के सङ्केत गर्छ भने यी ठाउँ आवाद हुनुभन्दा पनि अघि यहाँ नेपाली पुगे, र गाउँठाउँ, पहाड–पर्वत र नदीनालाका नाम राखे । यानि, यो एउटा शताब्दिऔँ पुरानो इतिहास हो ।

जानकारहरू उत्तरपूर्वी भारतमा नेपालीहरूको बसोबासलाई सोह्रौँ शताब्दीको सारङ्गी ब्राह्मणको मणिपुर प्रवेशसँग जोड्छन् । भूटानमा भने, नेपालीहरूको पहिलो बसोबासको मिति सन् १६२४ मानिन्छ, त्यो पनि नेपाल र भुटानका तत्कालीन राजाहरूबीच यसप्रकारको सम्झौता भएर । त्यस विन्दुमा सुरु भएको नेपालीहरूको भुटान प्रवेशको कथाका पाना आज हुरीमा छिन्नभिन्न भएका छन् । केही बाटैमा बिलाए, कोही शरणार्थी शिविरहरूमा समाधिस्थ भए, कोही नेपालबाहिर, अन्य मुलुकहरूमा स्वदेशी मन र विदेशी हावाबीच एउटा अभूतपूर्व अवस्थामा बाँचिरहेका छन् ।

नेपालीहरूको भुटानप्रवेश, त्यसपछि त्यस पहाडी मुलुकको विकासमा नेपालीहरूको योगदान, सन् १९८० को दशकको अन्त्यतिर त्यहाँका नेपालीहरूका विरुद्ध चलेको सरकारी षड्यन्त्र, हत्या, हिंसा, आगजनी र बलात्कार, देश निष्काशन, नेपालमा शरणार्थी शिविरहरूको वास, र तेस्रो मुलुकमा पुनर्वास — यी सबै कुराको सटीक फेहरिस्त, सजीव र मर्मस्पर्शी चित्रण र मुटुछेड विश्लेषणसहित उभिएको एउटा दुर्लभ कृति हो कवि तथा समालोचक शिवलाल दाहालको लेख–सङ्ग्रह ‘अलबिदा बेलडाँडी’ । कृतिलाई २०७० सालमा डिस्कोर्स पब्लिकेशन, काठमाडौँले प्रकाशित गरेको हो ।

शिवलाल दाहाल एक परिचित र स्थापित स्रष्टा हुन् । भुटानी नेपाली सर्जकहरूमाझ मात्रै होइन, समग्र नेपाली साहित्यको व्योममा एक कवि, समालोचक र सम्पादकका रूपमा उनी परिचित छन् । ‘अलबिदा बेलडाँगी’ भित्र उनको साहित्यिक जीवनको आरम्भ, विकास र विस्तारको पनि कथाचित्र छ । उनका प्रकाशित कृतिहरूमा दुई कवितासङ्ग्रहहरू ‘आकाशगङ्गामा तरङ्गिएको पानीजहाज’ (सन् २००४) र ‘तुर्सा’ (सन् २०१२), लेख–सङ्ग्रहमा ‘अलबिदा बेलडाँगी’ (सन् २०१३), सम्पादित कृतिहरूमा भुटानका कविहरूको साझा कविता सङ्कलन ‘सम्झनामा खण्डित आकृतिहरू’ (सन् २०१०) र ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’ (सन् २०२२), धेरै कृतिमाथि भूमिका र दर्जनौँ कृतिमाथि समीक्षा र समालोचना सामेल छन् भने धेरैवटा गोष्ठीहरूमा उनले भुटानी नेपाली साहित्यमाथि प्राज्ञिक कार्यपत्रहरू प्रस्तुत गरेका छन् । अमेरिकाकाे केन्टकी राज्यकाे लुइभेलमा बस्ने सर्जक दाहाल आज पनि उत्तिकै सक्रिय छन् । विद्यार्थीकालभरि शिविरमा हुर्किएर पनि मेधावी विद्यार्थीको रूपमा चिनिएका दाहालले भारतको उत्तरबङ्ग विश्वविद्यालयबाट स्नातक तहमा, वाणिज्य संकायतर्फ प्रथम श्रेणीमा प्रथम भई स्वर्ण पदकसमेत जितेका छन् । उनले नेपालकाे त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकाेत्तर गरेका छन् । साहित्यतर्फ उनी साहित्य–भूषण उत्तीर्ण हुन् ।

