बुद्ध एयरको जहाजबाट नेपालगन्ज ओर्लेको छु ।

विमानपार्क झर्ने बित्तिकै हप्प गर्मीले अँगाल्यो । ३४ डिग्री सेल्सियसको तातो । काठमाडौं पनि यस्तै हुन थालिसक्यो । यो वर्ष झन्डै ३६ डिग्री पुग्यो तर त्यहाँ हावा चिसो चल्छ । चरैतिरका चुलीले अझैसम्म चिसो बतास उत्सर्जन गर्छन् । बस्तीहरू घना हुँदैछन् तर हरिया डाँडालाई चिसो हावाका कारखाना भने हुन्छ ।

नेपालगन्जको अलकत्रे भुइँ पग्लिँदै छ । त्यसमा चिसो कल्पनु मरुभूमिमा हरियाली खोज्नुजस्तै हो । अझ समयको चक्र फेरिँदै छ । हावा, पानी र घामका दिनचर्या प्रदूषणको जालोमा बेरिँदैछन् । तेस्रो मुलुकबाट उड्दै–उड्दै आएको कालो धुवाँले सास फेर्न सकस बनाउँदै छ । हिमाल र चिसो हावा तातिँदै छ । म फेरि काठमाडौंको चिसो कल्पेर हुरुक्क हुन्छु ।

भाइ कृष्ण र म जाँच कक्षबाट बाहिरिइसक्यौँ । बर्दिया पुग्नु छ । त्यसका लागि दुइटा बाहन प्रतिस्पर्धामा छन् – एउटा चार पाङ्ग्रे, अर्को दुई पाङ्ग्रे घोडा । ‘भट्भटेमै जान्छु’ भन्दा अवस्था प्रतिकूल हुने भयो । कृष्णले आफ्नै समकालीन अनुज सुदामा खोजेछ । उसका लागि त्यो सुदामा कोहलपुरदेखि बत्तिएर आएछ । यी दुइटा बाहनलाई नियाल्दै मन अन्यमनस्कमा हरायो ।

कृष्णलाई सोधेँ – के गरौँ ?

ऊ भन्छ – हजुर गाडीमा जानू । म बाइकमा आउँछु । गाउँतिर हिँडडुल गर्न सजिलो होला । गाडी त पुर्‍याएर फर्किने न हो ।

मैले उसको कुरा मानेँ । हामी दुई बाहनमा बेग्ला–बेग्लै बेगिने भयौँ । ऊ बुलेट घोडा चढ्दै छ । म वातानकूलित मोटरमा गुड्ने भएँ । मोटरभित्र बसेपछि नेपालगन्जको तातो ठहरै भयो । राँझा विमानस्थलबाट बाहिरिएर मोटर दक्षिण मोडियो ।

नेपालगन्ज निरन्तर फेरिँदै छ । केही समयअघि अर्कै थियो । अहिलेको रङरोगन अर्कै देख्छु, नवयौवनाले फेरिरहने कानको यार्लिङजस्तै । बाटो फराकिलो आठ लेन छ । जसमा एसियाली विकास बैंक (एडिबी) ले ऋण खन्याएको छ । बाटोको आयतनसँगै नेपालगन्ज अझ आधुनिकता पिउँदो छ ।

नेपालगन्ज भुङ्ग्रो हुँदै गए पनि एउटा सन्दर्भले म चिसो अनुभूत गर्छु । यो नेपाली साहित्याकाशका धरोहर सनत रेग्मीको शहर हो । उहाँको अनुहार सम्झिँदा मलाई लछमनीयाको गौना कथाले झ्याप्पै छोप्छ । म मोटरमा गुडिरहँदा सडक किनारमा एउटा ठिटोले साइकलपछाडि क्यारियरमा बठनिया राखेर तान्दै छ । म त्यसलाई लछमनिया ठान्छु । बालखैमा बिहे भएकी उसलाई बैँसले उखरपात मच्चाउँदा पनि लोग्ने गौना लिन आउँदैन । एक दिन साइकलमा बाटो हिँड्दै गरेको ठिटोलाई लोग्ने ठान्छे र उसैको साइकलको क्यारियरमा बसेर बेपत्तिन्छे ।

उहिलेको मधेशको दुःख, बालविवाह, कुरीति, सीमापारी रुपैडिया बजारको चहल–पहललाई रेग्मी काकाले सर्लक्कै उतार्नुभएको छ । विशेषतः यसमा बालविवाह र लछमनीयाको यौवनको छटपटी छ । अपशोच ! लछमनीयालाई सम्झिनु बाहेक काकालाई भेट्न सकेको छैन ।

जति पटक आउँदा पनि समय जुर्दैन के भको कुन्नि ? अस्ति काठमाडौंको एक साहित्यिक भेलामा झुलुक्क भेटेँ । स्वास्थ्यले साथ छोड्दै गएछ तर त्यो दिव्य मुहारको कान्ति घटेको थिएन । त्यहीबेला उहाँको अभिभावकीय वाक्य मुरलीको धून बनेर कानमा पस्यो– नेपालगन्ज झर्दा पस्नु है ।

