म सुनिरहेछु, अक्षरहरूमा सन्तापको धून– जुन अशोक थापाकृत कथाकृति हो । त्यो माछापुच्छ्रेको चिसो बतास बोकेर फेवातालको किनारमा झर्छ । आफैँभित्र विरहको धुनी जगाउँछ त घरी सेती नदीको किनारतिर गुन्जिन्छ । कहिले रामघाटबाट ओरालिएर तल्तिरै तल्तिर गहिरिँदै जान्छ, सेतीको जलप्रवाहझैँ । यसले धेरै दिनदेखि मेरो हृदयको सारङ्गी बजाएर विह्वल बनाइरेको छ ।
नाटकमा विद्यावारिधि गरिसकेका मेरा समवयका स्रष्टा थापाले कथा मात्र लेखेका छैनन्; आफैँलाई घोप्ट्याएका छन् । समाजमा घटेका, घटिरहने परिघटना र त्यसले हुडल्ने मानवीय संवेदनालाई दुरुस्त काव्यिक शैलीमा उतारेर गज्जबको शैली प्रस्तुत गरेका छन् । हरेक कथासँगै म अचम्मसित सेतीको प्रवाहमा हेलिँदै गएँ । पातालतिर हराउँदै जाँदा निदाएर अन्तपुरमै पुगेछु । ब्यूँझेर तिनको भावार्थ उतार्नुपर्थ्यो तर अल्छिएर मैले लत्तो छोडेँ । हल्हलाएको जाँगर ‘छेपारोले पुसमा कोट बुनेर लाउँछु’ भनेजस्तै भयो । म थेच्चर बनेर आफ्नै लुतेधन्दामा बतासिएँ, बिलासिएँ ।
समयको घाम निकै माथि आइसकेपछि पुनः ‘सन्तापको धून’ कानमा रन्कियो । हृदयमा अनेकानेक सङ्गीत तरङ्गिन थाले । म स्रोता हुँ, आज ती एकेक धून दोहोर्याएर सुन्दैछु:
हात्तीछाप चप्पल
यो विशेषतः कथाकरले भोगेको तत्कालीन समाज र उनको बाल्यकालीन स्कूले जीवनको पार्श्वधून हो । जहाँ बाल्यकाल, स्कूले जीवन, किशोरवयको प्रेम, वनपाखा, धैरेनी–घारी, रुखपात, वनफूल र तीखा काँडा छन् । यो सुनिरहँदा स्रोता (पाठक) आफ्नै बालमझेरीमा उभिएको अनुभूत गर्छ ।
पाउरोटी अर्थात् भक्कु–चप्पल पड्काउँदै स्कूल जानु, बेलाबेला त्यसको तुना चुडिँनु र त्यसलाई ढेब्रीको ज्वालोले पगालेर जोड्नु तीसदेखि पचासको दशकको स्कूले जीवन थियो । चप्पल चुडिनु, चुँडेको चप्पल झ्याङमा मिल्काएर हिँड्नु मध्यमवर्गीय समाजको साझा बालजीवन हो । खाली खुट्टा स्कूल पुगेको म पात्र चप्पल नलगाएकै कारण ‘श्रुतिलेखन प्रतियोगिता’मा जानबाट बञ्चित हुन्छ । निष्ठुर मनकुमार सर भन्छन्– अर्काको स्कूलमा लाजको विज्ञापन किन गर्नु … तैँलेभन्दा रेनु र हिरेले छापा लेख्छन् (पृ.३) ।
त्यसो भन्दा अबोध बालहृदय कति रोयो होला । मैले आफूलाई त्यही ठाउँमा उभ्याएँ । एकछिन कहालिँदै रोएँ । यहाँ म पात्रको मन बाँसको कप्टेरोजस्तै चिरा परेको अनुभूत हुन्छ । एक त श्रुतिलेखनमा जान नपाउनु, अर्को आफ्नी मायालु रेनुसँग हिरे जानुले बालहृदय मर्माहत भएको छ । तथापि, रेनुले उसलाई कम्ती माया गरेकी छैन । रेनुले बाको कन्तुरबाट पैसा चोरेर उसका खुट्टा चप्पलमय भएको कल्पना गर्नु किशोरवयको सङ्लो प्रेम हो । आखिर म पात्रले जस्तै रेनुले त्यो सङ्लो प्रेमको दशी पेश गरेकी छ ।
स्कूले दिनको अलौकिक आनन्द र कहिल्यै नमेटिने गरी बसेका अधुरा विरही भावनाहरू छन् । यी भावलाई जस्ताको तस्तै उनिएको छ । ग्रामीण जीवनको सपाट चित्र खिचिएको यसलाई अत्यन्त भद्र, ऐँसेलुका टोप्राजस्तै स्वादिलो वाल्यकालीन प्रेमकथा भन्न सकिन्छ ।
डढुवाई आमा
यो आमाछोरा बीचको प्रेमिल धून हो । आमालाई अघोरै माया गर्ने छोराले उनको गालामा देखिएको कालो डामका कारण घृणा पनि गर्छ । स्कूलमा ‘आमाको माया’ शीर्षकमा निबन्ध लेख्न नसक्नु, गालाको कालो दाग सम्झेर घृणा उब्जनु र आमालाई ‘स्कूल नआऊ’ भन्नु त आवरणमात्र हुन् । खासमा यो समाजले जबर्जस्ती थोपरेको घृणाको अंश हो ।
