काठमाडौँ । कवि तथा गीतकार अलका मल्लको कृति ‘मनका तरङ्ग’ को लोकार्पण सिनामंगलस्थित एपेक्स विजनेश होटलमा एक समारोहबीच सम्पन्न भएको छ।

विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा मल्लको सिर्जनाको प्रशंसा गर्दै यसलाई मौलिक र सरल शैलीमा लेखिएको बताइएको छ।

प्रो.डा. सन्तकुमार वस्तीले कृतिमा रहेको मौलिकता र सरलताको प्रशंसा गर्दै यसले पाठकहरूको मन जित्ने विश्वास व्यक्त गर्नुभयो। संविधानविद् भीमार्जुन आचार्यले ‘मातृत्व’ शीर्षकको कविता वाचन गरी कार्यक्रमलाई थप रोचक बनाउनुभएको थियो भने गायक दीप श्रेष्ठले कृतिमा रहेको एउटा गीत गाउँनेछु भन्दै, यस्तो खालको कृति ल्याउनु होला भन्ने कुरा आफूले नसोचेको बताउनुभयो।

गजलकार ध्रुव जोशीले आफ्नो गजल सुनाउनुभयो भने साहित्यकार तथा सिनेकर्मी राजेन्द्र शलभले ‘बा’ शीर्षकको मार्मिक कविता वाचन गर्नुभयो। साहित्यकार शैलेन्द्र साकारले कृतिको परिचर्चा गर्दै कवि मल्लले प्रेम र प्रकृतिलाई सुन्दर र मार्मिक रूपमा उठाएको बताउनुभयो। साहित्यकार विश्वविमोहनले ‘स्तब्ध पृथ्वी’ शीर्षकको कविता वाचन गरी श्रोताहरूलाई भावुक बनाउनुभयो।

प्रकाश सायमी र नेपाल उर्दू एकेडेमीका अध्यक्ष इम्तियाज वफा अग्रज साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नरेश भट्टराईले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, नियात्राकार, कलाकार, संगीतकार, गायक लगायत विभिन्न विधाका व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई विशेष र यादगार बनाएको थियो। ‘मनका तरङ्ग’ मल्लको गीत, गजल र कविताको संग्रह हो।