अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साहित्यपोस्ट डटकमले अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सदस्यता अफर सार्वजनिक गरेको छ ।
अफर सार्वजनिक गर्दै साहित्यपोस्टले वार्षिक एक हजार रूपियाँ पर्ने साहित्यपोस्ट मोबाइल एप सदस्यता अपाङ्गता भएका व्यक्तिहरूका मात्र ३ यस ६५ रूपियाँमा उपलब्ध गराइने जनाएको छ ।
हाल साहित्यपोस्टको मोबाइल एपमार्फत श्रव्य पुस्तक उत्पादन तीव्र गतिमा विस्तार भइरहेको साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले बताउनुभयो । कोइरालाले भन्नुभयो, “साहित्यपोस्ट एपको काममा १० भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्छ । यो विशेष स्किमले अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाली साहित्य—विशेषगरी श्रव्य तथा पहुँचयुक्त सामग्री सरल र किफायती रूपमा उपलब्ध गराउनेछ ।”
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकै दिन बृहत् अन्तरक्रिया कार्यक्रम पनि
अपाङ्गता दिवस (डिसेम्बर ३) कै दिन साहित्यपोस्ट डटकमले अपाङ्गता भएका व्यक्ति तथा साहित्यकारहरूबीच बृहत् एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम साँझ ५:३० बजेबाट अनलाइन माध्यममा सञ्चालन हुनेछ ।
अन्तरक्रियामा साहित्यमा ‘अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र सहभागिता कसरी बढाउने ?’ भन्ने विषयमा गम्भीर र भविष्यमुखी छलफल गरिनेछ ।
कार्यक्रममा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनि कोइराला, साहित्यकार तथा साहित्यपोस्ट अंग्रेजीका सम्पादक महेश पौड्याल, युवा कवि तथा श्रव्य पुस्तक उत्पादन संयोजक मधुसुदन घिमिरे, साथै अपाङ्गता अधिकार क्षेत्रमा सक्रिय व्यक्ति तथा थुप्रै अपाङ्गता भएका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।
उत्पादन संयोजक मधुसुदन घिमिरेका अनुसार यो कार्यक्रम समावेशी साहित्यिक यात्राको निर्माणमा महत्त्वपूर्ण कदम बन्नेछ ।
साहित्यपोस्टका अनुसार समावेशी साहित्यिक वातावरण निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको कलम, आवाज, अनुभव र साहित्यिक दृष्टिकोणलाई मूलधारमा ल्याउने लक्ष्यसहित यी कार्यक्रमहरू अघि बढाइएका छन् ।
सदस्यता लिन चाहने अपाङ्गता भएका व्यक्तिहरूले यो अनलाइन फारम भर्नुहोस्:
https://forms.office.com/r/207992z88Z



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










