मलाई बिदाका दिन कतै जानु नपरे मजा आउँछ । एकदिन भए पनि आफ्नो मालिक आफैँ बनेर बस्न पाइने । नत्र हामी जस्ता जागिरे, नाममात्रका स्वतन्त्र हौँ । मान्छे स्वतन्त्र हुन्छ भन्छ तर मलाई धेरै कुराबाट जकडिएको लागिरहन्छ । भन्नका लागि मात्र स्वतन्त्र । बिदाका दिन अनेकतिरबाट निमन्त्रणा आउँछन् । कुनै ठूलो मानिस भएर होइन । कार्यक्रममा उपस्थिति सङ्ख्या बढाउन । मान्छेको उपस्थितिले कार्यक्रमको भव्यता निर्धारण हुन्छ । मलाई श्रोता बनेर हाइ काढ्दै बस्न मन लाग्दैन तर कतिपय कार्यक्रममा बोलाउने व्यक्तिसँगको सम्बन्धले सहभागी हुनुपर्छ । अझ किन हो चियापान, खाजा अथवा खानाको व्यवस्थासमेत छ भनेर निमन्त्रणा कार्डमै छापिन्छ । एक छाक खानाकै लोभले मान्छे आउँछन् भन्ने हो अथवा साँच्चै मान्छे एकछाक खानामा नै यति मरिहत्ते गरिरहेका  छन् । आफू यसलाई खुट्याउन सक्दिनँ । एउटा पक्षमा उभिँदा अर्को पक्षमा अन्याय होला । सबैको आफ्नै जीवन मूल्य हुन्छ । आफ्नै सिद्धान्त र जीवन दर्शनमा मान्छे बाँच्छ । त्यसमाथि धावा बोल्नु हुँदैन । व्यक्तिको छनोट गर्ने अधिकारको सम्मान गर्नुपर्छ । हाम्रो समाज, वैयक्तिक स्वतन्त्रताको त्यति धेरै सम्मान गर्दैन भन्ने मेरो अनुभव हो । म समाजशास्त्री, मानवशास्त्री र राजनीति विज्ञानको विद्यार्थी होइन । त्यसैले मैले त अनुभवमात्र उल्लेख गर्ने हो । यसका सैद्धान्तिक आधार पक्कै होलान् । समय क्रममा यसको उत्तर आउला पनि । म मिति २०८२/ पौष २६ गते शनिबार दुईओटा साहित्यिक कार्यक्रममा सहभागी भएँ । पहिलो कार्यक्रम, कवि भालेन्द्र साम्बहाङफे “जुझारु” को    कृति “निर्झर” को परिचर्चा कार्यक्रम थियो । धरानमा रहेको कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले आयोजना गरेको थिय‍ो । म कवि र कविताको गम्भीर पाठक पनि होइन । यसको आशय, कविता मलाई मन नपर्ने कदापि ह‍ोइन । म साहित्यको विद्यार्थी भएको नाताले साहित्यका सबै विधा प्रिय लाग्छन् । अझ मेरा दृष्टिमा कविता साहित्यको उच्चस्तरीय प्रतिभाबाट मात्र निस्सृत हुन्छ । त्यसैले कविका बारेमा अग्निपुराणले यस्तो उद्घोष गरेको होला :

अपारे काव्य संसारे कविरेक प्रजापति: ।
यथास्मै रोचते विश्व तथैव परिवर्तते ।।