काकाले स्नेहको ताप दिए पनि मेरो अरिमुठे चाला कहिल्यै सुध्रेन । यसपाली पनि त्यस्तै हुने भयो भन्दै म चुकचुकाउँदै छु ।

चालक शान्त पुनले मोटर कारकाँदोबाट पश्चिम मोडे । यो चोक फेरिएछ । उनले सेलरोटी घुमेजस्तो बाटो घुमाउँदै पश्चिम मूल राजमार्गमा उतारे । ओ हो ! बाटो देखेर म चकित परेँ । अघिअघि आउँदा अर्कै थियो – बाटोको दाँयाबायाँ गधा र खच्चडका लिदी । केही त ठाड्ठाडै लिदी झारिरहन्थे । रिक्सा र अटोको टाँटाटुँटुँ । छेवैमा जमेको पानीमा झिँगा र लामखुट्टेका जोडी आफ्नै लोकभाका गाइरहन्थे । तालिएको नीलो पानीबाट अनेक दुर्गन्ध आइरहेको हुन्थ्यो । मसिना किटका झुण्ड बरेली के बजारमे … गाउँदै पोको पर्थे ।

ठाउँ–ठाउँमा कुकुर र गाई–गोरुका बिस्टा थुप्रिएका हुन्थे । यो सबै सहेर जिलेभी, समोसा, मालपुवा र अरू के–के जाति पसल हाँसिरहन्थे । तिनले ग्राहकलाई खिचेर रछ्यानमा अपारको व्यापार चलाइरहेका हुन्थे । यी साराबाट आज यो क्षेत्रले करीब मुक्ति पाएछ । मुक्तिमा कत्रो स्वतन्त्रताको अनुभूत होला !

मैले चालकतिर सङ्केत गरेँ – सबै त फेरिएछ हगी !

उनले मुन्टो हल्लाउँदै दुई–चार कुरा जोडे – उता मुख्य हाइवे नचल्दा यो प्रयोग गर्ने अरे नि ! त्यसैले यसलाई ठूलो बनाइयो ।

हो पनि, उता पूर्व–पश्चिम अर्थात् महेन्द्र राजमार्ग बाँके र बर्दिया राष्ट्रिय निकुन्ज हुँदै तन्किएको छ । विकल्पमा नेपालगन्जको धम्बोजी चोकबाट पश्चिम राजापुर निस्किने हुलाकी बाटो सिँगारिएछ । कुरा उहिलेदेखि चलेकै हो । बल्ल नतिजा देखिँदै छ ।

राजमार्गमा तीव्र गतिमा सवारी हुइँकिँदा वन्यजन्तु किचिन्छन्, मिचिन्छन् । ती वायुवेगमा गुड्ने सवारीलाई यताको बाटो बनाइएको रे ! ‘मेरो देशले पशु अधिकार पनि बुझ्न थालेछ’ ठान्दै मनमन हर्षित छु; म फेरिँदो समयको भाका गाउँदै छु । केही ठाउँमा उहिलेजस्तो नीलो पानी अझै जमिरहेकै छ तर गाधा र खच्चडका लिदी, कुकुर–बिष्टा र गाई–गोरुको गोबर देखिएन । बाटो सुकिलो छ । दायाँबाया हरियै धानखेत । असोज पहिलो साता लस्किँदै गरेकोले धान पसाएको छैन । करीब २ दशकमा यो बाटो कल्पनै गर्न नसकिने गरी फेरिएछ ।

फराकिलो हाइवेको बीचबीचमा फूल रोप्ने क्यारी अनि सिमेन्टेड गमला ठड्याइएको, त्यहाँ फलामको जालीभित्र ससाना विरुवा हुर्किँदै छन् । अरू के–के झार र मसिना विरुवाले टाउको उठाउँदै छन् । हुलाकी राजमार्गले यसरी रूप फेरेको देखेर म चक्मा खाइरहेको छु ।

हुलाकी बाटोमा भारतको दान छ । यहाँ दानले फलिफाप दिएको छ । देशको ढुकुटी त नेता, मन्त्री वा भ्रष्टाचारीका गोजेरामा गइहाल्छ । देशका धेरै ठाउँमा बनेका हुलाकी बाटामा पारिकै भिक्षादान छ । यसको धेरै समाचार लेखियो । गनिसाध्य र भनिसाध्य छैन । भारतले समयमा रुपियाँ नदिँदा, ठेकेदारले अलपत्रै छोडेर भागे । दशकौँसम्म उत्तानो परेका बाटाको खबर लेख्दा–लेख्दै वाक्क भएर मैले छोडेँ । जे होस्, आज यो उन्मुक्त बनेर हाँसेको देख्दा मन फिरफिरे झैँ नाच्यो ।

‘विकास भएको त राम्रो नि, होइन ?’

