
दिनभरि निकै नै पैदल हिँडेर थकाइ मार्न बसेको त्यो क्याफे प्रकारको सानो रेस्टुराँ थियो। हामी नोर्डिक मुलुकतिर बस्नेलाई चैँ त्यो पनि अचम्म लाग्ने कि बियर, व्हिस्की, कफी, केक, स्न्याक्स जहाँ पसे पनि किन्न पाइने, अर्डर गरेर खान पाइने। फिन्ल्याण्ड र स्विडेनमा भने मदिराजन्य वस्तुको बिक्री वितरण राज्य नियन्त्रित छ र कडा निगरानी गरिएको हुन्छ। त्यो सानो रेस्टुराँमा त्यति अबेर पनि मानिसहरु कडा कफी, एस्प्रेसो र केक, बर्गर खाइरहेको भेटिन्थ्यो जुन फेरि हामीलाई अनौठो लाग्थ्यो। किनकि हामी बसेको मुलुकतिर बेलुका ग्राहकहरु मुख्य त ड्रिन्क्स गर्न वा डिनर खानको लागि नै रेस्टुराँ अथवा बारमा छिर्ने गर्छन् र चिया कफी पिउने बिरलै हुन्छन्। निजा र मेरो गफका लागि जे पनि खुराकी नै बन्यो।
हामीले स्थानीय ब्राण्डको चिसो बिएर एक एक वटा मगायौँ र चुस्की लाउँदै गफतिर रमाउन थाल्यौँ। चिनजान भएको झन्डै २४ घण्टा मात्रै भएको थियो तैपनि हामी निकै आत्मियताका साथ कुरा गर्ने भैसकेका थियौँ मानौँ हामी निकै पुरानो दौँतरी हौँ। हामीलाई त्यहाँ थप रमाइलो किन पनि लागिरहेथ्यो भने त्यहाँ छिर्ने प्रत्येक ग्राहकहरुले एक अर्कालाई सम्बोधन गर्ने बानी रहेछ । भित्र छिर्ने सबैले हामीलाई मुस्कुराउँदै “ओला” भन्थे। यो प्रचलन पनि नोर्डिकमा बसोबास गर्ने हामीलाई नौलो र प्रशंसनीय लाग्याे । किनकि हाम्रो ठाउँका मानिसहरू अलि सङ्कुचित छन्, हत्तपत्त नचिनेका सँग बोल्दैनन्।
धेरै पछि मज्जाको गर्मी अनुभव गरेर बियर पिउँदा हामी दुबैलाई आनन्द लागेको थियो । साथै हाम्रो गफ पनि धाराप्रवाहित थियो। हाराहारी दुई बीस जीवनको सुख दु:ख, उतार चढाव, सङ्घर्ष, उपलब्धि लगभग मिल्दाजुल्दा थिए । त्यसैले हरेक कुरा एक अर्काका लागि झन्झट लाग्दैनथ्यो। मेरा छोराछोरीहरु कलेज पढ्ने भैसकेको थाहा पाएकी उनले मेरो विवाहको प्रसङ्ग निकालिन्। मैले आफूले मागी विवाह गरेको र आफन्तले देखाउन लगेकी केटीसँग जम्मा ५ मिनेट जति कुरा गरेर विवाहको निश्चित गरेको बताएँ। अझ मेरो आफ्नै परिवारका अन्य सदस्यहरु त सिधै अन्मिएर गएर विवाह सम्पन्न भएको समेत बताइदिएँ। उनले ध्यानपूर्वक चाख लिएर सुनिन् तर यतै मुलुकका रैथानेहरु जस्तै अचम्भित भने भइनन् । किनकी उनको बा आमाको नि त्यसैगरी विवाह भएको रहेछ र उनको देश ईरानमा अझै यो चलन पाइन्छ रे।
