‘पदयात्रा’ अझ पनि नेपालको दूर दराजका विकट गाउँ घरमा बाटोको असुविधाको कारण पैदल हिँड्नु सामान्य भए पनि नेपालमा अचेल पदयात्रा संस्कृति बढ्दो छ । घना सहरबाहिर ग्रामीण क्षेत्रमा गरिने छोटो या लामो पैदल यात्रालाई यो शब्दले जनाउँछ । सहरको व्यस्त दैनिकी र तनावबाट एक दिन भए पनि टाढा रहन तथा प्रकृतिको नजिक पुगेर शरीर र मनलाई तन्दुरुस्त र पुनर्ताजगी बनाउन पदयात्रा जाने गरिएको छ । हाम्रो वरपरको प्रकृति, भूगोल, समाज, संस्कृति र जनजीवन बुझ्ने एउटा उपयुक्त माध्यम पनि हो— पदयात्रा । हाम्रो सहरमा पर्याप्त खुला ठाउँ, बगैँचा, सफा नदी र प्रकृतिमैत्री संरचनाहरू छैनन् । बालबालिका बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर कृत्रिम वातावरणमा हुर्कन बाध्य छन् । यो वातावरणले बालबालिकालाई बिस्तारै प्रकृति र समाजबाट विमुख पनि बनाउँदै लगेको छ । वन, चरा, पुतली, जनावर, सफा पानीका कलकल बग्ने झरना-नदी कोवल मोबाइल, ल्यापटप तथा टेलिभिजनको स्क्रिनमा मात्र हेर्न बाध्य छन् बालबालिका ।

काठमाडौं उपत्यकाको वरिपरि फूलचोकी, शिवपुरी, चाँगुनारायण, तेलकोट, बज्रयोगिनी साँखु, लेले लाँमी डाँडा, रानीवन, मणिचुड दह, चन्द्रागिरी, चिसापानी, फर्पिङ, झोरको झरना, नगरकोट, ककनि, भट्टेडांडा जस्ता अनेकन् ठाउँहरूमा खासगरी सार्वजनिक बिदाको दिन पदयात्रा जानेहरूको भीड पछिल्ला वर्षहरू बढ्दो छ । यही कुरालाई ध्यानमा राखेर पदयात्रा संस्थागत र सामूहिक अभियानको रूपमा देखा परेको छ । नजिकका साथीहरूको समूहमा, पारिवारिक समूहमा अथवा एक्लै पदयात्रा जाँदा बाटामा आइपर्ने सम्भावित चुनौती तथा दुर्घटनाबाट संस्थागत र सामूहिक अभियानमा सहभागी हुँदा जोगिन सकिन्छ किनकि यस्ता अभियानमा अनुभवी पथप्रदर्शकको नेतृत्व र निर्देशनमा यात्रा गरिएको हुन्छ । अनुशासित भएर यात्रा गर्न, स्थानीय संस्कृति, धार्मिक आस्था, जीवनशैली र गाउँलेको सम्मान गर्न बोटबिरुवा नभाँच्न, जङ्गली जनावरलाई नजिस्काउन, जथाभाबी फोहर नफ्याँक्ने जस्ता प्रकृति मैत्री तथा उत्तरदायी क्रियाकलापको पालना गर्न पनि सिकिन्छ ।

जसध्वज गुरुङ, डिल्लीराज अर्याल, जय छाङछा, शीतल गिरी, डा. भक्त राई, प्रवीण पुमा, डिल्लीरमण सुवेदीको पहलमा २०७३ मङ्सिर ३ गतेदेखि हरेक महिनाको पहिलो शुक्रवार (२०८६ ज्येष्ठ ३ गतेदेखि पहिलो शनिवार) लेखकहरूको ‘स्रष्टा पदयात्रा’ अभियान ‘स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’ निरन्तर चलिरहेको छ । प्रकृतिप्रेमी समूह लगायत धेरै संघसंस्थाले काठमाडौं उपत्यका आसपास पदयात्रा सञ्चालन गर्दै आएका छन् ।