फर्कौं ‘अलबिदा बेलडाँगी’ तिरै । सङ्ग्रहमा २४ वटा लेख समाविष्ट छन् । यिनमा केही संस्मरण हुन्, केही नियात्रा हुन् । केही भने अनुसन्धानात्मक लेख, केही पुस्तकमाथिका समीक्षा र केही सर्वेक्षण हुन् । अधिकांश लेखहरू भुटानमा नेपाली बसोबास र निष्काशनकै यथार्थमा उभिएका छन् । तथ्यहरू विभिन्न लेखमा छरिएका छन्, तर तिनलाई कालक्रमका हिसाबले जोडेर हेर्ने हो भने यस पुस्तकबाट भुटानमा नेपालीहरूको प्रवेशको ऐतिहासिक पृष्ठभूमि, त्यहाँका नेपालीहरूको बसोबास, अर्थतन्त्र र शिक्षा, भुटानको सुरक्षा, प्रशासन र विकासमा नेपालीहरूले खेलेको भूमिका, त्यहाँको नेपाली लोकसाहित्यको विकास, आधुनिक साहित्यको विकास, नेपालीहरूको निष्काशनको पृष्ठभूमि, नेपालभित्र शरणार्थी शिविरको जीवन र जटिलता, तेस्रो मुलुकमा पुनर्वासको जोडघटाउ र शरणार्थीहरूको मनभित्र खिल बनेर गाडिएका अदृश्य मर्मकथाहरू प्रस्टसँग देख्न, भोग्न र अनुभूत गर्न सकिन्छ ।

‘बाल्यकालका ती स्मृतिमय दिनहरू’ मा आफ्नै कथा लेखे पनि दाहालले एक औसत भुटानी–नेपाली परिवारको वस्तुस्थितिलाई केलाएका छन् । टाढाबाट हेर्दा खाली जग्गाकै साम्राज्य देखिने भुटानमा कतिपय नेपाली जग्गाविहीन छन्, र अरूको खेतबारीमा अध्याँ वा कुत गरेर बस्न विवश छन् भन्ने बुझिन्छ । कतिपयका घरबारी भने नापी विभागले काटेर सरकारीकरण गरिदिएको तीतो यथार्थ यहाँ पढ्न पाइन्छ ।

खेतबारी गरेर बसेका नेपालीहरू डोकाका डोका सुन्तोला बोकेर कसरी दिनरात हिँड्थे र हिउँदबर्खा नभनी सुदूरको बजारसम्म पुगेर बेच्थे, यसै निबन्धले दर्शाउँछ । स्कुलकलेज पर्याप्त नखुलिसकेको र सडक सञ्जाल पनि मज्जाले विकसित हुन नसकेको १९९० को दशकमा विद्यार्थीहरू कि पढ्नै पाउँदैनथे, अथवा पढ्नै परे घरबाट टाढा, अनेक दुःखकष्ट सहेर परदेशी बन्न पुग्थे भन्ने पनि बुझिन्छ । नेपालीहरूकै माझ पनि एउटा नजानिँदो सामन्तवादको उपस्थितिलाई महसुस गर्न सकिन्छ । साहुमहाजनको क्रूरता र ऋणको कहर बुझाउन दाहालको एउटै साबिती काफी छ, जसमा उनी ऋण काडेर किनेको, तर पछि नापीले करिब करिब पूरै काटिदिएको जमिनको रहल ऋणका बारेमा भन्छन्— ‘रहल बाँकी अठार वर्षपछि शरणार्थी क्याम्पमा मैले निर्ब्याजी तिरिदिएँ । यसरी देश छोडेर अठार वर्षपछि पनि त्यही देशको एक टुक्रा माटोको मूल्य मैले तिरेको छु ।’ कति मार्मिक ! कति विडम्बनापूर्ण !