उनको प्रेम सम्बन्धबारे नि प्रसङ्ग कोट्याएँ, उनले कुनै धक नमानी आफ्नो स्मृतिका पानाहरु पाठ पढेझैँ खुल्न थालिन्। ईरानमा उच्च शिक्षाकाे लागि नजाउञ्जेलसम्म केटा र केटीको विद्यालय छुट्टै हुन्थ्यो रे एकैचोटी ११ कक्षामा केटाहरु भेटेको रे। उच्च शिक्षामा जानासाथ एक जना केटाले प्रेम प्रस्ताव राख्न खोजेको तर ढङ्ग नजानेको रमाइलो अनुभव सुनाइन। पछि ईरान छोडेर थप अध्ययनका लागि कोरिया बस्दा, अनुसन्धानकर्ताको रुपमा नर्वै आउँदा सम्मको प्रेमकथाहरु बेलिबिस्तार सुनाइन्। बियर सकिन्थ्यो अर्को मगाउँथ्यौँ, हामीलाई त्यहाँकाे बियरको मूल्य देखेर अरु केही सोच्नै नपर्ने पारेको थियो । किनकि हामी बस्ने मुलुकमा सामान्य बारमा बसेर डराई डराई एउटा बिएर पिउने पैसाले त्यहाँ कोजी रेस्टुराँमा ३ टा आउँथ्याे।
मेरो विवाह सानै उमेरमा भएकोले होला उनले मेरा प्रेम प्रसङ्ग बारे धरै जिज्ञासा राखिनन्। यद्यपि मसँग पनि धेरै बर्ष विभिन्न देशमा बस्दा भएका रमाइला प्रसङ्ग नभएका होइनन्। प्रेम नै त हैन तर त्यस्तो माहोलमा सुनाउने खाले घटना चैँ धेरै छन्। जाम्बियाको विश्वविद्यालयमा अध्ययन भ्रमणमा लामो समय बस्दा “लुशोमो”ले मलाई प्रेमीको रुपमा उसका साथीहरु बिच परिचय गराएको घटना, डेनमार्कमा पढ्दा “कार्ला” नामकी एउटी केटीको कोठाबाट मध्य राती भाग्न बाध्य भएको घटनाहरु दिमागमा आइसकेका थिए तर उनैको धारावाहिक बिगतमै रमायौँ । नाइट क्लब जीवनमा एक पटक गएको त्यो पनि स्विडेनको उपशालामा तालिममा जाँदा एउटै अपार्ट्मेन्टमा बस्ने स्विडिश केटीले अनुभव गराउन लगेको प्रसङ्ग चैँ भनेरै छोडेँ। उनको पनि नाइट क्लबको अनुभव मेरो जस्तै एक चोटिको रहेछ। त्यहाँ भित्रको हल्ला, नाचगानको माहोल दुबैलाइ मन नपर्ने भएकोले त्यसपछि दोहोर्याएर गएका रहेनछौँ।
एकोहोरो प्रकारको कुराले एक अर्कामा बोर होला कि भनेर प्रसङ्ग बदल्थ्यौँ । नेपाल भ्रमणबारे सोधिन्, मैले बर्षको एक पटक जाने गरेको भनेपछि उनी अलि खिन्न मान्दै आफू १८ बर्षको उमेरमा ईरान छोडेर हिँडे पछि देश नफर्केको, अब फर्क्याे भने कि जेल जीवन कि मृत्युदण्ड हुनसक्ने बताइन्।
अब नेपालबारे धेरै कुरा निकाल्नुहुन्न भनी आफैलाई सम्झाएँ। किनकि कुनै कुराले अरुलाई अप्रत्यक्ष रूपमा दुखाउन सक्छ भने रमाइलाे नै भए पनि त्यस्ता प्रसङ्ग उठाउनु हुँदैन। उनको कुरा सुनेर आफूलाई भने एक हिसाबले भाग्यमानी सम्झिएँ । कमसेकम मन लाग्नासाथ टिकट काटेर आफ्नो जन्मभुमी फर्कन सकिन्छ, आफन्ती अनि बालसखाहरुसँग भेट्न सकिन्छ। निजा प्रति औधी दया लाग्यो, आफ्नो बा, आमा, दिदी, आफन्तसँग नभेटेको १८ बर्ष भएछ। फिन्ल्याण्डमा रहेका मेरा अन्य मित्रहरुको जस्तै निजाको पनि आशा रहेछ कि एकदिन उनको देशमा नि प्रजातन्त्र आउँछ र परिवार, आफन्तसँग पुनर्मिलन हुन्छ भनेर।
