मलाई आर्यघाट लगेर नजलाउनु – विजय हितान

कवि पर्या अभियन्ता विजय हितानको पर्या कवितासंग्रह हो ‘मलाई आर्यघाट लगेर नजलाउनु’ । कविले कवितामा जलवायु परिवर्तन, जैविक विविधतामाथिकोे ह्रास, विश्वव्यापी रुपमा प्राणी वनस्पतिले भोग्नुपरिरहेको समस्यालाई समेटनुभएको छ ।

“हामी प्रायः पृथ्वीलाई केवल मानवजातिका लागि मात्र मान्ने गर्छौं र त्यसैअनुसार क्रियाकलाप चलाउँछौं ।”, पुस्तकमा हितान लेख्नुहुन्छ,  ”तर, यो सत्य होइन । पृथ्वी सबै प्राणी र वनस्पतिको साझा घर हो । यहाँ उनीहरूको पनि रमाउने हक छ । तिनको अस्तित्वले नै मानव अस्तित्वलाई सुरक्षित राख्छ । त्यसैले हाम्रा दिनदिनैका व्यवहार पर्यावरणमैत्री बनाउनु अत्यन्तै आवश्यक छ भन्ने जनचेतना फैलाउन मैले साहित्यको साथ लिएको हुँ । साहित्य लेखनबाट ठूलठूला सामाजिक, राजनीतिक र लैङ्गिक परिवर्तन आएका छन् । प्रजातन्त्र र सङ्घीयता लागू भएका छन्, छुवाछुत उन्मूलन हुँदै छ, जातीयरवर्गीय र भौगोलिक पहिचान प्राप्त हुँदै छन् र नारी अधिकारका विषय कार्यान्वयन भइरहेका छन् । यी सबै मानवकेन्द्रित परिवर्तनहरू साहित्य लेखनले ल्याएका हुन् । अब साहित्यले मानवेत्तर जगत्‌मा पनि परिवर्तन ल्याउनुपर्छ । रोग र भोकका मात्र होइन, म रुखका पनि कविता लेखिनुपर्छ भनेर पर्या-साहित्यमा लागेको हुँ । घोडा चढ्‌ने राजा महाराजाको मात्र होइन, साइकल चढेर फलाम, सिसा र कागजजस्ता कवाडी सङ्कलन गर्ने मानिसको कथा लेख्न म पर्या-साहित्यमा लागेको हुँ । सिंहदरबारका सांसदमा केन्द्रित होइन, राष्ट्रिय निकुञ्जका वन्यजन्तुमा केन्द्रित लेख लेख्न म पर्या-साहित्यमा लागेको हुँ । राजनैतिक, सामाजिक, धार्मिक र ऐतिहासिक विषयका मात्र होइन, वातावरणीय विषयलाई पनि उच्च प्राथमिकता दिँदै नियात्रा, निबन्ध र संस्मरण कोरिनुपर्छ भन्ने मान्यताले म पर्या-साहित्यमा लागेको हुँ । मोती जयन्ती मात्र होइन, माटो जयन्ती पनि मनाइनुपर्छ, भानु जयन्तीका साथसाथै भालु जयन्ती पनि मनाइनुपर्छ भन्ने आह्वानका साथ म पर्या-साहित्यमा लागेको हुँ ।”

पुस्तकलाई इन्डिगो इन्क प्रा. लि ले बजारमा ल्याएको हो । ४१ ओटा कविता संग्रहित पुस्तकको मूल्य तीन सय ४९ रुपियाँ रहेको छ ।