सूर्यले प्रकाश छर्‍यो, सबैलाई भनेर,
मानिस, पशु, प्राणी रमाए — बिहानी भयो भनेर।

प्रकृतिले गर्दिन भेदभाव सानो–ठूलो भनेर,
तर मानिसले बनायो नियम — “म ठूलो हुँ” भनेर।

सबैले प्रहार गरे, मुटु कोमल छ भनेर,
तर जान्नू — यो त पत्थरभन्दा पनि कठोर छ भनेर।

प्रकृतिले प्राणशक्ति दिई , जीवित रहोस् भनेर,
तर प्रकृतिको विनाश गर्दै, रमायौँ — “प्रगति भयो” भनेर।

जान्दछौँ हाम्रो जीवनको लागि पानी अमूल्य हो भनेर,
तर आज पानी विष बन्यो, शुद्ध पारेर बोतलमा बेच्न भनेर।

हामी धेरै जान्ने भयौँ, घमण्ड गर्छौं — “ज्ञानी” भनेर,
तर आफ्नै खुट्टामा बन्चरो हानेर सोध्छौँ — “किन दुख्यो?” भनेर।