अर्थात् काव्यिक संसारमा कवि सृष्टिकर्ता हो । उसले जस्त‍ो संसार चाहन्छ, त्यस्तै बनाउँछ । यस्तै विचार कवि फिलिप सिड्नीको पनि कविताका सन्दर्भमा पाइन्छ । कविताको शक्ति प्रबल हुन्छ । त्यसैले यस्तो लोकोक्ति पनि शुरुवात भएको होला । जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि । तर नेपालका सन्दर्भमा कवि र कविता सङ्ख्याका दृष्टिले अत्यधिक भए । त्यसको गुणवत्ताको ख‍ोजी र विधा तात्त्विक अध्ययनमा खरो उत्रिने कम छन् । अब यसलाई रोक्न, छेक्न सकिँदैन । पाठकलाई छनोटको सुविधा छँदैछ । यसको आशय, कवि भालेन्द्रको कविता कमसल भन्ने होइन । त्यस कृतिका परिचर्चाकार प्राध्यापक डाक्टर गोपाल भण्डारी र जीवन राईका टिप्पणीका आधारमा उनका कविता शक्तिशाली छन् । कविता गुणयुक्त छन् भन्ने सुनियो । कविताको कमजोर पक्षको खासै चर्चा गरेको सुनिनँ । मनमा लाग्यो, साँच्चै दोषमुक्त नै रहेछन् र त त्यत्तिका विद्वानहरूले कमजोर पक्ष उल्लेख गरेनन् । मलाई कविले कृति दिएका छन् तर मैले पढ्न पाइरहेको छैन । कविताको कभर आकर्षक छ । म कविताको गम्भीर पाठक होइन तैपनि पढ्ने प्रयास गर्छु । मलाई केही समय अघिसम्म गद्य कविता नै होइन भन्ने लागिरहन्थ्यो । यो भाव स्नातक पढुन्जेल व्याप्त थियो । मैले आंशिक रुपमै भए पनि भूपि शेरचन र गोपालप्रसाद रिमालका गद्य कविता पढ्न थालेँ । म अहिले त्यो अतिवादी विचारबाट मुक्त भएको छु । संस्कृतमै पनि गद्य कविताका सन्दर्भमा यस्तो विचार भेटिन्छ : गद्यं कवीनां निकषं वदन्ति । यो विचार संस्कृत समालोचनाका अग्रज व्यक्ति दण्डीको हो । उनले शायद “काव्यादर्श” मा यो विचार राखेका होलान् । संस्कृत काव्य परम्परामा गद्य पद्य सबै विधामा कलम चलाउनेलाई कवि र त्यस्ता कृतिलाई काव्य भनेको पाइन्छ । पद्यका तुलनामा गद्य अझ शक्तिशाली हुन्छ भन्ने भाव हो । गद्य कविता पनि शक्तिशाली हुँदा रहेछन् । मेरो पहिलेको अतिवादी विचारले गद्य कविताप्रतिको अन्याय अथवा अपमानप्रति म पश्चात्ताप गर्छु । तर बितेको समयलाई धेर वास्ता गर्नाले कुनै उपलब्धि हुँदैन । “निर्झर” कवितालाई यहीँ बिट मार्दै म दर्शनको कार्यक्रमतिर लाग्छु ।

“सक्रियता, सेवा, संयम र धैर्य” कुनै चामत्कारिक वाणी लाग्यो र ध्यान खिच्यो । सन्दर्भ थियो, “पूर्वीय दर्शन र किराँतदर्शनको मुन्धुमी सृष्टिसिद्धान्तको तुलनात्मक अध्ययन” यो दर्शनपरक परिचर्चा कार्यक्रम थियो । यसका लेखक, अन्वेषक ऋषिराज लुम्साली हुन् । यो एक अनुसन्धानमा आधारित कृति हो । माथिको अभिव्यक्ति कार्यक्रमको प्रमुख अभ्यागत वरिष्ठ साहित्यकार शरणकुमार राईको हो । शालीन, शिष्ट ,नम्र बोली तर वेदका ऋचाझैँ लाग्ने अभिव्यक्ति । उमेरले वार्धक्य प्राप्तितिर अथवा वैदिक धर्मले मानेको वानप्रस्थ आश्रममा बसिरहेका