श्रीमान् सम्पादकज्यू

माघ १२, २०७८ साहित्यपोस्टमा प्रकाशित डा. तुलसी आचार्यको ‘मेरा आँखा खोलिदिने ‘विद्वान् मित्र’ शीर्षकको लेख पढेँ र विषय अवगत भयो । उक्त लेखको शीर्षकमा प्रयोग भएको विद्वान् मित्र अरू कोही नभएर म ‘अशोक थापा’ रहेको अवगत गराउँदछु ।

सन्दर्भ के थियो भने मैले तुलसी आचार्यको हालसालै प्रकाशित उपन्यास ‘मोचन’ उपर जनवरी १० मा ‘चोरेर चोर भइन्छ, लेखक भइँदैन” भनेर फेसबुकको टाइमलाइनमा टिप्पणी गरेको थिएँ । त्यस विषयलाई लिएर आचार्यले उक्त लेखमार्फत धरै कुरा उठाएका छन् । त्यस लेखप्रति मेरा केही टिप्पणी र गुनासा रहेकाले यो प्रत्युत्तर लेख्ने जाँगर गरेको हुँ । मलाई विश्‍वास छ यो प्रकाशनयोग्य छ ।

तुलसी आचार्यको ‘मोचन’ उपन्यासको विमोचनमा म उपस्थित हुने सौभाग्य पाएको थिएँ । उक्त उपन्यासलाई मैले निकै गहनपठन गरेको छु र समीक्षा प्रयोजनका लागि टिपोट पनि उत्तिकै गरेकै समयमा मेरा सामुन्ने एउटा नयाँ तथ्यको उद्‌घाटन भयो । त्यो के भने वि.सं. २०७६ मङ्सिर १७ मा ब्राह्रखरी डट कम अनलाइनमा प्रकाशित रामचन्द्र केसीको ‘अमेरिकामा मेरो पहिलो जागिर : एक अविस्मरणीय अनुभव’ शीर्षकको लेख र मोचन उपन्यासको पृ. २४२ मा “रेस्टुरेन्ट गेस्टहरूले भरिएको थियो…” भन्ने अनुच्छेद हुबहु मिल्न पुगेको थियो । मौलिक सिर्जनामा यसरी हुबहु उनुच्छेद मिल्नु मेरो ब्रह्‍मले भ्याएसम्म एउटा आश्चर्यको कुरा हो भन्ने लाग्यो र टिप्पणीका लागि समाजिक सञ्जाल प्रयोग गरेँ । “भुईँमान्छेको आबाज सुनिदिने सजिलो भित्तो ठानेर फेसबुकलाई रोजेको हुँ ।”

डा. अशोक थापा

मलाई अझै पनि के लाग्दैन भने उक्त टिप्पणी आचार्यको लेखमा उल्लेख गरेजस्तो व्यक्तिगत आरोपमा आधारित छ । बरु तथ्यमा आधारित प्रतिक्रिया ठान्छु म त्यसलाई । यस सन्दर्भमा मूल लेखक रामचन्द्र केसीले “उपन्यासकारको त्रुटि औल्याइदिनुभएकामा समालोचक अशोक थापा र सबैलाई धन्यवाद । मेरो लेख-अंश उपन्यासमा प्रयोग भएकै हो ।” भन्ने प्रतिक्रिया दिएका छन् र यसले म झन् के निश्‍चिन्त भएको छु भने ‘कहीँ न कहीँ बदमासी जरुर छ ।’

तथ्यहरू यति प्रस्ट र छर्लङ्ग हुँदाहुँदै आचार्यको प्रस्तुत लेखमा धेरैजस्तो शब्दहरू आफूले उपन्यासमा चोरी नगरेको बरु अशोक थापाले दुर्नियत राखेर खराब टिप्पणी गरेको, उनी विद्वान् नभएर गँवार, घमन्डी, असहिष्णु, अरूलाई ताछेर हिरो हुन खोज्ने गोबरगणेशजस्तो आशय झल्कने आरोप लगाएका छन् त्यस लेखमा । उनको यो आरोप १०१ प्रतिशत झुटो र कुतर्क हो भन्ने कुरा प्रस्टयाउन चाहन्छु । लेखक के चाहन्छन् भने आफ्नो सिर्जनालाई कोही पनि आरोपित नगरोस् र आलोचनात्मक टिप्पणी गर्नेजति सबै खराब हुन् भन्ने एकपक्षीय चिन्तन राख्न पुग्छन् । यो प्रतिक्रिया लेखिरहँदा मलाई के बोध भइरहेको छ भने अनपढभन्दा धेरै पढेका व्यक्तिबाट सावधान हुन जरुरी छ ।