यसले पोखरा र कीर्तिपुरको प्रकृतिलाई जोडेको छ । यसर्थमा यो कथा पोखरा र कीर्तिपुर (काठमाडौँ) बीच तेर्स्याइएको क्यानभासमा रंगाएको कला हो । त्रिभुवन विश्वविद्यालयमा पढ्दै गरेको छोराले स्कूले दिनमा आमाको अनुहार सम्झेर उपेक्षा गर्छ । जब एउटी कुकुर्नीले आफ्नी मरेकी छाउरी कुरेर बसेको देख्छ, तब उसमा आमाप्रति प्रेमको मूल फुट्छ ।
यहीँनिर रोकिएर म निक्कै घोरिएँ । यसमा कत्रो अर्थ लुकेको रहेछ । ममता र प्रेमको फूलबारी छोडेर भौँतारिएको एउटा मान्छेलाई जनावरले प्रेमको पाठ पठाएको छ । यसबाट थाहा हुन्छ, मान्छेबाहेकका प्राणी कति संवेदनशील र प्रेमिल हुँदा रहेछन् । यो पशु र मानवीय संवेदनाबीचको सन्धि पनि हो । मान्छे र कुकुर वा अन्य प्राणीबीचको सम्बन्ध सृष्टिको आदिकालदेखि हुर्किँदै आएको प्रस्ट हुन्छ ।
सन्तान नजन्मिएर उपाय खोजिनु, आमाको गर्भ बस्नु, गर्भमा छोरो आउँदा बोक्सी कहलिनु कुरीतिको पराकाष्ठा हो । गर्भाधारण गरेका नारीमा कस्ता लक्षण देखा पर्छन् ? तत्कालीन समाजले के बुझोस् ! यही कारण आमा बोक्सी, डाइनीको रूपमा डामिन्छिन् । डामेको कालो खत, खतमात्र नभएर रुढीवादको जिउँदो चित्र हो । यो पढिरहँदा म झस्किएँ । आँखा पोखरी भए– मेरी आमालाई पनि हिजो कुरीतिको तातो पनिउले यसरी नै डामेको सम्झिएर मुर्छा परेँ ।
डढुवाई आमा यसका पात्रको मात्र बहनी होइन, तत्कालीन समाजका हरेक आमाको दुखान्त चित्र हो । हिजो आमाको अनुहार हेरर दिगदिग लाग्ने छोरो उनैको अनुहारमा गुलाबी चमक देख्छ । कुकर्नीले मरेकी छाउरीप्रति देखाएको वात्सल्यबाटै म पात्रमा यो रूपान्तरण भएको छ । तब ऊ आमा औंशीको छेक पारेर पोखरा हानिन्छ ।
… भगवानले सबैतिर हेर्न सक्दैनन्, त्यसैले आमाको सिर्जना गरेका हुन् (पृ. १५) । यो जति शक्तिशाली भाव अर्को के होला ? आमा औंशी नियमित संस्कारमात्र नभएर बिर्सिएका आमाहरूप्रतिको सम्मान र सम्झना हो । यही दिनले कहिल्यै नपलाएको मायासमेत जगाइदिँदो रहेछ भन्ने सन्देश छ । कथाको नाम डढुई आमा भएको भए जाती हुन्थ्यो ।
नुच्छेमान
यो नयाँ धून (कथा) होइन । तथापि, काठमाडौँका मध्यमवर्गीय नेवार जातिको एउटा दर्दनाक पीडा हो । यहीँका रैथाने भएर पनि अनेक लोभ, लालच, व्यभिचार र कुलतमा लागेर तिनले आफ्नो सम्पत्ति निखारेका हुन्छन् । अनि उही एउटा घर र सीमित घेराभित्र जीवन चलाउन बाध्य हुन्छन् । यसमा उपत्यकाभित्र फस्टाउँदै गएको जग्गा दलालको चित्र छ । सम्पत्तिप्रतिको लोभ, सँधियारको कुविचार, दलालहरूको घराबन्दीले हुनेखाने परिवार कसरी साँघुरो आयतनमा खुम्चिन्छ भन्ने सन्देश छ । …सबैले घेरामा पारेपछि बाढ्य भएर ढानखेटमा राजीनामा लेखिडिएँ (पृ. २२) ।
आजको पुस्ताले काठमाडौँ वा राजधानीमा समेत यतिसम्म गरीबी हुँदोरहेछ भन्ने अड्कल काट्न सक्दैन । यहाँको एउटा मध्यमवर्गीय नेवार समुदायको साझा वेदना एवम् कटु सत्य छ, कथामा । नचाहँदा नचाहँदै एउटा परिवार कसरी दलालको भुमरीमा परेर सकिन्छ ? कथाले छर्लङ्ग पारेको छ । यस धूनमा आख्यानभन्दा ज्यादा वास्तविकता गुन्जिएको छ ।
दशैँमा नयाँ पाइन्ट लगाउने रहर साँचेरै पोखरा हिँडेको म पात्रले फर्केर आउँदा पनि त्यसको स्वाद चाख्न पाउँदैन । नुच्छेको अकल्पनीय मृत्युले उसलाई आश्चर्यको गर्तमा पुर्याइदिन्छ । दशैँ, नयाँ पाइन्ट र नुच्छेको गरीबी एकर्कासँग अन्योन्याश्रितरूपमा गाँसिएका छन् । यो काठमाडौँको मात्र होइन, हरेक मध्यमवर्गीय नेपालीको वास्तविकता पनि हो ।
भजाइनल ट्रमा
