देवेन सापकोटासँगको मेरो मित्रता ब्रह्मपुत्र नदीको लम्बाइ जति लामो भएको छैन अझै । न त भएको छ बाग्मती नदीको सभ्यता जस्तो वर्षौं पुरानो । मात्रै गत वर्ष सन् २०२० मा भर्चुअल माध्यमद्वारा आयोजित वातावरण साहित्य गोष्ठीबाट बाँधिएको न हो । तर छोटो अवधिमै हाम्रो दोस्ती माधवीलता (मधुमालती) वृक्षसरि झाँगिन पुगेको छ। उक्त कार्यक्रमपश्चात पूर्वोत्तर भारतबाट देवेनजस्ता अन्य मित्रहरू पनि कमाएको छु – ज्ञानबहादुर छेत्री, धर्मेन्द्र उपाध्याय, डा० सरिता शर्मा, लतिका जोशी, छत्रमान सुब्बा, निलिमा आचार्य, शिवराज भट्टराई (भुटान)। देवेनजस्तै उहाँहरूले पनि उक्त गोष्ठीमा जोडिएर इको कविता वाचन गर्नुभएको थियो । त्यहाँ वाचित कवितालाई ‘स्वच्छन्द सुसेलीहरू-२’ इको कविता सङ्ग्रहमा प्रकाशित गरिएको छ ।
यस अवधिमा देवेन र मैले पर्यासाहित्यका चिन्तनलाई साटासाट ग:यौं। मैले वातावरणका विषयमा लेखेका कथा, निबन्ध, कविता सङ्ग्रहका पिडिएफ कोसेलीका रूपमा पठाइदिएँ। एकदिन देवेनले मलाई आफ्नो घरको भर्चुअल भ्रमण गराउनुभयो। घरवरिपरि, बरान्डा, सिँढी र छतमा देखिएको हरियाली रेनफोरेस्टजस्तै लागेर मैले भनेँ- ‘देवेनजी, तपाईंको घर त मलाई वर्षावनजस्तै लाग्यो’। साहित्य मात्रै नभएर जलवायु परिवर्तन, जैविक विविधता, वासस्थान अतिक्रमणजस्ता वातावरणीय समस्याहरू र यसका समाधानका उपायउपर छलफल गथ्र्यौं। क्रमश: इको कविताहरू साटासाट र फेसबुकमा पोस्ट गरेका सृजनाउपर कमेन्ट गरागर गथ्र्यौं।
यसै सिलसिलामा केही महिनाअघि भन्नुभयो,‘हितानजी, तपाईंका इको साहित्यिक गतिविधिबाट प्रभावित भएर म इको कविता सङ्ग्रह प्रकाशन गर्दैछु, सहयोग गर्न प:यो।’ मलाई गर्व लाग्यो, सक्दो सहयोग गर्छु भनेर सहर्ष स्विकारेँ। मैले पनि धेरै वर्षअघि यस्तै भावना डा० गोविन्दराज भट्टराईसामु राखेको थिएँ। त्यतिबेला डा० भट्टराईलाई अहिले मलाईजस्तै गर्व लागेको थियो होला। उहाँको पुस्तक ‘उत्तरआधुनिक विमर्श’मा इको क्रिटिसिज्म भनेर उठाएको धार समातेर म इको राइटिङमा प्रवेश गरेको एक दशक भइसक्यो। आज आएर यसै धारमा बग्न आउनुभएको छ देवेन। हाम्रा वातावरण साहित्य गोष्ठीमा इको सृजना लिएर वाचन गर्न त सयौँ स्रजकहरू आइसक्नुभएको छ। तर नेपाली साहित्यको यस नविनतम् बिधामा पुस्तक नै प्रकाशन गर्ने देवेन सम्भवत: दोस्रो व्यक्ति हुनुभएको मेरो ठम्याइ छ। देवेनले ‘परिश्रान्त पृथिवी’ प्रकाशन गरेको भए मात्रैले पनि म अति खुसी बन्थें। तर यसमा समीक्षात्मक भूमिका कोरिदिन प:यो भनी गर्नुभएको अनुरोधले मलाई झनै हर्षित तुल्याएको छ।

विजय हितान (बेलायत)
इको साहित्य/इको राइटिङको परिभाषा-
अब यसमा समेटिएका कविताहरूका बारेमा लेख्नुपर्दा सर्वप्रथम इको साहित्य अथवा पर्या साहित्यको बारेमा संक्षिप्त चर्चा गर्न चाहन्छु । ‘इको’ अङ्ग्रेजी शब्द ‘इकोलोजी’ वा ‘इकोसिस्टम’को छोटो रूप हो । इको साहित्यको परिभाषा बुझ्न पहिला इकोलोजी (पर्या-शास्त्र) वा इकोसिस्टम (पर्या-प्रणाली) को परिभाषा बुझ्न जरुरी देखिन्छ। इकोलोजी इकोसिस्टमको अध्ययन हो। अर्थात पर्या-प्रणालीको अध्ययन पर्या-शास्त्रद्वारा गरिन्छ । वायु, जल, ताप, जमिन, आकाशजस्ता पञ्चमहाभूत साथै मानव, वन्यजन्तु र वनस्पतिबिचको अन्तरक्रिया नै इकोसिस्टम अर्थात पर्या-प्रणाली हो । यिनलाई वातावरणका तत्त्वहरू भनेर पनि बुझ्न सकिन्छ। जब एउटा तत्त्वमा परिवर्तन आउँछ अर्कोलाई असर पर्छ। अन्तत: पर्या-प्रणालीमा परेको नकारात्मक असरले मानव जातिलाई प्रभाव पारेको हुन्छ ।
त्यसो हो भने अब कस्तो साहित्यलाई इको साहित्य मान्ने भन्ने प्रश्न उठ्छ। प्रेम, दुख, पीडा, क्रोध, लालच; अनि सामाजिक, राजनैतिक, हकअधिकारजस्ता मानवकेन्द्रित विषय उठान गरेर लेखिएका साहित्यलाई मूलधारको साहित्य मानिन्छ। हाम्रो परम्परागत साहित्य पूर्णरूपमा मानवकेन्द्रित छ। इको साहित्य पनि केही हदसम्म मानवकेन्द्रित हुनसक्छ। तर वन्यजन्तु, वनस्पति, हावापानीजस्ता इकोसिस्टमका तत्त्वलाई पनि केन्द्र बनाएर लेखिनुलाई इको साहित्य मानिन्छ। मैले भन्दै आइरहेको छु, मोती जयन्ती मात्रै होइन माटो जयन्ती पनि मनाइनु पर्छ। भानु दिवस मात्रै किन माटो दिवस पनि मनाऔं न। मानव हकअधिकार र पहिचानको लागि मात्रै होइन; वन्यजन्तु, वनस्पति, नदी, पहाड, हिमाल, सागरका अस्तित्व र हकअधिकारका विषयमा पनि हाम्रा साहित्यिक कलम केन्द्रित हुन आवश्यक छ ।