साहित्यकार । बोली मधुर र केही सानो भए पनि त्यसमा मन्त्रमुग्ध बनाउने तागत थियो । मलाई व्यक्तिगत रूपमा कुनै कृतिमाथिको चर्चा परिचर्चा त्यति उत्साहप्रद लाग्दैन र मन रमाउँदैन पनि । त्यस्ता कार्यक्रम विषयकेन्द्रित र दक्षतामा आधारित हुँदैनन् भन्ने अनुभव धेरै पटक भएको छ । तर योग्य र अयोग्यको मापदण्ड कसले नाप्ने ? यहाँ मेरो घमण्ड देखियो पनि होला । योग्य पात्रले विषयनिष्ठ र तटस्थ भएर कृतिको निर्मम समीक्षा नभई प्रभावपरक स्तुतिमा आधारित हुने  गरेका छन् । जसले साहित्यको गुणवत्तालाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । नेपाली साहित्य पनि एक प्रकारको सिन्टिगेटमा सञ्चालित छ । यसले पँहुच नपुग्ने साहित्यकारले जस्तोसुकै उत्कृष्ट साहित्य लेखे पनि स्वान्त सुखायका लागि लेखेको महसुस हुन्छ । कमसल साहित्यको वाह वाहाइ भइरहेको देखिन्छ । फेरि कमसल भनेको कामै नलाग्ने भन्ने होइन । कमसलकै पर्याय, हीन हुनसक्छ । म यहाँ हीन शब्द बौद्धदर्शनबाट सापटी लिँदैछु । शब्द सापटी लिनु जस्त‍ो सहजता अरू सापटीमा हुँदैन । यहाँ फिर्ता गर्ने बाध्यता रहँदैन । त्यसैले सापटी शब्द त्यति सान्दर्भिक नभए पनि भाषामा प्रयोग हुने गरेकै छ । हीनको अर्थ बौद्ध धर्मक‍ो हीनयान र महायानका सन्दर्भमा मार्मिक र यथार्थपरक ढङ्गले आएको छ । प्रसङ्ग इतरको कुरा भए पनि उत्कृष्ट र त्यसको तुलनामा कमसलको अवधारणा त्यहाँ पाइन्छ ।

आशयोपदेशस्य प्रय‍ोगस्य विरोधत: ।
उपस्तम्भस्य कालस्य यद्हीनम् हीनमेव तत् ।।

भगवान् बुद्धको महापरिनिर्वाणपछि उनका उपदेशलाई कसरी संरक्षित गर्ने भन्ने सन्दर्भमा आयोजना भएको बौद्ध सङ्गतिमा विवाद भयो । केहीको मत, बुद्धवचन जस्ताको तस्तै संरक्षण गर्नुपर्छ भन्ने थियो भने अर्को विचार, समय सापेक्ष परिवर्तन र परिमार्जन आवश्यक छ भन्ने थिय‍ो । यसले बौद्ध सङ्गममा फुट ल्यायो । समयको गति पहिचान नगरेकाले र परिवर्तनलाई अस्वीकार गरेकाले हीनयान भन्न थालियो । बुद्धवचन परिवर्तनका पक्षपाती महायान भए । यहाँ हीनको अर्थ अर्काको तुलनामा कमसल भन्ने हो । माथिको श्लोकले यसैलाई सङ्केत गरेको पाइन्छ । आशय नबुझ्नु, उपदेशको तात्पर्य नजान्नु, प्रयोग नगर्नु, विरोध नस्वीकार्नु, समयको पदचापको महत्त्व नबुझ्नुलाई हीन भनिएको हो । नेपाली साहित्यमा पनि कमसल साहित्यले पाउने भन्दा धेरै चर्चा पाएका छन् । त्यस्ता साहित्यिक कृति उल्लेख गरिहाल्दा स्रष्टाको अपमान हुन जान्छ । जानेर नै त अनुभूतिमा कसैको अपमान गर्नु