यो अनौठो प्रेमधून हो । यसमा घटित परिघटनाहरू सामाजिकजस्ता तर अपत्यारिला लाग्छन् । कृतिकार गुरुङ समुदाय निकट भएकाले यसकी मुख्य पात्र मेनका तमु त्यही समुदायबाट लिइएको छ । भर्खरै स्कूले दिन सकेर क्याम्पस प्रवेश गरेका गुलाबी उमेरका उन्मत्त मनहरूको रोमाञ्चक हाँसो र उद्वेग छ । हावाले उडाएको पीपलपातजस्तै त्यो बाघभैरवको डाँडो त घरी त्रिभुवन विश्वविद्यालयको फराकिलो आयतनतिर कावा खाइरहन्छ ।
यसलाई कथाकारले शिक्षण पेशा शुरु गर्दाताकाको घटनासँग जोड्न सकिन्छ । उनले भर्खर कोपिलाबाट फूल बनेका यौवनाहरूको मनोदशा उतारेका छन् । कथाको केन्द्रभूमि मेनका र शिशिरबीचको प्रेम हो । शिशिरको कामेच्छा र मेनकाको आपत्ति । अनि मेनकाले भोगेको मानसिक तनावले घटनालाई नयाँ मोडतिर डोर्याएको छ । कथा यत्ति नै हो तर यसभित्र अनेक उपकथा छन् । मुख्यतः मेनकाका लागि एउटा कहालीलाग्दो सन्दर्भ छ, यौन संवेदनशील अंग भग ताछिएको ।
यौवनको चञ्चलता भनौँ वा दुर्घटनाले मेनकाको यौनाङ्ग क्षतविक्षत हुनु अकल्पनीय छ । ‘भजाइनल ट्रमा’ सुन्दा मात्र पनि कहाली लाग्छ, …हामीले अप्रेसन गरेर ताछेर फ्याँकिदियौँ त्यसलाई (पृ.४०) । यो शब्दले हृदय काम्छ । यसमा प्रेम र यौनको भिन्न दर्शन पनि छ । कथाको ‘अंग्रेजी’ शीर्षक फेरेको भए हुन्थ्यो ।
उदास बिहीबार
अनाथ नभएर अनाथ हुन पुगेकी बालिकाको व्यथा छ, यसमा । आमा भएर पनि नभएको क्षण, बाँच्ने आधार भएर मर्न प्रेरित गरिरहेको प्रसंग । बालमनोविज्ञानमा उर्लेको एउटा नमीठो संवेगको सवाई छ । सडकमा बेवारिसे बालबालिकालाई आश्रम वा त्यस्तै संस्थाले बटुलेर पाल्छन् र ती संस्थाहरूले आफ्नो स्वार्थानुकूल हुर्काउँछन् । त्यहाँ माया कम स्वार्थ बढी भएको हुन्छ, … हरेक निर्णयहरू फाइदाका लागि गरिँदा रहेछन् (पृ.४६) । यो वाक्यले पनि त्यसको पुष्टि गर्छ ।
अनेक प्रश्नहरू उठ्छन् र शून्यमा बिलाउँदै जान्छन् । आखिर, बाबुआमाले आफ्ना सन्तान सडकमै अलपत्र छोडेर किन हिँड्छन् ? आफ्नै रगतलाई बेवास्ता गरेर हिँड्न तिनलाई कुन कुराले बाध्य बनाउँछ ? त्यसपछि अनाथ भनिने बालबालिका हुर्काउने जिम्मा लिएकाहरूले किन उनीहरूको मनोविज्ञान बुझेर हुर्काउँदैनन् ? यावत प्रश्नहरूको जवाफ सृष्टिको अन्त्यसम्म भेटिँदैन होला । उदास बिहीबार अनाथ हुन पुगेकी एक बालिकाले भोगेको व्यथा हो । यसलाई बनलमनोवैज्ञानिक कथा भन्न सकिन्छ ।
वीर्यदान
निःसन्तान दम्पत्तिले सन्तान सुखमा भौंतारिँदा बेहोरेको धून । स्वास्थ्य विज्ञानमा आएको चमत्कार एवम् रूपान्तरण छ, यमसा । अन्ततः फेरि पनि सरला र रमेशलाई विज्ञानले निसन्तान बनाउँछ । लोग्ने कोरिया भएकै बेलामा सरलाले चोरबाटो समातेर आफ्नो कोख भरेकी छ, पूर्वप्रेमी रोमुमार्फत । यहाँ एकातिर सरला–रोमुको असफल प्रेम तथा विवाहेत्तर यौनसम्बन्ध छ । समाजभित्र गोप्यरूपमा हुकिँदै आएको निरन्तरताको एउटा अंश हो, परस्त्री र परपुरुष गमन । यही कारणले सरला र रमेशको सम्बन्धमा दरार उत्पन्न हुन्छ ।
रमेशले कोरियामा दुःख गरेर सरलालाई क्याम्पस पढ्न प्रेरित गर्नु र उसले लोक सेवा पास गरेर जागिर खाएको कल्पना गर्नु सुन्दर भविष्यको सपना हो । साथै, श्रीमतीप्रतिको सम्मान र समानताको भाव तर सरलाले यो मर्म आत्मसात् गरेको देखिँदैन । अर्कोतर्फ, सरला पनि कोख बाँझो हुनुको पीडाले रन्थनिएकी छ । यही कारण उसले रमेशलाई धोका दिई । शायद कोख भरिएको भए ऊ पुरानो प्रेमीतर्फ आकर्षित हुने थिइन कि, … भत्किएको प्रेम र रित्तो काखले सरलालाई आनन्दको सास फेर्न दिन्थेन (पृ.५४) । यसले देखाउँछ एउटी नारीका लागि सन्तान सुखको महत्त्व कति हुँदो रहेछ ?