अब देवेनका कविताका कुरा गर्नुपर्दा, इकोसिस्टमका यिनै तत्त्वहरूलाई केन्द्रविन्दु बनाएर उहाँका कविताहरू लेखिएका छन्। त्यसैले ‘परिश्रान्त पृथिवी’ शतप्रतिशत इको कविताहरूको एक प्याकेज हो। यसभित्रका ४१ कविताले काव्यिक भावमा पर्यावरणमा देखापरेका समस्यालाई अभिव्यक्त गरेकाछन्। यसर्थ यो एक इको राइटिङको ज्वलन्त उदाहरण हो। इको राइटिङ् भित्र पनि आफ्नै विषयवस्तुहरू छन्, जसलाई डा० गोविन्दराज भट्टराईको ‘उत्तर आधुनिक विमर्श’ लाई स्रोत मान्दै मैले मेरो कार्यपत्र ‘वातावरण साहित्य : आजको आवश्यकता र महत्त्व’ मा सूचीकृत गरेको छु। तिनीहरू हुन् -विकासनिर्माण, पर्यानारीवाद (इकोफेमिनिज्म), परिवृत्तीय, प्रकृति सौन्दर्य, ग्राम्यता र नगरीकरण, प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, वन्यजन्तु चोरीसिकार, प्रकृतिसँग आदिवासीको सामिप्यता, धर्म र पर्यावरण। अब मेरो समीक्षात्मक टिप्पणी देवेनका कुन कुन कविताले माथि उल्लेखित इको राइटिङका विषयलाई कसरी अभिव्यक्त गरेका छन् भन्नेमा आधारित हुनेछ।
१. विकासनिर्माण
आधुनिक विकासनिर्माणका गतिविधि वातावरणमा असन्तुलन ल्याउने प्रमुख कारणमध्ये एक हो । निर्माणकार्य बिना त मानव सृष्टि अघि बढ्नै सक्दैन। तर दिगो विकासका सिद्धान्त अपनाउनु अपरिहार्य देखिन्छ। सबै स्थान र राष्ट्रहरूमा यो सिद्धान्त लागु भएको भने पाइँदैन। यस्तै चिन्ता र पर्यावरणमा तिनले पार्ने असरलाई बडो काव्यात्मक भावमा पहाडको पीडा, प्रायश्चित्त, एक परित्यक्त कुवा, विवशता, गाउँले मन, एक साधारण असाधारण मान्छे जस्ता कवितामा पोखेको पाइन्छ। ‘पहाडको पीडा’ कविताले मलाई मेरो आफ्नै ‘लाटो पहाड’ भन्ने कविताको झझल्को दिलायो। सडक निर्माणजस्ता विकासकार्यले सदियौंदेखि ठडिएका हरिया पहाडलाई तहसनहस पारेको छ, यस्ता जथाभाबी तरिकाले पूर्वाधार निर्माण गरिने कार्यलाई तुरुन्त रोकिनु पर्छ भन्ने मुख्य आसय यस कविताको हो। हुन त पहाड एक निर्जीव प्राकृतिक संरचना हो, तर पहाडलाई एक सजीव प्राणीसरह प्रस्तुत गर्दै यसका संवेदनालाई यसरी पोखिएको छ –
….राति एक्कासि जुरुक्क उठ्छ पहाड
ऐँठन भएछ उसलाई
खङ्रङ्ङ झरिगए
यत्रोबेर उसलाई छोपिराखेका सुकेका पातहरू
आलै पारी आङ का घाउ र चोटहरू।
छिया छिया पारेको रहेछ
चिथोरी छाती
पाखण्डी क्रेनका निर्मोही नङ्ग्राले
रक्ताम्मे रातो माटोको भल बगाएर ।….
जलवायु परिवर्तन, अतिक्रमण, संरचना निर्माणजस्ता कारणले नदीनाला, तालतलैया, कुवाहरू तीव्र गतिमा सुक्दै गइरहेका छन्। सुकेका कुवालाई पुनस्र्थापना(रेस्टोरेसन) गरिनुपर्छ। पर्यावरण व्यवस्थापन अध्ययनमा रेस्टोरेसन निकै महत्त्वपूर्ण विषय हो। बर्सातमा परेको घरको छानाको पानीले सिंचन गरेर पुरानो कुवालाई पुनर्भरण गर्न सकिन्छ। अर्थात मरिसकेको कुवालाई यसरी जीवित तुल्याउन आवश्यक पनि छ भन्ने जनचेतना ‘प्रायश्चित्त’ शीर्षक कविताले दिएको छ।
….‘रेन् वाटर हारभेस्टीङ ’ भनेको यही हो, बाबा
स्कुलमा पढाएको, आज
के यसै गर्न सक्छौं हामी पनि
घरपछाडि सुकेको कुवालाई पुनर्जीवन दिन
भरेर पेट परेको पानीले?….
‘एक परित्यक्त कुवा’ मानिसको सामाजिक अवस्था र वातावरणीय परिवेशको चिन्तनलाई फ्युजन गरी व्यक्त गरिएको संवेदनात्मक कविता हो। बुढी आमाले गाँउ छोडेर गएको छोरालाई कसरी सम्झन्छिन्- यस्ता मनोभावना मूलधारको साहित्य लेखनमा पाइन्छ। तर एक बिर्सिसकिएको बुढो कुवाले व्यक्त गर्ने संवेदना कस्तो हुन्छ- त्यसलाई कविताको जलप लगाएर यसरी व्यक्त गरिएको छ –
‘खुसी छु म यसरी नै आफ्नै पुरानो गाउँमा
आखिर सुख त अनुभव गर्ने पो कुरो हो।
विकास खोज्दै सहर लागेका थियौ तिमी
ल्याउन सक्यौ त प्रगतिको उज्यालो यो गाउँमा?
