ऋतुको शक्तिशाली नियतिले निम्त्याएको वर्षा
आफ्नै सुर ताल अभिमानले रडाको मच्चाउँदै
पृथिवीमा तहल्का मच्च्यााउन थालेको छ

धमिलो पानीको बेगमा तैरिएका दुर्गन्धहरू
छरपस्ट वातावरण, उर्लेका दूषित कचडाहरू
घम्साघम्सी कुस्ती खेल्दै लाचार स्वरुप
प्रकृति बेवारिसे हुँदै विवश छ अन्योलमा

जमिन
चोट सहेर ऐया आच्छु भन्दै ब्यथा पोख्दै
निथ्रुक्क भिजेर काँपिरहेको अवस्थामा

घाम
झरीसँग हारेर तापको घमण्ड अनि
स्फूर्त उज्यालो हुने कोशिसमा मौन छ

इन्द्रेणी
समयसँग बाजी मार्ने वर्षा ऋतुको हर्कत देखेर
लाजबाफ आफ्नो रुप फेर्न लुसुक्क हुनुपरेको छ

बादल
घरी घरी गिज्याएझैँ देखा पर्ने बादल
कहिले कपासझैँ निर्मल
आफू चाहेको आकृति वायुमा घुम्न थालेको छ

चट्याङ
गड्याङगुडुङको आवाजले अहमता देखाउँदै
वायुमण्डलमा झरीसँग लडाईँ खेल्न थाल्दैछ

बस्ती
डुबानमा परेका मानव कोलाहलको वज्रपात
बौलाएको खोला–नदीको लावारिस भेलसँग आक्रान्त

ऋतुको शक्तिशाली नियतिले निम्त्याएको वर्षा
आफ्नै सुरताल अभिमानले रडाको मच्चाउँदै
पृथिवीमा तहल्का मच्च्यााउन थालेको छ !

काठमाडौँ