कवि तथा गीतकार अलका मल्लको नवीनतम काव्यकृति ‘मनका तरङ्ग’ अहिले चर्चामा छ । कृतिमा मल्लले कविता र गीतका साथमा पाँच थान गजलसमेत समेट्नुभएको छ । लामो समयबाट गीत लेखनमा सक्रिय मल्लको दुई दशकअघि नै गीति एल्बम ‘तिम्रो निम्ति’ प्रकाशनमा आएको थियो । उक्त एल्बममा चर्चित गायकहरू प्रेमध्वज प्रधान, लोचन भट्टराई, आनन्द कार्की, सपना परियार लगायतले स्वर दिनुभएको थियो । प्रस्तुत छ, मल्लसँग साहित्यपोस्टका लागि सुशीला राईले ‘पाँच प्रश्न’ अन्तर्गत गर्नुभएको संवादको सम्पादित अंशः

१. पुस्तक प्रकाशन भएर पाठक माझ पुगिसकेको छ । कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

मैले सोचेको भन्दा बढी मात्रामा बिक्री हुँदैछ । प्रतिक्रिया राम्रो पाइरहेको छु ।

२. एउटै पुस्तकमा गीत, गजल, कविता समेट्नु भएको छ । यसो किन गर्नुभयो रु यी तिन विधामध्ये कुन विधामा तपाईं आफूलाई बढी पाउनुहुन्छ ?

गीत, गजल र कविता काव्यका यी तीनै विधामा मलाई रुची छु, त्यसैले “मनका तरङ्ग” पुस्तकमा समेटेकी छु । गजल भने थोरै मात्र कोरेकी छुँ । म आफूलाई गीतमा रमाएको पाउँछु, दिनभर सुन्न सक्छु ।

३. लेखकसँग लेख्नुको उदेश्य जरुर हुन्छ । तपाईं केका लागि लेख्नुहुन्छ  ?

म पहिले मनका भावहरू कोरेर कापीमा उतार्थें, जसले मलाई सन्तुष्टि दिन्थ्यो । जमाना निक्कै बदलिएको छ । सामाजिक सञ्जाल मनका तरङ्ग पोख्ने सहज माध्यम बनेको छ । किताब आफ्नो अस्तित्व जोगाइ राख्ने बलियो आधार हो जुन संम्पूर्ण लेखकलाई हौसला दिने एवं आफू परिचित हुने सुमधुर चौतारी बनेको छ । त्यसैले पनि कलम चलाउन अझ उत्साहित भएँ कि जस्तो लाग्छ ।

४. प्रेमध्वज प्रधानले तपाईंको शब्दमा स्वर धेरै अघि नै दिनुभएको हो । तपाईंलाई पुरानो गीतकार भन्न अवश्यक मिल्छ होला । अचेल बजारमा आउने स्त्रीद्वेषी, द्विअर्थी र भाइरल गीतप्रति तपाईंको धारणा के छ ?

हो, करीब २५ वर्षअघि मेरो रचनामा आदरणीय गायक प्रेमध्वज प्रधान, लोचन भट्टराई, आनन्द कार्की, सपना श्री, प्रकाश चन्द्र श्रेष्ठ जस्ता थुप्रै गायकगायिकाहरूले स्वर दिनुभएको थियो । गीतको विकाश हुनु नितान्त आवश्यक । तर स्त्रीद्वेषी, द्विअर्थी जस्ता गीतहरू अपाच्य तरिकाले भाइरल गराउनुमा हामी सबै दोषी छौं ।

५.सर्जकलाई सिर्जना गर्न शान्त वातावरण चाहिन्छ भन्छन् । तपाईँ त्यो वातावरण कसरी मिलाउनुहुन्छ ?

सबैको आ–आफ्नो किसिमको स्वभाव हुन्छ । म एकान्त खासै मन पराउँदिनँ । मनमा केही भावनाहरू तरङ्गित भएपछि कापीमा उतार्ने गर्छु जसले गीत, गजल र कविताको रूप लिन्छन् । केही लघुकथा, विचार, संस्मरण, व्यक्तित्व चित्र पनि लेखेकी छु । यसका लागि चाहिँ अलि एक्लो समयको खाँचो पर्दोरहेछ ।