‘सेङतेन, कादोकी हजुरआमा र म’ शीर्षकको संस्मरणमा भुटानको एउटा सामान्यतया नदेखिएको र नलेखिएको पाटो खोदलिएको छ । यसमा लेखक दाहाल र एक डोय परिवारको सम्बन्धको चित्रण छ, र त्यसको आधारमा भुटानका कतिपय समुदायमा देखिने प्रेम, भाइचारा र सहिष्णुताको चित्रण छ । दाहालका अनुसार डोय भुटानको एक विशेष जाति हो, जसका पुर्खा दक्षिण नेपालको सिम्रौनगढ वरिपरिबाट ११ औँ शताब्दीतिरै भागेर भुटान छिरेका कर्णाटवंशीहरूका सन्तान ह्न् । संस्मरणमा उनले आफ्ना एक डोय सहपाठी ‘कादो’ को साङ्गोल गाउँमा गएको सम्झना गरेका छन् । त्यहाँ लेखकको भेट कादोकी १२० वर्षीय हजुरआमासँग भएको प्रसङ्ग छ । त्यो उमेरमा पनि उनीभित्र बाँचेको प्रेमभाव प्रेरक लाग्छ । छुट्टिने बेला उनी लेखकलाई भन्छिन्, ‘फेरि पनि आउँदै गर्नू, हामीलाई नबिर्सनू है, नानी ।’ उक्त परिवारले लेखकप्रति देखाएको प्यार, आतिथ्य र आत्मीयता विशेष उल्लेखनीय छ ।

शिवलाल दाहालका टिपोट, र भुटानमा नेपालीहरूको बसोबासका अन्य दस्ताबेज खँगाल्ने हो भने के थाहा हुन आउँछ भने नेपालीहरूको भुटानप्रवेश सम्भवत सन् १६२४ तिर भएको हो । दाहाल लेख्छन्, ‘तत्कालीन समयमा गएका नेपालीहरूको नेतृत्व विशुन थापामगरले गरेका थिए । विशुन थापामगर राजा पदवी पाई पूर्वी भुटानको तिब्बत–लासा जाने बाटोमा तिब्बतबाट हुने आक्रमणको सामना गर्न खटिएका थिए भने उनीसँग गएका सेतु उपाध्याय गुरु गोस्वामी भएका थिए अनि पिर्थु आले र बिर्जु गुरुङचहिँ काजी र सिम्फोन । यसरी उनीहरूले एक ऐतिहासिक समयमा भुटानको सार्वभौमसत्ता रक्षा गर्नुका साथै प्रशासनिक जिम्मेवारी सम्हालेका थिए । त्यसै समयदेखि नेपाली भाषा र संस्कृति पनि भुटानमा प्रवेश गरेको थियो ।’

आधुनिक भुटानको निर्माणमा प्रारम्भिक कालीन नेपालीदेखि आजका नेपालीसम्मको भरपुर योगदान रहेको पनि उनकै पुस्तकले खुलासा गरेका छ ।

१९८० को दशकको अन्त्यतिर भुटान सरकरबाट नेपालीहरूको दमन हुन थालेको देखिएको भए पनि यो सिलसिला निकै लामो समयअघिदेखि चलेको बुझिन्छ । यसका केही प्रमाण दाहालको यस पुस्तकमा छन् । द्वेषको बीजारोपण सन् १९२० कै दशमा सुरु भयो, जब पारोका राजाले प्रभावशाली नेपाली समाजसेवी गर्जमान गुरुङलाई भाला छोपिएको कुर्सीमा बस्न लगाई, छेडेर हत्या गरे, अथवा १९५० मा अन्य शासकहरूले नेपाली समाजसेवी महासुर क्षेत्रीलाई जिउँदै सन्कोस् नदीमा फालेर मारे । दाहालकै अनुसार ‘१९८७ मा नेपाली विषयलाई पाठ्यक्रमबाट हटाइयो र नेपाली विषयका किताब जलाउने कामसमेत भयो ।