चालक भाइ अल्पभाषि रहेछन् । उनले ‘हजुर’ भनेर मुखमा ठेडी ठोके ।

देश संघीयतामा गएकाले यसरी विकास खुलेको हो ? भ्रष्टाचारको बुङ्गो नाच हेर्दा–हेर्दा आँखा टट्टाएपछि पछिल्लो समय व्यवस्थाप्रति नै मेरो आत्मा मर्दै छ । यहाँका दृश्यले भने आँखामा हरियाली झल्कायो । जेसुकै भए पनि प्रजातन्त्रजस्तो सुन्दर व्यवस्था संसारमा कहीँ नहोला ! यत्ति हो, नेता–मन्त्री नामका डाम्ना डुङ्डुङ्ति गन्हाए । तिनले अमिलो वितृष्णा डकार्न बाध्य तुल्याए ।

यो विकासले कम्तीमा स्थानीय जनजीवन, सामाजिक रीतितिथि, चालचलन, धर्मसंस्कृति, बन्दव्यापारमा रूपान्तरण ल्याउनुपर्छ तर लय मिलेकै छैन । चलन उल्टो देखिँदै छ । घर–आँगनमा बाटो पुग्यो । पानी र बिजुलीको दुःख छैन । मोबाइल, इन्टरनेटजस्ता साइबरीय घोचा ठडिएकै छन् तर गाउँको बल र बैँस लोकजीवन बिर्सेर ‘र्‍यापर’ हुन शहर झरेको छ । निरन्तर झर्दै छ ।

विकासे धून सुनेर विनिर्माणको भाका टिप्ने तरुनी–तन्नेरी गाउँमा उस्तो छैनन् । नाच्ने, कम्मर भाँच्ने र ठुम्का लाउने सकिँदै छन् । यो विचित्र लीलाको वनमारा हलहल्ती बढ्दै छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा बिस्तार हुँदै छन् तर त्यसले गाउँबाट शहरतिर ओरालो झर्नेको ताँती रोक्न सकेको छैन । जाने धेरै छन् । फर्किनेको टुङ्गो छैन ।

हृदयमा कुराको दोहोरी चलेकै छ, दोबाटो र चौबाटोमा आउनेजानेको लस्कर छुटेजस्तै । म मनकै कुरासँग छुट्दै अगाडि गुड्दै छु । सररर चार लेनको कालोपत्रे बाटो पश्चिम तन्किरहेकै छ । चालक मौनधारण गरेर मोटर उडाइरहेका छन् । यी अल्पभाषी चालकलाई अब मैले गिजोल्न थालेँ ।

तपाईंको घर कहाँ हो ?

‘सल्यान ।’

मलाई के चाहियो ! कुराका फुल पार्न थालिहालेँ – सल्यानतिर त टप्पा गाउँछन् नि होइन ?

उनको हँसिलो अनुहार मतिर फर्कियो – हो सर, सल्यानी टप्पा गाउँछन् ।

सल्यान र टप्पासँग उनलाई अझ नजिक पुर्‍याउन खोजेँ – खर्कबहादुर बुढालाई चिन्नुहुन्छ ?

उनले नाम मात्र सुनेको सङ्केत गरे । खर्क र उनकी सङ्गिनी लीलावति बुढा दुवै राष्ट्रिय कलाकार हुन् । उनीहरूको गायन परिचय सल्यानी टप्पासँगै जोडिएको छ । खर्क मादलबाधकका उस्ताद हुन् ।

लोकगीत सङ्गीततिर मेरो रुझान भएको हुँदा मलाई ठाउँ, परिवेश र सन्दर्भ जोडेर यसरी गफका टुक्का जोड्न खुब आनन्द आउँछ । अर्को कुरा लोकगीत–सङ्गीत र संस्कृतिसँग मेरो आगाध प्रेम छ । सल्यान, टप्पा र खर्कबहादुरको कुरा उक्काएपछि शान्त पुनको बोली खुल्दै गयो ।

मैले उनलाई मेरो अन्तरका भावहरू सुनाउँदै गएँ – हाम्रो पहाड स्याङ्जा हो । म गुरुङ गाउँमा जन्मेको । माथि गुरुङ गाउँ छ, तल क्षेत्री–बाहुनका केही घर । डाँडा पल्तिरको तल्लो पाखोमा मगर गाउँ । म गुरुङ गाउँमा बज्ने मादलको ताल सुन्दै घाँटु र अर्घूको रमझममा हुर्केको । उता विरुवा बजार जाँदा मगरहरूको कौडा नाचमा झुमेको छु । पहाडको आँटो–डेढो खाँदाखाँदा जिब्रोले आन्दोलन गरेपछि स्वाद फेर्न यता झरेका । मेरो बालापन र किशोरकाल उतै बित्यो । बैँसका कोपिला पलाएपछि मधेश झरियो तर मलाई उतैको गाउँ र हावापानीले मोहनी लाउँछ । काठमाडौं बसेर म ज्यादा उतैको पाई गर्छु ।