यसमा प्रेम अमर हुन्छ भन्ने अर्थ छ । यद्यपि समाज, परिवार र घर जोगाउनु छ भने जोसँग दिल बसेको छ, उसैसँग घर बस्नुपर्छ । अतः यो सन्तान सुखका लागि भौँतारिएको भत्केको परिवारको कथा हो । प्रेमको अमरत्व वा विवाहेत्तर सम्बन्ध त त्यसभित्रका जोर्नी मात्र हुन् । अन्ततः सबै कुरा भएर पनि रित्तिँदो रहेछ मान्छे (पृ.६६) ।
गाजल बेच्ने केटी
कथाले २०७२ सालको भूकम्पलाई स्मरण गराउँछ । त्यससँगै पारिवारिक कलह र बाल्यकालीन दुर्घटनाले लघारेर शहर हिँडाएको पीडा छ । सानो अंश आफन्तको ओत, आफन्तबाट हेपिनुपर्ने र तिरस्कार खप्नुपर्ने शहरको वास्तविकता झल्किन्छ । यो सडकको सहारामा बाँचेका तमाम बालबालिका आममान्छेको साझा कथा हो । सडकमै श्रम गरेर खानेलाई नगर प्रहरीले गर्ने व्यवहार अक्षर–अक्षरमा असरल्ल छन्, फिँजारिएको बिस्कुनजस्तै ।
कथाकी मूल पात्र सपनाले एउटा अभिभावकको जिम्मेवारी निभाएकी छ, बहिनीलाई पढाएर ।
अभिभावकविहीन भएर गाउँबाट त्यागिएका र बाध्यताले शहरको ओत खोजेका बालबालिकाले बाच्नका लागि गरेको सङ्घर्षलाई मसिनो गरी केलाइएको छ । यसरी नै देशका कति ठाउँमा बालबालिका बाँच्नकै लागि शहर झर्छन् र अनेक हण्डरठक्कर खान्छन् । खासमा यसलाई शहरसँग लर्दै, पछारिँदै उठेर फेरि दौडिँदै गरेका असंख्या साना नानीहरू अझ सडक बालबालिकाको कथा भन्न मिल्छ । अनेक तिरस्कार र प्रातडना खप्नु परे पनि शहरले बाँच्न सिकाउँछ भन्ने मर्म पनि छ । …काठमाडौँमा ओत लाग्ने ठाउँ पो हाम्रो छैन त । बाटो त हामी सबैको हो नि (पृ.७५) ।
रित्तो आँगन
मनकली पहिलो सन्तान छोरा नै होस् भन्ने चाहन्छे । लगालग गर्भपतन गराएर शरीर शिथिल हुँदासम्म कस्तो छोराकै चाहना ? ऊ आधुनिक सोच लिएर हिँड्छे तर उसको भाषामा लिङ्ग छानीछानी सन्तान जन्माउनु पनि उत्तिकै उन्नत सोचाइ हो (पृ.७९) । यो कस्तो अचम्मको सोच ? गर्भमा आएका दुई सन्तान छोराछोरीलाई सँगै नजन्माएर छोरामात्र रोज्नुले आज पनि नेपाली समाज लैङ्गिक विभेदको भुङ्ग्रोमा कतिसम्म पिल्सिएको छ भन्ने थाहा हुन्छ ।
उहिलेका जस्ता लाग्ने कुरा– छोरा नभए स्वर्ग गइन्न । छोरी अर्काको घर जाने जात । बुढेसकालको सहारा छोरा नै । मनकलीका यी भावनाबाट प्रस्ट हुन्छ, यो समाजको चर्खेपिङ भनेजति चाँडै नै घुमेर आधुनिक चुचुरोमा पुग्दैन । त्यसले समयका अनेक भङ्गाला पार गर्नै बाँकी छ ।
मध्यान्तरबाट कथाले नयाँ मोड लिन्छ । विस्तारै छोरीको अभाव महसूस हुन्छ । दुर्वासाले नयाँ घर बनाए, गृहप्रवेश गर्न कुमारी केटी चाहियो । तिहारको लक्ष्मीपूजा आयो, लक्ष्मी भित्र्याउने छोरी भएनन् । हरेक वर्ष तिहार आउँछ, मनकलीको छोराको निधार खाली हुन्छ । छोरो अभिषेकको विवाह गर्न साइँली कन्या चाहियो । समाजबाट साइँलीहरू सकिइसके । मियाँपाटनमा एउटी साइँली भेटिई तर विधर्मी । कत्रो विडम्बनापूर्ण अवस्था !
अन्ततः छोरो विवाह नगरी अष्ट्रेलिन्छ । उतै एउटी काली बिहे गर्छ । त्यो साइँली, माइली काइँली के थिई कुन्नी ? नीला फ्रक लगाएर नानीहरू स्कूल जान्छन्, त्यहाँ पनि मनकली छोरी खोज्छे । छिमेकका छोरीहरू घरमाइत गर्छन्, त्यहाँ उसकी छोरी थिइन । जुन छोराकै लागि उसले तीन लोक चौध भुवनको हण्डर बेहोरी त्यही छोरो ‘कहिल्यै नेपाल फर्किन्न’ भन्छ । तब उसको मनमा डढेलो लाग्छ, … गल्ती मान्छेले गर्छ, मुर्खले दोहोर्याउँछ (पृ.८९) ।
यी सामाजिक परिघटनासँगै कथामा छरछिमेकको कलह, द्वेश, आरिसजस्ता अनेक सन्दर्भ छन् । छोरा र छोरीको भेद छुट्ट्याउन अस्पतालले लिने शुल्कमा मेडिकल क्षेत्रको चरम विकृति र माफियागिरी छ । समग्रमा यो एउटा दम्पत्तिले छोरा पाउन गरेको अपहत्ते र त्यही छोराले रित्याएको आँगनको सुस्केरा हो । लैङ्गिक विभेदलाई चिरेर समतामूलक सुन्दर समाजको बनाउने सङ्कल्पको अंश पनि भेटिन्छ ।
भित्ताका कान