पहिलो कुरा म के आश्चर्यमा परेको हुँ भने अमेरिकामा सिर्जनात्मक लेखन पढेका र पढाएको दावा गर्ने उनी अनि अर्काको पूर्वप्रकाशित सामग्री जस्ताको तस्तै उपन्यासमा शब्द होइन, वाक्य होइन पूरै अनुच्छेद दोहोरिँदा पनि यो कपिराइट उल्लङ्घनभित्र पर्दैन भन्ने जिरह गरिरहेका छन् । मैले बुझेअनुसार उनी अमेरिकाजस्तो विकसित देशमा बस्छन् हामी अविकसित विश्‍वविद्यालयमा सिर्जनात्मक लेखन पढाउँछौँ कतैबाट छामिहेर्दा पनि हामी त्यो कार्य सिर्जनात्मक लाग्दैन । हाम्रो सिर्जनात्मक मापदण्डमा कपी एन्ड पेस्ट हान्नु सरासर प्रतिलिपि अधिकारविरुद्धको काम ठहरिन आउँछ ।

लेखक आचार्यकै तर्कलाई मान्ने हो भने साभारित उक्त अनुच्छेद उपन्यासको पात्रले भनेको कुरा हो रे अनि उद्धरण दिन छुटेको हो रे । यो कुरा झन् हास्यास्पद लाग्छ । मोचन कुनै शोधपत्र होइन । कुनै रिसर्च आर्टिकल पनि होइन । यो त विशुद्ध सिर्जनात्मक लेखन हो त्यहाँ कस्तो खालको फुटनोट वा सन्दर्भ उद्धरणको अपेक्षा गरिएको हो ? मैले बुझ्न सकेको छैन र मेरो जिज्ञासा कतैबाट पनि शमन हुन सकेको छैन । अर्काको सामग्री सारेर कस्तो उपन्यास लेखिन्छ ? त्यसको जवाफ हामीले पाउँदैनौ र आम पाठकले पनि जरुर पाउँदैनन् । कुतर्क नगर्ने हो भने उनले पनि यसको चित्तबुझ्दो उत्तर यो जुनीमा दिन सक्नेछैनन् । ४२ वर्षीय जीवनकालमा मैले पुग नपुग ६ सय जति उपन्यास पढेँ होला तर अनुच्छेद-अनुच्छेद सारेर फुटनोट राखिएको उपन्यास मैले आजसम्म पढेको छैन सायद मोचन नै पहिलो होला जस्तो छ । म के भन्न सक्छु भने उपन्यासको पात्रले अर्काको लेखको अनुच्छेद-अनुच्छेद बोल्न सक्दैन । यो समकालीन लेखनमा लाग्न चाहने जोसुकै नयाँ लेखकका लागि एक गतिलो पाठ हो भन्ने मलाई अझै पनि लागिरहन्छ ।

अर्काको समाग्री अनुच्छेदका अनुच्छेद उतारेर कस्तो उपन्यास लेखिन्छ म पनि साहित्यमा विद्यावरिधि व्यक्ति हुँ मैले त्यस्तो आजसम्म देखेको छैन । पहिलोपटक पढेको हो र त्यसलाई लेखनको एउटा टेक्निक मान्नुपर्छ होला अब “डाक्टर तुलसी टेक्निक ।”

