कलाकार सिर्जना गर्न मात्र जान्दछ प्रशासन चलाउन सक्दैन भन्ने भनाइलाई लेप्चा खुवाइदिए । ‘गीत गाउन र सङ्गीत सिर्जना गर्न मात्र जान्दछ कवि कलाकार’ भन्नेहरूका अघिका काम गरेरै देखाइदिए । आफै उदाहरण बनेर पेश भए ।

०००००

यति छिटो जानुपर्ने के थियो र !

मैले आदर्श मानेकाहरू साह्रै छिटो गएको रेकर्ड छैन मसित । अझ यसो भनौं- नब्बे नाघेरै गए इन्द्रबहादुर राई । नब्बे छोलाछोला हुँदै गए दान खालिङ । बद्रीनारायण पनि अस्सी माथिको तीन-चार धाप टेकेरै गए । रसिकले गुन मानेका कवि नरबहादुर दाहाल पनि अस्सीभन्दा केही माथि झन्डैझन्डै नब्बे छोला छोला हुँदै गए ।  एडोन रोङ्गोङले पनि अस्सीमाथि चार टेक्न भ्याए ।

[यतिसम्म बाँचेर जानेहरू प्रकृतिले खटाएकै उमेरभरि बाँचेर गए हुँदा हुन् भनी हामी सयाधिक आयु पर्खिएर बसेका(?)हरू सोच्नथाल्छौं ।]

अस्सी पनि नछोई कसरी जानसके रसिक ! प्रकृतिले रसिकलाई उमेर दिनमा यति साह्रो कन्जुस्याइँ किन गर्‍यो हँ ?

बिरामी भइहाल्नु त गइहाल्नु होइन नि ! रोगै लाग्नुपर्छ त माया मारिहाल्नु हैन नि ! पीडाहरूको पर्वत बोकेर बाँच्ने त दीर्घजीवी हुन्छ भन्छन् नि ।

सांसारिकताको भयावह पीडा कुम्ल्याएर काँध र पिठ्युँमा बोकी हिँड्नसक्ने रसिक ! तर आफ्नै रोग – व्याधिको असह्य पीडा खप्नु असमर्थ बने र गए रसिक भनेर कसरी पत्याउनु !

•••

गणेश रसिक

कलाका धेरैजसो सिर्जनामा झलमल्ल पोख्त प्रतिभा ! सेतो सौन्दर्य ओछाइएको बाहिरी टलक्क टल्कने हिउँले टम्म हिमाल छन् भने भित्री निर्मित हिउँ पग्लिएपछिको पत्थरै पत्थरले खडा पिरामिड थिए कि कसो गणेश रसिक !

यस्तै त होलान् गणेश हिमाल पनि । गणेश रसिक पनि । हिउँको थुप्रोले छोडेपछि जे रहन्छ त्यस पीडाको बोझबाहेक अरू के होला ?

बिमारी हुनु उमेर सकिएको होइन नि । शिशु उमेरमा जति बिरामी अन्य उमेरमा होइँदैन । यदि यस्तै हुनु हो भने त शिशुपछि आउने बालक, युवा हुँदै वृद्ध अवस्था भोग्नै नपाइने ? यही रितले चल्ने हो भने त  उमेरमाथि उमेर थपिंदै जाने क्रम त शिशुमा नै ठप्प ।

कत्रा कत्रा पीडासित जुझ्नसक्ने रसिक आफ्नै रोगसित सहजै हारे भनेर कसरी मान्न सकिएला र !

हजारौं हजार पीडा पचाएका मानिस एउटा रोगसँग सहजै पछारिए भन्ने आँट छैन ममा ।

अभ्यर्थना ग्रन्थका प्रायै लेखकहरूले आ-आफ्ना रचनाका अन्त्यतिर रसिक  बिमारी  रहेको बुझेरै दीर्घायुको कामना गरे । ईश्वर भाक्दै उमेर थपिमागे । भगवान् पुकार्दै बिसासयको कामना गरे ।

बिक्रमको यही शदीको बीसको दशकमा इलाम छँदा के गरे कसो गरे थाहा भएन ।  इलाममा विष्णु नवीन जस्ता हास्यव्यंग्य साहित्यकार र रसिक रमरस (रामरस)बाट राम्रै रमाए हुँदाहुन् ।

मैले भेट्दाताका सात्त्विक भोजन गर्थे रसिक । बिहान बेलुकी ईश्वर भज्थे रसिक । फिक्कल घरमा पाहुनालाई मद-मदिरा र मांस भक्षण जुटाइदिन्थे । अनि आफू टाढा बस्थे ।