उनीसँग गफिइरहँदा मैले मेरा गुरुङ गाउँहरू सम्झिएँ – बाङ्खे, राम्चे, माझकोट, रानीस्वाँरा, रयाले, सिम्ले, कुमेरदुङ, सपाउँदै, गोफादी, लामडाँडा, खालडाँडा । अझै कति–कति छन् । आदिम संस्कृति धानेर बगिरहेको घरैमुनिको मिर्दी खोलो । तल्लो बलेऊको मगरबस्ती । मावली गाउँतिरका मगर गाउँहरू मडकिना, भोर्ले, रानाथर सबै दिमागको घट्टमा फनफनी घुमिरहे ।

मेरा कुरा सुनेपछि चालक दिल खोलेर बोले – हो सर, गाउँको रमाइलो कति हो कति ।

तुरुन्तै मसिनो सुस्केरा फाले – अब हामीले सोचेस्तो गाउँ छैन सर । टप्पा गाउने र नाच्नेहरु छैनन् । शहर झरे र विदेश गए । कति उताउतै समुद्र तरे ।

अहिले पूर्व वा पश्चिम जहाँ पुगे पनि एउटै गुनासो छ । उही दुखेसो छ । गाउँमा बाटोघाटो, बिजुली, पानी, मोबाइल, इन्टरनेट, टिकटक सबै पुग्यो तर युवालाई रोकेर राख्ने मोहनी पुगेन । भीर काटेर बाटो पुग्यो, त्यही बाटो भएर धेरै बैँसहरू ओरालो झरे । बगेको पानीजस्तै कहिल्यै नफर्किने गरी । यसैले, अचेल गाउँ भन्नु उदास मौनता कुरेर बसेको देउराली भएको छ; मधेश सुनसान चौबाटो ।

मोटरका पाङ्ग्राले मानखोला तरे । यो बाँके र बर्दिया छुट्ट्याउने किलो हो । पुल तरेर थोरै दूरी गुड्ने बित्तिकै ५८ सालतिरको एउटा घटना सम्झेँ – यही ठाउँमा नेपाली सेनाले लेखनाथ गुरुलाई गोलीले ठहरै पारे । स्याङ्जा गोपालेबाट यता बसाइँ आएका लेखनाथ पोखरेल, जो श्री नेपाल राष्ट्रिय मा.वि. ढोढरीका प्रधानाध्यापक थिए । जहाँ मैले स्कुले दिनका अन्तिम दुई वर्ष बिताएँ ।

लेखनाथ गुरु जुझारु थिए । परिवर्तनका कुरा गर्थे । विद्यालयकै हेडमास्टर भए पनि राजनीतिक लत लागेर उनी त्यतै रुमल्लिएको थाहा पाइन्थ्यो । उनलाई माओवादी किटान गरिएको थियो । सेनाले खोजी गरिरहेकै बेला मोटरसाइकलमा नेपालगन्जबाट घर फर्किँदा बाटोमै भेटेछ । घटनास्थलमै गुरुले चोला फेरेछन् ।

म काठमाडौंमा क्याम्पस पढ्दै थिएँ । सेनाले धेरै नै चियो गरेपछि लेखनाथ गुरुले विद्यालयको प्रअको भारी बाको काँधमा सार्न खोजेका थिए रे ! बा भर्खर स्याङ्जाबाट सरुवा भएर आउनुभएकोले उति रुचि देखाउनु भएनछ । राजनीतिक आस्था र विचार विपरित भए पनि उनले हरेक कुरा बासँग सल्लाह लिन्थे । बालाई नजिकको अभिभावक ठानेको बुझिन्थ्यो । तत्कालीन माओवादी र सेनाको चेपुवामा परे पनि बाले दुवै शक्तिबीच वैचारिक सन्तुलन कायम गरेर निष्ठा जोगाउनु भएको थियो । यही निष्ठाको ओत लागेर धेरै समय ‘गुरु’ सुरक्षित रहेको थाहा थियो ।

म स्मृतिसँग एकाकार छु । मोटर गतिवान छ । मैनापोखर पुगेपछि देब्रेपट्टि लामो साइनबोर्ड देखियो । त्यहाँ ‘बर्दिया पोलिटेक्निकल इन्स्टिच्यूट’ लेखिएको छ । हिजोभन्दा आज धेरै कुरा फेरिए । जिल्ला–जिल्लामा उच्चशिक्षा अध्यनार्थ शैक्षिक संस्था, स्वास्थ्य केन्द्रहरू खुले । तिनले ठुला शहर वा काठमाडौं जानुपर्ने बाध्यता घटाए । चाहेको शिक्षार्जन भयो । घरैछेउमा काम पाए को जान्छ दूर शहरमा ? यस्ता संस्थाले घरैमा शिक्षादान गरेका छन् । अध्यापक, प्राध्यापक रोकिएका छन् । आम्दानी यतै बसेको छ । गाउँपालिका वा नगरपालिकाले कर पाएका छन् । यो देशकै अर्थतन्त्रमा घुमिरहन्छ ।