त्यति सान्दर्भिक हुँदैन । अझ रोचक त, राम्रै समीक्षकहरूले त्यस्ता कृतिमा अनुपम साहित्यिक कृति हो भनेर भूमिका पनि लेखिदिने गरेको पाइन्छ । पत्रपत्रिकामा त्यसको कुनै सानो अंश पनि प्रकाशित गरिदिनाले पाठक साँच्चै गज्जबको कृति प्रकाशित भएछ भनेर किन्ने अनि पढ्दै जाँदा त्यसबाट के ग्रहण गरियो ? अथवा त्यसको मूल्य के थियो ? उपस्थापित गर्नै नसकिने अवस्था छ ।

पुस्तक परिचर्चामै केन्द्रित हुन्छु । म दार्शनिक होइन । रहरले भन्दा पनि बाध्यताले म दर्शनशास्त्रको विद्यार्थी बनेँ । शुरुमा मैले परीक्षा पास गर्न पढेको दर्शन साङ्ख्य हो । त्यसको सत्कार्यवाद मलाई बुझ्न निक्कै हम्मे भएको थियो । यसको आशय, अहिले सबै बुझेँ भन्ने हुँदै होइन । परीक्षा लेख्नुपर्ने र पास गर्न त्यही जान्नुपर्ने । चौबिस तत्त्व साङ्ख्यले स्वीकार गरेको छ र त्यसका आधारमा संसार चलेको छ भनेर दीपक न्यौपाने सरले पढाइरहँदा मलाई निद्रा लाग्थ्यो । उहाँमा शिक्षण कौशल पूर्ण थियो । नयाँ नयाँ नियुक्ति लिएर आएका कारण पनि असाध्यै मिहिनेत गरेर सिकाउनुहुन्थ्यो तर शिक्षकको मिहिनेतले मात्र नहुँदो रहेछ । सिक्नेले पनि त्यति नै मिहिनेत गर्नुपर्ने कुरा मलाई बुझ्न लामै समय लाग्यो । नबुझ्दा सरहरू नजान्ने भन्ने हाम्रो धारणा थियो । हामी हसिमजाक पनि  गर्थ्यौँ । नबुझ्नु नै दर्शन हुनु हो । जब बुझिँदैन तब त्यहाँ दर्शन छ भन्दै हिँड्थ्यौँ । मोहन कोइरालाको फर्सीको जरा पनि त्यति नै दुरुह लाग्थ्यो । म साथी भाइमाझ, “छन्द नजानेर गद्यमा लेखेको हो, यसमा केही छैन” भनिरहन्थेँ । साह्रै पछि टि. एस. इलियट एम. ए. मा पढियो । उनको परम्परा र व्यक्ति प्रतिभा स्वर्गीय ताराकान्त पाण्डेय सरले पढाउँदा मात्र प्रयोगशीलता केही बुझ्नमा आयो । यसको मतलब पारङ्गत हुँदै होइन । म धेरै विषयमा अपूर्ण छु तर अपूर्णतामा रमाउन अचेल मलाई मजा लाग्न थाल्यो । पूर्ण त ब्रह्ममात्र हुन्छ भनिन्छ । मनुष्य अपूर्ण नै हुन्छ । जसले आफूमा पूर्णता र सर्वगुण सम्पन्न देख्छ, त्यसमा अहमपना प्रचुर रहेछ भनेर बुझ्दा हुन्छ । गुरुप्रति सम्मानको भाव त्यो समय ममा पटक्कै थिएन । अरू मेरा सहपाठीका बारेमा म केही भन्न सक्दिनँ । हामीले हाम्रो आदर्श भुलिसकेका थियौँ । गुरु भन्नुभन्दा सर भन्दा हामीलाई गौरव लाग्थ्यो । दर्शनको पहिलो परिचय त्यतिखेर भएको हो ।