कत्तिको खुसी उमार्न सकेका छौ तिमिले सहरमा बसी
टाढिएर आफ्नो प्यारो गाउँबाट?’…
वन फँडानी गरेर सडक, एयरपोर्ट, खेतीयोग्य जमिन इत्यादि निर्माण गरिन्छ। रुख काटेर हामीले प्रयोग गर्ने टिस्यू-पेपर उत्पादन गरिन्छ। लाग्छ, कविको मन रुखभित्रै पसेको छ र ‘विवशता’ शीर्षक कवितामा यसरी पोखिन्छ-
….निर्दयीहरूले
काट्छन् रुखलाई
गिँड्छन्, धुजा पार्छन्
अनि उमाल्छन्
ताता विषालु रसायनमा
जन्माउन यसलाई।
पीडामा कति छटपटाउँथे होला यसका तन्तुहरू!…
जसरी पशुबलि, आइभरि, र फरको प्रयोगका विरुद्धमा पशु अधिकारकर्मीद्वारा आवाज उठाइँदै आइएका छन्, त्यसरी नै रुख संरक्षण गरिनु पर्छ र उसको पनि बाँच्ने अधिकार छ, त्यसर्थ टिस्यू-पेपरलाई प्रयोग गर्न छोड्नुपर्छ भन्ने अभियानमूलक कविता हो ‘विवशता’। कहाँको जङ्गलको रुखबाट कागज उत्पादन गरिएको हो, र सस्टेनएबल फोरेस्ट्रीबाट हो कि होइन भनी प्याकेजिङ लेभलमा लेखिएको हुनुपर्ने युरोपमा कानुनी व्यवस्था छ। कविको मनसाय पनि यस्तो स्किमलाई सबैतिर पूर्ण लागु गरिनुपर्छ भन्ने देखिन्छ।
आधुनिक विकास र ग्लोबलाइजेसनले मानिसलाई अति उपभोगी बनाएको छ। यसको प्रत्यक्ष्य असर प्रकृतिमाथि परेको छ। विलासितापूर्ण जीवन जिउन खोज्दा एउटा होइन २.५ वटा पृथ्वी चाहिने भएको छ। एक वातावरणमैत्री जीवन जिउने व्यक्तिको मृत्युमा मिडियाको उपस्थिति शून्य रह्यो। उसलाई कुनै सम्मानबिना नै अन्त्येष्टि गरियो भन्ने गुनासो ‘एक साधारण असाधारण मान्छे’ कवितामा गरिएको छ।
२. जैविक विविधता
पर्यावरणमा जैविक विविधताको विशेष महत्त्व हुन्छ। एउटा वासस्थानमा जति धेरै प्रजातिका जीव र वनस्पतिको उपस्थिति रहन्छ त्यहाँको इकोसिस्टम त्यतिकै उत्तम मानिन्छ। जैविक विविधतामा ह्रास आउँदा वातावरणले स्वस्थ-सन्तुलन गुमाउन पुग्छ। इको राइटिङको यस विषयमा केन्द्रित रहँदै जन्मदिनको उपहार, म दिहिङ-पाटकाई बोल्दैछु, जुनकिरीदेखि फायरफ्लाईसम्म, समुद्रमुनिका सुस्केराहरू, विगतलाई पछ्याउँदै जस्ता कविताहरू लेखिएको पाइन्छ ।
‘जन्मदिनको उपहार’ कवितामा जमिनको उर्वरा शक्ति रसायनिक मल प्रयोगका कारण क्षय भइरहेको चिन्ता व्यक्त गर्दै नातिले बाजेको जन्मदिनमा गँड्यौलाको पोको उपहारस्वरूप दिन्छ। मैले मेरो कथा ‘विवाहको वर्षगाँठ’मा श्रीमतीलाई जुहारतको उपहार दिनुको सट्टा रेड पान्डा संरक्षणार्थ अर्थदान गरेको छु। अब प्रश्न उठ्छ, किन नातिले बाजेलाई त्यस्तो उपहार दियो। नातिको जन्मदिनको उपलक्ष्यमा बाजेले उपहार दिएको भए पनि हुन्थ्यो त! वातावरणको मुद्दामा आजकलका न्यू जेनेरेसन सचेत छन् र हामीले हाम्रा भावी सन्ततीलाई अहिलेकै अवस्थाको हराभरा प्रकृति हस्तान्तरण गर्नुपर्छ भन्ने सन्देश यस कविताले दिन खोजेको बुझिन्छ।
काठमाडौं, दार्जिलिङ जस्ता सहरका बारेमा लेखिएका साहित्यिक सृजना पढ्दै/सुन्दै आएका छौं। तर योभन्दा अघि एक संरक्षित क्षेत्रको बारेमा लेखिएको कविता मैले पढेकै छैन भने पनि हुन्छ। सुक्ला फाँट, चितवन, बर्दियाजस्ता राष्ट्रिय निकुञ्जका बारेमा पनि कविता लेखिनुपर्छ र लेख्न सकिन्छ भन्ने पाठ ‘म दिहिङ-पाटकाई बोल्दैछु’ कविताले सिकाउँछ। जसरी पोट्रेट कवितामा अनुहारको वर्णन गरिन्छ ‘म दिहिङ-पाटकाई बोल्दैछु’ कवितामा एक वन्यजन्तु निकुञ्जले आफूमा के कस्ता प्रजातिका चराचुरुङ्गी, वनस्पति पाइन्छन् भनेर वर्णन गरिएको छ।
… चरा-चुरुङ्गीको चिरबिरले
ब्युँझन्छु म प्रतिबिहान
अनि नाचिदिन्छु
पहाडी खोलाको छङछङसितै
बर्खामा झरझर पानी पर्दा
मुसुक्क हाँस्छन्
मेरा हरिया पात र फुलहरू
मृदु हावासँग नाच्दै मस्किँदै
मै हुँ असमकी एकमात्र वर्षावन
पूर्वकी अमाजन।…
यस कवितामा दिहिङ -पाटकाईको वर्णन मात्रै होइन, यसलाई मानिसले अतिक्रमण पनि गर्दैछन् है भन्ने पीडा पनि व्यक्त गरिएको छ। वास्तविक पर्या साहित्यले आवश्यकता बोध गरेको कुरा पनि यही हो – वातावरणमा परेका नकारात्मक असरलाई उजागर गरिदिने। यही कार्य कवि देवेनले यस कवितामार्फत यसरी गर्नुभएको छ –
…..तर ए साथी
हिजोआज टाढिन लागेका छन् प्रिय प्राणीहरू मैबाट।
कता कता सुन्दैछु
चिरिन्छ अरे मेरो छाती
निकाल्न काला कोइला मुटु फुटाई।
डराउँदै छु म
निर्वस्त्र पार्ने होलान् मानवले मलाई
च्याती हरियाली मजेत्रो।…….
‘जुनकिरीदेखि फायरफ्लाईसम्म’ कवितामा अहिले जुनिकिरी देख्न नसकेको दुखेसो व्यक्त गरिएको छ। जुनकिरी एक जैविक सूचक हो। यो किराको उपस्थितिले त्यँहाको हावापानी स्वच्छ भएको सङ्केत गर्छ। रसायन, ध्वनि, प्रकाश जस्ता प्रदूषणले जुनकिरी लुप्त हुँदै गइरहेको छ। डायनोसोर अहिले चित्र र एनिमेटेड चलचित्रमा मात्रै सीमित छ। जुनकिरी पनि हाम्रा छोरानातिको पालामा मोबाइलको फोटोमा मात्रै देख्न पाइएला भन्ने सम्भावना यस कविताले यसरी व्यक्त गरेको छ –
….निकै बेरपछि बोल्यो नाति
‘किन बाटो-बारी-आँगन गर्नुभएको हजुरबुबा?’
‘जुनकिरी खोज्न, बाबु।’
‘कस्तो हुन्छ त्यो?’
‘पेटमा बत्ती बाली अँध्यारोमा उड्ने किरो।’
‘पाइँदैन त्यस्तो यताहुँदी।’
‘हजुरबुबा हजुरबुबा फायरफ्लाई,
तपाईंको जुनकिरी यही हो?’
झल्याँस्स भएँछु म
अनि लम्केँछु उसैतिर।
मोबाइलमा चित्र देखाउँदै
हर्षोल्लासमा चिच्च्याउँदै ऊ..
