जति रुप फेरिए पनि
ऊ त्यही रुपको मानव हो
जसलाई म राम्ररी चिन्दछु
मैले उसलाई धेरै पढेकी छु
उसका लागि किताब लेख्न नसकेकी होइन
उसका आतङ्क र झम्टाइहरूमा
केवल श्रोता र दर्शकहरू भेटिए
मौनताभन्दा सहज उपाय
अरु हुनै सक्दैन
म चिन्तन गर्छु सायद यो कोही जान्दैन
किनकि उसलाई बेहोसै पनि पढेकी छु
कसैको सामु खराब देखाउनु
मेरो नैतिकताले दिँदैन
उसलाई बुझ्दै जानु पनि त
जीवनको अनुभव थियो नि !
उसका लागि अनगिन्ती प्रत्युत्तरहरू
मनका पानाहरूमा नसाँचेकी होइन
म एउटा किताब बनेकी छु
जुन पानाहरू पल्टाउन
कोही उत्सुक छैनन्
म प्रार्थना गर्दैछु
उसका विचार, विवेक र बुद्धिहरूमा
नयाँ पालुवा पलाओस्
ताकि मैले एउटा उदाहरणीय किताब लेख्न सकूँ
किनकि उसलाई मैले विशुद्ध पढेकी छु ।
काठमाडौं
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला