एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – अबिनास भट्टराई।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले अबिनास भट्टराईसँग गरेको कुराकानी :

 

अंग्रेजी विषयको विद्यार्थी नेपाली कवितामा प्रवेश गर्दा अंग्रेजीमा पढिएका कविता र आफूले नेपालीमा लेख्दै आइरहेका कविताका बीचमा के समानता छ र के भिन्नता छ ?

– अंग्रेजी साहित्यको विद्यार्थी भए पनि नेपाली साहित्यको ठूलो पारखी हुँ । अक्सर म अंग्रेजी कविता दिमागबाट अध्ययन गर्छु भने नेपाली कविता मनबाट । अंग्रेजी कविताले भिन्न  परिवेश, जीवनपद्धति र संस्कृतिलाई छोएको हुन्छ । समानता भनेको दुवै भाषाका कवितामा कविताको न्यूनतम तत्त्वहरू हुन्छन् । दुवैमा विचार, कला हुन्छ । फरक भनेको  हामीले लेख्ने कवितामा हाम्रो आफ्नै माटोको बास्ना हुन्छ । हाम्रा दशैँ, तिहार, ल्होछार हुन्छ । साकेला र सोरठी हुन्छ । ढिकी, जाँतो र गुन्द्रुक हुन्छ । हाम्रो मौलिक आर्थिक-सामाजिक पृष्ठभूमि र इतिहास हुन्छ । उताको कवितामा उताकै स्वाद र मौलिकता  हुन्छ ।

विभिन्न ठाउँका कविता प्रतियोगितामा पुरस्कृत हुँदै यहाँ सम्म आउँदा ति प्रतियोगिता, पुरस्कार, हार, जीतले कविता लेखनमा कस्तो अवस्था सिर्जना गर्दा रहेछन् ?

– मेरो लागि मनबाट कविता लेख्नु ‍नै मुख्य कुरा हो । कहिलेकहीं आफ्ना कविता पुरस्कृत हुँदा अलि बढी आत्मविश्वास अवश्य बढ्छ । कविता प्रतियोगितामा पुरस्कृत नहुनु भनेको सिर्जना उत्कृष्ट नभएर होइन, मात्र त्यो प्रतियोगिताको मापदण्डमा वा मागभन्दा अलि फरक भएको हो । राष्ट्रिय कविता प्रतियोगिताहरूमा पुरस्कृत भएपछि थप जिम्मेवार भएर लेख्न र सिर्जनामा अझ गुणस्तरीयता कायम गर्ने चुनौती थपिँदो रहेछ । सबै मानिसका आ-आफ्नै प्रतिभा हुन्छन् । कसैले संगीत सिर्जना गर्न सक्छ भने कोही अभिनयमा अब्बल हुन्छ । कोहीले सुन्दर चित्र कोर्न सक्छ । कोहीको प्रतिभा खेलकूदमा हुनसक्छ त कोहीको प्रविधिमा । त्यस्तै कविले कविता लेख्छ जसले मानिस, समाज र राजनीतिमा केही सकारात्मक परिवर्तन ल्याउन सक्छ । यहाँ सबै प्रतिभाहरूको सम्मान हुनुपर्छ ।

के अब कविता प्रोफेशनको रूपमा अगाडि आउन सक्छ ?  या कविले कविता नै लेखेर जीवन चलाउन सक्छ ?

– एउटा कविले कविता लेखेर नै जीविकोपार्जन गर्न सक्यो भने उसको सिर्जनाप्रतिको वास्तविक सम्मान र न्याय हुन सक्छ जस्तो लाग्छ । पछिल्लो समय नेपाली कविताको माहौल निकै सुन्दर देखिरहेको छु । हाम्रा पुस्ताका केही कविहरू कविता नै लेखेर जीवन चलाई रहनुभएको छ । दिनरात कविताकै प्रवर्द्धनमा खटिरहनु भएको छ ।

एपेक नेपालले मधेश प्रदेशको समकालीन प्रतिनिधि कविको रूपमा आमन्त्रण गर्दाको अनुभूति बताइदिनु न ।

– एपेक नेपालको यो कन्सेप्ट नेपाली कविताको उन्नयन र प्रवर्द्धनका लागि एकदमै मन पर्‍यो । यो कार्यक्रमको निरन्तरताको कामना पनि गर्दछु । मधेश प्रदेशको समकालीन प्रतिनिधि कविको रूपमा आमन्त्रण गर्नु भएकोमा एपेक नेपालप्रति एकदमै आभारी छु ।