जोङ्खा भाषाद्वारा नेपाली भाषालाई विस्थापित गरियो…नेपाली भाषा, नेपाली संस्कृति र जातीय पहिचान मेटाउने कडीका रूपमा ‘वन पिपल वन नेसन’ र वर्गीकरणकारी जनगणना नीतिको घोषणा भयो । फलस्वरूप सन् १९९० को प्रजातान्त्रिक आन्दोलन उर्लियो ।’ यो नै भुटानी–नेपालीहरूको विस्थापनको जड हो, र यस कुरालाई दाहालको कृतिले स्पष्टता पाठकसमक्ष राखेको छ । वाइं. एन. चौँलागाईको ‘साक्षी’ उपन्यासको विवेचना गर्ने क्रममा उनले भनेका छन्— ‘सन् १९८८ मा दक्षिण भुटानमा सञ्चालित वर्गीकरणकारी जनगणना, सरकारको नेपालीभाषी प्रतिको शङ्कालु दृष्टि, नेपाली भाषीमाथि सांस्कृतिक हस्तक्षेप गर्ने एक राष्ट्र, एक जनता नीति, उच्च पदस्थ अधिकारीहरू बीचको टकराव र प्रतिशोध लिने दाउपेच, दक्षिण भुटानीलाई विस्थापित गरी त्यहाँको उर्वर भूमिमा उत्तरी भुटानी ल्याउने गोप्य योजना, चावासुम (देश, नरेश र सरकार) को अवधारणाजस्ता कारणहरूले नै दक्षिण भुटानमा सङ्कट निम्त्याएको हो ।’

कुन परिस्थितिमा नेपालीहरू भुटान छोड्न बाध्य भए, तिनको चित्रण दाहालले उद्धृत र चित्रण गरेका कतिपय कहालीलाग्दा प्रसङ्गहरूबाट सहजै अनुमान गर्न सकिन्छ ।

पुस्तकको ठूलो हिस्सा नेपालभित्रका शरणार्थी शिविरको जीवन, यताबाट भएको भुटान सरकार विरोधी आन्दोलन, भारतको दोहोरो नीति, भुटान सरकारको असंवेदनशीलता र शिविरभित्रको जटिलताको चित्रणमा केन्द्रित छ । खुदुनाबारी, टिमाई, शनिश्चरे, गोलधाप, बेलडाँगी १, बेलडाँगी २, बेलडाँगी ३ जस्ता शिविरहरूको अवस्था कस्तो थियो हेरौँ— ‘पानीको पर्याप्तता थिएन, नुहाउने, लुगा धुने ठाउँ छैन, सबै खुल्ला छ । लुगा धुन भुइँमा प्लास्टिक ओछ्याएर धुनुपर्ने, मल–मूत्र त्याग्ने ठाउँ छैन । अलिक पर भर्खर मुडुलेका ससाना बुट्यान र पोथ्राहरू छन्, त्यही हो मल–मू त्र त्याग्ने ठाउँ । त्यो पनि लडनबडन मान्छे नै मान्छे । त्यहाँ सरम र लाज ढाक्ने उपाय थिएन ।’