मैले दर्शनशास्त्र, पछि बाध्यताले पढेँ । अहिले थोर बहुत दर्शनका बारेमा सुन्न मन लाग्छ । नबुझे पनि पढ्न मन लाग्छ । अझ किराँत दर्शन हाम्रो मौलिक दर्शन हो । त्यसका विषयवस्तु बुझ्दा कति सान्दर्भिक होला भन्ने लागिरहन्छ । हाम्रो भूमिमा पनि प्रशस्त मौलिक दर्शन विकास भएका छन् तर त्यसमा कलम चलाउने मानिस कम छन् । किराँत दर्शन पनि पौरस्त्य हो । पूर्वीय भूमिमा समग्र एसिया र अफ्रिका पर्छन् । पुराणहरूमा पूर्वे किराँता यस्य स्यु पश्चिमे यवनस्थिता: भनेको भेटिन्छ । पूर्वमा किराँत र पश्चिम एसियामा यवन ( इस्लाम ) को बाहुल्यता रहेको बताइन्छ । प्राचीन समयमा ग्रिसेली प्रायद्वीपबाट नियाल्दा जताबाट सूर्योदय भयो, त्यसलाई पूर्व भन्न थालियो । आज युरोपियन र अमेरिकन संस्कृतिले छ‍ोएको वा त्यसबाट प्रभावित भूमि पश्चिम हो तदितर पूर्व । यद्यपि हाम्रै भौगोलिक बनावटमा विकसित भएका चिन्तनधारा प्रकाशित हुनुपर्छ जस्तो लाग्छ । केही भएका पनि छन् । अचेल पूर्वीय दर्शन भन्नाले संस्कृत भाषामा लेखिएकालाई मात्र बुझिन्छ । समय क्रमसँगै अर्थ सङ्कोच भय‍ो होला भनेर मान्नुको विकल्प छैन । धेरै कुरा मान्दिँदा बहस हुँदैन । मन नपरे पनि स्वीकार गरिदिँदा सानो भइँदैन तर मेरो व्यक्तिगत स्वभाव योभन्दा फरक छ । ठिक विपरीत । साना साना विषयमा बहस गर्दा मजा आउँछ । जिते जस्तो महसुस हुँदा झन् मन प्रफुल्लित हुन्छ । मन नै त हो के गर्न सकिन्छ ! वादे वादे जायते तत्त्वबोध: बहस बाट तत्त्वज्ञान हुन्छ भने पनि त्यो तार्किक र युक्तियुक्त हुनुपर्छ तर मेरा जीवनमा लागु भएका छैनन् । कतै वादविवादले ज्ञान बढाउँछ, तार्किक बनिन्छ भन्ने छ । तर गौतम बुद्धले बाह्र कहीँ कतै चौध प्रश्न गर्दा मौनता स्वीकार गरेका थिए भनेर पढेको हो । ती प्रश्न संसारको रीति, स्थितिका बारेमा थियो । बुद्धले असान्दर्भिक मानेर मौनता स्वीकार गरेको होला अथवा सत्य मानेर ? त्यो बुद्धलाई थाहा थियो । मौनतालाई आफू अनुकूल व्याख्या गर्ने छुट त छँदैछ । बौद्धहरूले पनि त्यसलाई आफ्नै अनुकूलतामा बुझेका छन् । शास्त्र कतिपय सन्दर्भमा विरोधाभासी देखिन्छन् तर त्यो आफ्नो अज्ञानता होला । त्यसमा पक्कै पनि केही रहस्य लुकेका हुन सक्छन् । विरोधाभास र विविधता मानवको जीवनमा धेरै पटक आउँछ जस्तो लाग्छ । मेरो व्यक्तिगत जीवन त विरोधाभासका बिचमा छ । अरूका बारे धेरै नलेख्नु नै बुद्धिमत्ता ठहरिन्छ ।

