विगत साढे दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको रुस–युक्रेन युद्धको भूराजनीतिक परिणाम र त्यसले विश्व व्यवस्थाको परिवर्तनमा गरिरहेको योगदानलाई बुझाउने पुस्तकका रूपमा ‘युक्रेन वार यान्ड द युरेसियन वर्ल्ड अर्डर’ प्रकाशित भएको छ । नर्वेली राजनीतिशास्त्री ग्लेन डिसेनको यस महत्त्वपूर्ण पुस्तकले अन्तर्राष्ट्रिय राजनीतिमा पश्चिमी प्रभुत्वको क्रमिक अन्त्य र युरेसिया क्षेत्रको बढ्दो उदयको लेखाजोखा प्रस्तुत गरेको छ ।
युक्रेन युद्धका कारण र परिणामका बारेमा मसिनो विश्लेषण गर्ने क्रममा डिसेनले इतिहास, अर्थशास्त्र, भूराजनीति र सैन्य रणनीतिको चर्चा गरेका छन् । डिसेनका अनुसार, यसलाई रुस र युक्रेनबीचको युद्धका रूपमा मात्र बुझ्नु अल्पज्ञान हो । पश्चिमले समग्र गैरपश्चिमलाई आफ्नो अधीनमा राख्नका लागि ऐतिहासिक रूपमा गरिरहेको प्रयासको प्रतिकार यस युद्धका रूपमा विस्फोट भएको उनी लेख्छन् ।
शीतयुद्धको अन्त्यपछि अमेरिका र उसका साझेदारहरूको नेतृत्वमा आरम्भ भएको एकध्रुवीय व्यवस्था अब क्रमशः पतनको दिशामा उन्मुख भइरहेको छ । त्यसको साटो रुस र चीन जस्ता युरेसियाली शक्तिहरूको योगदानमा बहुध्रुवीय व्यवस्थाको द्रुत उदय भइरहेकोछ । पश्चिमाहरू युरेसियाको यस उदयप्रति असन्तुष्ट छन् र यसलाई रोक्नका लागि हरसम्भव प्रयास गरिरहेका छन् । त्यसले जन्माएको संघर्ष नै युक्रेन युद्धको मूल कारण हो भनी डिसेन तर्क गर्छन् ।
नयाँ शक्तिराष्ट्रहरूको उदयलाई सहन नसकी पश्चिमाहरूले नेटो र युरोपेली संघलाई आक्रामक रूपमा रुसको प्रभावक्षेत्रमा विस्तार गरिदिँदा रुसले प्रतिकार गर्नुपरेको डिसेनको भनाइ छ । रुसको सुरक्षा चिन्तालाई पश्चिमले निरन्तर बेवास्ता गर्दैै नेटोको आक्रामक विस्तार गरेकाले युद्धको स्थिति आएको हो । पश्चिमको आक्रामक प्रभुत्वको प्रतिकार गर्नुका साथै सबै सार्वभौम मुलुकहरूलाई समान र न्यायपूर्ण व्यवहार गर्ने बहुध्रुवीयतालाई स्थापित गर्ने उद्देश्यका साथ रुस युद्धमा होमिएको हो ।
युक्रेन युद्ध आरम्भ भएपछि पश्चिमले अपनाएका रणनीतिहरूलाई डिसेनले आलोचना गरेका छन् । आर्थिक नाकाबन्दी लगाएर रुसको अर्थतन्त्र धराशायी बनाउने पश्चिमको रणनीति पूरै विफल भइसकेको उनी लेख्छन् । त्यसैगरी युक्रेनलाई हातहतियारले सुसज्जित गरी रुसविरुद्ध प्रत्याक्रमण गर्ने अनि रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता दिलाउने पश्चिमको रणनीति पनि विफल भएको छ ।
पश्चिमको यस मूर्खतापूर्ण नीतिका कारण रुस र अन्य गैरपश्चिमा शक्तिहरूबीच घनीभूत सहकार्यको अवसर जुरेको डिसेनको भनाइ छ । त्यस्तै पश्चिमको आर्थिक नाकाबन्दीले गैरपश्चिमा मुलुकहरूलाई पश्चिमसँग वित्तीय निर्भरता अन्त्य गर्नका लागि प्रेरित गरेको पनि उनी उल्लेख गर्छन् ।
