तेङ्बोचेको उकालो काट्न ज्यान खाएको थियो हिजो राति । थाकेर पनि निदाउनै सकिएन । तर बिहान हुनै लाग्दा बल्ल निदाइएछ । सपना पनि कस्तो भने हिँड्न नसकेर म लुक्ला फर्किंदै गरेको रे । झल्याँस्स बिउँझिँदा झन् झल्याँस्स भएँ । किनभने मैले आज यौटा ठूलो सौन्दर्य देख्ने सौभाग्य अनायासै गुमाएको थिएँ ।

हतपत झ्याल खोलेर हेर्दा झलमल्ल घाम लागिसकेको रहेछ । हिमालले हाँसेर मलाई ‘तँ अल्छे सुतुवा सुतिराख’ भने जस्तो लाग्यो । कलिलो घामले हिमाललाई सुनबाट चाँदी रङमा बदलिसकेको थियो । मैले सुन रङको हिमाली शिर हेर्नै पाइनँ । यात्रामा निस्केको मान्छे मैले यसरी सुतिरहनु नै उचित थिएन । हुन त मेरो सुतुवा बानी होइन । आजै कसरी यस्तो भयो ? आजैको रात कसरी व्यर्थको सपनाले भुल्याएर निद्रामै सुताइराख्यो ।

यही अपसगुनको सपना देख्नाले बिहानको हिमाल देख्नै पाइएन । कस्तो अफसोस भने सगरमाथा र आमादब्लमको शिरमा सुन जस्तै कलिलो घामको स्पर्श–सौन्दर्यको आभा देख्नबाट वञ्चित रहनुपर्यो । आकाश पनि एकदमै सफा भएर खुलेको थियो । नीलो आकाशमुनि सेता हिमशृङ्खला र त्यसभन्दा तल हरिया पहाड ।

‘भोलि बिहानै तपाईं सुतेको कोठाको झ्यालबाटै सगरमाथा र आमादब्लमको दर्शन गर्न पाउनुहुने छ है नेपाली सर । बरु चाँडै उठेर बस्नुहोला नि ।’ एकजना नेपालीले मलाई यति जानकारी गराएका थिए । विदेशीहरूको भीडमा म एक्लो नेपाली भएकोले उनले मलाई नेपाली सर भन्थे । हिजो राति तिनी र तिनको टोलीसँग चिम्नीमा तातो ताप्दै निकैबेर धेरै कुराकानी गरिएको थियो ।

‘भोलि बिहान त हिमाललाई राम्रैसँग देख्न पाइएला कि ?’ ओछ्यानमा सुत्ने तरखरतिर लाग्दै गर्दा मैले सोधेको थिएँ । हुन त उनले ‘भुसुक्कै निदाउनुहोला र हिमाल अर्कै भइसक्दा बिउँझेर काम छैन ।’ भनेका थिए ।

नभन्दै ती हिमाललाई आफू सुतिरहेकै ओछ्यानबाट आँखाकै सामु छर्लङ्गै देख्न पाइयो । तर ढिला गरी बिउँझिएकोले सुनले लेपन हिमचुलीका मनोरम पल दुख्ने अवसर गुमाउनुपर्यो । सुनौला घामका किरणहरूले चिसा हिमाललाई चुमेको दुर्लभ दृश्य देख्न नपाएकोमा मलाई साह्रै नमज्जा लाग्यो । मैले ठूलो पछुतो मानेँ । अब त्यस्तो अवसर पाउन भोलि बिहान पर्खिनुपर्छ । तर बिहानको मौसम आजको जस्तो खुल्ला नहुन पनि सक्ला ! त्यसैले ‘मौका आउँछ, पर्खिंदैन रहेछ ।’

‘तेङ्बोचेमा बास बस्न आइपुग्न हिजो कम्ती कठिन भएन । आज यति सुन्दर दृश्य देख्न पाइने रहेछ ।’ हिजोका चिनारु मित्र आज जम्काभेट हुँदा मैले भनेँ ।

‘अनि ओछ्यानबाटै हिमाल देख्नु भयो नि ? सन राइज त गजबकै देख्न पाइन्छ । हिजो उकालो आउँदा बाटामा केही देख्नुभयो कि ?’ उनले यति भन्नु के थियो । मलाई ‘सन राइज’को कुराले त्यो देख्न नपाएकोमा फेरि दिक्क लाग्यो ।

