मधुसूदन घिमिरे

अन्याय

बिर्सन्छु भन्दाभन्दै सम्झिरहेछु,
सम्झिन्न भन्दा पनि सम्झिरहेछु
लत त मलाई तिम्रो थियो
मेरो ओठमा च्यापिएर
विचरो चुरोट अन्यायमा परिरह्यो।

आवागमन

जान्छु नभनी गयौ
मेरै आँखाको बाटो हिँड्दै गर्दा
बादल पनि चोटमा गडगडायो
र झरी बनेर पोखियो

फूलजस्ती तिमी काँडा बनेपछि
कैयन थोपाहरू आँसु बने
कैयन आँसुहरू पानी बने
मेरालागि पानी र आँसु सराबरी
तर पनि
म सोचिरहेछु
किन आउँछु नभनी आउनेहरू नै
जान्छु नभनी जाने रहेछन् ?
तिमी कम्तीमा खबर दिएर आएकी भए
बिना खबर जाँदा पनि
यति विघ्न मन दुख्ने थिएन।

 

सत्य

तिमी सत्य केलाई भन्छौ?
टहटह जूनलाई
चम्किरहेका ताराहरूलाई
अथवा, फुलिरहेका फूलहरूलाई?

म न तारा देख्छु
न जून देख्छु
न त फूल नै।

लाग्दो होला तिमीलाई
म भ्रममा छु
तिमीले ठानेका, जानेका या देखेका
सबै सत्यहरू मात्र सत्य हुन्छन् भने
ठीक छ, म भ्रममै बाँचौंला।

समाचार

सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट।

भोकाएका पेटहरू अझै पनि भोका छन्
अघाएका पेटहरू पनि भोकै छन्

यो खबर सहरको हो
त्यो खबर कर्णालीको हो।

पहुँच

वैशाखी टेकेको मेरो मन
तिम्रो दिलको बाटो भएर सुस्त सुस्त
हिँड्दै थियो

जब पछिबाट दौडिँदै गरेका मनहरूले
उछिने मेरो यात्रालाई
अनि लाग्यो मायाको बाटो पनि
अपाङ्गमैत्री नहुने रहेछ।