दार्जीलिङको सालबारीमा २५ दिसम्बर १९५४ मा पिता स्व.जयप्रसाद शर्मा (खतिवडा) र माता स्व.यशोदा शर्माको तेस्रो पुत्ररत्नका रूपमा ज्ञानेन्द्र खतिवडाको जन्म भएको थियो । खतिवडाको खस्नै लागेको उज्यालो (१९९५) कवितासङ्ग्रह प्रकाशति छ । साहित्यकार दान खालिङले स्थापना गर्नुभएको प्रधाननगर सिलगढीस्थित सरकारी विद्यालय डा. आइ. बि थापा हायरसेकेण्डरी स्कुलबाट २०१५ मा अवकास हुनुभएका खतिवडा अध्ययन, साहित्यिक छलफल र बहसलाई महत्त्व दिनुहुन्छ । प्रस्तुत छ, उनै ज्ञानेन्द्र खतिवडासँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अशंः

तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?

दार्जीलिङमा स्कुलमा सातआठ कक्षामा पढ्दाताका केही कविताहरू तुक्का मिलाएर लेखेको सम्झना छ । विषय पनि थाहा छैन तर साथीहरूलाई आफैँ मक्ख परेर सुनाएको कता कता सम्झनामा आउँछ । ५ सितम्बरका दिन शिक्षक दिवसमा शिक्षक शीर्षकमा कविता सुनाएको थिएँ । अहिले बुझ्दा यो पनि तुक्का नै थियो ।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?

देवकोटा शीर्षकको कविता १९७३/७४ तिर सौगात (इलामबाट) पत्रिकामा छापिएको थियो ।

जीवनको भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यवस्था ?

ज्ञानेन्द्र खतिवडा

सानैमा दार्जीलिङ पढ्न पठाए आमा-बाबाले । दार्जीलिङमा फुपूको घरमा (सानामा मेरा पिताजी पनि दार्जीलिङ आफ्नी दिदी भेनाज्यूको घरमा बसेर पढ्नुभएको हो) बसेर पढ्ने मौका पाइयो । फुपूकी कान्छी छोरी मभन्दा केही वर्ष ठुली । उहाँ पनि स्कुल जाने । म पनि घरै छेउको इस्कट मिसन स्कुलमा पढ्नथालेँ । म दार्जीलिङमा यति झ्याम्मिएँ, दसैँ तिहारको लामो छुट्टीमा पनि सालबारी घर आउनुपर्छ भन्ने सुझ रहँदैन्थ्यो । यसैले बाल्यकाल रमझममा नै बित्यो । स्कुले शिक्षा दार्जीलिङमा पूरा गरेपछि म बाल्यकालबाट युवाकालमा हुर्कँदैथेँ । यसैले अन्य अरूले बिताएको जस्तै मेरो पनि बाल्यकाल बितेको छ । मैले बिताएको छु ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ? प्रेरणा के कहाँबाट मिल्यो ?

स्कुलले जीवनमा विभिन्न कार्यक्रममा भाग लिनथालेँ । नाटकमा भाग लिन्थेँ । शिक्षक दिवसमा कविता पढ्थे आफूभन्दा सिनियर दाजुहरूले…पछि त्यही आफूले पनि गर्नपर्छ भनेर बुझेँ । आफू सिनियर क्लासमा पुग्दा कार्यक्रम गर्ने अभिभार आइलाग्यो । कार्यक्रममा चाहिने कविता लेख्ने सोच बनाएँ । कविता लेख्नथालेँ । हाल ती कुनै छैनन् । प्रेरणा दार्जीलिङमा भान्दाइ केही लेख्नुहुन्थ्यो । त्यसरी लेख्नुपर्ने बुझेँ । भान्दाइलाई नै म प्रेरणाको श्रोत मान्छु ।

हाल के गर्दै हुनुहुन्छ ?

पढ्ने र लेख्ने । मासिक कार्यक्रम ‘शब्द समय’ आयोजना गर्ने कार्य गर्दैछु । देवकोटा सङ्घमा पनि ‘समय संवाद’ भर्खर भर्खर सुरु गरेको हुँदा त्यहाँ पनि पुग्छु-महिनामा एकचोटि । अन्य साहित्यिक कार्यक्रममा भ्याए जति पुग्ने गर्छु । आफ्नो एउटा कवितासङ्ग्रह निकाल्ने योजनामा पनि लागेको छु ।

शब्द समयको अवधारणाचाहिँ कहिले र कसरी आयो ? कति शृङ्खला पुग्यो ? 