यसैगरी स्वास्थ्य र पर्यटनसँग सरोकार राख्ने विभिन्न सङ्घसंस्थाले पनि बेला बेलामा पदयात्रा अभियान चलाइरहेका छन् । अहिले त कतिपय ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले व्यावसायिक रूपमै पदयात्रा (हाइकिङ) प्याकेज चलाउन थालेका छन् । साहित्यमा यथार्थ ल्याउनु पर्छ, यसको लागि लेखक स्वयंले अनुभूति गरेको हुनुपर्छ भन्ने उद्देश्यले ‘स्रष्टा पदयात्रा’ले पदयात्रा आयोजना गर्दै आएको छ । २०७९ कार्तिक ५ गते ६३ औं शृङ्खला कलङ्कीदेखि पुरानो नैकाप हुँदै गोकुलेश्वरपार्क, इन्द्रदह, मनकामना मन्दिर, कालुपाण्डेको समाधि हुँदै दहचोकसम्म पदयात्रा आयोजना गरियो ।

सात जनाबाट सुरु गरिएको यस अभियानमा हालसम्म सयकडौं स्रष्टा सहभागी भइसकेका छन् । २०७६ असार ६ गते ३२औं स्रष्टा पदयात्रा वसन्त रिजाल, डिल्लीराज अर्याल, घनश्याम प्रसाई, शीतल गिरी, नवराज रिजाल र परशुराम पराशर माइक्रोबसबाट चितवनको दासढुङ्गामा ओर्लिएर त्रिसुली नदीको पुलबाट तनहुँ जिल्ला प्रवेश गरी नदीको स्वच्छ हावा फोक्सोमा भर्दै, गाउँ घर हेर्दै, चराको आवाजसँग मन्त्रमुग्ध हुँदै, रङ्गीचङ्गी फूलसँग रमाउँदै पवित्र देवस्थल देवघाट पुगेका थियौं । स्थानीय बालीनालीमा रुचि भएका घनश्याम प्रसाईंको ध्यान स्वाभाविक रूपमा बालीनालीतर्फ जान्थ्यो । स्थानीयहरूसँग समय समयमा बात मार्दै उहाँहरूका अनुभव सुन्न पाइयो ।

असार महिनामा भित्री मधेशमा गरिएको पदयात्रा, पानी नपरेको हुँदा बारीका मकैका बोट पहेँलिएर टाक्सिएका देखिन्थे— वातावरणको प्रभाव हामीमा नपर्ने त कुरै भएन । देवघाट अवलोकनको क्रममा महेश आश्रमका स्वामी महन्तबाट एकरात आश्रममा बसाउने इच्छा व्यक्त गर्नु भएको थियो । हाम्रो आजको वास मौलाकालीकामा हुने जानकारी गराएर उहाँसँग बिदा भएर देवघाट भ्रमण अवलोकन गरेका थियौं । देवघाटमा ठाउँ ठाउँमा फोहर व्यवस्थापन गर्न भाँडो राखिएको थियो, भिडभाड भएर पनि सफा थियो ।

हिन्दु धर्मावलम्बीको महत्त्वपूर्ण धार्मिक स्थल देवघाट अवलोकन गरिएको यो पदयात्रा समग्रमा अविस्मरणीय बन्यो । महिनाको एक पटक गरिने यस प्रकारका पदयात्रामा जाँदा हरेक घण्टा फरक प्राकृतिक र भौगोलिक विशेषता तथा धार्मिक–सांस्कृतिक, ऐतिहासिक स्थलहरू भेट्न सकिन्छ । यात्रा रोमाञ्चक र जानकारीमूलक बन्छ । शारीरिक कसरत र रमाइलो पनि हुने पदयात्रामा नयाँ ठाउँ, वनस्पति, जीवजन्तु र मानिसको जीवनशैलीबारे धेरै कुरा बुझ्न पाइने यो विश्वविद्यालय नै हो । अझ कोरोना कहरको साँघुरो घेरामा थुनिएर बस्न बाध्य हामीलाई पदयात्रा ठुलो उन्मुक्ति लाग्छ ।