तथ्यहरूले यस्तो बताउँछन् कि यो छुटेको उद्धरण मात्र होइन लेखकले कुनै अमुक व्यक्तिलाई बढी नै विश्‍वास गरेका हुन सक्छन् कुनै हदभन्दा पनि बढी । यो लेखको राम्रो पक्ष के छ भने उनले आगामी संस्करणमा उपन्यास सच्याउने प्रतिबद्धता जनाएका छन् । सच्याउने वाचा र उत्तिकै आफ्नो कुनै कमजोरी छैन भनेर गरिएको दावा पनि साथसाथै रहेको कुरालाई कसरी बुझ्ने ? यो विज्ञ पाठकलाई छोडिदिऊँ ।

बरु मनको कुनामा तपाईँको आत्मालाई साक्षी राखेर भन्नुस् कति खर्च गरेर लेखाउनुभएको थियो मोचन उपन्यास ? र को-को व्यक्ति उक्त उपन्यास लेखनमा प्रोजेक्टमा सामेल भएका थिए ? उनीहरूले छिटो-छिटो मेलो सार्न झ्याम्‌झ्याम् कपीपेस्ट हाने र आफ्नो पारिश्रमिक पकेटमा राखे । यति कुरा अरूले नबुझे पनि हामी साहित्य क्षेत्रमा लागेका केही व्यक्तिहरूले बुझेका छौँ । काठमाडौँको घोस्ट राइटिङको अखडा कहाँ-कहाँ छन् आवश्यक परेका खण्डमा त्यसको फेहरिस्त दिन सकिन्छ । इत्रुको हाम्रो साहित्य सर्कलमा कस्ता-कस्ता कुरा थाहा लाग्छन्, यो नलाग्ला भन्ने कल्पना नगरे पनि हुन्छ । मैले अनुच्छेद साभारको तहमा टिप्पणी गरेको हुँ । शब्द र भावका तहमा दोहोरिएका धेरै कुरा देखेको छु मोचन उपन्यासमा । कथाले माग्यो भने भने अरू दृष्‍टान्त पनि दिउँला ।

मैले यस तथ्यलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभन्दा एक हप्‍ताअगाडि नै यो कुरा थाहा पाइसकेको थिएँ जुन उपन्यासमा कसैको सामग्री हुबहु सारिएको छ । मैले पटक-पटक दोहोर जाँज पनि गरेको हुँ र धेरै लेखकहरूसँग सम्पर्क गरेको पनि हुँ भन्ने गोप्य कुरा खुल्न बाध्य हुनुपर्‍यो यहाँ । यो लेखक आचार्यको मात्र कमजोरी होइन त्योभन्दा बढी सम्पादकको हो । छाया लेखकको हो भन्नेमा म बढी विश्‍वस्त छु ।

उपन्यासकार आचार्यले उक्त लेखमा लामा-लामा तर्क दिएर प्रतिरक्षा गर्ने असफल प्रयास गरेका छन् । धेरैलाई बेबकुफ बनाउन खोजेका छन् । उनकै तर्क सही उनको लेख गहिरिएर अध्ययन गर्दा भिन्न सकारात्मक भाव पनि ग्रहण गरेँ । म उनले जस्तो पुनः बहसको हिलो छ्‌याप्‍न त चाहन्न बरु सत्यतथ्य अगाडि जरुर राख्छु यो मेरो कर्तव्य पनि हो । बलियो दिमाग भएका व्यक्तिले कहिलेकाहीँ आफूलाई अझै खारेर लैजान्छन् र अहङ्कारले पनि सधैँ नराम्रो मात्र गर्दैन भन्ने बुझ्छन् । उनको लेखमा अझै केही भ्रमहरू बाँकी रहेछन् भन्ने बुझेँ सायद उनले भन्ने जस्तै म “विद्वान्” नभएर गोबरगणेशहरूले बुझ्ने सायद त्यस्तै-यस्तै हो ।

उनको लेखको आशय अझै पनि के छ भने उनी अझै सच्चाइको मार्गमा छन् र म अहङ्कारी अनि ढोँगी कित्तामा छु र म बढी रक्षात्मक भइरहनुपर्छ । सत्यतथ्य सबै उदाङ्गो छन् र त्यसलाई जबरजस्त कुतर्क गरेर ढाक्ने पहलकदमी विद्वान् डाक्टरले गर्दैनन् र गर्नु हुँदैन भन्ने ठान्छु ।