उनी विदेशमा रहेर ईरानको लागि कस्तो राज्य संयन्त्र ठीक हुन्छ भन्ने विषयमा समुहमा राय सल्लाह दिने गर्दिरहिछन् । त्यस्ता व्यक्तिहरु राज्यको नजरमा, टिपोटमा हुने गरेको र विमानस्थलबाटै पक्राउ गर्ने रहेछन्। उनी बोल्दै गर्दा करिब ३ महिना अघीकि “अमिनी माशा” मानसपटलमा झल्कियो जसको ईरानी प्रहरिले नियन्त्रणमा लिएको ३ दिनमा मृत्यु भएको थियो । वास्तवमा निजा संसारको सबै धर्म, जात, संस्कृति , रीतिरिवाजमा रमाउन सक्ने, गरीब धनी सबै मुलुकका आम महिलासँग फिट हुन सक्ने प्रतिनिधि नागरिक थिइन् । मैले निजालाई “अमिनि” को रुपमा दाँजेर टोलाएछु, उनकाे ”वन मोर बिएर”ले तर्छिएँ ।
उनले आफ्नो जीवनका बिगतलाई खुलेर भनिरहँदा मैले हरेक मानिसमा बाहिरी देखिने पाटो र भित्री यथार्तता कति फरक हुन्छ है भनेँ । किन र कसरी सोधिन्। मैले उनकै उदाहरण दिएर, “हेर त निजा तिमी स्विडेनको नाम चलेको विश्वविद्यालयमा रोजगारिकै रुपमा विद्यावारिधि गर्दैछौ, तिम्रा कति धेरै अनुसन्धानपत्रहरु प्रकाशित भैसकेका छन्, तिमी प्रयोगशालामा बसेर आफ्नो नमुनाको परिक्षण गर्दा होस् वा विभिन्न गोष्टिहरुमा कार्यपत्र प्रस्तुत गर्दा होस् मानिसहरुका नजरमा कति पूर्ण लाग्छ होला तर आज यो अनकुन्टार गाँउमा आफूलाई कसरी रित्तो महसुस गर्दैछौ ?” भनेँ।
मेरा वाणीलाई उनले झन ऊर्जाका रुपमा लिइन् र अझै खुल्दै जान थालिन ।
कहिलेकाहीँ प्रसङ्गलाई अनर्थ लाउने खाले परे भने यस्तो बेला झगडा पनि पर्छ। ३ बर्ष अघि खप्तड निकुन्ज घुम्न जाँदा धेरै ठाउँबाट जम्मा भएका आगन्तुक सँगै बसेर रातभरी खाईपिई गरिरहेका थियौँ, नाचगान खुबै रमाइलो भैराथ्यो। एक जनाले “ए पेन ड्राइभ ! ल तिमी छोड नयाँलाई गाउन देऊ” भन्यो। त्यसपछि त्यहाँको माहोल ठुलो झगडामा परिणत भयो। पछि थाहा भयो जहाँ गएपनि एउटै गीत गाइरहने हुनाले उसलाई पेन ड्राइभ भन्ने गरेका रहेछन् । त्यही कुरा अरु अपरिचितका अगाडि कोट्याइएकोले उसलाई असह्यै भएछ र फलस्वरुप पुरै माहोल नै भड्किएको थियो। निजासँगको मेरो यो साँझ पनि “खप्तड बाबा होटल एन्ड शान्ती लज” सरह थियो । हामी दुबै एक ठाउँमा अपरिचितसँग खानपिनमा रात बिताउँदै थियौँ।
पढाइ र दैनिकी बाहेकका आफ्नो रुचीको कुरा निस्क्यो । उनको नियमित दौडने बाहेक चित्रकला रुचि रहेछ, कति राम्रो कला झल्काउँदि रहिछन् आर्ट पेन्टिङमा। आफ्नो रुचिलाई व्यवसायिक बनाएकी रहिछन् “इन्स्टाग्राम”मार्फत, जहाँ उनका सबै सिर्जना बिक्रीका लागि राख्ने गरेकी रहिछन्। उनको यो बहुप्रतिभा देखेर फेरि नतमस्तक भएँ, उच्च शिक्षाको सुरु देखि नै विज्ञान र त्यसमा पनि रासायनिक विधामा अध्ययन गरेकी उनले कसरी चित्रकला मार्फत आफ्नो गुम्सिएका भावना उजागर गर्न सिकेकी। बिहान दौडन जानु अघि व्यायाम गर्दी रहिछन्, व्यायामकाे तरिका चैँ योगा र सूर्य नमस्कारकै स्टेप रहेछ यद्यपि उनले सूर्य नमस्कारबारे चैँ बुझेकी रहिनछन्। यस्तो खाले व्यायाम र नियमित दौडले महिलाहरुमा हुने महिनावारीलाई नियमित र नदुख्ने बनाउने बताइन्। आफूलाई फेरि खिन्न महसुस भयो किनकि मसँग त्यस्तो सिर्जना, सिप, दक्षता केही छैन यद्यपि धेरै बिधा, इलमतिर छुस्स छुस्स हात चैँ हालेको छु तर यही नै मेरो रुचि हो वा मेरो दक्षता भन्ने चैँ केही छैन।