हिमाली, पहाडी, भित्री मधेशको भू–दृश्य, प्रकृति, समाज, धार्मिक–सांस्कृतिक स्थल, वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी हेर्ने चाहना एउटै पदयात्रामा पूरा हुँदैन । महिनैपिच्छे नियमित रूपमा नयाँनयाँ ठाउँमा हुने पदयात्रामा सहभागी हुँदा स्रष्टाको यो चाहना पुरा हुन्छ । यसैले स्रष्टा पदयात्रालाई परिमार्जन र व्यवस्थित बनाइएको छ । पदमार्गको विस्तृत विवरण र त्यहाँ यात्रा गर्दा कति समयमा कुन ठाउँमा पुग्न सकिन्छ र खासमा के हेर्न पाइन्छ जस्ता जानकारी पहिला नै स्रष्टा पदयात्रीलाई गराइने हुँदा हिँडाइ उत्साहप्रद हुने गरेको छ ।

महिनाको पहिलो शनिवार गरिने पदयात्राले साहित्य सिर्जनामा विशेष स्थान प्राप्त गरेकोले पनि यसको सार्थकता झन् बढेर गएको छ । स्रष्टा पदयात्रामा पदयात्रा गर्ने प्रत्येक पदयात्रीले फोहरमैला व्यवस्थापन र प्रकृतिमैत्री आचरण अवलम्बनमा विशेष ध्यान दिनै पर्छ । यसबारेमा कर्तव्यबोध र नियम पालनमा पहिलो पदयात्रादेखि नै ख्याल गर्दै आएका छौं । हुन त हाम्रो अभियान ‘स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’ रहेकोले पनि समय अनुसार सुधार गर्दै व्यापकता र निरन्तरता सबैको सहयोग चाहेका छौं । प्रत्येक साहित्यकारले देशको प्रकृति, भूगोल, समाज, संस्कृति र जनजीविका बुझ्न र त्यसै अनुसारका संरक्षण र विकासमा सहयोग पुग्ने सिर्जना गर्न पहिला डुल्नै पर्छ । त्यसैले प्रत्येक स्रष्टालाई पदयात्रामा सहभागी हुन पहल गरेकाछौं । साहित्य सिर्जनामा रमाएका हामीले अनेकौं पदयात्रा सँगसँगै गरिसकेका छौं । एकअर्कामा घनिष्ठता हुनु भनेकै पदयात्राको पहिलो खुशी हो । घनिष्ठतामा स्रष्टा पदयात्रा गाँसिएपछि रोमाञ्चकतामा अभिवृद्धि नहुने कुरै भएन ।

यही रोमाञ्चकतामा मौलाकालीका जान भनेर त्रिशूलीको झोलुङ्गे पुल तर्दै थियौं हामी । यस पटकको पदयात्रा थियो— दासढुङ्गा–देवघाट अनि गैडाकोट–मौलाकालीका । झोलुङ्गे पुलमा भेटिए मनकारी रिता भट्टराई (बराल)— हो नयाँ वानेश्वरमा देउराली इन्जिनियरिङ कन्सल्टेन्सी चलाउनु हुने उनैले आफ्नो गाडीबाट हामीलाई नारायणी नदीको पुलसम्म पुगाएर गुण लगाइन् ।

ट्याम्पु चढेर हामी मौलाकालीका जाने पदमार्गसम्म गयौं— त्यहाँबाट २५०० मिटरको उचाइमा रहेको मन्दिर पुग्न १८८२ वटा खुड्किला हिड्नुपर्थ्यो । पदयात्रामा निस्किएका हामी मुस्कुराउँदै पिठ्यूँमा झोला बोकेर हिँड्न थाल्यौं ।

भित्री मधेशको चुरेमा रहेको खुड्किलो बाटोमा स्वतन्त्र रूपमा उकालो उक्लिनुको मजा नै बेग्लै थियो ।