उनीसँग चिनजान भएको ६ महिना पनि नपुगेकाले व्यक्तिगत रूपमा उनको खेदो गर्नु मेरो कुनै उद्देश्य होइन र छैन । मैले साहित्यका विविध मुद्दा उठाउने सन्दर्भमा दुईपटक उनको उपन्यास मोचनप्रति टिप्पणी गरेकै हुँ । अहिले आएर सोचिहेर्दा दोस्रो टिप्पणी अलि बढी पेचिलो थियो र मैले प्रयोग गरेको भाषा अलि आपत्तिजनक पक्कै थिए । यसप्रति म आत्मालोचित भएर नै आफ्नो स्टेटस हाइड गर्नुपरेको थियो तर यो द्वितीय कारक हो भन्ने ठान्छु ।

मेरो टिप्पणीको अर्को लक्ष्य साहित्यमा भित्रिएका विकृतिलाई मत्थर गर्नु थियो । यसले युवा लेखक र अमेरिकामा करियर बनाउँदै गरेका आचार्यलाई पर्न गएको मर्म हामीले सामाजिक सञ्जालमा टिप्पणी गरेभन्दा पनि गहिरो अवश्यै थियो भन्ने म सोच्छु । सफलताका भर्‍याङ सधैँ सहज हुँदैनन् भन्ने हामी गँवार गोबरगणेशलाई त थाहा छ विकसित देशमा बस्ने उपन्यासकारलाई ज्ञात नहुने कुरै भएन । धैर्य गर्न सिक्नु विद्वान् व्यक्तिको चरित्र हो म अधैर्य भएर सामाजिक सञ्जाल प्रयोग गर्नु पनि एक प्रकारको कमजोरी थियो त्यसप्रति पनि म सजग बनेको जरुर छु ।

उनले लेखमा उल्लेख गरेअनुसार मेरो पहिलो प्रतिक्रियाको मनोवृत्ति अर्कै थियो । हाम्रो साहित्य बजार प्रदूषित छ । पुस्तक छपाइमा मनग्य खर्च गरिन्छ । कार्यक्रममा बढी खर्च गरिन्छ । समीक्षकलाई किनिन्छ । प्रतिष्‍ठित टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्न लगाइन्छ तर किताबको गातादेखि नै छरपस्ट त्रुटि देखेपछि मेरो उद्वेलित भावना पहिलो प्रतिक्रियामा परिणत भएको पक्कै हो । एक सोरोकारवाला हुनुको नाताले त्यो प्रतिक्रिया कुनै पनि तर्कमा बेठिक थियो भन्ने ठान्दिनँ ।

उपन्यासकारसँग मेरो कुनै व्यक्तिगत दुस्मनी नभएको कुरा पुनः दोहोर्‍याउन चाहन्छु । लेखक र पाठकबिचको भेटबाहेक उनीसँगको भेट गिलाँस र टेबलको जस्तो पनि होइन । उनलाई म सार्वजनिक बदनाम गर्ने कुरा कहिल्यै सोच्दिनँ । उनीजस्तो विकसित देशको नभए पनि एक जङ्गली विश्‍वविद्यालयको जिम्मेवार प्राध्यापक हुँ सामन्यतया फेसबुक स्टेटस लेखेर चर्चित भइन्छ भन्ने कुरामा एक रत्ति पनि विश्‍वास गर्दिनँ जुन उनले शीर्षकमा विद्वान् शब्दलाई उद्धरण कमाभित्र राखेर आरोपित गर्न खोजेका छन् । जहाँसम्म सोसल मिडियामा अर्काको चरित्र हत्या गरेर हिरो हुन खोजिएको अर्को आरोप छ यो सरासर झुट हो । म निश्‍चिन्त छु तपाईँले भन्दा अघि सोसल मेडिया जडान गरेको तपाईँकै आशयमा म गँवार प्राध्यापक हुँ । इन्फरमेसन लिटरेसीका बारेमा असाक्षर व्यक्ति उनीभन्दा अगाडि कसरी जोडियो समाजिक सञ्जालमा ? यो नजिकैका जुकरवर्गलाई सोधिहेर्नुहोला ।