म लेख्दालेख्दै धेरैतिर बरालिन्छु । सन्दर्भ एकातिर म अर्कैतिर पुगिरहेको छु । अब मूल प्रसङ्ग पुस्तक परिचर्चातिरै फर्केँ । आजको वैश्य युगमा बजारको अर्थ छ । यहाँको वैश्य शब्दले जातलाई सङ्केत नगरेकै राम्रो । श्रीमद्भगवद्गीतामा चार जात उत्पत्तिको चर्चा छ । भगवान् कृष्णले नै ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रलाई सृष्टि गरेको बताएका छन् । उनीहरूको गुण र कर्मको व्याख्या छ । कतिपयले वैदिक धर्म जातपातको पक्षपाती मान्छन् । शायद उनीहरूले गीताको मर्म नबुझेर त्यसो भनेका हुन सक्छन् । यसभित्र जातपातको शुरुवात निक्कै पछि भएको होला । त्यो समयमा वैश्य व्यापार, वाणिज्यमा रमाउँथे । त्यसैले यहाँ वैश्य शब्दको प्रयोग गरिएको हो । लेखेर नै मध्यम जीवन चल्न सक्नु नेपाली साहित्यका लागि राम्रो हो । सीमितमै रमाउनु र विशेष गरी पँहुचवालाका लागि मात्र यसले ढोका खोल्नु गम्भीर विषय भए पनि आशावादी बन्नुपर्छ । मानव जीवनबाट आशा नै निख्रियो भने बाँचिन्छ कसरी ? बाँच्ने त त्यही झिनो आशाले हो । यहाँ मैले शरणकुमार राईका बारेमा र उनको शालीन अभिव्यक्ति र क्रियाशीलताको चर्चा गरिरहेको हो । वानप्रस्थ आश्रममा बसेको भए पनि आधुनिक प्रविधिमा राम्रैसँग जमेका रहेछन् । कथा,उपन्यास र कविता सिर्जना गर्ने सर्जकले युटुब च्यानल नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा सञ्चालन गर्दै गरेको सुनेर सर्जकको सक्रियताप्रति नतमस्तक भएँ म । युटुब च्यानलमा सुन्ने र हेर्ने कम भए पनि पश्चिमतिरका मानिस एक जनाले मात्र हेरे अथवा सुनेका खण्डमा नेपाली साहित्यको विकासमा एउटा इँटा थपिएको महसुस हुन्छ भन्ने उनको विचार थियो । उनको विचारलाई समर्थन र विरोध दुवै गर्न पाइयो । अर्को पनि बाटो छ मध्यमार्गी । मलाई कवि, समालोचक टि. एस. इलियट प्रिय लाग्छन् । उनले कविता( साहित्य) अनुवादको विषय होइन भनेका छन् । तथापि आजका दिन यो पूर्ण स्वीकार्य छैन । शरण कुमार राईलाई इलियटले प्रभावित बनाएनछ । उनलाई अनुवाद भए पनि नेपाली साहित्य विश्वव्यापी हुनुपर्छ भन्ने लाग्दो रहेछ । त्यसैले त आफ्ना सिर्जनालाई प्रविधिको सहयोगले रूपान्तरणमा लगिरहेका छन् । त्यो उनको निजी कर्म हो, सिर्जना हो । हामीले त्यसलाई प्रोत्साहन गर्दा फाइदा नभए पनि घाटा पक्कै हुँदैन ।

मन्तव्यकै बिचमा लेखनको प्रयोजन के हो भन्ने विचार आयो । पूर्वीय जगत्, पाश्चात्य साथै दाक्षिणात्य सभ्यता र संस्कृतिमा लेखनको प्रयोजनका बारेमा मतमतान्तरहरू रहेका देखिन्छन् । सिर्जनाका कारक तत्त्वका बारेमा विशद विवेचना भएका छन् । कुनै पनि चिन्तन मात्र पूर्ण र सत्य ठहरिका छैनन् । सबै कुरा सापेक्षतामा हुन्छ । चिन्तन पनि समय सापेक्ष नै हुन्छ । साहित्यको कारक