ठाउँ ठाउँमा चौतारो, घुम्ती, पिउने पानीको व्यवस्था, साँझ पखको घामको अन्तिम तेज, चराको चिरबिर, घर फर्कदैं गरेका भक्तजन, जता हेरे पनि शालका रुख ।

पन्ध्रसय खुड्किलमा पछि सुरु हुँदो रहेछ ठाडो उकालो— उकालोको मुखै नजिक भेटिन्छ लहरै होटल–पसल ।

घना जङ्गलभित्र खुड्किलोमा हिँड्नुपर्ने उकालो, तेस्रो पनि करिब ३०० खुड्किलो हिँडेपछि भेटियो पानीको छेलोखेलो । म अगाडि थिए एक्लै, एक नजर लाउँदै अगाडी बढे । करिब २०० खुड्किलो पर गएर साथीहरूको बाटो पर्खिन थाले । चिसो ठाउँबाट आएका पदयात्रीले चुरे भावरको शालीन असार महिनामा हुप्प तातेको हुँदा शरीर चिस्याउन थालेछन् । वन बीच एक्लै ढुङ्गामा एक घण्टा करिब बस्नु पर्यो— यो के चमत्कार भयो यस्तो ? मेरो सम्पूर्ण शक्ति त एक घण्टाको बसाईमा त्यहीको तातो ढुङ्गामा पग्लिएर गएछ ।

आधाआधी जेनतेन कटेपछि एउटा फलामे बेन्चमा लमतन्न परेर पल्टिँदा त आजको रात यही बिताउन मन लाग्यो । मेरो यो प्रस्ताव पदयात्री मित्रहरूले मानेनन् । मानुन् पनि कसरी ? बाक्लो शालघारीमा रात बीताउन— जङ्गल भनेको हिंस्रक जनावरको बास स्थान । भोक पनि लाग्यो तर जङ्गलमा होटेल कहाँ पाउनु र के खानु । अचम्म त यहाँनिर छ, बाटो अप्ठेरो पनि होइन, लामो पनि होइन, तर गलिएको छ— म मात्रै कहाँ हो र यात्राको जेठो सदस्य डिल्लीराज अर्याल त म भन्दा बेसी लल्याकलुलुक पर्नु भयो । सहभागी साथीहरूले हाम्रा झोला बोक्नु भयो— उत्साह भर्दै हामीलाई साथ साथै उकाल्नु भयो ।

ठाडो उकालो उक्लिनु पर्ने ठाउँनेर गोडा चार पाँचवटा व्यवस्थित होटेल भेटियो र हामी त्यहीको कुर्सीमा सुस्ताउँदै अर्डर गरेको खानेकुरा आएपछि खान थाल्यौं । निकै गलेको बेलामा विश्राम गर्ने ठाउँ, भोक लागेको बेलामा पाएको भोजन— हो यात्रामा यही त मजा छ । झमक्क साँझ परेको छ, अव ठाडो उकालो उक्लिनु छ, अनि आपसमा संवाद घोल्दै, रसिलो बनाउँदै ६ भाइ उक्लिदै छौं ।

घाम पश्चिमतिर हराएको पनि धेरै समय भइसक्यो । अन्तिम खुड्किलो उक्लिएर मौलाकामालि मन्दिर परिसरमा प्रवेश गरेर त्यहाँको मन्दिर व्यवस्थापन समितिलाई भेट्यौं । मन्दिरको आतिथ्य स्वीकार गरियो, कुराकानीको क्रममा मन्दिरको इतिहास साथै मन्दिर निर्माणबारे जानकारी सञ्चालक समितिबाट पाइयो । पाल्पाली राजा मणीमुकुन्दसेन पाल्पाबाट देवघाट आउने जाने समयमा यही स्थानमा रात्रीवास बस्दा रहेछन् । सामरिक महत्त्वको यस स्थानमा सेना राखेका रहेछन्, जहाँ सेना हुन्छ त्यहाँ मौला हुन्छ नै— स्वाभाविकै हो मौलाकालीकाको इतिहास मुकुन्द सेनसँग जोडिएको रहेछ ।