म सोसल मेडियामा आउने कमेन्ट बटुलेर स्टाडम मच्चाउन चाहने स्टनिङ राजनीतिज्ञ वा सेलिब्रेटी लेखक दुवै होइन । उनले भनेजस्तै बिचरा गँवार कलमजीवले यो सोच्न सक्ने कुरा पनि भएन ।

मेरो नाम नलिए पनि उपन्यासकारको घुमाउरो भाषा थोरबहुत मैले बुझेँ किनभने म स्वयं इन्टेलेक्चुअल प्रपर्टी राइटमा शोधकार्य गरेको विद्यार्थी हुँ । यो त जस्तोसुकै भुईँमान्छेले पनि सजिलै बुझ्छन् कि २ वर्षअगाडि प्रकाशित भएको लेख, पछि उपन्यासमा हुबहु छापिएर आउनु बौद्धिक चोरी हो र एक प्रकारको सामाजिक अपराध पनि ।

मलाई कताकता लाग्छ कृति सार्वजनिक भएपछि त्यो लेखकको व्यक्तिगत वा निजी सम्पत्ति नभएर सार्वजनिक पाठ बन्छ बन्ने विकसित विश्‍वविद्यालयमा सिर्जनात्मक लेखन पढाउने प्राध्यापकले यसरी बुझ्छन् भने राम ! राम !  बाहेक के भन्न सकिएला र ? साला पहाडमा बस्ने गँवारहरूले सोच्ने यस्तै हो दोस्त ! उनले आरोपित गरेको गोबरगणेश मान्छेसँग पनि अर्ग्यानिक नलेज हुन सक्छ । सुन्ने हो भने एकदिनको भर्चुअल गेस्ट लेक्चर बोलाएर भद्दा प्रवचनको मजा लिनुहोस् । त्यो पनि निःशुल्क । शीर्षक चै “प्रतिलिपि अधिकार र लेखन” राखिनुपर्छ ।

यो बिचरा धुलेमाटे शिक्षक, उपन्यासकारले सोचेजस्तै बेजोजगार पनि छैन बरु गोबर सोहोरिरहन्छ तर महिनौँ मोचन उपन्यास मात्र पढिबस्दैन । प्रत्येक मान्छेका आफ्ना पेसागत आयामहरू हुन्छन् र गर्नुपर्ने अरू धरै कामहरू पनि यो सर्कलमा हामीले रिसिनुपर्ने कुनै कारण देख्दिनँ म, कहीँ न कहीँ पेसागत मर्मले भविष्यमा ठोक्काइदिनेछ गँवार र अगँवार दुवैलाई । कोभिड पजेटिभ शरीरमा बोकेर हो प्रतिक्रिया लेखिरहँदा यो पनि अनभूति भइरहेको छ यो महामारीले हाम्रो दुवैको प्राण असमयमा नहरोस् । अन्य पर्न सक्ने भवितव्य देखा जायगा ।

तपाईँले अर्को कुरा पनि बुझिदिँदा राम्रै हुन्छ मैले त्यो स्टेटस डिलिट गरेको छैन मात्र ‘हाइड फ्रम दि टायमलाइन’ गरेर आर्काइभमा राखेको छु । फेरि यति सजिलै नदेखिने बनाएको पनि होइन भर्खर अमेरिका गएर सङ्घर्ष गर्दै गरेको व्यक्तिको करियरप्रति धेरै असहिष्णु बन्नु हुँदैन भन्ने मेरो विवेकको ढोका बन्द भएको छैन जति उपन्यासकारले अविवेकी करार गर्न खोजेका छन् मलाई । शङ्काले लङ्का जलाउँछ” कपीराइट पढाउने प्राध्यापकको करियरमा धक्काको सङ्केत आइसकेर नेपाली मेडियामा लेखमार्फत स्पष्टीकरण फालिएको पनि हुसक्छ तर अमेरिकाजस्तो खुला समाजमा त्यस्तो हुने सम्भावना झिनो छ भन्ने ठान्छु । त्यस्तो भएकै रहेछ भने पनि मेरो कामना छ अनिष्ट नहोस् ।