शिविरभित्रै, अझ भनौँ शरणार्थीभित्रैबाट चोर, बलात्कारी, यौन दुराचारी र हत्यारा पनि थिए भन्ने जानकारी पाठकका लागि कहरपूर्ण लाग्छ । दाहालले, बेलाडाँगी–२ शिविरमा, १० अप्रिल १९९३ को रात सुर्जमान राईको ‘अज्ञात समूह’ बाट हत्या भएको बताएका छन् । २००१ मा भुटान पिपल्स पार्टीका अध्यक्ष आर. के. बुढाथोकीको नृशंस हत्य भएको पनि उनको आलेखमा उल्लेखित छ । प्रहरी धडपकड, नेपालकै कतिपय समूहबाट हेपाइ, पहिचान लुकाएर जागिर खोज्नुपर्ने, रुखमुनिका स्कुलको कथाव्यथा र अभावग्रस्त जिन्दगी – यी शरणार्थी शिविरका यथार्थ हुन् ।

‘मेचीपुलमा लतपतिएको रगत’ त्यस दारुण इतिहासको अभिलेख हो, जसमा शरणार्थी शिविरमा बस्न बाध्य बनाइएका हजारौँ भुटानी नेपालीहरूको स्वदेश फिर्तीको आन्दोलन, आकांक्षा र प्रयासलाई गोली, लाठी र लात्तीले परास्त पारिएको थियो । यसमा सहबहादुर सिवाजस्ता भुटानी–नेपाली युवाले ज्यान गुमाएका थिए भने दर्जनौँ अन्य घाइते भएका थिए । यसै निबन्धमा, आफ्नो भूमि प्रयोग गरेर नेपाल छिर्न दिने, तर त्यसै भूमिको बाटो भुटान जाँदा भुटानमा ‘डेमोग्राफिक इम्ब्यालेन्स’ आउने भन्दै छिर्न नदिने भारतको द्वैध चरित्रलाई पनि दाहालले यसै निबन्धमा नङ्ग्याएका छन् ।

आफू साहित्यकार र साहित्यिक अभियन्ता पनि भएको हुँदा दाहालले यस सङ्ग्रहमा पुनर्वासपूर्वक भुटानी–नेपाली साहित्यको विकासक्रम, यहाँको लोकसाहित्यको रेखाङ्कन, केही समकालीन साथीहरूका साहित्यिक विकासका सूचक, तथा पुनर्वास अघि र पछि प्रकाशित केही कृतिहरूको विवेचना यस कृतिमा समावेश गरेका छन् । आफ्नो पहिलो कवितासङ्ग्रह ‘आकाशगङ्गामा तरङ्गिएको पानीजहाज’ को भूमिका लेखाउन पाका साहित्यकार दान खालिङलाई भेट्न जाँदाको प्रसङ्ग, धेरैपछि खालिङले कवि दाहाललाई लेखेको चिठी, र खालिङको भाषा ज्ञान निकै नै रोचक लाग्छन् ।

उनले गरेका कृतिगत विवेचनामा सञ्चमान खालिङको कवितासङ्ग्रह ‘धनेहरू निरन्तर हिँडिरहे’, रमेश गौतमको कविता ‘बिदाइको बेला’, तुम्बेहाङ लिम्बुको काव्य ‘मृग–विलाप’ र कवितासङ्ग्रह ‘भग्न पर्खालको सयपत्री’,  मन थापाको कवितासङ्ग्रह ‘आश्ना’, वाई.एन. चौँलागाईको उपन्यास ‘साक्षी’ र तारालाल श्रेष्ठको उपन्यास ‘सपनाको समाधि’ का विस्तृत विवेचना सामेल छन् । यिनले, समकालीन भुटानी वा भुटान बरे लेखिएका साहित्यको बारेमा खासै जानकारी नभएका पाठकहरूका लागि पथप्रदर्शनको काम गरेका छ ।

तुम्बेहाङको कविताको विवेचनामा उनी भुटानभित्रै कैदी जीवन बिताउन पुगेको, र जेलभित्रैबाट विद्रोहस्वरूप प्रगतिशील र विभेदविरोधी कविता लेख्न थालेको प्रेरक तथ्य खोलेको छ । चौँलागाइँको ‘साक्षी’ को विवेचनाभित्र १९९० को त्यस भुटानको चित्र समेटिएको छ, जहाँ भुटानी प्रशासनबाट नेपालीभाषीहरू माथि भएको अत्याचारको सविस्तार चित्रण र विवेचना समेटिएको छ ।