नर्मदाको छोरो कारगिलको छाउनीमा छ । यता घरमा उसकी श्रीमतीमा यौवनको उखर्मौलो मच्चिन्छ । पिण्ड खाने बेलाको ससुरोले बुहारीगमन गर्छ । आधारातमा लोग्ने बुहारीसँग नारिएको देखेपछि उत्पन्न नर्मदाको मनोविज्ञान छ, कथामा । यी घटना लेखेर छोरालाई चिठी पठाउने र संसारबाटै बिदा हुने सोचले माथ्लाघरे हेडसरकहाँ पुगेकी उनी एकाएक टुक्रिन्छिन् । हेडसरले चिठी लेखेर पनि च्यातिदिन्छ । भोलिपल्ट उनको लोग्ने त्यही हेडसरसँग एउटै बेन्चमा बसेर चिया खान्छ ।
अन्ततः माथ्लाघरे सानेकी छोरीलाई फकाएर चिठी लेख्न लगाउँछिन्, … तिम्रा बा जन्मिँदाको दिन जस्तै थिए । शरीरमा कन्दनी र जनैबाहेक अरू कुनै लुगा थिएन (पृ.९५) ।
घटना गाइँगुइँ गरेर बाहिरिन्छ र नर्मदालाई मार्ने योजना बुनिन्छ । यही सन्ताप खप्न नसकेपछि उनी भोलिपल्ट घट्टेखोला नजिकबाट सेतीमा हेलिन्छिन् । यसलाई उहिलेदेखि समाजमा घटित अनैतिक सम्बन्धको सिलसिला भने हुन्छ । सानैमा सुन्ने गरेका दन्त्यकथाजस्ता यस्ता घटनाको दशी अझै समाजमा लुकेर बसेको अनुभूति हुन्छ । कति घटना त सेतीले छोपिरहेकै छ, कहिल्यै नदेखिने गरी । यद्यपि, बख्रेभेलले बगाएर ल्याएका ढुङ्गामुढाजस्तै कुनै–कुनै पाखा तर्किन्छन् । यो त्यही पाखा तर्किएका ढुङ्गामुढाको एउटा अंश हो, सामाजिक व्यभिचारको कुरूप चित्र पनि ।
समाज आज पनि लाहुरे संस्कृति, परदेशिनुपर्ने बाध्यता, महिलामा उत्पन्न यौनभोक र व्यभिचारजस्ता घटनाको साक्षी छ । यो सामाजिक र पारिवारिक दुखान्त धूनमा कृतिकारले महकीय लय थपेका छन् ।
निर्दोष भूलहरू
भावना र अबोध दुई साथी । यिनका बाल्यकालका खेल भनौँ वा प्रसंग नै यो कथाको मर्म हो ।
चार भिन्न–भिन्न सन्दर्भ जोडिएका भूलहरू रोचक छन्, स्वादिला र मीठा वनकाफलजस्तै । दुवै जना वनचरीजस्तै वनवन डुल्नु, काफल खाने रहरमा रुख चढ्नु, भावनाले पुन्टे कट्टु लाउन बिर्सनु र अबोधले भुइँबाट रुख चढेकी भावनालाई क्वारक्वार्ती हेरिरहनु क्या बाललीला ! जहाँ कुनै स्वार्थको लेपन देखिँदैन ।
दोस्रो भुल छ, केटाकेटीमा खेलिने दानव र देवीको खेल । दानव बनेका केटाहरूलाई ‘देवी (केटी)’ हरूले फलामको झिर रोपिदिन्छन् । यो घटनामा बाल्यलीलाका उपद्रो त छन् नै केटीलाई जिताएर नारीप्रतिको सम्मान प्रकट गरिएको छ । केटीलाई जिताउनु समानता र परिवर्तनको रूपक हो ।
तेस्रो भुल छ, स्वास्थ्य शिक्षाको परीक्षामा पुरुष जनेन्द्रीय चित्र बनाउनु । अबोधले ट्वाइटेलबाट फर्केर पानामा बनाएको ठूलो चित्र चोरेर भावनाले आफ्नो कापीमा टाँसेर बाहिरिन्छे । यो बालाहरूमा भर्खर–भर्खर उम्रिँदै गरेको बालबैंसको सङ्केत पनि हो; विपरीत लिङ्गीतर्फ आकर्षित भएर त्यसैमा हराउने चेष्टाको एउटा अंश ।
स्कूलदेखि बालप्रेम हुर्काएर कलेजसम्म पुर्याएका भावना र अबोध चौथो भूल गर्न नयाँ बाइक चढेर दामन पुग्छन् । हावाहुरी चल्छ, चट्याङ पर्छ र आपसमा टाँसिन्छन् । उनीहरूका नयनमात्र होइन, थाहै नपाइ ओठ पनि टाँसिन्छन्, … बेहोसीबाट चेतनामा आउँदा मेरो ओठमाथि अबोधको ओठ थियो … (पृ.१०८) ।
यो कथा बाल्यकालीन स्मृति र अबोध बाललीलाको देउराली हो । जहाँ प्रकृतिको भरपूर वर्णन छ । भावहरू झरनाको छङछङजस्तै बगेका छन् । आखिर जीवनको सबैभन्दा रोमाञ्चक क्षण त्यही बाल, किशोर र यौवन नै त रहेछ । यसले हरेक पाठकलाई पटकपटक जीवनमा त्यो सुन्दर थुम्कोमा पुर्याएर उभ्याइदिन्छ ।
बेचेका कुलदेवता
कुल र कुलदेवता समाजका धुरी खाँबा रहेछन् । यो पढ्दै गर्दा मेरो पाठक मन आफूले छोडेर आएको थाततलोमा पुगेर धेरै बेर टोलायो । आखते बाका अन्तिम वाक्य सुनेपछि रामनरेश र उसकी श्रीमतीलाई अनेकौँ कुलदेवताले घेर्न थाले । अजङ्गको पहाड लडेर उनीहरूलाई किच्दै ल्यायो ।
मान्छे स्वभावैले सुखी र खुशी हुन चाहन्छ । जीवनलाई सरलीकृत गर्ने उपायमा ऊ हरक्षण जोखाना हेरिरहेको हुन्छ । त्यही जोखना हेर्ने पात्र हो, रामनरेश । ऊ गाउँको पुख्र्यौली थलो बेचेर बेँसी झर्छ । बेँसीमा राम्रो उत्पादन हुने, बजार पायक पर्ने, छोराछोरीको स्कूल नजिक हुने इत्यादि । यो हरेक ग्रामीण जीवनको इच्छा र रहर हो । यद्यपि, पुर्खाको थलो र आफूले पुज्दै आएका देवताको उचित संरक्षण र व्यवस्थापन गर्न पनि जान्नुपर्ने रहेछ ।
