काठमाडौँ। साहित्यकार रञ्जना निरौला प्रतिष्ठित कलिंग साहित्य (युवा) पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । भारतको ओडिशास्थित भुवनेश्वरमा सम्पन्न १२औँ कलिंग साहित्य महोत्सव–२०२६ को अवसरमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

महोत्सवको भव्य उद्घाटन समारोहमा निरौलाले पुरस्कार ग्रहण गर्नुभएकाे थियाे । समारोहमा ओडिशाका उपमुख्यमन्त्री के. वी. सिंह देव, श्रीलंकाका ग्रामीण विकास, सामाजिक सुरक्षा तथा सामुदायिक सशक्तिकरण मन्त्री उपाली पन्निलागे, ओडिशाका ओडिया भाषा, साहित्य तथा संस्कृति मन्त्री सूर्यवंशी सुरज, राज्यसभाका उपसभापति हरिवंश नारायण सिंह, ज्ञानपीठ पुरस्कार विजेता डा. प्रतिभा रेलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कलिंग साहित्य पुरस्कार भारत, दक्षिण एसिया तथा विश्वव्यापी स्तरमा साहित्य, अनुवाद, सांस्कृतिक संवाद र युवा सर्जकहरूको आवाजलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको छ। रञ्जना निरौलासँगै यस वर्ष प्रख्यात लेखक डेजी रकवेल र अच्युतानन्द पाटीलाई पनि कलिंग साहित्य पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी, १२औँ कलिंग साहित्य महोत्सवकै अवसरमा प्रसिद्ध उद्योगपति, समाजसेवी तथा लेखक डा. विनोद चौधरीलाई कलिंग अन्तर्राष्ट्रिय लिभिङ लेजेन्ड पुरस्कार प्रदान गरिएको छ। उक्त सम्मान दक्षिण एसिया र विश्वस्तरमा उद्यम, राष्ट्र निर्माण तथा सामाजिक रूपान्तरणमा उहाँले पुर्‍याएको असाधारण योगदानको कदरस्वरूप प्रदान गरिएको आयोजकले जनाएको छ।

वर्षौंदेखि कलिंग साहित्य महोत्सवका पुरस्कारहरू साहित्यिक उत्कृष्टताको प्रतीकका रूपमा स्थापित हुँदै आएका छन्। सीमा, भाषा र पुस्ताभन्दा माथि उठेर मानवतालाई जोड्ने कृतिहरू र सर्जकहरूलाई सम्मान गर्ने यसको परम्परा रहेको छ। सन् २०२६ का पुरस्कार विजेताहरूले बहुभाषिकता, सांस्कृतिक निरन्तरता र कथनशक्तिको महत्त्वप्रति महोत्सवको मूल प्रतिबद्धता झल्काउने आयोजकको भनाइ छ।

भारत तथा विभिन्न देशबाट सहभागी प्रख्यात लेखक, विचारक, नीति निर्माता र सांस्कृतिक नेतृत्वको उपस्थितिमा औपचारिक रूपमा प्रदान गरिएका यी पुरस्कारअन्तर्गत पचास हजार रुपैयाँ नगद, सम्मानपत्र तथा ट्रफी प्रदान गरिएको थियो।