यी सबै हुँदा–हुँदै अचेल किशोरवयका केटाकेटी अडिएका छैनन् । तिनलाई कति चाँडो शहर पसौँ हुन्छ । शहरबाट अझ ठूलो शहर, त्यहाँबाट परदेशको यात्राले तानिरहन्छ । १२ पास नगर्दै बाल तन्नेरीहरू पासपोर्टको झोला भिरेर विदेशतिरै हुत्तिन मरिहत्ते गर्छन् । गाउँ वा जिल्लामा खुलेका शैक्षिक संस्था र रोजगारदाताले विदेशतिर उर्लिरहेको मानवधनको बाढी रोक्न सकेको छैन । यो बडो चिन्ताको विषय छ । देशमा काम गर्ने उर्वर जनशक्ति (वर्क फोर्स) नभए देश सधैँ पिँधमै बसिरहन्छ ।

यसरी नै संसारमा मान्छे हावा भएर उडेका छन्; यो वैश्विककरणले लोभ्याएर त होला ?

मेरो मनमा मच्चिएको हुन्डरी कसले देख्ने ? कसले सुनिदिने ? म यसै–यसै मोटरमा अर्मरिएर बसेको छु । हेरिरहेको छु, बाटोका दायाँबायाँका धान खेत । कहीँ–कहीँ त आँखाले देखुञ्जेल ती फिँजारिएका छन् । कतै बाला लाग्दै गरेका । असोज निख्रिसक्दा काट्ने बेला हुन्छ ।

मनमा फेरि अर्को हुरी मच्चिन्छ – आज किसानहरू मरेका छन् । सबै बिचौलियाले निलिसके । उत्पादित अन्नमा विचौलियाको दाइँ हुन्छ । सरकार आँखा चिम्लिन्छ ।

हरेक वर्ष उखु–किसान मर्छन्, धान–किसान मर्छन् । गहुँ, मकै र कोदो–किसान मर्छन् । काउली, फर्सी, गोलभेडा–किसान मुर्छा पर्छन् । हरेक चिज पारिको सस्तो । अनि कसरी यताकाको फलिफाप हुनु ! सरकार बिउँ दिँदैन, बेलामा मल दिँदैन । कुनै अनुदान छैन । बजार कहाँ हो ? भनिदिँदैन । पारि सप्पै सरकारले दिन्छ । तब यताको भन्दा उतैको सस्तो हुने नै भयो । उपभोक्ता त्यतै तानिने भए । सरकारले यसरी किसानलाई कहिलेसम्म घाटी थिचिरहने ? बुझेर बुझिनसक्नु छ । यतिबेला व्यङ्ग्य कवि शैलेन्द्र सिम्खडाका यी पङ्क्ति सम्झेँ :

बारीको काउली खाए पो देशको माया लाग्छ

पारिको काउली खाएपछि त पारिकै माया लाग्ने रैछ …

म गुलरिया पुगिसकेको छु । यहाँ पनि बाटो चौडा भएछ । घरहरू अग्लिएछन् । तिनको रङरोगनमा लाली चढेछ । राधाकृष्ण चोक फेरिएछ । यहाँ उहिले राणाशासन फालेर प्रजातन्त्र ल्याउन ज्यान आहुति दिएका नेपाली काँग्रेसका नेता राधाकृष्ण थारुको शालिक छ । आजसम्म मैले तिनको तस्बीर देखेको छैन । उनी कस्ता थिए ? चोकमा अर्धकदको सालिक उभिएको कहिलेदेखि हो, त्यो पनि थाहा छैन ।

२०४५ सालमा उनको निधन भएको रहेछ । राधाकृष्ण चोकको अर्को पनि कथा छ – त्यो हो, ६२÷६३ को जनआन्दोलनको । लोकतन्त्र ल्याउन देशभर आन्दोलन उर्लिएको थियो । यही चोकमा नेपाली काँग्रेसका नेता गोविन्द पौडेल सेनाको गोली खाएर शहीद भए । आज उनी गुलरियामा गुमनाम छन् । उसो त उनीजस्ता मध्यमवर्गीय नेता यसरी नै गुमनाम छन्, देशमा । लुटतन्त्र चलेको समयमा यस्तै हो, मैले चित्त बुझाएँ ।

गुलरियाबाट अझ पश्चिम जानु छ । शान्त पुन मोटर उडाइरहेकै छन् । म दृश्यावलीमा हराइरहेको छु । उस्तै छन्, धान खेत । कहीँ पहेंलो–पहेंलो हुन लागेका । कतै हरियै फाँट । अडहर बारी उस्तै बाक्लो देखिन्छ । एक ठाउँ खेतको बीच खाली चहुरमा थुप्रै भेडा चरिरहेको देखिन्छ । केही बालबालिका खेलिरहेका छन् । यो दृश्य हिमाली खर्कतिर उफ्रिरहेका भेडाका पाठापाठी र भेडा–गोठालाभन्दा कम्ती छैन ।