‘यी, यता।’
‘विकिपिडियामा लेखेको छ –
वनजङ्गल मासेर,
कीटाणुनाशक छरेर
मासिएका रे यिनीहरू।……
कोरल रिफ जैविक विविधताको आश्रयस्थल हो त्यसर्थ यसलाई समुद्रको रेनफोरेस्ट मानिन्छ। तर दुखको कुरा के छ भने, जलवायु परिवर्तन र प्रदूषणको कारणले यो खुइलिएर जाँदै छ। जसरी जमिनको रेनफोरेस्ट फँडानीको चाप र डढेलोले मासिँदै छ, त्यसरी नै समुद्रको तापक्रम बढ्दै जाँदा पानी अम्लीय बन्दै गएको र फलस्वरूप कोरल रिफ सुक्दै गएको छ। कोरल रिफ कस्तो देखिन्छ,यसको महिमा, अनि के कारणले यो विनाशतिर धकेलिँदैछ भनेर अति नै शिक्षामूलक र कवितात्मक शैलीमा ‘समुद्रमुनिका सुस्केराहरू’ कवितामा प्रस्तुत गरिएको छ।
….झस्कियो कोरल
अनि सुस्केरा हाल्दै रोयो धुरुधुरु
‘धन्न आएछौ ए डुबारु यहाँ
अन्तिम भेट होला तिमीसँग यो जुनीमा।
निर्धक्क थियौँ हामी
लेउको प्राकृतिक आवरणभित्र बसी
तर बोक्र्याइदियो हामीलाई अम्लीय पानीले
नाङ्गो जिउ पोल्दै छ भत्भती।
कति दिन पो बाँचौँला र हामी यसरी?’….
३. पर्यानारीवादी (इकोफेमिनिज्म)
पृथ्वी अथवा प्रकृति नारीको रूप हो। पर्यावरणका तत्त्वहरूलाई नारीवादी साहित्यमा ढालिएर गरिएका इको राइटिङ अति नै प्रभावकारी ठहरिने मेरो मान्यता छ। पुरुषभन्दा महिला बढी प्रकृतिको समीप हुन्छन्। पर्यावरण संरक्षणमा महिला जति बढी सचेत हुन्छन् त्यति नै बढी पर्यावरण संरक्षित रहने सम्भावना हुन्छ। यस सङ्ग्रहभित्र यसै धारमा लेखिएका कविताहरू हुन् कङ्क्रिटको कारागारभित्र म, पोथी बास्छे। ‘कङ्क्रिटको कारागारभित्र म’ कवितामा इकोफेमिनिज्मको सुगन्ध पाइन्छ –
….भोलिपल्टको चकमन्ने बिहानी
धुलोको ओभरकोट फ्याँकी मुस्कुराई
कति नाचे होलान्
हरिया पातहरू
सङ्गीतमय वर्षाको मुर्छनामा!
कुनै सुन्दरी युवती
भर्खरै स्नानागारबाट निस्केको निथ्रुक्क शरीरमा
रेखाङ्कित आकर्षक अवयवहरूजस्तै
उदाङ्गा थिए होलान् फुलका बोटहरू
र
केशबाट तप् तप् पानीका थोपा झरेजस्तै
खस्दै थिए होलान् पातबाट बिन्दुहरू पनि।…
‘पोथी बास्छे’ कवितामा पर्या साहित्यको जलप लगाएर महिला हकअधिकारको विषय उठान गरिएको छ। प्रतिविम्वात्मक रूपमा पशुपङ्क्षीको हकअधिकर सुनिश्चित हुनुपर्छ भन्ने सन्देश पनि यो कविताले दिनखोजेको बुझिन्छ –
…छ भने पराक्रम
उब्जाऊ अन्डा आफ्नै कोखमा
जन्माऊ चल्ला, बसी ओथारो
हुर्काऊ हामी जसरी नै।
सक्दैनौ यति गर्न, चुनौती दिन्छु।
तबसम्म,
हामी पोथी नै बास्ने
‘कुखुरी काँ।’…..
४. परिवृत्तीय
परिवृत्तीय अर्थात इकोसिस्टम इको-साहित्यभित्रको एक छुट्टै विषयवस्तु बन्नसक्छ। कुनै एक प्रजातिको पर्यावरणमा कस्तो उपस्थिति रहन्छ र त्यसको घट्बढमा अर्को प्रजातिलाई कस्तो प्रभाव पर्छ भनी लेखिएका सृजना यस वर्गभित्र पर्न सक्छन्। कठैबरी मौरी, पुतली, माछा महान, फुकुसिमाको पानी इत्यादी कविता यसै विषयलाई प्रस्ट्याउँदै लेखिएका कविता हुन्। मानवीय गतिविधिले मौरीजस्ता परागसेचन गराउने किरालाई तिनका बासस्थानबाट विस्थापित पारिँदै छ भन्ने मूल सन्देश छ ‘कठैबरी मौरी’मा। भँ.. भँ… गर्छ भमरा, चिर..बिर… गर्छ गौथली, फुरु..फुरु… गर्छ पुतली भनेर प्राकृतिक सौन्दर्यका कविता त कति सुनेको हो कति? तर मृत मौरीको कारुणिक कविता यसअघि यसरी कसैले लेखेको थिएन होला।
पुतली पनि जुनकिरीजस्तै अति नै संवेदनशील एक जैविक सूचक प्राणी हो। इकोसिस्टममा सानो असन्तुलन आउनासाथ यसको सङ्ख्यामा ठुलो असर पर्छ। पर्यावरणबाट अचानक पुतली हराउनासाथ इकोसिस्टममा ठुलै खैलाबैला मच्ँिचदै रहेछ भन्ने सङ्केत गर्छ। यसरी ‘पुतली’ एक नौलो भावमा लेखिएको एक उत्कृष्ट कविता हो।
…पुतलीहरू घट्दैछन् विश्वभरि नै
त्यसैले घट्दै छ
फुलको परागसेचन।
हान्दै धक्का खाद्य-श्रृङ्खलामा
निम्त्याउन अनिकाल समग्रमा।’…
‘माछा महान’ कविताले हामीले छर्ने रसायनले आहार सिक्री (द्घशशस्र ष्द्धड्डद्बठ्ठ) लाई पार्ने नकारात्मक प्रभावलाई स्पष्ट पारेकोछ। फुड चेनजस्तो इकोसिस्टमको एक महत्त्वपूर्ण विषयलाई कवितात्मक रूपमा प्रस्तुत गरिएको छ। पिरामिडजस्तो आकारको आहार सिक्रीमा तल सूक्ष्म जीव र क्रमश: शिरमा ठुला जीव हुन्छन् भनी नातिले बाजेलाई सिकाउँछ। बाजेले त्यस्तो ज्ञान प्राप्त गरी रसायनको प्रयोग त्यागेर जैविक मल प्रयोग गर्न सुरु गर्छन्।
…. केही दिनमा बाढी आयो
सोहोरेर लग्यो रसायनहरू समुद्रतिर
मार्न निमुखा माछाहरू त्यहाँ पनि।
तर अफसोच! कतै निस्केन रिपोर्ट
कति सङ्कट पा:यो
माछाको मृत्युले खाद्य-श्रृङ्खलालाई भनी।….