अन्तर्वार्ताकारः दीपक सुवेदी

साहित्यिक माहौलको खाँचो अनुभव गर्दै आएको हो । धेरैअघि घुम्ती साहित्यिक टोली निर्माण गरेर दुईचार ठाउँ कवि गोष्ठीहरू आयोजना गर्दै हिँडिएको थिएँ । त्यस पछि सुकुनामा कवि मातृका गजमेरले आफ्नो घरमा कोठे साहित्यिक कार्यक्रम आयोजना गर्नुभयो । उक्त कोठे गोष्ठीमा कविवर नरबहादुर दाहाल (कवि दाहालको आफ्नै गाउँ सुकुना) कवि विचन्द्र प्रधान, युवराज काफ्ले, शिशिर गुरुङहरू पनि उपस्थित रहनुभएको थियो । पछि त्यही क्रमलाई निरन्तरता दिन चम्पासरीमा सरस्वती सोनारले पनि कोठे गोष्ठी आयोजना गर्नुभयो । अब पालो आयो सालबारीको । सालबारीमा खसी नै ढालेर एउटा निकै ठुलो कार्यक्रम आयोजना गरेका थियौँ । स्व. गोपाल भण्डारी, कर्णेल प्रकाशसिँह गतराज, आनन्द भण्डारी, डाक्टर रञ्जुनारायण प्रधानसमेत म आफैँ पनि आयोजक रही सम्पन्न गरेका थियौँ । जुन कार्यक्रमलाई स्वनामधन्य इतिहासकार/ साहित्यकार डाक्टर कुमार प्रधानले अध्यक्षता गर्नुभएको थियो भने कवि नरबहादुर दाहालले प्रमुख अतिथिको भार लिनुभएको थियो । अन्य अतिथि साहित्यकारहरूमा कवि विचन्द्र प्रधान, भाषा सङ्ग्रामी शिशिर गुरुङ, साहित्यकार युवराज काफ्ले, कवि मातृका गजमेर, लेखक पदम पराजुलीहरूको उपस्थिति थियो । कार्यक्रम यति विशाल भएछ कि अन्य कसैले अब आँट्नै नसक्नेभयो । त्यहीँ त्यो शृङ्खला टुट्यो । त्यसपछि एक बिहान मर्निङवकमा कवि मोहन ठकुरीसित भेट भयो । कवि ठकुरीलाई पुरानो साहित्यिक गतिविधि रोकिएको कारणहरू बताएपछि फेरि महिनामा एकचोटि गर्ने सल्लाह भयो । आजभन्दा आठ वर्षअघि शब्द समय नामाकरण गर्दै यो शृङ्खला सुरु भयो । आज ९३ औँ प्रकरण पार गरिसकेको छ । यसको निरन्तरतामा आदरणीय कवि नरबहादुर दाहालको ठुलो उत्साह र प्रेरणा रहेको छ । त्यसरी नै युग्मककार कालुसिंह रनपहेँली र कथाकार राजेन मोक्तान, नाटककार पी अर्जुन डि.एस. बमजन र नारी श्रोताहरूमा राधारानी भण्डारी निरु शर्माहरूको भूमिकालाई पनि शब्द समयले महत्त्वपूर्ण मानिआएको छ । हाल कवि खड्गराज गिरी यसको संयोजक छन् ।  यसै वर्षभित्र सय प्रकारण हुने भएको हुँदा त्यसको प्रस्तुतिमा लागिरहेका छौँ ।

कविता के हो जस्तो लाग्छ ?  

कविता के होइन – जस्तो लाग्छ मलाई । जीवनलाई सही रूपमा बुझ्नलाई कविताको भूमिका महत्त्वपूर्ण छ । सौन्दर्यलाई आत्मसात् गर्नेहरूले कवितासित प्रेम नगरी धरै छैन । विचारलाई परिमार्जित गर्नेहरूले कविताको पुस्तकलाई सिरानीमा नराखी धरै छैन । जीवनलाई उदार र विशाल बनाउन चाहानेहरूले कवितासित मित्रता नगाँसी धरै छैन । आफू परिष्कार बन्नलाई कविताको सरितामा पौडी नखेली धरै छैन ।

तपाईँ त कथा पनि लेख्नुहुन्छ । कथामा चाहिँ आफूलाई कहाँ पाउनुहुन्छ ?

कथा थोरै लेखेको छु । आफूलाई राख्ने स्थान बनाएकै छैन / यसैले आफूलाई पाउनु होइन, खोज्नु नै निरर्थक लाग्छ ।

विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ?