म फेरि एक चरण पोखरेली गायक अमृत गुरुङको भाकासँग मिसिएँ – आकाशबाट के उठी आयो, भेडाको ऊनजस्तो हो हो भेडाको उनजस्तो … ।

भेडाको हुल पछाडि छुट्ने बित्तिकै खैरापुर चोकले स्वागत गर्‍यो । यो नेपालको लोपोन्मुख वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्र हो । खुला घाँसे–मैदान अर्थात् दुबो र काँसे–मैदानमा बस्न रुचाउने कृष्णसारले जिल्लालाई विदेशसम्म चिनाएको छ । अलि अगाडि बाटोछेउमा कुसुम्बाघाट लेखिएको टिनको पातो उभिएको छ । यहाँबाट सालघारीको वन शुरु हुन्छ । त्यसको एक किलोमिटरमा ‘लालीबजार’ छ ।

उहिले ‘लालीबजार’ अहिले ‘कुसुम्बाबजार’ । किन ‘लाली’ भनियो ? कुनै समय लालीवालीहरूको नक्कल–झक्कल बाक्लै थियो कि ! न्वारन गर्न, नाम बिगार्न वा सपार्न नेपालीलाई कसले उछिन्ने ? यस्तै केही आधारमा यो ठाउँ ‘लाली’ भयो होला । किन–किन ‘लालीबजार’भित्र कति कालदेखि एउटा इतिहास छोपिएर बसेजस्तो लाग्छ । त्यो कुनै दिन कसैले त उक्काएर बाहिर ल्याउला !

बजारदेखि उत्तरपश्चिम वन–किनारको गाउँको नाम ‘सत्र नम्बर’ हो । त्यहाँ बादी जातिको बाक्लो बस्ती छ । ती उहिलेदेखि ज्यान बेचेर गुजारा चलाउँथे । बजारमा लत्ता–कपडा, दाल–चामल वा अरू–अरू वस्तु बेच्नु र बादी तरुनीहरूले हाँसो बेच्नु, बैंस बेच्नु वा यौवन बेच्नु उस्तै थियो । त्यसैको प्रभावबाट यो ठाउँ ‘लालीबजार’ हुन त गएन ? अहिले त्यताको चलनबारे म बेखबर छु ।

दिमाग ‘सत्र नम्बर’को सेरोफेरोमा डुलिरहँदा सरस्वती प्रतीक्षाकृत उपन्यास नथिया आँखै अगाडि झुल्क्यो । त्यहाँ उमा वादीले नथियालाई वादी जातिका लागि ‘गीता’ भनेकी छन् । यसले पाठकको हृदय हल्लाउँछ । हुन पनि यसमा काँचो मासु बेचेर जीवन धान्ने एउटा भुइँ वर्गको सपाट चित्र उतारिएको छ । सरस्वतीले कति हिम्मत र मिहिनेतले यो कृति रचिन् अचम्म लाग्छ ।

नथियाका पात्र सम्झिँदै म आँखा डुलाइरहेको छु – सडक किनारकै सतिस र सेख मेडिकल हल मज्जाले आकाशतिर तन्किएछन् । सबै कुरा नवीन लाग्दैछन् । म यो ठाउँमा विल्कुल अपरिचित, अझ बाटो बिराएर आएको मुसाफिरजस्तै अनुभूत गर्दै छु ।

यस बजारसँग जोडिएका र फुक्लिन बाँकी मेरा केही स्मृति छन् –

मेरो बाल्य र किशोरयाम पहाडमै बित्यो । माध्यामिक तह पढ्नेबेला यता आउनुपर्‍यो । मधेश झर्ने दिन घरको मझेरीमाथिको गारोमा आमाले बालेर राखेको पानस बत्ती हेरेर म खुब रोएको थिएँ । विछोडमा भक्कानो छुटाएको थियो, माथिल्लाबारी नारनले पनि ।

यता झरेर पढ्न थालेपछि स्कुल ‘बङ्क’ हानेर लालीबजार आइन्थ्यो । भर्खर साइकल चलाउन सिक्दै गरेको, डन्डीमुनिबाट खुट्टा छिराएर कैंची मार्दै बजार आउनुको मज्जै बेग्लै । कहिले सहपाठीको साइकल मागेर वा उनीहरूसँगै स्कुलबाट भाग्थेँ । बजारदेखि केही भित्र ‘अप्सरा’ फिलिम हल थियो, पछि ‘चौधरी हल’ पनि खुल्यो । भागेर फिलिम हेर्न गएको भोलिपल्ट गुरुहरूको रामधुलाई खाइन्थ्यो ।