यस कथामा प्राकृतिक घटनाक्रम र कुलले नसहेको प्रसंग अलिकति विरोधाभाष पनि लाग्छ ।
निरन्तर झरी पर्नु, जमिन कमजोर बन्नु, पहिरो जानु यी प्राकृतिक घटनाक्रम हुन् । प्रकृतिसँग जोडिएको पक्षलाई कुलले सहेनन् भन्नु विज्ञान र जनविश्वासबीचको वादविवादजस्तै लाग्छ । तथापि, यी पक्षलाई विज्ञानको एकाङ्की आँखाले मात्र हेर्न हुँदैन । कुलले सहेनन् भने साँच्चै अनिष्ठ हुन्छ, यसलाई परम्परागत रुढीवाद वा जनविश्वासमात्र भनेर पन्छिने छुट कथाले दिएको छैन ।
आखते बाको ज्योतिष विद्या र सोच आफ्नै खालको छ तर त्यसलाई उनले प्रकृतिसँग गाँसेर प्रस्ट्याएका छन् । गाउँको हुँदाखाँदाको पुख्र्यौली बेच्नु, कुलको उचित व्यवस्थापन नगर्नु, कुलदेवता नपुज्नु, तिष्य नक्षत्र परेको दिन खनजोत गर्नु यस्ता जनविश्वासले अनिष्ठ निम्त्याएको कथन छ । यी कुरा प्रकृतिसँग प्रत्यक्ष जोडिएका छन् । आफू टेकेको धर्तीलाई सम्मान गर्नुपर्छ, नत्र त्यसले पनि बदला लिन्छ । धर्तीले पनि अत्याचार सहन्नन् । यो अर्को प्राकृतिक नियम हो ।
आज मान्छेले पहाड, नदी, खोला सबैतिर आफ्नो हैकम जमाएको छ । डोजर धसेर मनपरी जमिन उधिनेको छ, … खोलालाई चेपेर बाटो मारेपछि बाढी नआए के आउँछ त ? (पृ. ११९) । समयक्रममा यी प्रकृतिले बदला लिन्छ भन्ने पर्याप्त उदाहरण पेश गरेको छ, कथाले । यसको सबैभन्दा मार्मिक प्रसंग धर्ती र नारीको तुलना हो । महिनावारी भएको बेला महिलासँग शारीरिक संसर्ग गर्नु र धर्तीलाई जथाभावी कोपर्नु उस्तै हो, … महिनावारीको कहरमा संसर्ग गर्दा कुन चाहिँ स्त्रीको आत्मा रुँदैन ? हो, धरतीले श्राप दिएकी छन्, तँलाई, (पृ. ११९) । यहाँ आखते बा जनविश्वासी देखिए पनि उत्तरचेतनाका प्रकृतिपूजक र नारीप्रति सम्मान गर्ने पात्रका रूपमा उभिएका छन् ।
यस कथामा तीन पक्ष प्रबलरूपमा देखा परेका छन्– पहिलो कुल र कुलदेवताको सम्मान गर्नु वा जनविश्वासले पनि मान्छेको भविष्यमार्गलाई मार्गनिर्देश गर्छ भन्नु । दोस्रो, नारी र धरतीलाई तुलना गरेर ससम्मान उच्चासनमा राख्नु । तेस्रो, प्रकृति संरक्षणमा जोड दिनु । यसर्थमा यसलाई लोकविश्वासको थुम्कोमा उभिएर कथिएको नारीवादी पर्यावरणीय चेतयुक्त कथा भन्न सकिन्छ ।
सन्तापको धून
यो कृतिको शीर्ष कथा हो, जहाँ आमोईले निम्नवर्गको व्यथा कहेकी छन् । कथा हाल्नु युगौँदेखि जनजनमा सर्दै आएको श्रृति–परम्परा हो । त्यसलाई ‘सन्तापको धून’ले निरन्तरता दिएको छ । आमोईको गलाबाट आरने किस्नेको विलापको ताराना छुटेको छ । ‘किस्ने’को दैनिकी गहतेरीको वनमा गएर गोल पोल्नु र हलोका पाली, आँसी, बन्चरो, कुटो–कोदालो अर्चाप्नुमा सीमित छ; त्यसैबाट आएको दुई–चार मुठी अन्नले जीवन कटाउनु । यो परम्परित कर्मको कर्मवीर हो, किस्ने तर उसको अन्त्य पीडादायी हुन्छ ।
किस्ने जसरी बाटैमा जन्मिएको थियो, उसैगरी बाटैमा यो संसारबाट बिदा भएर गयो (पृ.१२६) । कतिसम्म निर्दयी समाज, भुत्तिएका आँसीमा धार लाउन उसको अभाव खड्किने तर सतगत गर्ने चेतना हराउने । अविवेकी समाजले उसलाई छोरा र श्रीमतीबाटै अलग्याउँछ । मुर्ख शासक मुखियाले ती आमाछोरालाई कहाँ बेपत्ता बनायो होला ? अछुत र कोरको बिरामी उसले मलामी पाएन । बाँचुन्जेल तल्लो जात र मरेपछि कोरका कारण अछुतै भएर बिलायो । ऊ भुइँमा जन्मियो । भुइँबाटै उठेर परलोक गयो ।
कथाको अर्को रोचक पाटो लोकविश्वास हो । डाँडाको लाँकुरी फेदमा बसेर मुरलीमा विरह गाउने किस्ने पक्कै चरी भयो । जीवनभरि दुःखले उछार नपाएको उसले गोलसिमल, सिमलचरी वा धानचरीको रूप धारण गर्यो । समाजमा दुःख र तिरस्कार खेपेकाहरू परलोकमा सुखी हुन्छन् भन्ने जनविश्वासको अंश पनि हो, सन्तापको धून ।