नेपाली साहित्यमा विश्व साहित्यका कुरा उठ्छन् तर नेपाली साहित्यले विश्व साहित्यलाई के नयाँ र कसरी नयाँ दिन्छ त्यो पो मूल्याङ्कन हुने कुरो हो । शेक्सपियरकै परिपाटीको नाटक/ चेखबकै परिपाटीको कथा र इलिएटको विचारको कविता लेखेर अब नेपाली साहित्य विश्व साहित्यमा पुग्यो भन्नु अनुकरण मात्र होला, गुणात्मक मूल्याङ्कन हुने कुरो होइन । नेपाली समाजलाई विश्वसामु कसरी पुऱ्याइन्छ । विश्वले खोज्छ, हाम्रो छुट्टै सामाजिकता उत्रिएको कृति । हामीमा भएको सम्पद् – विचारको हुनसक्छ । जीवन भोगाइको हुनसक्छ । आफ्ना सिमाना ह्वाङ्ग राखेर विश्वमा अरूका निम्ति लडेको युद्धका बारे हुनसक्छ । विश्वले पाइआएको कुरालाई मूल्याङ्कन गर्ने होइन । विश्वमा कतैबाट – के आयो र कसरी आयो – को मूल्याङ्कन हुने हो । नेपाली साहित्य पुग्नु र पुऱ्याउन कतिको सक्षम छ विश्व आँगनमा – त्यो पनि ठुलो कुरो हुँदो हो भन्ने लाग्छ मलाई ।

समकालीन लेखनलाई कसरी हेर्नुभएको छ ?  

समकालीन लेखन अध्ययन गरेर लेखिइने परिपाटीको विकास हुँदै आएको छ । यो राम्रो लक्षण हो । अध्ययन कोगरको कोरा लेखनले नेपाली साहित्यमा कसिङ्गर थुप्रिनुबाहेक अन्य केही हुँदैन( भारतेली नेपाली साहित्यको सन्दर्भमा) । भाषाको भरिभन्ड छ । आदरार्थी क्रियाको प्रयोगले भाषालाई प्यारालाइज्ड बनाइरहेकाहरू साहित्यको ठिका लिएर बसेको अवस्था छ । उहाँले भन्योउनले भन्नुभयो– जस्ता क्रियापदको प्रयोग यता सामान्य भइसक्यो । यसैबिच वा यस्तैबिच पनि खुसीको कुरो, एक हाँच युवाहरू अध्ययन, मनन र चिन्तनसहित कलम समाएर अघि आएको स्थिति पनि छ ।

नेपालभित्र र नेपाल बाहिरको साहित्यलाई कसरी हेर्नुहुन्छ ?

नेपाली भाषामा लेखिएको प्रत्येक राम्रो कृति कुनै सीमा नकोरी नै पढ्ने गर्छु । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो (मेरो बुझाइभरि) भन्ने गर्छु । म पुस्तक लेखक छानेर पढ्छु । यसबाट म नयाँ आउँदै गरेका सम्भावना बोकेका कतिपय लेखकलाई केही विलम्भ गरी पाउँदा रहेछु । राम्रो साहित्य लेखियोस् दुवै देशबाट । आखिर धनी हुने त नेपाली साहित्य नै हो ।

साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

पूर्ण मानिस हुनुपऱ्यो साहित्यकार पहिलो नम्बर र अरूलाई पनि त्यस्तै भएको देख्ने मनसाय राख्नुपऱ्यो दोस्रो नम्बर । भाषालाई देश काल स्थिति अनुसार सहज बनाउँदै भाषा र साहित्यलाई धनी बनाउने साहित्य सिर्जना गर्नुपर्छ । साहित्यकारको खेमामा मलाई विश्वास छैन । कमजोर लेखकले खेमा खेमामा आफ्नो सुरक्षा देख्छ । बलियो लेखक सधैँ एकलो पनि सुरक्षित बन्छ । बलियो लेखकको समाज सिङ्गो साथमा रहन्छ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ?

स्रष्टा देशको सम्पत्ति । सम्पत्तिको संरक्षणको दायित्व स्वतः राज्यको दायित्वभित्र परिहाल्छ नि । स्रष्टालाई बाँच्ने र बचाउने भूमिका राज्यको वार्षिक बजेटभित्र कति छ– त्यो बुझ्नुपर्ने हुन्छ । एकलो स्रष्टामा पनि सिङ्गो देश मान्नसक्नु पर्छ राज्यले ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?

नेपाली साहित्यको समकालीन बजार व्यवस्था ठिक छैन । सिलगढी नेपाली पुस्तकको बिक्री वितरणका निम्ति साह्रै पाइक परेको ठाउँ हो तर दुई देशको सिमानाले सहज बनाउन सकेको छैन ।

अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?