र प्रयोजन समय सापेक्ष हुने नै गर्दछ । साहित्यलाई समाजको दर्पण मानिन्छ । जे भइरहेको छ, त्यसको प्रस्तुतिमात्र साहित्य होइन । यसमा कला चाहिन्छ । यसभित्र सौन्दर्य हुनुपर्छ । साहित्य केवल यथार्थको प्रस्तुतिमात्र भए नारा बन्छ । तर शरणकुमार राईका अभिव्यक्ति काव्यात्मक थियो । शालीन र भद्र अभिव्यक्तिभित्र साहित्य लेखनको प्रयोजन र सिर्जनाको बीजको चर्चा थियो । केही नभए पनि स्वान्त सुखायका लागि साहित्य सिर्जना गर्नुपर्छ । यसले सक्रिय बनाइरहन्छ । छिटो उपलब्धिमा रमाउने भन्दा पनि दीर्घकालीन उपलब्धिका लागि आफ्ना कर्म केन्द्रित हुनुपर्नेमा जोड थियो । साहित्य समाजकै उपज भएकाले यो सेवा हो । फगत दुई डल्ला साबुन दिँदै गरेका फ‍‍ोटा सामाजिक सन्जालमा पोस्ट गर्दा सामाजिक सेवा हुने होइन । हामी सामाजिक भएकाले आफ्न‍ो क्षमता र तहबाट समाजका लागि सकेको योगदान गर्नुपर्छ । देखावटी समाजसेवा अहिले व्याप्त छ । त्यसबाट बच्दै नि:स्वार्थ सेवाको माग थियो । यसमा विमति राखिरहनु पर्दैन । तर प्रख्यात हुने रहर र सामाजिक बन्ने चाहनाले हामीले सेवा नगरी प्रचारमात्र गरेको पनि देखिन्छ ।

उमेर भनेको केवल सङ्ख्या हो भनेर मानिने विचारसँग म पूर्ण सहमत छैन । संस्कृत साहित्यका महाकवि अश्वघोषको एउटा प्रसिद्ध कथन छ । उनले त्यहाँ जराको अथवा बुढ्यौलीको कलात्मक चित्रण गरेका छन् । रूपस्य हन्त्री व्यसनं बलस्य शोकस्य योनिर्निधनं रतीनाम् ।

नाश स्मृतीनां रिपुरिन्द्रियाणामेषा जरा नाम ययैष भग्न: ।। अर्थात् रूपको हानी, बलको विपत्ति, शोकको उत्पत्ति, आनन्दको निधन, स्मरण शक्तिको नाश, इन्द्रियहरू सक्रिय हुन नसकन्नु नै वृद्धत्व हो । यो विचार, उमेर सङ्ख्यामात्र हो भन्नेका लागि अस्वीकार्य देखिन्छ । उमेर सङ्ख्यामात्र नभई जीवनको एउटा निश्चित सत्य हो । यसले हामीलाई धेरथोर प्रभावित बनाउँछ नै । यति हुँदा हुँदै पनि सक्रियताले सकारात्मक जीवन व्यतीत गर्न सघाउ अवश्य पुर्याउँँछ ।

शरणकुमार राईको सक्रियताले नै जीवन सिर्जनशील भइरहेको मलाई लागिरह्यो । उनका सारगर्भित मन्तव्यले सङ्ख्यात्मक दृष्टिले कम उपस्थिति भएको कार्यक्रमका सहभागी एकाग्र भई सुनिरहेका थिए । श्रोताक‍ो मन‍ोविज्ञानलाई प्रभावित बनाउन सक्नु नै वक्ताको पहिचान हो । अचेल त माइक भेट्यो भने निरर्थक कुरा गरेर घन्टौँ समय व्यतीत गर्ने परिपाटि छ । श्रोताको मनोविज्ञान नबुझी ब‍ोल्दा कार्यक्रमको गरिमा बढ्ने भन्दा पनि घटिरहेको हुन्छ । विषयवस्तु एकातिर, वक्ताको भनाइ अर्कातिर भइरहेका कयौँ कार्यक्रमको म साक्षी भएको छु । किन हो हाम्रो समाजमा मञ्चमा बस्नैपर्ने र बोल्नैपर्ने प्रवृत्ति पूर्ण व्याप्त छ ।  