यहाँ वहिष्करकृत समुदायको व्यथा गाउने आमोईको वाचनशैली रोचक छ, प्रकृतिको गुलियो विवेचना पनि । प्रकृतिको सुललित वर्णन भएकोले यसलाई प्रकृतिवादी कथा भन्न सकिन्छ । यसको सार भनेकै तिरस्कृत वर्गको प्रलाप, लोकविश्वास र प्रकृति वर्णनको सम्मिश्रण हो; जसले ‘सन्तापको धून’लाई अमर बनाएको छ ।
नर–कङ्कालको गीत
यो गिद्देपहरोको कथा हो– अगतिमा परेका, व्यभिचारीको घुयेत्रोमा जेलिएका र परिस्थितिजन्य घटनाको शिकार भएकाहरूको धून । लाग्छ– वनपालेको जागिर खाएका रत्ने काकाले हालेको कथा कृतिकारले लिपिबद्ध मात्र गरेका हुन् । यसमा विषाद, विरह र वेदनका घाउ छन् । ती गिद्देपहरोमा रेटिएर बजेका विरह एवम् परिवर्तनतिर उछिट्टिँदै गरेका समयका व्यथा हुन् ।
प्रकृति र पक्षी प्रेम । गिद्द र पर्यावरणीय चेतना । भूत–प्रेतको गहिरो विश्वास छ, जुन यथार्थ वा भ्रमजस्तो लाग्छ । यो कथाले नेपाली पहाडी जनजीवनलाई सर्लक्कै उतारेको अनुभूत हुन्छ । पहाड वा भीरको जीवन, वनजङ्गल, पाखा–पखेरमा घाँसदाउरा गर्न जाँदा लडेर मृत्युवरण गरेका अनेक घटना पाइन्छन् । यो युगौँदेखिको चक्र हो ।
भीर त्यस्तो विन्दु हो– जहाँबाट चर्दै गरेका गाईवस्तु लडेर मर्छन् । समाजमा कोही कसैसँग रिसिइवी भए अनेक जाल बुनेर धकेलिन्छन् । घाँसदाउरा काट्न जाँदा लडेर वा चितुवा तथा अन्य वन्यजन्तुको झम्ट्याइमा परेर मरेका समाजकै घटना हुन् । अतः ती अगतिमा परेर मुक्ति पाउन नसकेका भड्किएका आत्महरूको चीत्कार पनि हो– नरकङ्कालको गीत ।
कोर लागेर गाउँ–निकाला गरिएका साहिँला र खिरुलीको मर्मान्त विरह छ, यसमा । हो, कुनै समय त्यस्तै हुन्थ्यो, गाउँमा कोर वा हैजाजन्य रोग वा विफर लागेपछि गाउँ–समाजले ती व्यक्तिलाई परित्यक्त गर्थ्यो । त्यो कालो युगका प्रतिनिधि पात्र हुन्, साहिँला र खिरुली । अन्ततः उनीहरू लघारिए, गिद्देपहरोतिर र त्यहीँ उनीहरूको चोला उड्यो । समाजको चरम अत्याचारमा परेका तिनको आत्म भड्कियो र त्यो गिद्देपहरोको टाकुरामा बसेर रोइरह्यो ।
यस कथामा तिन्टा गीत छन्– पहिलो कोर लागेर गाउँ निकालिएका साहिँला र खिरुलीको । दोस्रो, बतासे कान्छीको, जसको लाग्ने उमेरमै खहटेको विमारले मास छर्न जान्छ । बतासे कान्छीलाई प्रधानको व्यभिविचारले सिध्याउँछ । तेस्रो, देश बदल्नेहरूले गोली हानेका अज्ञात अनुहारको । यी सबै घटनाको साक्षी छ, गिद्देपहरो । यसरी आदिमकालदेखि हजार–हजार घटनाको साक्षी बस्यो होला गिद्देपहरो । बोल्न नसक्ने पहरोका केही मात्र ध्वनीमा कृतिकारले लय मिलाउने प्रयास गरेका छन् । लाग्छ, त्यसभित्र हजारौँ काव्य, उपन्यास र कथा लुकेर बसेका छन् । मात्र उधिन्ने गतिलो हतियारको खाँचो छ ।
यो अचम्मको कथा छ, कतै भ्रान्ति त कतै यथार्थजस्तो । मायिक यथार्थवादमा बुनिएजस्तो । सबै उतिकै मार्मिक हुँदा–हुँदै मेरो मर्मच्छेदन गरेको धून पनि यही हो ।
रैथाने धून
गण्डकी पानीढलोभित्रको लोकजीवनलाई यति सशक्तरूपमा उभ्याउन सक्ने ‘सन्तापको धून’ नेपाली कथा क्षेत्रको बलियो मियोजस्तै लाग्छ । आञ्चलिक स्वादले भरिपूर्ण कथाहरू पढ्दा आफ्नै घरगाउँ, पिँढी, बारीका कान्ला र भीरपाखातिर डुलिरहेको भान हुन्छ । पठाम्चु, दिम्सो, भैँइसो, मोर्छु, टौवा, कितिर्ना, दिम्सो, अम्सी, लाम्छ, अड्को, पर्च, दहलफसल, मन्टो, हुमन, उच्छार, अक्कासाँ जस्ता अनेक रैथाने शब्दहरूले कथाकृतिलाई निकै स्वादिलो बनाएका छन् ।
लाग्छन्, ती सेतीका सुस्केर हुन् र त्यहाँबाट लोकसङ्गीतको ताराना छुटिरहेको छ ।
यसो भएको भए
कृतिभित्रका कतिपय वाक्य संरचना एवम् संयोजनले पाठनक्रम केही असहज भएजस्तो लाग्छ । शब्दहरूको उचित विन्यास नभएको अनुभूत पनि हुन्छ । केही उदाहरणः
– दृष्ट कुपोषित हात्तीछाप (पृ.१) । चप्पल निर्जीव वस्तु भएको हुँदा यहाँनिर ‘कुपोषित’ शब्द सान्दर्भिक देखिँदैन ।
– आँसुका डल्ला (पृ.२९) का ठाउँमा ‘आँशुका ढिका’ भएको भए ।
– अट्टहासको आवाजले गुञ्जियो बाघभैरव मन्दिर (पृ.२९) । यसको ठाउँमा मध्यान्नमा चम्पादेवीतिर हुइँकिने बतास भन्दा हुन्थ्यो कि !