यस्ता कहर झेल्न बाध्य जितबहादुर दर्लामी मगर, पदम कटेल, तिम्सिना पुरोहित, उनकी बुहारी, छोरो र टुहुरो नाति, राजु खड्का र उनको परिवार, शान्ति गिरी, उनका मातापिता र बहिनीहरू, हर्कराज गजमेर आदि ती पात्र हुन्, जसका दुःखको योग भनेको भूटानी–नेपालीहरूले त्यहाँको दमनकारी प्रशासनको हातमा भोग्नुपरेको प्रतारणाको योग हो । यी विवेचनाहरूमा दाहालले आफूभित्रको समालोचकीय चेतलाई यथेष्ट मात्रामा प्रयोग गरेका छन् र कृतिहरूको गुणदोषलाई स्थापित सिद्धान्त र व्यवहारको कसीमा जाँचेका छन् । तर, रमेश दाहाल, सञ्चमान खालिङ र तारालाल श्रेष्ठको कृतिमा भने उनी त्यति आलोचनात्मक हुन सकेको देखिँदैन ।

‘गर्जमान गुरुङसँग सम्बन्धित वंशावलीको सङ्क्षिप्त चिनारी’, ‘भुटानी नेपाली लोक–साहित्यको एक चित्र’ तथा ‘भुटानी नेपाली साहित्यको विगत र वर्तमान’ जस्ता अनुसन्धानात्मक लेख र विवेचना तथ्यहरूले भरिपूर्ण, सूचनामूलक र ज्यादै उपयोगी छन् । अनुसन्धाता तथा अध्येताहरूका लागि यी दुर्लभ सामग्री हुन् ।

तेस्रो मुलुकमा स्थापित भएर पनि सम्झना आइरहने भुटान, मनभित्र चस्किरहने नेपाल, र आत्मा हल्लाइरहने नेपालीपन उनका कतिपय रचनाका केन्द्रीय स्पन्दन हुन् । ‘माटाको कोसेली’ शीर्षकको संस्मरणमा व्यक्त भावले कुनै पनि पाठकको मन पगाल्दिन सक्छ । शिविर छोडेर अमेरिका उड्ने मिति नजिकिँदै जाँदा आफू जन्मे–हुर्केको मुलुक भुटान पुग्छु भनेर त्यता हान्निएका दाहाललाई एकजना गाउँले दिदी ‘विशेष कोसेली’ भन्दै एउटा सानो पोको थमाउँछिन् र भन्छिन्, ‘भाइलाई विशेष कोसेली’ । घरमा आई खोलेर हेर्दा एउटा प्लास्टिकमा अलिकति माटो र एउटा सानो कागजको टुक्रो भेटिन्छ । टुक्रोमा लेखिएको छ— ‘घडेरीको माटो’ । दाहाल लेख्छन्, ‘के त्यो गाउँले दिदीले दिएको प्रेमको अमर कोसेली अमेरिका लग्न पाउने  बीस केजी झोलाभित्र अटाउन सक्ला?’ यस प्रश्नको कुनै उत्तर चाहिँदैन । मनन गरे पुग्छ ।