‘चराहरू धेरै देखियो । तर चिनेको चाहिँ डाँफे चरा मात्र हो । डाँफे देखेर दङ्गै परियो । फेरि डाँफेले फोटो खिच्न पोज दिएको कस्तो नि ।’ यति मात्रै मैले एकै सासमा भनेँ ।

‘मानिसले केही गर्न मिल्दैन पशुपक्षीहरूलाई । त्यही भएर मान्छेसँग डराएर भाग्दैनन् उनीहरू । हामीले पनि तिनीहरूलाई केही गर्नु हुँदैन ।’ उनले जानकारी दिँदै ‘राम्रोसँग यात्राको मज्जा लिनुहोला’ भन्दै उनी गए ।

हिजो क्याङ्जुमा, सनासा र लैसासाबाट देखिएको तेङ्बोचे यही थियो । हिजो बेलुका जर्मन पर्यटक लिएर आएका पदप्रदर्शकले भनेका थिए, ‘हाम्रो देशको भूगोल सानो भए तापनि नेपालको जस्तो हाई अल्टिच्युड ट्रेक संसारका अन्य देशमा कमै छन्  त्यही भएर विदेशीहरू नेपाल घुम्न औधी रमाउँछन् ।’

अनि उनको समूहका एकजना विदेशीले आफ्नो सही अनुभव सुनाउँदै भनेका थिए, ‘हाम्रा लागि नेपाल स्वर्ग हो । हामी नेपाल आउन पाउँदा आफूलाई साह्रै भाग्यमानी ठान्छौँ । नेपाली पर्यटकहरू साना र छोटा ट्रेक गर्न रुचाउँछन् । तर हामीले उच्च हिमाली क्षेत्रमा लामो पदयात्रा गर्न रुचाउँछौँ । किनभने हामीलाई सरकारले नै लामो बिदाको सुविधा दिएको हुन्छ ।’

वास्तवमा नेपाल घुम्न आउनेहरूमध्ये प्रायः पर्यटकहरू एक पटकको यात्राले नपुगेर दोहोर्याएर आउँदा रहेछन् । यसरी आउँदा उनीहरूले आफूले गर्ने पदयात्रा मार्गको हावापानी, प्रकृति, बसोबास, तापक्रम, उचाइ, खानपानको व्यवस्था र मूल्यसमेत बुझेर आउँछन् । यसो गर्दा बोक्नुपर्ने सामान र खर्चको अनुमानित बजेट तयार गर्न पनि सजिलो हुने उनीहरूको अनुभव सुन्न पाइयो ।

गाइडले भनेका थिए– ‘मैले काम सुरु गर्दा हिमाली क्षेत्र ट्रेकिङका लागि मात्र सीमित थियो, अहिले पर्यटनका अनेक क्षेत्रका सम्भावनाहरू भित्रिएका छन् । यसले पर्यटन क्षेत्रलाई विकसित र विस्तारित गराएको छ ।’

नाम्चेबजारबाट तेङ्बोचे ५ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । नाम्चेबाट ११ किलोमिटरको दूरीमा रहेको तेङ्बोचे ३८६० मिटरको उचाइमा अवस्थित छ । तेङ्बोचेबाट सगरमाथासहित आमादब्लम, ल्होत्से, नुप्त्से र अरू हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । खुम्बु क्षेत्रको सबैभन्दा ठूलो ‘तेङ्बोचे गुम्बा’को कारण पनि यो ठाउँ निकै प्रख्यात छ । यही प्राचीन र कलात्मक गुम्बा पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने गरेको छ । त्यसैले कतिपय पर्यटकहरू गुम्बाको अवलोकन गर्न र यहाँसम्म हिमाल हेर्न आउँदा रहेछन् ।

तेङ्बोचेबाट बिहानीपखको सूर्योदय हेर्न पाउनु निकै दुर्लभ मानिन्छ । सूर्योदयसँगै हिमाली टाकुराहरूमा सुनको जलपले सिँगारिएको दृश्य कम मनमोहक हुँदैन । परन्तु यस्तो बिछट्टको मन छुने दृश्य देख्नबाट आफू वञ्चित भएकोमा मलाई साह्रै नमज्जाको पश्चात्ताप भइरहेको थियो । चिसो बिहान तेङ्बोचे परिसरको एकसरो घुमाइ प्रातःकालीन परिभ्रमण पनि भयो ।