पश्चिमले युक्रेन युद्धलाई लोकतन्त्र र निरंकुशताविरुद्धको संघर्षका रूपमा गरेको चित्रणलाई पनि डिसेन आलोचना गर्छन् । यस भाष्यले जटिल भूराजनीतिक यथार्थलाई अति सरलीकरण गरेर महत्त्वहीन बनाएको उनको भनाइ छ । खासमा पश्चिमले लोकतन्त्र र मानवअधिकारको प्रवर्धनलाई आफ्नो भूराजनीतिक स्वार्थको हतियार बनाउने गरेको डिसेनको भनाइ छ । यसले गर्दा गैरपश्चिमा राष्ट्रहरूले पश्चिमा हस्तक्षेपलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतामाथिको जोखिमका रूपमा लिने गरेका छन् ।
त्यस्तै पश्चिमले युक्रेनमा रुसको रणनीतिका बारेमा गरेको चित्रण पनि त्रुटिपूर्ण रहेको डिसेनको भनाइ छ । रुसले आफ्नो भूभाग बढाउनका लागि यो युद्ध लडेको हैन । रुसका अस्तित्वलाई खतरामा पार्ने गरी पश्चिमले युक्रेनी नवनाजीहरूलाई प्रोत्साहन गरेको र पूर्वी युक्रेनमा रहेका रुसीभाषीहरूमाथि दमन गर्न प्रेरित गरेको स्थितिमा रुसले नयाँ भूराजनीतिक यथार्थ स्थापित गर्न युक्रेन युद्ध लडेको हो । खासमा रुसले युक्रेनविरुद्ध भन्दा पनि समग्र पश्चिमविरुद्ध सार्वभौमसत्ताको लडाइँ लडेको डिसेनको दाबीमा दम छ ।
डिसेनले यस पुस्तकमा पश्चिमले समर्थन गरेको उदारवादी अन्तर्राष्ट्रिय व्यवस्था पतनोन्मुख अवस्थामा रहेको तर्क गरेका छन् । युरेसियाली शक्तिहरूको उदयसँगै नेटो, युरोपेली संघ र ब्रेटन वूड्स आर्थिक प्रणालीले विगतमा जस्तो गरी विश्व व्यवस्थालाई हाँक्न नसक्ने उनको भनाइ छ । युक्रेन युद्धले पश्चिमी शक्तिको सीमितता र कथित नियममा आधारित विश्व व्यवस्थाको कमजोरीलाई उजागर गरिदिएको उनी लेख्छन् ।
रुसले बहुध्रुवीय विश्व व्यवस्थालाई आकार दिनका लागि गरेको प्रयासलाई डिसेनले मसिनो विश्लेषण गरेका छन् । युरेसियावादलाई प्रवर्धन गर्दै रुसले युरोप र एसियाका बीचमा सेतुका रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ । पश्चिमी प्रभुत्वलाई चुनौती दिन सक्ने शक्ति प्रदर्शन गरेको रुसले चीन, भारत, इरान, उत्तर कोरिया लगायतका अन्य गैरपश्चिमा शक्तिहरूसँग मिलेर सन्तुलित बहुध्रुवीय विश्व व्यवस्था बनाउनका लागि योगदान गर्न सक्छ ।
अहिले विश्व राजनीति पहिलो विश्वयुद्ध भन्दा ठीक अघिको स्थितिमा रहेको र नयाँ व्यवस्था आउन लागेको स्थितिमा क्षेत्रीय द्वन्द्वहरू चर्किरहेको डिसेन लेख्छन् । पश्चिमले आफ्नो प्रभुत्व कायम राख्नका लागि क्षेत्रीय द्वन्द्वहरूलाई थप चर्काउन योगदान गरिरहेको अवस्थामा यो विश्वव्यापी द्वन्द्व अर्थात् विश्वयुद्ध वा आणविक युद्धमा परिणत हुन सक्ने जोखिम पनि छ । वेस्टफालियाको सन्धिलाई आधार बनाएर सबै मुलुकहरूको सार्वभौमसत्तालाई सम्मान गर्दै बहुध्रुवीयतालाई अंगीकार गर्न पश्चिम बाध्य नहुन्जेल युद्धको सिलसिला रोकिने देखिँदैन ।
डिसेनले यस पुस्तकमा युरेसियाली विश्व व्यवस्थाको परिचर्चा गर्दै गर्दा चीनको केन्द्रीय भूमिकालाई पनि स्थापित गरेका छन् । उनका अनुसार, पश्चिमी प्रभुत्वको पतनसँगै विश्वव्यापी आर्थिक तथा राजनीतिक शक्तिका रूपमा चीनको उदय बहुध्रुवीय विश्व निर्माणको महत्त्वपूर्ण पाइलाका रूपमा रहेको छ । युरेसिया क्षेत्रमा व्यापारको विशाल सञ्जाल निर्माण गर्ने चीनको बेल्ट यान्ड रोड इनिशिएटिभलाई डिसेनले आर्थिक परियोजनाका रूपमा मात्र नभई युरेसिया केन्द्रित नयाँ विश्व व्यवस्था निर्माणको भूराजनीतिक रणनीतिका रूपमा चित्रण गरेका छन् ।
