दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाले आयोजना गरेको ८०औँ श्रृङ्खलाको नियमित एकल रचना वाचन कार्यक्रममा साहित्यकार महेशकुमार न्यौपानेले आफ्नो कविता प्रस्तुत गर्नुभएको छ । परिषद्को सभाहलमा सम्पन्न उक्त कार्यक्रममा न्यौपानेले विभिन्न शीर्षकमा गद्य र पद्य गरी १४ वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले गर्नुभएको थियो भने प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्मा हुनुहुन्थ्यो। विशिष्ट अतिथिको रूपमा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैँया उपस्थित हुनुहुन्थ्यो ।

पोखराबाट आउनुभएको गोमा पराजुलीले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि शर्मा र विशिष्ट अतिथि खनाल तथा मजगैँया न्यौपानेका कविताहरूमाथि आफ्नो विचार प्रस्तुत गर्दै प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमको शुभारम्भ राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट भएको थियो भने सञ्चालन सहसचिव वीणा रोकाले गर्नुभएको थियो । संस्थाले साहित्यकार न्यौपानेलाई एक प्रशंसा पत्रद्वारा सम्मान पनि गरेको थियो । कार्यक्रमको सफलतामा राप्ती साहित्य परिषद् दाङ शाखाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय भूमिका रहेको थियो ।