फुकुसिमा आणविक भट्टी सुनामीले भत्काइदिएको हो। त्यहाँको रेडियो एक्टिभ पानी समुद्रमा मिसाउने जापान सरकारको योजना छ। त्यसो गरिए पछि गएर माछाको डिएनएमा कस्तो असर पार्ला भनी गरिएको चिन्ता ‘फुकुसिमाको पानी’ कवितामा पढ्न पाइन्छ।
५. ग्राम्यता र नगरीकरण
गाउँ हरियाली र सफासुग्घर हुन्छ। सहरलाई कङ्क्रिटको जङ्गल र फोहोर-मैलाको खानी भनिन्छ। गाउँबाट रोजगारीको सिलसिलामा मानिस सहर पस्छ र हरियाली गाँउको जहिल्यै सम्झना गर्छ। गाउँलाई सहर बनाउने क्रममा वरिपरिको वातावरण बिग्रेको हुन्छ। यस्तै विषयमा रहेर गरिएका इको राइटिङलाई यस वर्गभित्र राख्न सकिन्छ। सङ्ग्रहमा यस वर्गभित्र पर्नसक्ने अरू केहि कविताहरू पनि छन् तर ‘बोनसाई’ कविताले मेरो ध्यान आकर्षित ग:यो। जसमा परित्याग गरिएको, पुरिन आँटेको गाँउको कुवाको पीडादायक कथालाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ। गाउँ फर्किँदा झारैझारले घेरिएको कुवालाई देखेर आफ्नो बाल्यकालको सम्झना गरिएको छ। कवि ‘म’ पात्र बनेर कुवासँग संवाद गरेर कविताको प्रस्तुतिलाई अगाडि बढाइएको छ।
६. प्रदूषण
राजनीतिमा भ्रष्टाचार जसरी एक टक्सिक मुद्दा हो वातावरणमा प्रदूषण पनि त्यस्तै हो। हावा, पानी र जमिन कसरी प्रदूषित भइरहेका छन्, तिनका कारक के के हुन् र कसरी न्यून गर्न सकिन्छ भनेर सृजना कोरिन्छन् भने तिनलाई प्रदूषण इको राइटिङको वर्गभित्र राख्न सकिन्छ। यथार्थता, अभिघात धुवाँ प्रतियोगिता, जीवश्रेष्ठ मानिस?? यसै विषयमा लेखिएका कविता हुन्।
‘यथार्थता’ शीर्षकको कविता प्लास्टिक प्रदूषणको बारेमा लेखिएको हो। आउँदा वर्षहरूमा समुद्रमा प्लास्टिकको सङ्ख्या माछाको भन्दा बढी हुनेछ भनेर वैज्ञानिकहरूले अनुमान लगाएका छन्। ‘कसले दियो अधिकार तिमीलाई विनष्ट पार्ने हाम्रो सुन्दर पृथिवी?’ भनेर प्रकृति सुन्दर रहन पाउने उसको हक भएको यस कवितामा दावी गरिएको छ। मानिसलाई प्रकृति कुरूप पार्ने कुनै अधिकार छैन भनेर सचेतना जगाइएको छ।
मार्च २०२१ मा वायु प्रदूषणका कारणले काठमाडौंलाई विश्वकै एक नम्बरको प्रदूषित सहरमा उभ्यायो। वायु प्रदूषण सूचकाङ्कले ३०० नाघ्यो। वायु प्रदूषणका बारेमा लेखहरू त लेखिन्छन्। यसैलाई विषयवस्तु बनाएर कथा कविता भने लेखिएको पाइँदैन। तर मैले लेखेको छु एउटा कथा ‘सहरले पन्छिने गराएकी बुहारी’ र ‘डस्टमान्डु’ कविता। देवेनको ‘अभिघात धुवाँ प्रतियोगिता’ कविता पनि धुवाँ प्रदूषणको बारेमा लेखिएको एउटा रोचक कविता हो। धुवाँ स्वयम्लाई ‘म’ पात्र बनाएर लेखिएको यस कविताभित्र आफू प्रदूषणको राजा भएको भावलाई रमाइलोसँग प्रस्तुत गरिएको छ। हाम्रा वातावरण साहित्यगोष्ठीजस्ता क्रियाकलापका बारेमा मिडियामा सुनेपछि वायु प्रदूषण स्वत: पछाडि हट्न थालेको छ भन्ने खालको बिम्ब यहाँ प्रयोग गरिएका छन्। वैज्ञानिक आविष्कारले यस्ता प्रदूषणलाई रोक्न सकिन्छ भन्ने आशावादी सन्देश यो कविताले दिन खोजेको छ।
कविले तिहारजस्ता हाम्रा सांस्कृतिक गतिविधिलाई प्रदूषणको चक्षुले देख्नुभएको छ। ‘जीवश्रेष्ठ मानिस??’ कविताको एउटा पङ्क्ति यस्तो छ –
…फेरि आएछ तिहार
पटेका, बम र आतसबाजी पड्काउँदै
झिरझिरे फुलझडी रकेटलाई सल्काउँदै
फोक्सै फोक्सोमा धुवाँ भर्न
वातावरणलाई अझ रोगी बनाउन
सुन्दर पृथ्वीको आयु घटाउन।..