युरेसियाली उदयमा रुस र चीनको रणनीतिक साझेदारी महत्त्वपूर्ण अवयवका रूपमा रहेको डिसेन तर्क गर्छन् । युक्रेन युद्धले यी दुई शक्तिराष्ट्रलाई थप नजिक बनाउको छ र उनीहरू पश्चिमको दबाबलाई संयुक्त रूपमा प्रतिकार गरिरहेका छन् । पश्चिमले लगाएको आर्थिक प्रतिबन्धको सामना गर्नका लागि रुसलाई चीनले तेल किनिदिएर सहयोग गरेको छ ।
अझ, यस युद्धले गैरडलरीकरणको प्रक्रियालाई द्रुत बनाएको छ किनकि रुस र चीनले अमेरिकी डलरको साटो आआफ्नै राष्ट्रिय मुद्राहरूमा कारोबार बढाउन थालेका छन् । पश्चिमप्रति कम निर्भर रहने वैकल्पिक वित्तीय प्रणाली निर्माणमा चीन र रुसले गरिरहेको प्रयासलाई डिसेनले पुस्तकमा उल्लेख गरेका छन् । चीन, रुस, भारत, ब्राजिल र दक्षिण अफ्रिका सदस्य भएको ब्रिक्सले डलरको वैकल्पिक मुद्रामा कारोबारलाई औपचारिकता दिने प्रयास गरिरहेको छ ।
डिसेनका अनुसार, युक्रेन युद्धमा चीन प्रत्यक्ष रूपमा जोडिएको छैन तर त्यस युद्धको परिणामले चीनलाई प्रत्यक्ष असर पार्ने सुनिश्चित छ । त्यस युद्धमा रुस पराजित भएछ भने पश्चिमले चाहेको व्यक्ति रुसको शासक बन्छ र चीनलाई सुरक्षा जोखिममा पार्छ । तर त्यस युद्धमा पश्चिम पराजित भएछ भने ताइवान र दक्षिण चीन सागरमा पश्चिमको आक्रामकतालाई सशक्त प्रतिकार गर्न चीनलाई थप प्रेरणा मिल्नेछ । यस भूराजनीतिक लेखाजोखासँगै चीनले विश्व व्यवस्थालाई नयाँ आकार दिने आफ्नो रणनीतिक स्वार्थ रुसलाई समर्थन गर्दा नै पूरा हुने देखेको छ ।
पुस्तकको अन्तिम अध्यायहरूमा डिसेनले युरेसियाली विश्व व्यवस्थाका विशेषताहरू केलाएका छन् । उनका अनुसार, यस व्यवस्थाले मुलुकहरूको सार्वभौमसत्ता, अहस्तक्षेपको नीति र क्षेत्रीयतालाई जोड दिनेछ । पश्चिमलेअपारदर्शी विश्वव्यापी नियम बनाएर विभिन्न माध्यमद्वारा त्यसलाई लाद्ने कोशिश गरेकोमा रुस, चीन र भारत जस्ता युरेसियाली शक्तिहरूले आआफ्नो क्षेत्रमा स्थिरता ल्याउनका लागि प्रयत्न गर्ने डिसेन लेख्छन् ।
तर बहुध्रुवीय विश्व व्यवस्थातर्फको यात्रा सहज नरहेको डिसेन स्वीकार गर्छन् । विद्यमान व्यवस्थाको पतनले अस्थिरता र द्वन्द्वको शृंखलालाई लम्ब्याउन सक्छ । विश्वका विभिन्न द्वन्द्व सम्भावित क्षेत्रमापश्चिमले युद्ध चर्काउनका लागि भरमग्दूर प्रयास गर्न सक्छ ।
तर बहुध्रुवीय विश्व व्यवस्था स्थापित भएको खण्डमा स्थिरता कायम हुनेछ र मुलुकहरूले सहकार्यमा आधारित सम्बन्ध कायम गर्नेछन् । यस्तो अवस्थामा फौजी कारवाही भन्दा पनि संवाद र कूटनीतिका माध्यमले समस्याको समाधान खोजिनेछ ।
यसरी डिसेनले आफ्नो पुस्तकमा युक्रेन युद्धले त्यसले नयाँ विश्व व्यवस्था निर्माणमा गरेको योगदानको विशद चर्चा आफ्नो पुस्तकमा गरेका छन् । बहुध्रुवीयता, सार्वभौमसत्ता र क्षेत्रीयतावादको महत्त्वलाई जोड दिँदै डिसेनले अन्तर्राष्ट्रिय राजनीतिको बदलिँदो प्रकृतिको साक्षात्कार पाठकहरूलाई गराएका छन् । युक्रेन युद्धका परिणामहरू विश्वले बेहोरिरहेको सन्दर्भमा डिसेनको यो पुस्तक भविष्यको विश्वलाई हाँक्ने प्रणालीको झलक दिन सफल छ ।