एउटा चिन्तनशील र भावुक युवाको मन हो — इतिहास र यथार्थबाट फुत्त निस्केर अप्रतिम प्रकृतिमा रमाउन पुग्नु पनि स्वाभाविक हो । आलोचनात्मक मस्तिष्कलाई त्यतैकतै स्थगित गरेर लेखक दाहाल केही यात्रामा पनि निस्किएका छन्, र तिनको वर्णन यस कृतिभित्र समेटिएको छ । ‘पुर्खाका पाइला टेकेर’ मा समेटिएको  २०६९ को पाथीभरा यात्रा, ‘अनुभूतिका क्यानभासमा दार्जिलिङ’ मा समेटिएको २०६८ को दार्जिलिङ यात्रा र ‘कालेबुङको सम्झना ः एक अधुरो चित्र’ भित्र समेटिएको २००४ को यात्राका संस्मरण रोचक लाग्छन् । तर पनि, पाथीभराको यात्रामा ‘जब चिलाउने, उत्तिस, मतालो, राइखन्यूँ, काब्रो, लालुपाते फुल, ऐँसेलु जस्ता रुखबिरुवा–बुट्यानहरू देखेँ, म जीवनका आदिम दिनहरूतिर फर्किएँ, बाल्यकालका ती चिरस्मरणीय दिनहरूको सम्झनामा डुबेँ’ भन्ने वाक्यले स्थापित गरेको दाहालको नेपाल–भुटान कन्नेक्सनदेखि बाहेक, अन्य सबै अंश एक चलनचल्तीको नियात्राको अभ्यास लाग्छन्, र खास लाग्दैनन् ।

दार्जिलिङ र कालेबुङका यात्रा पनि अति सामान्य भावकका केज्युअल यात्रा विवरणजस्ता छन् । कालेबुङमा भुटान देखिने धेरैवटा स्थान छन्, त्यहीँ पुगेर पनि लेखक दाहालले, कुनै थुम्कोमा उभिएर भुटान हेरेनन्, किन होला, उत्तर छैन । यी नियात्रा खण्डको लोभ यस पुस्तकका लागि नगरेको भए पनि हुन्थ्यो जस्तो लाग्छ ।

इतिहास, भूगोल, अर्थतन्त्र, देश, विदेश, मानवाधिकार र साहित्य – यस्ता विविध रसले भरिएको यो कृति वास्तवमै एउटा ज्ञानवर्धक र मार्गदर्शक कृति हो । यसबाट थाहा हुन्छ— नेपाली कसरी भुटान पुगे, कसरी विस्थापित हुन पुगे, झापाको शिविरमा केके भयो, कसरी बाहिरी खेलाडीहरूले शरणार्थीका मर्ममाथि खेले, र उनीहरू कसरी अन्य मुलुमा पुनर्वासी बन्ने पुगे । पुस्तकले भुटानी–नेपाली साहित्यको इतिहास र केही प्रतिनिधि कृतिहरूको पनि सटीक विश्लेषण हाम्रो सामु गरिदिएको छ । २१२ पृष्ठको आकारको सानो कृतिले दिएको यो असीमित ज्ञान, पाठकका लागि वास्तवमै एउटा दुर्लभ प्राप्ति हो । पुस्तकभरि पाइने भुटानी–नेपाली लवजका शब्दहरू — जस्तो कि, ‘साढे चार बजी’, ‘चौबन्धी’ ‘सगाएको’, तथा प्रस्ट नबुझिने नै भए पनि शिविरेली वाक्यांश ‘छ ऐँची घटाउने’ जस्ता शब्द वा वाक्यांशको प्रयोगले भाषामा पृथक् स्वाद थपेको अनुभूत गर्न सकिन्छ । दाहाल आफैँले निर्माण गरेका ‘रोमान्टिकता’ जस्ता ठिम्मर शब्द पनि ज्यादै स्वादिला लाग्छन् ।

कतै विक्रम संवत् त कतै इस्वी संवत्, एउटै व्यक्तिलाई कतै ‘उनले’ त कतै ‘उहाँले’, शेर्पालाई ‘थर’, ‘जम्मुकश्मीर’ लाई ‘जम्बुकश्मिर’, ‘हिमालय दर्पण’ लाई ‘हिमालयन दर्पण’, ‘तुलसी ढुङ्गेल’ हुनुपर्नेमा ‘तुलसी कालेबुङ’ भएका कुटा खड्किन्छन् । तर यी समान्य कुरा भने कृतिका सम्पादकतिर तेछ्र्याइराखेर सजिलै अगाडि बढ्न सकिन्छ ।

बधाई, शिवलाल दाहाल ।