त्यो टाँगा बिलकुल नयाँ त होइन
दिलखुस चौथो मालिक हो
मर्मत सम्भार रङ्ग रोगन गरी
नयाँ जस्तै बनाएको छ
घोडा पनि वयस्क त होइन
उमेर ढलेकै पनि होइन
दश-बाह्र जना तान्न सक्छ
छोरा श्रीमतीको
त्यति हेरचाह गरेको छैन होला
भन्सार पुलिस सबै मिलाएको हुन्छ
बग्गीमा बसेर
एक सय एक्काइस
दस जना
दिलखुस, बनबासा
इन्ट्रीपोष्टमा यत्ति भन्छ

दिलखुसको जीवन जिउने कला हो
टाँगा उसको खेतबारी हो
लैनो भैँसी हो
स्थायी जागिर पनि हो
टाँगाको गति बढाउन चाबुक हान्छ
चोट आफूलाई लाग्छ

जीवनको चार अवस्था काट्दा
चौथो टाँगा हो यो
छैटौँ घोडा हो यो
दिलखुसको पुरुषार्थ यही छ
जीवनका सबै ऋण यही चुकाउँदैछ
वृद्ध काया टाँगामा बिसाएर
सुनौलो तस्बिर कोरिरहेको हुन्छ

दिलमाया भन्दा प्यारो
टाँगा लाग्छ
छोरो भन्दा प्यारो घोडो लाग्छ
लगामको डोरी र चाबुक गहना नै हुन्
सबै घोडाको एक चाल छ
सबै टाँगाको एकै अवस्था छ
घोडा, टाँगा, आउनु-जानु
सवारी बसाउनु-झार्नु
निरन्तर छ

आफूले नखाए पनि
घोडा खुवाएको हुन्छ
परिवारको रसद पानी
नुनतेल, लुगाफाटो जुटाउनु छ
जीवन निर्वाहको दिनचर्या हो
सडकका हरेक खाडलसँग परिचय छ
टाँगा अड्काउने ढुङ्गा चिनेको छ
दिलखुस टाँगा हो कि
टाँगा दिलखुस हो उस्तै उस्तै छ
बर्षौंदेखि यही सडकमा छ
सबैले चिन्दछन्
दिलखुसको टाँगा
टाँगावाला दिलखुस
टाँगाको घोडा जस्तै छ
हेराई, हिँडाई, बुझाई
आफ्नो बस्ने कोठा भन्दा
सफासुग्घर पार्छ तबेला
छोरा, पत्नी भन्दा बढी
माया लाग्छ घोडाको

ऊ चाहन्थ्यो
सन्तानले बिडो थामोस्
आफू जस्तै भए पनि इलम गरोस्
सरकारले पनि परिचय दिएको छ
एक सय एक्काइस नम्बर
उसलाई कण्ठस्थ छ
एक सय एक्काइस
दस जना
दिलखुस, बनबासा

एक दिन सडकमा टाँगा मात्र थियो
घोडा तबेलामा
दिलखुस भुइँमा
दिलमाया रुँदै गरेकी

एउटाले सोध्छ
टाँगा कसको?
उत्तर आउँछ
दिलखुसको

अर्कोले त्यही प्रश्न दोहोर्‍याउँछ
उत्तर आउँछ दिलखुस
दिलखुसको टाँगा