यो मनोविज्ञानबाट हामी नेपाली धेरै प्रभावित भएका छौँ । समासशैलीका कार्यक्रम गर्दा के बिग्रिन्छ ! वेदमा पहिले सभालाई नमस्कार गर्ने र त्यसपछि मात्र सभापति अथवा मञ्चको अभिवादन छ । नम: सभाभ्य: सभापतिभ्यश्च अर्थात् पहिले सभालाई त्यसपछि सभापतिलाई अभिवादन गर्ने हाम्रो आदर्श हामी किन बिर्सिरहेका छौँ ? विगतले आगतको मार्ग निर्धारण गर्न नसकेकामा मलाई चिन्ता लाग्छ । हामी कस्तो समाज निर्माणमा अग्रसर छौँ ? केवल मञ्चकै मात्र अस्तित्व हुने हो ? संसारमा प्रत्येकको आफ्नै गरिमा छ । उसको अस्तित्व छ । अझ अस्तित्व मञ्चले नभई व्यक्ति स्वयमले निर्धारण गर्नुपर्छ । बुद्धले त्यसैले नै अप्पो दीपो भव अर्थात् आफै प्रज्वलित बन भनेका होलान् शायद ।

पौरस्त्य दर्शनका विज्ञ गुरुप्रसाद कोइराला सरले प्राच्य दर्शनका बारेमा आफ्ना धारणा राखेको र डाक्टर मोहन तुम्बाहाङले किराँत दर्शन मात्र नभई त्यसभित्रको सृष्टसिद्धान्तका बारेमा विवेचना गरेका थिए । कार्यक्रममा भाषाविद् टङ्क न्यौपाने सरले पनि आफ्ना तर्कपूर्ण र ओजस्वी विचार प्रकट गरेका थिए । वरिष्ठ साहित्यकार कथा, उपन्यास, कविताका लेखक शरणकुमार राईले नेपालमा स्थापित पुरस्कार निष्पक्ष नभएको धारणा राख्दै गर्दा मलाई पनि लागिरह्यो, के स्थापित सबै पुरस्कार निष्पक्ष छन् त ? कतिपय सन्दर्भमा आफूले नपाउँदा निष्पक्ष भएन भन्ने मान्यता पनि छ । तथापि पुरस्कारको निष्पक्षतामा प्रश्न छन् । तिनले आफ्नो गरिमा र निष्पक्षता आफैँ स्थापित गर्ने हो । व्यक्ति अथवा संस्था आफैँ जवाफदेही हुनुपर्छ । अझ आफ्ना कर्मले सिद्ध गर्नुपर्छ आफ्नो निष्पक्षतालाई । मलाई कवि विमल गुरुङ स्मृति पुस्तकालयको परिचर्चा तुलनात्मक रूपमा बढी सान्दर्भिक लाग्यो । अन्त्यमा धरान जीवन्त सहर थियो । कला,संस्कृति र साहित्यको बढो समन्वय भएको ठाउँ । सामाजिक, सांस्कृतिक दृष्टिले वैभवशाली थियो । आफ्नै समुन्नत इतिहास बोकेको सहर क्रमश: मृत हुँदै गयो भनेर सुन्ने गरिन्छ । मलाई सुस्तता आएको हो तर मृत नै भएको जस्तो लाग्दैन । सबै कुरा सबै ठाउँमा एकै तरिकाले रहिरहन सक्दैन । यो प्राकृतिक नियम नै हो तर यसले पुनरुत्थानको प्रयास गरिरहेको छ । लड्नु हुँदैन तर कथम कदाचित लडिहाले पनि उठ्ने प्रयासचाहिँ अवश्य गर्नुपर्छ । धरान उठ्ने प्रयासमा छ । विज्ञेषु किमधिकम् ।