त्यसदिन जब स्टेटस लेखेँ म पनि उपन्यासकारजस्तै दोहोरो मानसिक द्वन्द्वमा पक्कै थिएँ । समीक्षकीय धर्मले निर्मम बन् भन्थ्यो भने म भित्रको व्यावहारिक पनले नरम बन् । जेहोस् त्यति वेला मेरो नरम मनोविज्ञानले जित्यो र स्टेटसमा सयौँ प्रतिक्रिया आएपछि गँवारबुद्धिले त्यसलाई पर्दाभित्र छिराइदिएको हुँ । सायद ठिकैठिकै गरेँ म मूर्खले । स्टेटस ओझेल परेको उपन्यासकारले दिएको प्रतिक्रियाले चित्त बुझेर होइन मुद्दा भन्दा व्यक्तिको दैनन्दिन जीवनका पाटा संवेदनशील हुन्छन् भन्ने अनुभव गरेर हाइड फ्रम दि टायमलाइन गरिएको कुरा पुनः दोहोर्‍याएँ । आचार्यको उक्त लेख पढेपछि अनहाइड गर्नुपर्छ कि भन्ने पनि सोचिराखेको छु । हेरौँ ठन्डा दिमागमा मभित्रको मलाई सोध्न बाँकी नै छ, चाँडै निर्णय आउला ।

मैले यो प्रतिक्रिया लेखिरहँदा के सोचिरहेको छु भने त्यो हदसम्म नरम पनि नहुनु कि कसैले आफ्नो काँधमाथि ल्याएर अन्डरवेयर नै सुकाओस् ।

फेसबुकमा मेरो स्टेटस आएपछि उनले कति जना लेखक, पत्रकार र आफन्तलाई फोन हान्न लगाएका थिए मलाई ? यो यति चाँडै नै भुलेका छैनन् होला उनले । कतिपटक अनुरोध गर्न लगाएका थिए ? एकपटक छातीमा हात राखेर कस्सम खाऊन् उनले । राति १२ बजे पनि कुन-कुन व्यक्तिले मलाई फोन गरेर सम्झाएका, धम्क्याएका, लोभ्याएका थिए फोन, मेसेन्जर र भाइबरमा । त्यसको कल डिटेलिङ पनि पर्‍यो भने सार्वजनिक गरुँला ।

उनको त्यो लेखमा यस्ता हाँसउठ्दा प्रसङ्ग उठाएर भनेका छन् “विद्वान्‌ले प्रतिलिपि अधिकार हनन गर्दैनन्” यो बचकनापनको पराकाष्ठा नै हो । यो तर्क यस्तो लाग्छ गेरुवस्‍त्र धारण गरेका साधुले बदमासी गर्दैनन् भन्नेजस्तै हो । सबै गेरु वस्‍त्रधारी सच्चा माहत्मा कहाँ हुन्छन् र तुलसीजी ?

पुलिसका डिआइजीले श्रीमती मारेका पनि छन् । क्राइम साइकोलजी पढेका अफिसरले जघन्य अपराध गरेका छन् । पिएचडी गरेका प्रतिष्ठित उपकुलपतिले अर्काको आर्टिकल चोरेर छापेका पनि छन् भने कपीराइट पढाउने व्यक्तिले प्रतिलिपि अधिकार हनन गर्न सक्दैनन् भन्ने तर्क उटपट्याङ मात्र होइन बकवास लाग्छ । उनीहरूले प्रतिलिपि अधिकार हनन गरेका बग्रेल्ती दृष्टान्त हाम्रा सामु छन् । यस विषयमा उनी जानकार नै होलान् नभए म लिङ्क सेयर गरिदिउँला । उपन्यासकारले के गर्छन् म किटान गर्न सक्दिनँ तर सिर्जनात्मक लेखनमा लागेका जोसुकैले अधिक सावधानी अपनाउन आवश्यक छ । प्रतिलिपि अधिकार, लेखकीय कानुनका प्राध्यापकले बदमासी गर्दैनन् भनेर सोच्नु खासमा बच्चाले आफ्ना बाआमाले कहिल्यै झुट बोल्दैनन् भन्ने सोचेजस्तै हो ।