मैले पहिलो पटक वालिङ (स्याङ्जा) मै फिलिम हेरेको हुँ । कक्षा पाँचमा पढ्दा, ठुल्दाइसँग । नुनतेल बोक्न वालिङ झर्दा त्यो मेसो मिलेको थियो । वालिङ चोकबाट थोरै अगाडि बाटामाथि फिलिम हल थियो । त्यसको नाम बिर्सिसकेँ । त्यहाँ ‘आँधीबेहरी’ हेर्दा मन कम्ता रमाएको थिएन । ती ठाउँहरू फेरिए अब त स्मृतिचित्र मात्र छन् ।

घाम छिट्छिटो पश्चिम हिन्दैछन् । साँझ ओर्लिँदै छ । म अगाडि गुडेँ । बजार नछुट्दै फेरि धानखेत भेटिन्छ । उस्तै लम्मतन्न सुतेका फाँट ।

भनिन्थ्यो – बर्दिया देशकै अन्नको भकारी हो ।

हिजो थियो होला, आज त कुन्नि ! बाटो दायाँबायाँ ठुल्ठुला नहर बनेछन् । त्यहाँ हिजोका साइकल हिँड्ने गोरेटा पुरिएछन् । यसरी समयले युगौँदेखि एउटा अतित मेटेर वर्तमान निर्माण गर्दै आयो होला । मैले त्यही बुरुरु धुलो उड्ने बाटोमा कैंचीमारा साइकल कुदाएर बजार हिँडेको सम्झेँ ।

सालघारीको वनले छोडेकै छैन । अलि पर आठ नम्बर भेटिन्छ, यो ठाउँ कुनै समय गुल्जार थियो । त्यहाँ साइकल मर्मत केन्द्र, किराना, समोसा, जेरी, दालमोठ पसल फिँजिएका हुन्थे । हाम्री फुपू नाता पर्नेले एउटा काठको घुम्तीमा पान बेच्थिन् । आज यी सबैको रङ उडेछ । हिजोजस्तो होहल्ला, कल्याङमल्याङ छैन; मात्र सुनसान । ती माटे छाप्रालाई टिनपाते सुकिला घरले मेटेछन् । यहाँ के–के चिज फेरिइसके, दुई दशकभन्दा अघिको अवस्था नफेरिएर के गर्नु !

आठ नम्बर नछोड्दै धानखेतले पच्छाइहाल्यो । आँखा धानका बालाबालामा लहरी खेल्दै छन् । उहिलेको माचड गाउँ पनि फेरिएछ । नयाँ–नयाँ घरहरू थपिएका, पुराना हराएछन् । नयाँ घरमा, नयाँ मान्छे होलान् । अघिको अस्तित्व धमिलिँदै छ । पुरानो मेट्दै र नवनिर्माण गर्दै जाने समयको अनौंठो खेल । फेरिँदै गएका यी ठाउँको बान्की हेरेर म चकित छु ।

पुरानो फेरिएर नयाँ हुनु प्राकृतिक रीत हो । पातहरू झरेर नयाँ पलाउनु वा बूढो रुख सुकेर कल्कलाउँदो विरुवा जन्मिनु सबै लीला । हिजो म हिँडडुल गर्दाका कुनै चिज बचेजस्तो लागेन । बरु उतै स्याङ्जातिर धेरै कुरा मौलिक र पुरानो ढाँचामा बाँचिरहेका छन् ।

माचड चोकमा मज्जाको बजार बसेछ ।

बा–आमाको परान छँदासम्म वर्षको एक–दुई पटक यता आउँदा यो चोक–बजार फराकिलो थियो । अहिले साँघुरो देखिन्छ । यहाँ खासै नवीनता थिएन तर सबै नयाँ अनुहार । दुई–चार बाहेक धेरै अपरिचित । यो बजारमा ठूला किराना, हार्डवेयर, कपडा पसलदेखि अनेक खुलेछन् । परको चउरमा हटिया लाग्दो रैछ । यहाँ मन बहलाउनेदेखि रूप चम्काउनेसम्मका सबै थोक पाइने भएछ ।

सानातिना होटेल, तिनका भित्री चोटाकोठामा दिउँसै रामरमाइलो । मतमत्याउँदो उमङ्गले छोपेको पाइयो । केही तन्नेरी भाइहरू सुगन्ध पानले भरिएका नसालु आँखा नचाउँदै परिचय दिन आए – म फल्नो हुँ दाइ, चिन्नु भएन ? मैले मरिगए तिनलाई ठम्याउन सकिनँ । खिस्स गिँजा देखाएर चिनेको स्वाङ पारेँ ।

भविष्य तिखार्नुपर्ने, पेशा, व्यवसाय, इलम गर्नुपर्ने, नवीन आविष्कार गरेर देशका सपना बोक्नुपर्ने युवाहरू यसरी यो कालीदहमा भासिएको देख्दा मन अमिलो भयो । यो देहाती खेला, कहिले फेरिएला ? सायद यो यताको विशेषता भइसक्यो । मनमनले ‘सबैमा सदबुद्धि पलाओस्’ भन्दै आफू खुम्चिएँ ।

यो चोक–बजारमा मेरा अनुजहरू जनक र रामुले ठूलै पसल थापेका छन् । ती यहाँका चिनिएका व्यापारी भएका छन् । रामु राजनीतिक हल्लातिर पनि दौडिन्छ । भाइहरूको प्रगति, परिचय देखेर र सुनेर हर्ष लाग्छ । उता पहाडी पाखामा खेलिरहेको भए, यिनले यसरी उन्नति गर्न सक्थे÷सक्थेनन् !