यो परिभ्रमणमा पृथक् स्वर, सौन्दर्य र समाजको साक्षात्कार गर्ने मौका पनि मिल्यो । गुम्बाबाट परम्परागत बाजामा ‘ॐ मणि पद्मे हुँ’ मिश्रित शब्दोच्चारणको मिठास कानमा प्रतिध्वनित हुन आउँथ्यो । त्यो श्रुतिमधुर ध्वनितरङ्गले प्रदान गर्ने आनन्द, शान्तिमय अनुभूतिको आध्यात्मिक यात्रातिर प्रस्थानको प्रारम्भ पनि थियो । मनलाई शान्त र शीतल पार्ने यही गुञ्जनमा सत्य सङ्कल्पको मन्त्र पनि मिसिएको थियो ।

‘ॐ मणि पद्मे हुँ’ र अरू धेरै अक्षर कपेर बनाइएका लाम्चा ढुङ्गाहरू पर्खालकै रूपमा निर्मित थिए । अनि त्यहीँ नजिकै बौद्ध स्तुपा र त्यहाँ चढाइएका रङ्गीचङ्गी ध्वजापताका फरफराएका आवाजले अर्कै किसिमको भाव सम्प्रेषण गर्थ्यो । बाटो हिँड्नेहरूको आवतजावत पनि त्यत्तिकै । बस्ने, बिसाउने, हेर्ने, रमाउने र आनन्दले विभोर हुनेहरू कति–कति ! स्थानीय भक्तजनहरू माने घुमाउँदै, चैत्य घुम्दै, माला जप्दै अलग्ग संसारमा रमाइरहेका भेटिन्थे ।

साँच्चै पर्यटकहरूका लागि विश्रामको गतिलो गन्तव्य रहेछ तेङ्बोचे । जहाँको अवलोकन मात्रै पनि प्रत्येक यात्रीलाई सुखद अनुभूतिको हुने । यसै ठाउँबाट सुरु हुँदो रहेछ हिमालय सौन्दर्यका असीमित दृश्यका शृङ्खलाहरू । देखिन थाल्ने रहेछ हिमालहरू नजिकै आँखामा । भेटिन थालिने रहेछ हिमाली पठारका भूमिहरू पाइलामा । हिँडेर हिँड्नुसम्मको सुखको पल यहाँबाटै प्रारम्भ हुने रहेछ । हेर्न आएका दृश्यहरू । मन रमाउन पाएका क्षणहरू ।

लुक्लाबाट वनजङ्गल, खोलाखहरे, गाउँघर, झोलुङ्गेपुल, उकाली र ओह्रालीपछि हिमाली क्षेत्रको महसुस बल्ल तेङ्बोचेमा पुगेपछि हुने रहेछ । जहाँबाट यात्राले ३८६० मिटरमाथिको आकर्षक मोडहरूतिर गति लिन थाल्ने रहेछ । आँखै अगाडि जस्तो लाग्ने तर निकै पर देखिने हिमाली सुन्दरताका मुस्कानले पदमार्गीलाई दिनुसम्मको आनन्द प्रदान गर्दा पैदल यात्रीका पाइला रोकिनु, टोलाउनु र फेरि अर्को दृश्य हेर्ने लोभमा छिटो–छिटो पाइला चाल्न थाल्नु स्वाभाविक हुने रहेछ । यसले गर्दा कठिन बाटो पनि सहजै लाग्ने । धेरै दिनको यात्रा पनि छिटो नै हुने ।

तेङ्बोचेको बिहानी दृश्य–दर्शन रमाइलो भयो । एउटै कुरा छुटेकोमा पछुतोले बारम्बार हैरान पारिरह्यो । तथापि सगरमाथा शृङ्खला र आमादब्लमका प्राकृतिक सुन्दरताले पदयात्राको अभीष्टलाई अघाउँजी पारे । तेङ्बोचेको बिहान साह्रै सुन्दर, साह्रै सुमधुर रह्यो । सम्झनाहरूमा सदा आइरहने गरी बसिरह्यो मनमा तेङ्बोचे । बटुलबाटुल खजानाहरू, टिपनटापन जानकारीहरूका मिठा कोसेली बोकेर म बाटो लागेँ । तेङ्बोचेलाई छोडेर अर्को गन्तव्यका लागि बिस्तारै ओह्रालोतिर मेरा पाइला लम्किन थाले ।