सारा दुनियाँको (रसिक-प्रेमी) बिन्ती- भाव र मान-मनितो छँदाछँदै पनि कसैका कुरा नसुन्ने ईश्वर यति साह्रो अटेरी भा’कै हो त ! कि सुनेनन् ? यसरी भक्तको अनुनय विनय नसुन्ने ईश्वरले आफ्नै अस्तित्व दाउमा लगाएकै हो त ! पशुपति त्यतै । स्वयम्भू पनि त्यतै । अझ कति कति देवी देउराली त्यतै । ईश्वरपुर भन्दा हुने काठमाडौंमा कलाको एकजना विशाल व्यक्तित्वलाई अस्सी पनि टेक्न नदिएकै हो त ईश्वरहरू मिलेर । ठुल्ठुला आँखा खोलेर पनि नदेख्ने ईश्वर ! यस्ता बहुमुखी प्रतिभाका स्रष्टासित ईश्वर कसरी अपरिचित बन्नसकेका ! छेवैमा पशुपति र स्वयम्भू आँखा खोलेर बसेका थिए त । रसिक ढलेका देखेनन् कि ईश्वरपुरका देवताहरूले ।

•••

याङ्जी नानालाई तिम्रो फुर्वा मरेका छैनन् भन्ने स्रष्टा आफू चाहिं यति चाँडो जान किन हतारिए !

रेहना जब्बरीकी आमाले त्यो कवितात्मक गीतको अर्थ खोलाउन नसकी त्यसै पर्खिएर बसिरहेकी हुँदा हुन् । गीतको गेडो खुट्याउन छोडेर कता आफै जान हतारिएका !

•••

फिक्कलमा रसिक फाउन्डेसन खडा गरे । फाउन्डेसनको पहिलो काम नै बन्यो – उहिले कुनै समय गुन लगाएका  कालेबुङे कविको सम्मान गर्नु ।

गुन लगाउँदा कवि कालेबुङबासी उहिलेको गुनले बोकेर ल्याएको सम्मानित हुने समय कविको स्थायी बासस्थान सालबारीछेउ सुकुना ।

गुन के थियो –

पहिलो चोटि दार्जीलिङमा कार्यक्रम आयोजना गर्ने मनसुबा बनाएका नेपालतिरका दुई-चार बेखर्ची ठिटालाई कालेबुङे कविले दार्जीलिङ रेल स्टेसनछेउ देखे । कविलाई ती युवाहरूका दौरा सुरवालमा चिटिक्क सुहाएको ज्यानले सोच्न बाध्य गरायो । यसरी आफ्नै पोसाकमा गर्व गर्नसक्ने युवाहरूमा कुनै खूबी लुकेको हुनुपर्छ भन्दै सोधी-खोजी गरे । कुरा बुझ्दा थाह लाग्यो- लोकगीत गाउन सिपालु युवाहरू । अझ थप कुरा बुझ्दा थाहा लाग्यो ती लोकगीत गायकहरू कार्यक्रम गरी केही पैसा बनाई स्वदेश फर्कनेताकमा ।

त्यस समयको ख्यातीनाम स्रष्टाबाट ती बेखर्ची युवाहरूले हार्मोनियम बाजाको सहयोग प्राप्त गर्न नसकेको हुँदा दार्जीलिङ शहरमा साङ्गीतिक कार्यक्रम गर्न सकेनन् । कालेबुङे कविले स्थितिको निराकरण हेतु आफ्नै खर्चमा कालेबुङ पुर्‍याई टिकटमा कार्यक्रम आयोजना गरेर देश फर्किन सहयोग गरेको उहिलेको गुन मान्दै शब्द समय सालबारीका जेष्ठ स्रष्टा उनै कालेबुङे कवि नरबहादुर दाहाल (यस बेलासम्म कवि दाहाल सालबारी नजिक सुकुनाबासी) लाई नगद राशीको पुरस्कारसहित सम्मान जनाए । उक्त कार्यक्रममा सालबारी शब्द समयका सदस्य हामी धेरैका संख्यामा, गुनको फिर्ती-सवारी हेर्न फिक्कल नै पुगेका थियौं ।

गुनको पैँचो तिर्न खुल्ला मनले सधैँ अग्रसर रसिकलाई शब्द समयका हामीले चिन्नसक्यौं ।