विराट प्रतिभाका धनी गोविन्दराज विनोदीजीले स्रष्टा पदयात्रीबारे पूर्व जानकारी मौलाकालीका मन्दिर व्यवस्थापन पक्ष समक्ष गराएर सहयोग गर्नु भएको हुँदा पनि हामीले विशेष स्वागत सत्कार पायौं । परिचयात्मक संवादपछि हामीलाई त्यहाँ घुमाउने, देखाउने र बताउने काम भयो— २०० जना पाहुनालाई एकसाथ खान बस्न व्यवस्था गर्न सक्षम रहेको पाउँदा असल मान्छे नेतृत्वमा पुग्दा गर्न सकिन्छ भन्ने राम्रो उदाहरण बन्न पुगेको छ । हामी पुगेको रात निकै गर्मी थियो । ठुलो कोठामा एउटा पङ्खा खासै धर्म निभाउन सकेको थिएन, थाकेर लोथ भएका हाम्रो आँखा निद्राले लट्ठ भए पनि निदाउन सकिएको थिएन तै प्रकृतिको माया दर्केर झरी पर्यो, वातावरण शीतल बन्नासाथ म भुसुक्क निदाए भोलीपल्ट बिहान मात्र बिउँझे ।

हामी ६ जना स्रष्टा पदयात्री ७ गते बिहान फ्रेस भएर मौलाकालीका मन्दिर दर्शन पश्चात् मन्दिरका पदाधिकारीका साथमा चिया खाएर बिदाबारी भएर हिजो उक्लेको बाटो आज ओर्लिन थाल्यौं । रातभरको वर्षातले होला, मुस्कुराएको खुलेको बिहानी थियो, मौलाकालीका मन्दिर परिसरबाट जता हेरे पनि आकाशले धरतीसँग माया लाउँदै गरेको देखिन्थ्यो । हिजो साँझ चिया खाजा खाएकै पसलमा बिहानको चिया र तात्तातो चना खान पाएका थियौं । आज हामी ओरालो ओर्लंदै थियौं मन्दिरमा दर्शक गर्न आउने भक्तहरूका ताती उक्लँदै थिए, आज ओर्लंदा अलि ध्यान दिनु पर्ने भएको थियो— ढुङ्गे सिँढीमा कतै कतै चिप्लन खोज्थ्यो ।

हामी एउटा मन्दिर पुगे पनि अर्को मन्दिर पुग्न बाँकी नै भएकोले ओरालो ओर्लिए पछि ट्याम्पोमा चढेर गैँडाकोट गयौं । मान्नुहोस्, गैँडाकोटको मन्दिरमा हामीले जिउँदो भगवान् भेट्टायौं— विराट प्रतिभाका धनी गोविन्दराज विनोदी । यहाँसम्म आइसकेपछि विनोदीजीलाई नभेटेर भयो त । अहिले झन् पेटको शल्यक्रिया गराएर घरमा आराम गर्दै रहनु भएको थियो । उहाँको पुस्तकालय कक्षमा हामीले पदयात्राको क्रममा गर्दै आएको कविगोष्ठि गर्न भ्यायौं । पानी पर्न रोकिएपछि उहाँलाई शीघ्र स्वस्थ लाभको कामना गर्दै बिदाबारी भयौं । पानी रोकिएकै थिएन, घरायसी कामले पाल्पा पुग्नुपर्ने पाल्पाली स्रष्टा पदयात्री डिल्लरिाज अर्याललाई विजय चोकमा ओरालेर हामी पाँच भाइ नारायणघाट पुलचोकमा पुग्यौं ।

नारायणघाट चोकमा काठमाडौं जाने बस भेटिएकोले चढियो— यो लोकल बस पर्न गयो— बसको गति र बसका सहयोगीको यात्रुसँगको व्यवहारको वर्णन गर्ने कुनै शब्द सामर्थ्य मसँग छैन । ३२औं पदयात्राको अनुभव अनुकूल समयमा शब्दमा उतार्ने अठोट गर्दै हामी साँझसम्ममा घरघरमा पुगेका थियौं ।