कोसिस त मैले पनि मुरली, गीतार, मादल बजाउन देखि लिएर, फोटोग्राफी, स्केटिङ, स्कीइङ सबै गरेको हो तर यी सबै मेरा लागि फापेनन्। मैले यस्तो बताउँदै गर्दा उनले भने ममा नि प्रतिभा भएको तर मैले उजागर गर्न नसकेको औंल्याइन्। “नो श्रवण – यू हाइभ, जस्ट एक्स्प्लोर आइन्ड एक्स्पोज”। उनी अझै एक कदम अगाडि बढ्दै मेरो तारिफ गर्न थालिन्। तँ भित्र त्यस्तो खाले तागत छ र न म मेरो जीवनका सबै पानाहरु बिस्कुन लाउँदैछु र आफूलाई रित्याउन चाहन्छु। साँच्चै नै उनी यसरी खुल्दै थिइन्, म नतमस्तक सुन्दै थिएँ जसरी एक महिना पछि सुरु हुने स्वस्थानी पूजामा उनी “कुमार जि” हुन् , म पुष्पान्जली लिएको श्रोता।
हाम्रो बढ्दै गएको आत्मियताको उत्प्रेरक चिसो बिएर थियो। म जनसङ्ख्या अध्ययन गर्दै गर्दा विभिन्न परियोजनामा काम गरेको अनुभव, आफ्नै सोधपत्र अनि प्रजनन स्वास्थ्यमा रुचि भएकोले निजा जस्ता पात्र फेला पर्दा जवानी, यौन जीवनबारे नि खुलेर कुरा गर्न मन लाग्छ। तर उनी मुसलमानमूलकी भएकोले मलाई कसरी उप्काउने होला भैरहेको थियो। उनले आफ्नो साथीसँगको पहिलो सम्बन्धबारे निर्धक्क बोल्न थालिन्। हाम्रो संवाद कहिले कारुणिक हुन्थ्यो त कहिले फेरि रोमाञ्चक – “श्रवण ! आइ नो हाउ टु टर्न ब्वाइ अन एन्ड कुल देम डाइन”।
अर्को घतलाग्दो प्रसङ्ग निस्क्यो “गाँजा”। जीवनको मोड न हो कतिखेर कता मोडिन्छ थाहै नहुने। उनी जीवन साथी खोज्ने क्रममा एकजना आफ्नै विषयका सिनियरसँग लामो समय सँगै बसेकी रहिछन् र त्यहीबेला गाँजाको दुर्व्यसनीमा फसेकी रहिछन्। वास्तवमा उनको प्रेमीलाई एउटा अत्यधिक दुखाइ हुने खाले दीर्घ रोग लागेको रहेछ जुन दुखाइलाई केवल गाँजा सेवनले मात्र नियन्त्रणमा राख्न सक्ने निर्क्योलमा पुगेका रहेछन् । अनि घरमै गाँजा उमारेर सेवन गर्ने गर्दा रहेछन्। त्यो सम्बन्धमा पनि कसैले कसैलाई दोष दिने खाले रहेनछ पछि आपसी समझदारीमै अलग अलग बस्न थालेछन्।
एकदिन हामीले सानोमा भूत प्रेतको कथा सुने जस्तै उनी ध्यान गरिरहेको समयमा एउटा अद्भुत खाले आकृति मस्तिष्कमा आएछ । त्यसैको दिव्य उपदेशले नशाको दुर्व्यसनीबाट बाहिर निस्कन सफल भएकी रहिछन्। आजभोलि पनि गमलामा उमार्ने गर्छिन् रे अनि आकल झुक्कल औषधीको रुपमा सेवन गर्दी रहिछन्। उनले यसो सुनाइरहँदा म पनि नेपालमा गाँजालाई वैधानिक गर्ने बारे चल्न थालेको बहससँग जोडिएँ। म सानो हुँदा हाम्रो गाउँमा टन्नै गाँजा, धतुरो काँचोपात झाडी झैँ उम्रन्थ्यो तर सेवन चैँ गरिएन। जीवनमा एक पटक मिलेसम्म सबै चिजको अनुभव गर्नुपर्छ भन्ने लागेको र मेरो पनि गाँजा चाख्ने रहर बाँकी रहेको खुलासा गरेँ।
