१. मायाको आयतन
हो, सानो रहेछ मायाको आयतन
सानै थियो हामीले व्यतित गरेको समय
तिमी छैनौ तर
मेरो सम्झनाको करिडरमा
घुमिरहेछ तिम्रो दुब्लो आकृति
लामो यात्रा तय गरेर पनि
आज म विवश छु
तिमीले लगाएका चप्पल हेरेर
हाम्रो सम्बन्धको यात्रामा
पूर्णविराम लगाउन।
२. सपना
मेरो आँखामा कुनै सपना छैन
केवल तिमी छौ
बुझिनौ ?
तिमी मेरो सपना हौ।
३. नजर
सायद तिमीले
“आफूलाई हेर्ने नजरहरू,
कमी भएको” महसुस गरेर होला
हिजोभन्दा आज
अलि बढी, निकै बढी,
ओठमा लिपिस्टिक र आँखै छोपिने गरी
गाजल लगाउन थालेकी छ्यौ।
४. दशा
दशा बाजा बजाएर आउँदैन,
भन्ने कुरा त थाहा थियो,
तर कहिलेकाहीँ जोडतोडका साथ
बाजा बजाएरै पनि आउँदोरहेछ
तिमी, मेरो आँखैअगाडि
बाजा बजाएर गयौ ।
५. मन
नजर नजुधाई
माया बसेछ
तिमीसँग
म त मनले माया गर्ने मान्छे।
६. बुद्ध
घर छोडेर जङ्गल पसेको व्यक्ति
बुद्ध बनेर निस्कियो
घर छोडेर भट्टी पसेको व्यक्ति
जँड्याहा बनेर निस्कियो
आखिर छोड्न त दुवैले
घर नै छोडेका हुन् !
७. ज्वरो
मेरो टाउको दुख्नुको कारण
तिमीथ्यौ,
आज तिमी गैसकेपछि मलाई
टाउको दुख्न छाडेर
ज्वरो आएको छ।
८. रुमाल
हाँस्नु तिमीलाई रहेछ,
रुनु मलाई रहेछ,
त्यसैले त,
हाम्रो अन्तिम भेटमा
रुमाल चिनो छाडेर गएकी थ्यौ।
९. बाध्यता
बाँच्नै परेको छ
रहर नभएको यो सहरमा,
जहर पिएर
भर नभएका मान्छेहरूसँग,
ऊ कहिले किनेर बाँच्दैछे
ऊ कहिले बेचेर बाच्दैछे,
रहर अनि बाध्यता।
१०. भार
यो हलुका मनको
सिङ्गो कुना
तिमीले ओगटेपछि
मेरो मन पहिलेभन्दा
अझै बढी भारी भएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