मेरो जन्म यो पृथ्वीमा हुनु नै नबिर्सने क्षण हो । मानिस भएर जन्म लिएँ त्यो पनि नबिर्सने कुरो लाग्यो ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

जीवनलाई परिभाषित गर्नु भनेको ठुलो आँट हो । त्यो मबाट सम्भव नहोला । शङ्कर लामिछानेको प्याज हो जीवन । जति खोदले पनि बोक्रैमात्र निस्कने ।

उहिले र अहिलेको लेखक अनि लेखनमा के के भिन्नता पाउनुहुन्छ ?

समयानुसार साहित्यले विकास गर्दै गएको छ । उहिले र अहिले होइन, जीवन्त कालजयी कृति आए उहिले र अहिलेको भेदै रहँदैन । लन्डनमा २०२१ लाग्नलाग्दा देशको सहस्राब्दीकै सर्वश्रेष्ठ प्रतिभामाथि भोट भयो । ४/५ सय वर्षसम्म पनि शेक्सपियर नै अङ्ग्रेजहरूका निम्ति सर्वश्रेष्ठ बन्नु भनेको अहिले र उहिलेको भेद नरहेको बुझियो । ठुला ठुला वैज्ञानिक/ दार्शनिक प्रतिभाहरूलाई पनि पछि पारेर शेक्सपियर नै देशभरि सर्वप्रिय रहनु नै कलाले काल जितेको हो ।

तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?

मलाई मेरै महाकवि लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरू उत्कृष्ट लाग्छन् । खँदिलो विचार सिर्जना गर्नेहरूभित्र शङ्कर लामिछाने र इन्द्रबहादुर राईहरू लाग्छन् । विश्व साहित्यको सन्दर्भमा, चेखबले त्यस्ता कथाहरू कसरी लेख्नसके होलान् भनेर मज्जा मान्दै छक्क पर्छु ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?

नेपाली साहित्यको स्तरीकरणका निम्ति साहित्यकारहरू अध्ययन मनन र चिन्तनसहित आफूलाई तयार पार्नुपर्छ । अध्ययन नै ठुलो सामल हो । अध्ययन नै ठुलो सर्जाम हो । विश्वव्यापीकरणका निम्ति देशको दायित्व रहन्छ – योग्य व्यक्तिलाई स्वदेशमा/ विदेशमा प्रतिनिधित्व बनाई दायित्व प्रदान गर्ने… । अनुवादका लागि सही र योग्य पुस्तकका साथै योग्य व्यक्तिलाई छनौट गर्ने… । झन्डाको रङ, नाता र फ…बाट टाढा रहेर साहित्यलाई योग्यताको कसीमा घोट्न सक्नेहरूको जमात तयार पार्नुपर्ने हुन्छ…. ।

बितगदेखि बर्तमानसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा हेरिरहुनुभएको छ

यसको जवाफ माथि नै आयो केही मात्रमा भए पनि । शासकलाई साहित्यले सहयोग पुऱ्याउनुपर्छ । शासकले कलामाथि घोडा चढ्ने होइन । शासक भोट जितेको भोलिपल्ट अर्को पाँच वर्षको भोट जित्ने दाउमात्र बनाउँछ तर कला, साहित्य र सङ्गीतादिले सधैँ देश र जनताकै लागि सोचिरहेको हुन्छ । देश र जनताको विचार हुनुपर्छ साहित्य कला र सङ्गीत । शासकको विचारले हावी हुने होइन । यसैले शासकभन्दा कता हो कता विशाल लाग्छ मलाई कलाको दायरा ।

नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?

नयाँ स्रष्टाहरू नामको पछि लागेर होइन कामको पछि लागेर नाम राखून् । लबीबाट टाढै बसून् । लबीले विकास गर्नमा बाधा दिन्छ । धेरै अध्ययन गरून् । लेखनमा इमान्दारी-भाव झल्कियोस् ।

लेखनमा परिश्रम र पसिनाको कुरो नै होस् भन्ने लाग्छ । यता हामीले अस्तित्वलाई बचाउने साहित्यकै निर्माण गर्नुपर्ने महत् दायित्व पनि बनेको छ । स्वशासनको सपना साहित्यमा लेखिन बाँकी नै छ – त्यसमाथि काम होस् मबाट पनि अरूबाट पनि भन्ने लाग्छ ।

अहिले साहित्यमा लागेर के पाए र के गुमाएजस्तो लाग्छ ?

पढ्ने र लेख्ने नगर्दो हुँ- जाँड-रक्सी, जुवा र खराब लाइनमा जान्थेँ कि भन्ने सम्झेर झसङ्ग हुन्छु । मेरो बोल्ने क्षमता विकास भयो- साहित्यले गर्दा नै । साहित्यले गर्दा नै निर्भीक बनायो । साहित्यले गर्दा ज्ञानको फराकिलो आँगनमा टेक्न पाएँ । साहित्यमा नलागेको भए जेलमा हुन्थेँ कि… ।