अघिल्लै दिन काठमाडौंबाट हिँड्नु भएको दाइ यहीँ हुनुहुन्थ्यो । दुई भाइ मोटरमा बस्यौँ । शान्त भाइले गुडाइहाले । छोटो वनको बाटो गुडेपछि एसएलसीको ढोकाबाट निस्केको स्कुलसँग मेरो भेट भयो । त्यो ‘नेपाल राष्ट्रिय माध्यामिक विद्यालय’ले अघिल्तिर मुसाको जस्तो ‘नमुना’ पुच्छर जोडेछ । यहाँ १२ कक्षासम्म विभिन्न सङ्कायमा पढाइ हुने गरेको सुनेको छु । स्याङ्जाबाट सरुवा भएर आएपछि बाले करीब एक दशक यहीँ अध्यापन गराउनुभयो । मपछिका भाइबहिनीको स्कुले पढाइ यहीँबाट टुङ्गियो ।

स्कुल छुटेपछि उही त हो, धानखेत । फाट्टफुट्ट घर देखिँदै छन्; कतै गुजुमुच्च बस्ती । अब म विल्कुल मधेशको गाउँ अर्थात् देहाततिर लम्किरहेको छु । यो उता महेन्द्र राजमार्गमा मिसिने हुँदा बाटो पूरै पक्की छ । सिमलपुरमा हाम्रै काकाहरूका पाँच–छ घर छन्; ती जेठा जिजुबाजेका खलक । उहिले बाङ्खे (स्याङ्जा) को पाखो र बाँदर लड्ने भिर हाम्रा बाआमाका थाप्लामा छोडेर सुख काट्न यति टाढा बसाइँ आएका । सिमलपुरमा हिजो पन्ध्र–बीस घर थिए । आज ती छैनन् । गाउँको आयतन साँघुरिएछ ।

यहाँ पहिलो पटक जाने बाहिरियालाई पक्का देहात लाग्छ । हिजो यतै दुई–चार वर्ष बिताएको हुँ तर अब म पनि घुमुवा अनुहार भएको छु ।

पक्की छोडेर मोटर भित्री देहाती कच्चीबाटो धङधङाउँदै हिँडेको छ । धानखेतको हरियाली उस्तै छ । विस्तारै थारुबस्ती देखिन्छ । काँसेढड्डीले बारेर माटोले टाँसेका गारा, खपडाले छाइएका छाना र तिनका धुरीबाट धुवाँ आइरहेको देखिन्छ । यी थोक विस्तारै फेरिँदैछन् । तिनलाई सिमेन्टेड घरले निल्दै छन् । थारुबस्तीमा पनि मुगलान जानेको लर्को भइसक्यो । अरबका खाडी र हिन्दूस्तानमा पसिना बेचेर ल्याएको रुपियाँले थारुहरूको रैथानेपन मास्दै छ ।

कच्ची बाटोको छेवैमा ठुल्ठुला कुला छन् । बबई नदी थुनेर ल्याइएको यो धमिलो पानीमा राँगा–भैँसी डुबुल्की मारेका छन् । थरुनी बालाहरू कुलामा जाल थापेर माछा बट्याइरहेका । केही भख्खरका तरुनीहरू साइकल गुडाउँदै गन्तव्य ताकिरहेका । यी दृश्यावली नियाल्दै हामी घर पुग्यौँ । देवी बुहारी घरमै थिइन् । चिया–पानी ख्वाएर शान्त भाइलाई बिदा गरेँ ।

मैले घर वरपर नियालेँ । बा–आमाबिनाको घर एउटा महाशून्यता ओढेर गजधम्म छ ।

कल्पिन्छु – त्यो पहाडी पखेरो छोडेर यो दूर देहातमा आउन बाआमालाई कुन चिजले डोर्‍यायो होला ? कुनै मेसोमा यसको छुट्टै कथा भनूँला । यता झरेको दशक नबित्दै आमाले धर्तीको चोला फेर्नुभयो । आमाले छोडेको दुई दशकपछि बा पनि जानुभयो । यतिबेला म बाआमा सम्झेर भावुक भएँ ।

८१ असोज ४ गते, गोधूलिले चारदिशा घेर्दै छ । परपर देहाती घरका खपडाका चेपबाट निस्केको धुवाँ बतासमा नाच्दै छ । म त्यतै हेरेर टोलाइरहेको छु ।