•••

रसिक दक्ष इन्जिनियर ।  कहाँ कति बेला कुन ठाउँमा भत्कोस् परेको अनुभव हुन्छ रसिक थपक्क पुगिहाल्नुपर्ने । बिग्रिएका र भत्किएका  संस्थाहरू डेन्टिङ-पेन्टिङ गर्दै चलाउने कुशल इन्जिनियर । कहाँ कति अव्यवस्थाको भल-पैहिरामा बगे संस्था/ कहाँ कति आर्थिक अनियमिताको भैंचालामा ढल्यो संस्था-को खाँबो र भित्ताहरू/कहाँ कति भासियो संस्थानको जगसहित भूमि ! ती सबमा पुगिहाल्नुपर्ने रसिक ।

राष्ट्रिय नाचघरका महाप्रबन्धक भएर आफ्नो दक्षता देखाएनन् कि ! साझा प्रकाशनका अध्यक्ष र महाप्रबन्धक भएर कार्य सम्पादन गरेनन् कि ! रत्न रेकर्डिङ संस्थानमा कार्य गरेनन् कि ! प्रज्ञा-प्रतिष्ठानको सङ्गीत नाट्य अकादेमीमा सदस्य सचिव रहेर कार्य गरेनन् कि ! प्रशासक बनेर सबै ठाउँ आफ्नो योग्यता सबैका अघि थपक्क देखाइदिए । सबैको मनमा छपक्क बसे/ छाए ।

कलाकार सिर्जना गर्न मात्र जान्दछ प्रशासन चलाउन सक्दैन भन्ने भनाइलाई लेप्चा खुवाइदिए । ‘गीत गाउन र सङ्गीत सिर्जना गर्न मात्र जान्दछ कवि कलाकार’ भन्नेहरूका अघिका काम गरेरै देखाइदिए । आफै उदाहरण बनेर पेश भए । गीत-कविता, कथा, निबन्ध-संस्मरण र उपन्यास सिर्जना गर्ने हातले प्रशासकीय डन्डा पनि चलाउने हैसियत राख्छ भन्ने सबुत आफैंले प्रस्तुत गरे ।

•••

धेरै चोटि सालबारी आए । मेरै घरमा बसे । अभिभावकीय छहारी थिए ढले ।

साझाका अध्यक्ष र महाप्रबन्धक रहेको समय सिलगढीमा साझा प्रकाशनको बिक्री भण्डार खोले । बिक्री भण्डार खोलिँदा मेरा गुरु दान खालिङका साथै मैले पनि सहयोगका हात बटाएको थिएँ । गुरुङबस्ती सिलगढीमा भाडाको घरमा खोलिएको  बिक्री भण्डारको उद्घाटन साहित्य शिखर इन्द्रबहादुर राई र दान खालिङबाट भयो ।

त्यही नाताले करफोकमा राधेश्याम लेकालीको संस्थाले डाक्टर तारानाथ शर्मालाई सम्मान जनाउने एउटा कार्यक्रममा दाइसित भेट भयो । दाइबाट सिलगढीमा सहयोग पुर्‍याएको गुन मानेर एक रात फिक्कल घरमा बिताउनुपर्ने प्रस्ताव आयो । मसित अन्य दुई मित्र लक्ष्मण श्रीमल र युवराज काफ्ले पनि छन् भन्ने थाहा पाए । र, हामी तीनैजना लिएर निजी चियाबारी भित्रको सुन्दर कोठीमा पुर्‍याए ।

त्यसपछि पनि म दाइको सुन्दर कोठीमा धेरै चोटि पुगेको छु । शब्द समयका साहित्यिक मित्रहरूको एउटा निकै गतिलो डफ्फा लिएर पनि पुगेको छु । यही नाताले सानो सालबारीबाट पनि दाइको अभ्यर्थना ग्रन्थमा छ-छ वटा लेख रचनाले स्थान पाएको
छ । अभ्यर्थना ग्रन्थका सम्पादक सुदर्शन श्रेष्ठजीलाई सिङ्गो सालबारी हार्दिक धन्यवाद जनाउँछ ।

दाइको मृत्यु अघि म काठमाडौं पुगें । दाइसित दर्शनभेट गर्ने मौका जुर्‍यो दाइकै घरमा । दाइ र म हेराहेर । दुवै मलिन बन्यौं । थोरै बातचित । अभ्यर्थना ग्रन्थका कुशल सम्पादक आदरणीय सुदर्शन श्रेष्ठजीले आफ्नै स्कुटरमा बसाएर मलाई दाइको घर पुराउनुभयो ।

त्यसको केही दिनपछि नै दाइ बितेको तीतो समाचार चारैतिर फैलियो । शब्द समयले बेलाबेला दाइ सालबारी आउनुहुँदा गफिने त्यही सविता गोम्देन साहित्य कक्षमा शोकसभा आयोजना गर्‍यो ।