अब बिगत भन्दा पनि आउने दिनका लागि भरपर्दो जीवन साथी खोज्नेतिर गफ हुन थाल्यो। भोलि पहिलो चोटि भेट्ने केटाको फोटो, भिडियो देखाइन् र धरै कौतूहलता जनाइन् । कल्पनामा धेरै बहकिँदै एक्कासि भनिन् “श्रवण – मेरो बिहेमा नि हिजो खा को जस्तै कसार बनाउँछु ल” । म धरै खुशी भएँ हिजो पहिलो चोटि भेट्दा चखाएको हाम्रो नेपाली विशेष “परिकार” कसरी उनको मस्तिष्कमा जम्न सकेछ र उचित प्रसङ्गमा उजागर हुने भएछ। नेपालमा यस्ता विविधता त कति छ कति उही हामीले ब्रान्डिङ गर्न नसकेर मात्र पो त, खाली सगरमाथा र बुद्ध मात्रै सम्झेर आफ्नो परिचय दिने बानी परेको छ।
हामी त्यति ढिलासम्म त्यसरी बस्ने योजनै थिएन तर समय बितेको पत्तै भएन । फेरि दिउँसोको घटना सम्झिइन्। यति पोख्त, अनुभवी, निडर स्वभावकी निजालाई कुकुरबाट बच्न सकिँदैन भन्ने लाग्दो रहेछ सायद बाल्यकालमा कुनै घटना घटेको हुनुपर्छ। मैले अरु पनि यस्ता व्यक्तिहरु भेटेको छु जसलाई बाल्यकालको कुनै घटनाले पछिसम्म प्रभावित पारिरहेको हुन्छ, कुकुरकै बारे नि धेरै यस्ता हुने गर्छन्। मलाई चाहिँ बिरालोदेखि अलिअलि डर लाग्छ किनकी १०-११ बर्षको हुँदा आफ्नै घरको बुँइगलमा बिरालोले नराम्रोसँग कोपरेको छ। वास्तवमा कतै भाग्ने ठाउँ नभएको अवस्थामा उसलाई मैले जिस्क्याएको थिएँ, गल्ती मेरै थियो।
उनी फेरि मेरो गुणगान गाउन थालिन् । कसरी मेरो ठिङ्ग उभिने सूत्रले झम्टिन आएका पशुदेखि सुरक्षित हुन सकिन्छ भन्ने दिव्य ज्ञान प्राप्त गरिछन्। मैले यसैमा अर्को प्रसङ्ग नि थपिदिएँ, म किशोरावस्थामा हुँदा ३ पटक कोब्रासँग जम्काभेट भएको र कोब्राले आफ्नो शिर फैलाएको । धनगढीमा बस्दा गर्मी याममा आँप टिप्न जाँदा भेटिएका कोब्रा हुन् वा नुवाकोटमा बाख्रा चराउँदा भेटिएका सर्पहरु हुन्, सबैले जीवनमा राम्रो पाठ सिकाएका छन् कि मानिस बाहेक अर्को प्राणीले आफ्नो आहाराको जोहो र ज्यानको सुरक्षाका खातिर बाहेक अन्य अवस्थामा अरुलाई हानी पुर्याउँदैन। आफैँलाई हिनताबोध हुन्छ जस्तै बाल्यकालमा सर्प मारेको, चराका बचेराहरु समातेर आमाबाट टाढा बनाइदिएको जस्ता कुकर्महरुले।
उसो त कुकुरभन्दा अघि नै मेरो हातको सहाराले डरलाग्दो चट्ट्यानी ओरालो पार गरेकी थिइन्। यो घटनापछि उनी मप्रति निकै कृतज्ञ देखिन्थिन्। त्यसमाथि समुद्रमा बिन्दास हुने उनको चाहना रोकिएको थियो। यी सबै उकुसमुकुसिएका भावना बाहिर ल्याउन निकै रोमान्टिक बन्थिन् अनि भोलि भेट हुनेसँग कसरी प्रस्तुत हुने बारे खुल्न चाहन्थिन्। समय निकै नै भैसकेको थियो बियरको प्रभाव बढ्दै गयो। हामी दुबै आ आफ्नो दैनिकीबाट मुक्त पाउन घुम्न गएको बेला परेकोले हामीलाई कुनै बाधा अड्चन, सीमितता थिएन। उनलाई अलि लागेको जस्तो भयो अब होटल फर्कने तयारीमा लाग्यौँ।