पटेका पड्काउने र आतिसबाजी गर्ने क्रियाकलापले ध्वनि साथै वायु प्रदूषण सृजना गर्छ। यसले चराचुरुङ्गी, किराफट्याङ्ग्राजस्ता संवेदनशील प्राणीको परिवृत्तिमा नकारात्मक असर पार्छ नै। पशु अधिकारकर्मीले बलि प्रथाको विरोध गर्न लागे भने वातावरण अभियन्ताले तिहारमा पटेका पड्काउने चलनको विरोध गरिनुपर्छ भन्ने सन्देश यस कविताले दिन्छ। म त के पनि भन्छु भने, शवलाई जलाएर खोलामा बगाउने चलन पनि तुरुन्तै बन्द गरिनुपर्छ। यसलाई गाड्दा पनि पानीको मुहान, कुवा, र खोलानालाबाट टाढाको जमिनमा मात्रै गाडिनुपर्छ। अहिलेको इन्सिनरेटर प्रविधि प्रयोग गरेर अन्त्येष्टि गर्नसके वातावरणका लागि झनै उत्तम हुन्छ ।
७. जलवायु परिवर्तन
राजनीतिमा माओवादीको जनयुद्ध जसरी हट टपिक बन्यो वातावरणमा जलवायु परिवर्तन त्यसरी नै वर्तमानको हट टपिक हो। जनयुद्ध छेड्ने व्यक्ति- प्रचण्ड, बादल, बाबुराम परे भने, जलवायु परिवर्तन ल्याउने हरितगृह ग्याँस- कार्बन डाइअक्साइड, नाइट्रोक्साइड र मिथेन हुन्। जनयुद्धको प्रभाव कस्तो प:यो भनेर लेखिएका लेख राजनैतिक भए भने जलवायु परिवर्तनको प्रभाव वातावरणमा कस्तो पर्दैछ भन्ने लेखन इको राइटिङमा पर्छ। देवेनका पृथिवीवाद, प्वाल परेको छाता, सन २०५० को पृथिवी, रुख, विस्थापन,बिचरा बुढो नदी र पीडित पृथ्वी शीर्षकका कविता इको राइटिङको जलवायु परिवर्तन श्रेणीभित्र पर्छन्।
‘पृथिवीवाद’ कवितामा अल गोर र ग्रेथा थुनबर्गले चलाएका वातावरण संरक्षण अभियानलाई दर्साइएको छ। यो कवितामा ग्रेथाको नाउँ पढ्न पाँउदा उनैको सम्झनामा मैले लेखेको ‘मलाई एउटी छोरी चाहिएको छ’ कविताको सम्झना आयो ।
‘प्वालपरेको छाता’ कवितामा छालामा क्यान्सर रोग ल्याइदिने पातलिँदै गरेको ओजोन तहजस्तो समस्यालाई उठाइएको छ। सन् ९० को दशकमा यस्तो उच्च जोखिमको वातावरणीय समस्या वैज्ञानिकहरूको अनुसन्धानको विषय बनेको थियो। एयर कन्डिसनर र रेफ्रिजरेटरजस्ता उपकरणमा प्रयोग हुने क्लोरोफ्लोरोकार्बनजस्ता ग्याँसको उत्सर्जनले ओजोन तह पातलिएको थियो। कवितामा पातलिएको ओजोन तहलाई एक प्वाल परेको छातासँग तुलना गर्दै बाजे र नातिबिच संवादको रूपमा चित्रण गरिएको छ। देवेनका इको कविताहरूमध्ये यो एक वजनदार कविता हो ।
‘सन २०५० को पृथिवी’ मा अबको दुईतिन दशकमा तापक्रम बढ्ने, समुद्रको सतह बढ्ने र पानी यति दूषित हुनसक्ने कि रिसाइकलिङ् गरेर मात्रै खान मिल्ने जस्ता वातावरणीय समस्याका भविष्यवाणी गरिएका छन्। अहिले हाम्रा पहाडका खोलाका पानी प्रशोधनबिनै पिउन मिल्छ। तर पानीको यो शुद्धता त्यति लामो रहने देखिँदैन। इङ्ल्यान्डमा त जमिनमुनिको वा खोलाको पानी अत्याधुनिक प्रविधिको प्रशोधनबिना पिउनै मिल्दैन। अहिले जताततै पर्याप्त मात्रामा पाइने पानी सन् २०५० सम्म सुन चाँदीजस्ता महँगा हुनसक्ने यस कविताले बताउँछ। जसरी तेलका लागि हिजोआज युद्ध भइरहेका छन् निकट भविष्यमा खाने पानीको लागि पनि युद्ध हुनसक्ने कविको भविष्यवाणी छ। वास्तवमा पानीका लागि युद्ध सुरु भइसकेको छ। नाइल नदीको पानी बाँडफाँडका लागि इथोपिया र इजिप्टबिच वाकयुद्ध भइरहेको छ।
….स्टक् एक्सचेन्जमा बढ्दैछ पानीको मोल
प्रतिदिन
सुन र तेलको मोललाई पनि उछिनी।
व्यस्त छन् बहुराष्ट्रिय कम्पनीहरू
नदी पोखरी र तालहरू किन्नमा।
फैलिएको छ कुरा गाइँगुइँ हावामा
तयारीमा छन् अरे पराक्रमी देशहरू
मोल्नलाई तेस्रो विश्वयुद्ध
खाने पानीकै लागि अब।…
‘रुख’ कवितामा रुखको महिमा गाइएको छ। साथै रुखलाई जथाभाबी फँडानी गरिएकोमा चिन्ता प्रकट गरिएका छन् फोटोसिन्थेसिस, ग्लोबल वार्मिङ, हरितगृहजस्ता शब्दहरू प्रयोग गरेर। साहित्यमा पहिला कहिल्यै नपढिएका यस्ता अपरिचित शब्दहरू पढ्दा पाठकलाई मिठो नलाग्ला। तर साहित्य जगतमा देवेनका जस्तै इको सृजनाहरू लगातार आउनथाले कलान्तरमा गएर यी राजनीति, प्रेम, सामाजिक शब्दहरूझैं चलनचल्तीका शब्द बन्नेछन् भन्ने मलाई लागेको छ ।
बाढीपहिरो जस्तो प्राकृतिक प्रकोपले मानिस र वन्यजन्तु दुवैलाई विस्थापित पार्न सक्छ। तर मानिस शिविरमा बसेर पुनस्र्थापनातिर लाग्न सक्छन् भने पशुपंक्षीलाई त्यस्तो सौभाग्य मिल्दैन। यस्तै चिन्ता पोखिएका छन् ‘विस्थापन’ कवितामार्फत।
बाढी आएर केही चिजलाई बगाएर लगिदियो भने हामी नदीलाई दोष दिन्छौँ। तर वास्तवमा बाढी ल्याउन भूक्षयको ठुलो हात हुन्छ। जब नदीको पिँध पानीले बगाएर ल्याएको माटोढुङ्गाले भरिन्छ तब नदीको आयतन खुम्चिन्छ र पानी छचल्किन जाँदा बाढी आएको मानिन्छ। फेरि भूक्षय गराउने अरू कोही होइन मानिस नै हौं। यसरी कयौं प्राकृतिक प्रकोपका कारक हामी मानव नै हौं। तर अज्ञानी हामी मान्छेले दैवलाई, भगवानलाई दोष दिन्छौं। तर विज्ञान अध्ययन गरियो भने हुन्डरी, डढेलो, बाढीपहिरो इत्यादिको प्रमुख कारक मान्छे भएको ज्ञान हुन्छ। यस्तै विचारले ओतप्रोत भएको कविता हो ‘बिचरा बुढो नदी’।
‘सोचमग्न समुद्र’ कवितामा पृथ्वीको वातावरणीय सन्तुलनमा समुद्रको महत्त्वलाई प्रस्तुत गरिएको छ। समुद्रको कार्बन सिंचित गरेर राख्ने ठुलो क्षमता हुन्छ तर जलवायु परिवर्तनको कारणले उष्णता बढ्न जाँदा कार्बन सिंचित गर्ने क्षमतामा नाटकीय ढङ्गले परिवर्तन आउँदैगरेको छ। जसको प्रभाव समग्रमा पृथ्वीको इकोसिस्टममा देखिन गएको सुर्ता यस कवितामा गरिएको छ –
….बिथोल्दै छ इकोसिस्टमको जैवविविधता
उष्ण समुद्री पानीले।
अनुकूल ठाउँ खोज्दै गइसके समुद्री जीवहरू
रिक्त पारी पुर्खौली थलो
पग्लन लागे गोलार्धका हिमावृत पहाडहरू
बजाउँदै मृत्यु घण्टा टापुहरूको।
हुर्किनै पाएनन् हिमलेउहरू अन्टार्कटिकाका
पेटभर्न ध्रुवीय भालु ह्वेल सिलहरूका।….