सिर्जनात्मक लेखनको प्राध्यापकले उसले सोचेकै र उसैको ढाँचामा कमेन्टको अपेक्षा गर्नु सिर्जनात्मक लेखनप्रतिको गद्दारी हो । त्यति आदर्श भएर बाँच्ने लेखकले कहिल्यै आफ्नो लेखकीय अडान लिन सक्ने छैन भविष्यमा ।

उनले अर्को आरोप के लगाएका छन् भने “कसैको कमजोरीलाई अवसर ठानेर हिँड्ने व्यक्ति” म त्यस्तो फुर्सदिलो व्यक्तिभित्र पर्दिनँ । धेरै नबुझे पनि कसैले कसरी खलनायकीकरण गर्न खोज्दै छ सजिलै बुझ्छु ।

मेरो एउटै चाहना छ हाम्रो सिर्जना बजार दुर्घन्धित नहोस् । मेरो एउटै स्वार्थ छ हाम्रो साहित्य बजार शुद्ध बन्दै जाओस् । अर्को मेरो नियतमाथि शङ्का गर्न पूरै छुट छ उनलाई । मेरो आदतका बारेमा उनले धारणा बनाउँदा पनि केही फरक पर्दैन त्यो उनको व्यक्तिगत कुरा हो ।

उनले उक्त लेखमा विद्वान्‌को परिभाषा दिएका छन् । खासमा म विद्वान् नभएर होला त्यो परिभाषा खास बुझिन र अर्को कुरा बुझेँ कम्तीमा सिर्जनामा मिसावट गर्दैनन् विद्वान्‌हरूले ।

मबाट समीक्षाको अपेक्षा गरेका रहेछन् उनले । हो तपाईँको उपन्यास औसत प्रकृतिको हो । मैले कौटनीतिक भाषामा राम्रो भनेर प्रारम्भिक प्रतिक्रिया दिएकै थिएँ । धेरै नकारात्मक नहुँ भनेर । खासमा तपाईँको उपन्यासलाई १०० पूर्णाङ्कमा परीक्षण गर्ने हो भने प्रथम श्रेणी छुँदैन त्यति चै भन्न सक्छु । मेरो अपेक्षा तपाईँ उपन्यास छापेर गरेको हल्ला र खर्चको पारो विशिष्‍ट श्रेणीकै थियो । प्रचार या खर्च लोकतन्त्रमा जसले पनि गर्न पाउँछ त्यसमा मेरो केही गुनासो हुने कुरा भएन । हुन त बजारमा अचेल सस्ता चाउचाउको हल्ला ज्यादा हुन्छ भन्ने जन-जनले बुझेकै छन् । अनि अर्को कुरा नि सत्य हो तपाईँको उपन्यास पटक-पटक पढ्न चाहन्थे रिभ्यु लेख्नुअगाडि । हुन त बजारमा अनेक किसिमका समीक्षक छन् जसले पुस्तकको गाता पढ्छन् र अरूका प्रतिक्रियाको सुराक गर्छन् अनि तात्तातै समीक्षा छापिहाल्छन् । ‘पुस्कसमीक्षा सिद्धान्त र प्रयोग’ भन्ने पुस्तक नै लेखेको लेखक भएका नाताले पुस्तकसमीक्षाका आधारभूत कुरा बुझ्छु तिमीले करार गर्न खोजेको गोबरगणेशको पुस्तक भलै उत्तिसको कुहेको पातजस्तै पनि लाग्ला तिमीलाई ।