पिउन त उत्ति नै पिएका थियौँ तर मलाई खासै असर थिएन। सामान्य चिनजानका हामीहरु निकै नै नजिक भैसकेका थियौँ, कुनै कुरा खोल्न बाँकी थिएन, लुकाउने केही थिएन। उनलाई समातेर होटल लैजानु पर्ने अवस्था थियो, त्यो अलि सानो बस्ती थियो त्यसैले ट्याक्सी नि त्यो समयमा सम्भव थिएन । अझै भन्नु पर्दा हाम्रो होटल टाढा नभएकोले आवश्यक पनि भएन।
हामी एक अर्काको सहारामा हिड्यौँ, मलाई त्यो दुरीभन्दा नि अब के होला भन्ने उत्सुकता जाग्न थाल्यो। हाम्रो सामिप्यता, दिउँसोको कुकुर घटनापछि मप्रति पलाएको उनको स्नेह, समुद्रमा छताछुल्ल पार्न नपाएर गुम्सिएको चाहना, आधी रात सम्मको मदहोस गफ, अघि फुस्काएकी “उनको टर्न अन र कुल डाउन तागत” सम्झिँदा अब बाँकी रात एउटै कोठामा बित्ने हो कि भन्ने भान हुन्थ्यो। त्यस्तो सोचले कहिले रोमान्चक त कहिले भयभित बनाउँथ्यो। महिला पुरुष सँगै मदिरा सेवन गर्ने अनि संयमितता गुमाउँदा निम्तिन सक्ने दुर्दशाबारे फिन्ल्यान्ड र नेपालको घटनाक्रमले धरै सिकाएको छ।
हुन त हामी दुबै जना मर्यादित र परिपक्व थियौँ तर निजा बिगतमा एक पटक दुर्व्यसनीमा फसिसकेकी थिइन् । अनि नशाको तालमा जे नि हुनसक्छ भन्ने गम्न थालेँ। नेपालका ताजा घटनाहरु- सन्दिप, पल, महरा प्रकरण घुम्न थाले दिमागमा। उनको कोठामा गयौँ भने त दुइटा खाट छ मेरोमा गयौँ भने के गर्ने होला सम्म सोच्न थालेँ। विद्यार्थी जीवनमा विभिन्न ठाउँमा कोठा सर्ने सन्दर्भमा एउटै कोठामा केटीहरुसँग डेरा गरेको अनुभव त छ तर (एउटा खाटवाला) मेरो कोठामा छिर्यौं भने नि ?
हा हा हा…मस्तिष्कका छाल नि कति तीब्र गतिमा छचल्किन सकेका ! “सोच्ना क्या जो बि होगा देखा जाएगा” भन्दै लरङ्तरङ होटल पुग्यौँ । हाम्रो कोठाको ढोका जोडिएको थियो, टक्क उभिएर आ आफ्नो ढोका खोल्यौँ, भित्र छिर्याैं। दिनभरी चर्न गएका चिर्बिर चरा बास बस्न झ्याङमा आएझैँ अघिका मेरा उडेका मन आफ्नो स्थानमा फर्क्यो। सकी नसकी केरमेट भाषामा म्यासेज लेखिछन – श्रवण भोलि तिमीलाई महत्त्वपूर्ण कुरा भन्छु ल। एकछिन त फेरि मनमा कुरा खेल्यो, के होला त्यस्तो कुरा जुन अझै मलाई भन्न बाँकी छ। कतै मैले यो २ दिनमा केही त बिराइनँ, कहिलेकाहीँ अनजानमा नि केही गल्ती भएको हुन सक्छ, के होला उनले भोलि भन्ने कुरा ? – सोच्दा सोच्दै निदाएछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