८. वन्यजन्तु र चोरीसिकार
बाघ, गैंडा, हात्ती, शालक जस्ता केही वन्यजन्तु लोपान्मुख हुनमा चोरीसिकारको ठुलो हात छ। सन् १९७० देखि यता ६०त्न वन्यजन्तु लोप भइसकेको वैज्ञानिक तथ्याङ्कले देखाउँछ। के कति कारणले वन्यजन्तुको सङ्ख्या घट्दै छ र तिनलाई जोगाउन के गर्न सकिन्छ भनि गरिने सृजना पर्यासाहित्यको वन्यजन्तु र चोरीसिकारको पाटोभित्र पर्दछ। यस सङ्ग्रहभित्रका ‘अपशकुन’ र ‘अतिक्रमणकारी’ कविता यसैका उदाहरण हुन्।
‘अतिक्रमणकारी’ कविता गैंडाको खाग र हात्तीको दाह्राका लागि गरिने वन्यजन्तु चोरीसिकारका बारेमा लेखिएको छ। मानिसको मरेको आत्मालाई वन्यजन्तुले यमलोकमा भेट्दा उसलाई यमराजले किन र कसरी सजाय दिने भन्ने परिवेश खडा गरेर प्रस्तुत गरिएको कविता बडो चाखलाग्दो छ।
९. धर्म र पर्यावरण
आदिमकालदेखि नै मानवले प्रकृतिको महत्त्व बुझेर नै धर्ममार्फत त्यसको संरक्षणमा लागेको हो। विश्वका त्यतिबेलाका सबै धर्म अहिलेका संविधान भनेजस्तै कानुनी प्रणाली हुन्। अहिलेको नेपालको संविधानमै स्वच्छ वातावरणमा जिउन पाउनु जनताको मौलिक हक हो भनेर व्यवस्था गरिएको छ। हाम्रा पूर्वीय धर्मग्रन्थमा पर्यावरण संरक्षणका विषयवस्तुलाई अत्यधिक मात्रामा समेटिएको छ। यिनै विषयमा निहित रहेर रचिएका सृजना इको राइटिङको धर्म र पर्यावरणको पाटोभित्र पर्दछन्। ‘बद्लियो यमलोक’ शीर्षकको कविता यसैको एक उदाहरण हो।
मान्छे मार्ने ज्यानमारा, अपहरणकर्ता, बलात्कारीलाई मात्रै प्राय सरकारले दण्ड दिन्छ। तर प्रकृतिलाई नङ्ग्याउन खोज्नेहरू दण्डसजायबाट जोगिन्छन्। हाम्रो धर्मअनुसार पनि अरूको भलो गर्ने स्वर्ग, अरूको कुभलो गर्ने नर्क जाने विश्वास छ। मठ मन्दिर निर्माण र मन्दिर गएर भगवान पुज्ने मात्रै धर्मात्मा हो भन्ने हाम्रो परम्परागत मान्यतालाई यस कविताले खण्डन गरिदिएको छ। यो कवितामा मान्छे नर्क पुगेको उसका वातावरणीय पाप कर्मले गर्दा हो भनेर भनिएको छ। प्लास्टिक प्रदूषण तथा कार्बन फुटप्रिन्ट बढ्ने गतिविधि गरेको हुनाले ऊ यमलोक पुग्यो भन्ने अति नै नवचेतना यस कविताको मुख्य भाव रहेको छ। पश्चिमा देशहरूमा नागरिक अदालतका साथै वातावरण अदालत पनि स्थापना गरिनुपर्छ भन्ने माग आइरहेको बेलामा देवेनको यो कवितालाई मैले निकै सान्दर्भिक ठानेको छु –
….नर्क अवश्य मिल्छ उसलाई
जसले विनाश गर्छ वातावरण
प्रचार गर ए चित्रगुप्त यी सब कुरा
मिडिया, होर्डिङ र वेबसाइटमार्फत।
फिलहाल
शूलीमा चढाऊ यस पापीलाई
पर्यावरणको खुङ्खार आतङ्ककारीलाई ।…..
१०. अन्य
माथि उल्लेख गरिएका इको राइटिङका श्रेणीबाहेक देवेनका अन्य केही कविता अलि भिन्न खालका छन्। जस्तै ‘डिकोडिङ मसिन’ कवितामा मानिस प्राणीको भाषा बुझ्दैन त्यसैले ऊ प्राणीप्रति निर्मोही बन्छ भन्ने खालको भाव व्यक्त गरिएको छ। प्राणीको भाषालाई मान्छेको भाषामा अनुवाद गर्नसक्ने मसिन आविष्कार गरेर त्यसको परीक्षण गर्न चिडियाखाना गएको कुरालाई चित्रण गरिएको छ। अनि चिडियाघरका बन्दी पशुपङ्क्षी आफ्नै देशजस्तो वनजङ्गल फर्किन चाहेका उक्त डिकोडिङ मसिनद्वारा मानिसलाई जानकारी हुन्छ।
‘फुच्चे मानिस’ कवितामा बिना कुनै यन्त्रको सहायताले हजारौँ माइल उड्नसक्ने पाहुना चराको क्षमतालाई वर्णन गरिएको छ। हामीलाई केही गर्न र सिक्न आजकल गुगलको सहायता लिनुपर्छ। जस्तै गुवाहाटीबाट तेजपुर पुग्न गुगल म्यापको सहायता लिनुपर्छ। तर चराहरू स्वत: एक स्थानबाट अर्को स्थानमा पुग्नसक्ने सामथ्र्यले गर्दा पङ्क्षी ठुलो कि मानिस ठुलो भन्ने प्रश्न खडा गरिदिएको छ।
देवेनको कविता सङ्ग्रह कोरोना महामारीले विश्व नै लकडाउनबाट गुज्रेको अवस्थामा सृजना भएको हो। जसरी जनजीवनलाई कोरोनाले तहसनहस हुनेगरी प्रभावित पा:यो त्यसरी नै साहित्यमा यसको प्रभाव अक्षरमा देखाप:यो। ‘त्यो बल्ल फेलाप:यो’ कविता कोरोना भाइरसको उत्पत्तिका कारण मानिस नै हो भन्ने वैज्ञानिक मान्यतालाई समर्थन गर्दै लेखिएको छ। वैज्ञानिकहरू कोरोना चमेराबाट मानिसमा सरेको अनुमान लगाउँछन्। यसको उत्पत्तिस्थल चीनको वुहान सहर हो। त्यहाँको हाटबजारमा चमेरा बेचिन्थ्यो।
मैले भन्दै र लेख्दै आइरहेको छु, जसरी कविले सामाजिक कुरीतिलाई फ्याँक्न मद्दत पु:याउँछन्, जसरी नराम्रो राजनैतिक व्यवस्थालाई हटाउन मद्दत गर्छन्, त्यसरी नै कविले वातावरणीय चेतनाको शङ्ख फुक्न सक्छन् र पर्यावरण संरक्षणमा अपार भूमिका खेल्न सक्छन्। यसै चेतले जन्मिएको देवेनको एउटा कविता हो ‘बिचरा कवि’। धनका भण्डार रित्तिन थाले भनेर होइन हिउँका भण्डार पग्लिन थाले, प्रतिव्यक्ति आय बढे मात्रै होइन समुद्रको जलस्तर पनि बढ्दै छ है भनी सचेतना दिन प:यो कविका सृजनाले। राजाको मृत्युमा जनता शोकमा डुबे मात्रै होइन सामुद्रिक द्वीप पनि जलवायु परिवर्तनका कारणले डुब्न थाले भनी कवितामा व्यक्त गर्नुपर्ने अवस्था आइपरेको छ।