मोचनको पठनकै क्रममा दोहोर्‍यार पढ्दै गर्दा डुब्लिकेसन भएको पत्ता लागेको हो जुन स्रोत आर्टिकल तपाईँको उपन्यास छापिनुभन्दा २ वर्ष अगावै पढिसकेको थिएँ । बढी नै शङ्कालु हुने हो भने उपन्यास माथि नउठ्ने ठानेपछि नकारात्मक हल्लाबाट उचाल्ने अभ्यासस्वरूप यस आलेख आएको सम्भावना पनि देखिन्छ तर मैले शङ्का गरेजस्तो कदापि नहोस् ।

मलाई के लाग्छ भने मैले समीक्षा गर्ने पुस्तकका बारेमा पहिल्यै टिप्पणी गर्न मन लाग्दैन । समीक्षा तयार छ । जब डिट्टो अनुकरण गरेको थाहा लाग्यो त्यसपछि समीक्षालेखनको कलम पनि बन्द भयो र थप लेख्न जरुरी ठानिनँ । त्यसै च्याँख मरेर आयो । सायद त्यस समीक्षा मेरो कम्प्युटरको फाइलमा बसि नै रहेकको छ ४५ किलो बाइटको भारी बोकेर ।

उपन्यासकारले लेखमा एक ठाउँमा ठिक भनेका छन् । हरेक कुराका कारण हुन्छ अझ कार्यकारण ‘कज एन्ड इफेक्ट’ हुन्छ । उनको नियत के थियो म जान्दिनँ तर कसैको अनुमतिविना पूर्वप्रकाशित सामग्रीलाई सिर्जनामा प्रयोग गर्नु एक प्रकारको चोरी हो प्रतिलिपि अधिकारको हनन हो ।

सम्पादकज्यू । गुनासो लामो भएकामा माफी चाहन्छु । साम्य भइसकेको कुरामा बहस गरेकामा उपन्यासकारसँग क्षमा माग्छु । उनले लेखको अन्तिममा सकारात्मक कुरा गर्न खोजे पनि व्यङ्ग्यार्थमा मप्रति गहिरो प्रहार गरेको छन् । मोचनलाई लिएर यो नै अन्तिम प्रतिक्रिया हो भन्ने पनि घोषणा गर्छु । यो कुरा पनि स्मरण होस् म यो स्टेटस विवादलाई जनवरी १० मै अड्याएर बिट मार्न चाहन्थेँ । यो एक समयको झट्का हो भनेर इतिहासकै गर्तमा छोड्न चाहन्थेँ । पुनः मलाई ताछ्‌ने, गिराउने, एक प्रकारको खलनायकीकरण गरेर मेडियामा स्वयं उपन्यासकार आइलागेपछि म पुनः जाइलाग्नुपर्ने हुन गएको मात्र हो । उनले मलाई अनफ्रेन्ड गरेका थिए मैले सामान्य रूपमा लिएको थिएँ त्यसलाई । पछि फेरि जोडिएँ यस्तै बहस गर्नका लागि होला । यसलाई पनि अस्वाभाविक ठानेको छैन । ठान्ने पनि छैन । यो सामन्य प्रक्रिया हो । उनी त ठुलो देशमा बस्छन् । हामीभन्दा उन्नत चिन्तन राख्छन् भन्ने भ्रम पालेर हामी गुफाभित्रै बसेका छौँ तर यो कुरा पनि ख्याल राख्नुपर्छ हरेक सत्य कुराको उजागर इतिहसमा गुफामय एल्गोरीबाट भएका छन् । हाम्रै जीवनकालामा उनी निकै ठुला लेखक होऊन् गोबरगणेश पाठकको आशीर्वाद सम्प्रेषण गरिदिनुहोला  ‘सम्पादकज्यू ।’

==========

डा. अशोक थापा त्रि.वि. नेपाली केन्द्रीय विभागमा भाषा-साहित्य पढाउनुहुन्छ । उहाँका नाट्यसमीक्षा र अन्य समालोचना (२०६५), किताबै-किताब (२०७४) र समकालीन नेपाली नाटकका प्रवृत्ति (२०७४) जस्ता अनुसन्धानात्क समालोचनात्मक ग्रन्थहरू प्रकाशित छन् । उहाँ समसामयिक लेखरचना र सिर्जनात्मक लेखनमा रुचि राख्नुहुन्छ ।