दुर्योधनको सभामा
छलकपट गर्नेहरुको लाम हुन्थ्यो
हरेक सभासदका शब्दमा
दम्भ बोल्थ्यो
अहंकारको पहाड चढेर
इन्द्रेणीको रङ छोप्ने योजना हुन्थे

दरबारको गुरूकुलका गुरू
दरबारकै नमक खान्थे र
दरबारकै भाषा बोल्थे
दिने शिक्षामा अहंकार,दम्भ र
पूर्वाग्रह मिसिएको हुन्थ्यो

दुर्योधनको सभामा
हस्तिनापुरको कवच भीष्मलाई
कहिले आफन्त मानिएन
द्रोण र कृपको समर्पणलाई सम्झेन
सत्य र न्यायका लागि खरो बोल्ने
बिदुरलाई बुझ्न सकेन
तेज र पराक्रमका पुञ्ज कर्ण
बन्धक बनेर बसे
सत्य बोल्ने बिकर्णको
आवाज कसैले सुनेन
मुख्य सल्लाहकार शकुनि थिए
छलकपटको रचना गरिरहन्थे

दुर्योधन
एक्लै गर्जन्थे
अनन्त अभ्यास गर्थे युद्धको
प्रतिशोधको अग्नि जलाइरहन्थे
सबै शक्ति छिचोल्दै
हस्तिनापुरको सम्राट बन्न चाहन्थे

मुढ मान्छेसँग अन्धभक्त हुन्छन्
विद्वत वर्ग मुढतामा टेकेर
लाभ लिन लागिपरेका हुन्छन्
लठैतहरू
जयजयकार गर्नेहरूको
लावालस्कर हुन्छ
केही विवेकशील पनि
बन्धक बसेका हुन्छन्

दुर्योधनको सभा
उनान्सय भाइले भरिएको हुन्थ्यो
भीष्मपितामह, द्रोणाचार्य, कृपाचार्यहरू
धृतराष्टकै भाँती अन्धासरह हुन्थे
स्वाभिमानको ईख पालेर
कर्ण पहरा बसेका हुन्थे
हस्तिनापुर राज्य दुर्योधनको
अहंकारमा चलेको हुन्थ्यो

दुर्योधन चाहन्थे
फरक मत राख्नेहरू
नभएको भए हुन्थ्यो
सभामा देखिने बूढा अनुहारहरू
मरिदिए हुन्थ्यो
जयजयकार गर्नेहरू रहेर
हस्तिनापुरको सम्राट बन्न पाए हुन्थ्यो
युवराज बनेर उचालिएका खुट्टा
भुइँमा थिएनन्
सपनामा आफूलाई चक्रव्रती सम्राट देख्थे
मामा शकुनि
बलेको आगोमा घ्यू थप्थे

दुर्योधनको सभामा
हरेक दिन कपटी पासाको खेल हुन्थ्यो
हरेक दिन द्रोपदीको वस्त्रहरण हुथ्यो
हरेक दिन लाक्षागृहमा पाण्डव जलाइन्थे
हरेक दिन द्वन्द्व, द्वन्द्व र युद्ध हुथ्यो

दुर्योधनको सभामा
सुख, शान्ति, अमनचयन थिएन
मानसिक द्वन्द्व
द्वेष, ईर्ष्या, पूर्वाग्रहको
आगो बलिरहेको र
भतभती पोलिरहेको थियो

अर्काको आङको जुम्रा देख्ने
आफ्नो आङको भैंसी देख्दैनथे
गल्तीलाई सत्ता, शक्तिले ढाकछोप गर्थे
अहंकार, दम्भ, बलमिच्याइँले
आफूलाई इमान्दार र
अरुलाई बेइमान साबित गर्नमा लाग्थे

छन त छन् उनान्सय भाइ छन्
बिकर्ण, युयुत्सजस्ता निर्भिक र
दुस्साशनजस्ता दास मनस्थितिका
पराजयको मानसिकता बोकेका महारथी
अन्धा राजाको लहडी छोरो
अवसर र उन्नति हातमा थियो
सकारात्मक सोच भएन
अहंकार र दम्भले
कौरवको विनाश भयो ।

परशुराम ५, परिगाउँ, डडेल्धुरा