‘एक युगपछि ब्युँझदा’ स्वैरकाल्पनिक कविता हो भन्न सुहाउँछ। ग्लोबल वार्मिङ्ले यस्तो खतरा उत्पन्न गराएको छ कि पृथ्वी बस्न लायक नरहेर कुनै दिन चन्द्र्रमा र मङ्गल ग्रहमा हामीले डेरा सार्न पर्नेछ। कविको यो तर्क वैज्ञानिक भनाइमा आधारित छ। यसैलाई बडो काल्पनिक ढङ्गले कवितामा कम्प्युटर प्रविधिको चरम विकासले रोबोटिक युग बढ्दै जाने र मानवीय युग घट्दै जाने सम्भावित घटनालाई प्रस्तुत गरिएको छ। यो कविता पढ्दै जाँदा ‘जुरासिक पार्क’ चलचित्र हेर्दाको जस्तै कौतूहल उत्पन्न हुन्छ। यस कविताले मैले लेखेको ‘भुईंचालोले भत्काएको भट्टी’ कथाको सम्झना दिलायो। जसमा नेपालको हिउँ पग्लिएर सिद्धिएपछि नदीनाला सुक्छन्, फलस्वरूप जलविद्युत उत्पादन रोकिन्छ। ऊर्जा आपूर्तिका लागि सन् २०५० तिर नेपालमा आणविक भट्टी बनिसकेका हुनेछन्। तर भूकम्पले ती आणविक भट्टी भत्किन जाँदा फुकुसिमाको जस्तो विकिरणीय घटना घट्नसक्ने अवस्थालाई मैले प्रस्तुत गरेको छु।
फोहोर बटुल्ने केटोलाई खाते भनि हेला नगरौं। हामीले घरमा गर्नुपर्ने फोहोरमैलाको रिसाइक्लिङ् उसले गरिदिएको हुन्छ। उत्पत्तिस्थानमै फोहरमैला छुट्ट्याऔं भनेर नगरपालिका उर्दी लगाउँछ तर घरवालाहरू यसो गर्न अल्छी मान्छन्। मेरो कार्यपत्रमा लेखेको छु ‘घोडामा चढेर गाँउ डुल्ने मुखियाको मात्रै होइन, साइकल चढेर सिसा, कागज, फलाम र प्लास्टिक सङ्कलन गर्ने कबाडी बाबुको पनि कथा लेखौँ।’ देवेनको ‘फोहोर बटुल्ने केटोलाई सलाम’ कविताले ठ्याक्कै त्यस्तै सन्देश बोकेको छ।
अन्त्यमा
माथि मैले देवेनका कविताहरूको इको राइटिङका विषयलाई तानेर वर्गीकरण गरेँ। यीबाहेक उहाँका कवितामा अन्य केही विशेषताहरू पनि पाइन्छन्। जसरी वातावरणका मुद्दा कुनै एक देशको सिमानाभित्र सीमित हुन्नन् उहाँका कविताहरू पनि असम, भारत, नेपाल मात्रै केन्द्रित छैनन्। विश्व परिवेशलाई समेटेका छन्। देवेन भेटेनरी/पौल्ट्री विज्ञानका प्राध्यापक हुनुहुन्छ। त्यसैले विज्ञानका शब्दहरू केलाई केलाई कवितामा मज्जाले खेलाइएका छन्। वातावरण/पर्यावरण अध्ययनमा प्रयोग हुने शब्दहरूको घनत्व कवितामा बाक्लो छ। यसर्थ यो एक प्रयोगवादी कविता सङ्ग्रह हो। एउटा न्युज रिपोर्टलाई जस्तो कवितालाई पूर्णरूपमा बुझ्न पनि सकिँदैन नि त। ती विज्ञानका शब्दहरू बिम्बका रूपमा मिसाइएका छन् जसले कविताहरूलाई सिँगारिदिएको छ जस्तो मैले अनुभूत गरेको छु।
प्राय सबै कवितामा वातावरणीय समस्या मात्रै औंलाइएको छैन अपितु समाधानको बाटो पनि देखाइएको छ। यसरी एउटै अनि छोटो कवितामा रोगी पनि आफै चिकित्सक पनि आफै बनेर एक उत्कृष्ट इको राइटरको क्षमता प्रस्तुत गर्नुभएको छ देवेनले।
एक चौथाइ कविताहरू आत्मपरक लाग्छन्। तिनमा आफ्ना सन्तानबिच पर्यावरणीय क्षयीकरणका चिन्ताहरूलाई संवादको रूपमा अभिव्यक्त गरिएका छन्। ‘म’ पात्र भएर बोलिएका हुनाले पाठक स्वयम्लाई कविताभित्र डुबेको अनुभूति प्रदान गर्छन् ति कविताहरूले।
सबै कविता मझौला लमाइका छन्। मुक्तकजस्ता छोटा पनि छैनन्, इलास्टिकजस्ता चुटिनेगरि तन्काइएका पनि छैनन्। मैले माथि नै लेखिसके जस्तै केही कविता स्वैरकाल्पनिक छन्। अथवा भनौं साइ-फाई कथाजस्ता। दोस्रो तेस्रो पुस्तामा पुगिसक्दा पृथ्वीको इकोसिस्टम कस्तो भइसक्ला? हाम्रा सन्ततिले वातावरणलाई कसरी बुझ्लान्? भन्ने विचारले भरिपूर्ण। हाम्रो समाजमा भाग्यवाद र धार्मिक विश्वास हावी छ। केही कवितामा मानिसका क्रियाकलाप, जसले वातावरणलाई असर पार्छन्, तिनलाई मृत्यु, स्वर्गलोक र यमलोकसँग जोडेर हाम्रा जनजीवनसँग अझै सान्दर्भिक बनाउने प्रयास गरिएको छ।
समग्रतामा देवेनका कविता ‘हार्ड इको कविता’ हुन्। सुरुमा सर्वसाधारण पाठकलाई आटो खाएजस्तो खसक् खसक् लाग्ला तर यस्ता धारका कविताले विस्तारै बजार लिएपछि ढेंडोजस्तो मसाइलो अवश्य लाग्नेछ। अब देवेनका कविता पाठकले पढिसकेपछि विश्व वातावरण/पर्यावरणका समस्याहरूप्रति विज्ञानको ज्ञान भएका, प्राज्ञवर्गमा, र वातावरण संरक्षणमा लगिपरेका अभियानकर्ता मात्र नभई सर्वसाधारण पनि सचेत हुनेछन्। अनि जनमानसमा वातावरण संरक्षणको चासो ह्वात्तै बढनेछ भन्ने मलाई लागेको छ। अबउपरान्त देवेनका साहित्यिक कलम इको राइटिङकै क्षेत्रमा चलून् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु!
फक्सटोन, केन्ट, युके- मे २०२१
विजय हितान
अध्यक्ष
विश्व नेपाली साहित्य महासङ्घ
साउथ युके



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