– न्याउरी मुसाले जोखना हेर्यो (पृ.४२) । को ठाउँमा ‘न्याउरी मुसाले दायाँबायाँ चिहाएर’ भएको भए ।
– कानको पर्दामा बजिरह्यो (पृ.४९) । ‘कानमा बजिरह्यो’ भएको भए ।
– खर्लप्पै भुलेर (पृ.६८) । ‘काम एकातिर पन्छाएर’ भएको भए ।
– गाजलको डिब्बा गुडगुडियो (पृ.७१) । हुक्का पो गुडगुडिन्छ । ‘गुडुल्कियो’ भएको भए ।
– निकुञ्जको चित्तल (पृ.७१) । चित्तलको ठाउँमा ‘खरायो’ भएको भए ।
मेरो पाठक–मनले यसरी केही ठाउँमा शब्दले उचित ठाउँ नपाएर वाक्य संरचना खजमजिएको हो कि भन्ने मान्यो । हुन त, यो कथाकारको शैली हुन सक्छ । तथापि, कथाकार घोरिने ठाउँ भने पक्कै छ ।
बिम्ब र शाब्दिक त्रुटिहरू
सन्तापको धूनमा केही शाब्दिक त्रुटि देखिन्छन् । प्रयुक्त विम्बहरू नमिल्दा लाग्छन् । कृति–परिवेश कास्की पोखराको परिवेशमा डुलेको छ तर घरीघरी ‘मेलो, भरे, भइछाड्छ …’ जस्ता पूर्वेली शब्दको झ्वाट्ट घुसपैठ हुन्छ । विम्ब र प्रतीकको उचित प्रयोग एवं संयोजन नभएको हो कि ! त्यसमा थोरै विचार पुर्याएको भए कथाको लालित्य अझ चम्किन्थ्यो भन्ने लागिरह्यो ।
केही उदाहरणः
– दाहिने खुट्टाको काप (पृ.२) । कुन ठाउँलाई दाहिने खुट्टाको काप भन्ने ?
– बानी लागिसकेको (पृ.२) । ‘बानी परिसकेको’ उचित हो कि !
– चप्पल ‘टुट्नु’ (पृ.२) । ‘चुड्नु’ राम्रो होला ।
– रिसको पारो चढेर सगरमाथा छोयो (पृ.४) । कथा कास्कीको परिवेशमा लेखिएको हुँदा ‘सगरमाथा’को ठाउँमा ‘माछापुच्छ्रे’ उपयुक्त हुन्थ्यो होला ।
– समुद्रको छाल जस्तै बनेर … (पृ.५) । सेतीमा उर्लेको छाल भन्दा बढी आञ्चलिकता आउँथ्यो ।
– कुहिरीमण्डल धुवाँ (पृ.५) । कुहिरीमण्डल भनिसकेपछि ‘धुँवा’को खाँचो पर्दैनथ्यो होला ।
– उत्सुकताका ज्वारभाटा (पृ.५) । ‘पीडाका ज्वारभाटा’ उपयुक्त हुन्थ्यो होला ।
– … कतै लापत्ता (पृ.१०) । हामीसँग मीठो ‘बेपत्ता’ शब्द हुँदाहुँदै हिन्दी शब्द प्रयोग नगरेको भए ।
– … त्यही गेटभित्र झ्याप्प छिरी … (पृ.२७) । ‘झ्याप्प’ले उपयुक्त वाक्यलाई न्याय गरेजस्तो लाग्दैन । हुरी बतास वा कपडाले बत्ती निभाउनु भन्ने अर्थमा यो शब्दको प्रयोग हुन्छ ।
– बालुवामा उम्रेको सागझैँ … (पृ.२८) । बालुवामा साग उम्रिन्छ जस्तो लाग्दैन । नउम्रिएपछि कसरी ओइलाउने ?
– … साँझ हामफालिसकेको (पृ.४३) । ‘खुत्रुक्क साँझ खसेको’ पो राम्रो हुन्थ्यो कि !
– … भत्केको विर्यबाट (पृ. ४७) । कस्तो हुन्छ, ‘भत्केको विर्य ?’
– आँसुका मुस्ला (पृ.६६) । ‘आँशुका धारा’ कति मीठो हुन्थ्यो ।
बिसौनीमा
उल्लिखित केही प्रासङ्गिक शब्दावली र रूपविन्यास सूर बेसूरा भए पनि कृतिभित्र अनेक साङ्गीतिक झंकारले ताल मिलाएका छन् । पाठक हरेक पात्र निकट रहेको, आफैँले भोगेको वा तिनको फोटो खिचिरहेको अनुभूत हुन्छ । समाजभित्र सुसुप्तावस्थाका, अझ भनौँ छोपिएका पुराना पानीचित्रलाई कथाकारले ध्वाँसो पन्छाएर अनेक रङले चम्काएका छन् । ती कथामात्रै होइनन्, थापाका भोगाइ, समाजका वास्तविकता र समाजले दपेडेका आवाजहरू हुन् ।
मैले बेचिएका कूलदेवताको रामनरेशका ठाउँमा आफूलाई उभ्याइरहेँ । सतापको धून बजाइरहने आरने किस्नेमा आफूलाई रूपान्तरण गरिरहेँ र नर–कङ्कालको गीतमा ती हजारौँ निर्दोष जीवनहरूको अस्तित्व खोजिरहेँ । हरेक पाठकले त्यही र त्यस्तै अनुभूत गर्छन् भन्ने मलाई पूर्ण विश्वास छ । ‘सन्तापको धून’मा भाषाको मिहिनता र काव्यिक शैली छ । ग्रामीण जीवनशैली टपक्क टिपेर थपक्क राखिएको छ । पछिल्लो दशकमा गण्डकी पानीढलोभित्र लेखिएमध्येका यी सशक्त कथाहरू हुन् भन्दा अन्यथा हुँदैन ।
तेह्र वटा धून (कथा) सङ्ग्रहित रहे पनि तिनको ताल फरक छ । तिनमा मादल, मुर्चुङ्गा, डम्फू र झ्यालीको राग मिसिएको छ । वनमा बास्ने न्याउलीजस्तै ‘चिहानघारीको उकालो’निर टुक्रुक्क बसेर विरही मुरली बजिरहन्छ । ‘गिद्देपहरो’तिर सारङ्गी रोइरहन्छ । यी सबैको मिश्रणबाट हृदयको पिँधसमेत कमाउने लोकधून प्रस्फुटित भएको अनुभूत हुन्छ । चीरकालसम्म सुसाइरहने सेतीका सुस्केराजस्तै यी धूनहरू अमर हुनेछन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










