साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई इतिहास र भूगोलका साधक शीतल गिरीको नवीनतम निबन्धसंग्रह “आरम्भ” प्राप्त भएको छ ।
यस निबन्धसंग्रहमा ‘अरनिको वृत्तान्त’, ‘अवमूल्यनमा परेका अमरसिंह’, ‘महान् सेनानी पुष्करनाथ उप्रेती’, ‘केही थाहा छैन’, ‘पारिजात र साहित्य’, ‘मनु ब्राजाकी र समय’, ‘साहित्यिक पत्रकार अर्थात् नकुल सिलवाल’, ‘परशु प्रधान अतियथार्थवादी शिल्पकार’सहित ‘हाँस खोई’ लगायत २५ थान निबन्ध संग्रहित छन् ।
“शीतल गिरीद्वारा रचित ’आरम्भ’ निबन्धसङ्ग्रहले चर्चित व्यक्तित्व मात्र होइन ओझेलमा परेका व्यक्तित्वलाई समेत अगाडि ल्याएको छ । नेपालको पहिलो सहिद लखन थापाको समर्पण, अमर सिंहले गोसाइँकुण्डमा जीवन त्याग्नुपर्ने अवस्था, रणदुल्लभले गुमेको राज्य फिर्ता ल्याउन गरेको त्याग, अरनिको भित्र रहेको प्रतिभाको चर्चा गर्दै न्याय नपाए गोर्खा जानू’ भन्नुको तात्पर्यलाई पुष्टि गरेका छन् ।” पुस्तकको पछिल्लो बाहिरी पृष्ठमा शारदा पराजुली लेख्छन्, “राष्ट्र र राष्ट्रियताप्रति बफादार व्यक्तिको वैयक्तिकता झिँजो नमानी खोजअनुसन्धान गर्ने शीतल गिरीको कलम द्रुततर गतिमा आजका पुस्ताका सङ्घर्षलाई मूर्तरूपमा चित्रण गर्नमा लागिपरेको कुरा ‘आरम्भ’ले पुष्टि गरेको छ ।”
भूमिकामा भावकेशर बराल लेख्छन्, “वर्तमानमा त मानिस यान्त्रिक जीवन बाँचिरहेको छ । मानवीय संवेदना तथा सहानुभूति बिस्तारै शुष्क बन्दै गएका छन् । निस्वार्थ सहयोग र सेवाभाव परको कुरा सम्बन्धसमेत स्वार्थले मात्र गाँसिएको देखिन्छ । यस्तो अवस्थामा मातृस्नेहबाट वञ्चित शिशुले हुर्कन कस्तो वातावरण पाउला ? हामी कल्पनासम्म गर्न सक्छौँ । यी र यस्तै परिवेशमा हुर्किएको छिमेकी फुपू राधा दिदीको टुहुरो पुत्र रमेशको बाल्यकालीन सस्मरण ‘हाँस खोई’ निबन्धमा व्यक्त भएको छ । आजभन्दा करिब ४०-५० वर्ष पहिलेको समाज, एकातिर बालबिबाह र अर्कातिर अनमेल विवाह। यसले निम्त्याउने जटिलतम समस्याको पोको रमेशका माध्यमबाट गिरीले निबन्धमा फुकाएका छन् । अतः यी प्रतिनिधि पात्र र घटनाबाट गिरीले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका हुन् । हाँस हराएको र हाँसको खोजी गरेका प्रसङ्ग रोचक छन् ।”
मेरो कुरामा शीतल गिरी उल्लेख गर्छन्, “आरम्भका निबन्धमा सकभर विगतका तीतामीठा अनुभवसहितको शिक्षा वा ज्ञान राख्ने प्रयास मेरो हो । यस्तो महत्त्वपूर्ण तत्त्वलाई आग्रह पूर्वाग्रह राखेर आवेग वा उत्तेजनामा आएर मेटाइदिने, बङ्ग्याइदिने परम्परा बस्न दिनु हुँदैन । नेपाली साहित्यमा जे नहोस् भन्ने सोचिन्छ, त्यही भइदिन्छ- विभिन्न थरीका गुट भएर । न त हामीले साहित्यमा हिमालको हिस्सी समाउन सकेका छौं, न त हिमालवासीको कष्टकर जीवन देखाउन- आज नेपाली साहित्य सस्तो वाहवाही र फेसबुकको लाइकमा रमाएको छ ।”
पुस्तकलाई ओरिएन्टल डेस्कले बजारमा ल्याएको हो । १ सय ६९ पृष्ठमा मौलाएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










