गाउँ त उस्तै हो
तिमी बदलियौ
बचेराले गुँड छाडेसरि गाउँ छाडिगयौ
घरको आँगन छाडिगयौ
छाने घर छाडिगयौ
बुढा बाआमा छाडिगयौ
वन जंगल छाडिगयौ
गाउँ त उस्तै छ
वन जंगल उस्तै छ
खोलानाला उस्तै छन्
मात्र तिमी बदलियौ
घर भित्र बाहिर
आँगन र अथाराहरूमा
बारी र बार्दलीहरूमा
बाख्राको पाठो जसरी छुनु मुनु गर्ने तिमी
तिमीलाई
घरको संघारले सम्झिरहेछ
दलिनले सम्झिरहेछ
छानुले सम्झिरहेछ
अँगेनोले सम्झिरहेछ
घर र आँगनले सम्झिरहेछ
बारी र बार्दलीहरूले सम्झिरहेछन्
बालापनमा बाआमाको काखमा लुटुपुटु गर्ने तिमी
तिमीलाई
बुढा बाआमाको काखले सम्झिरहेछ
वन पाखामा
गाई बाख्रा चराई हिँड्ने तिमी
तिमीलाई वनपाखाले सम्झिरहेछन्
चाडपर्वमा देउसी भैलो खेल्दै हिँड्ने तिमी
तिमीलाई दशैँ तिहारले सम्झिरहेछन्
खोला र झरनाको कलकल पानीमा नुहाउने तिमी शहरमा वाथरुममा नुहाउने भएछौ
तैपनि खोला र छहराले सम्झिरहेछन्
मकै र कोदोको रोटी खाने तिमी
शहरमा मम र पिजा खाने भएछौ
तैपनि मकै र कोदोले सम्झिरहेछन्
अहिले धेरै शहरमा छन्
तिमी पनि शहरमा छौ
शहरबाट
तिमी तस्बिर पठाउँछौ
नेताले सन्देश पठाउँछ
पत्रकारले खबर पठाउँछ
गाउँ यता एक्लै छ
हाँगामा बसेको एक्लो ढुक्कुरझैँ
ढुक्कुर ढुक्कुर गर्दै बसिरहेछ
बचेराले छाडिगएको खाली गुँडझै
रित्तोपना साँचिरहेछ
गाउँले तिम्रो यादमा
एउटा चिठ्ठी पठाएको छ।
शहरको चिठ्ठी
यो शहरमा
कहिल्यै नसकिने म्याराथन छ
बिहान उठेदेखि
साँझ नसुतेसम्म
यहाँ कहिल्यै नटुङ्गिने अनन्त दौड छ
अचेल त्यही दौडले
आफन्तहरूसँगको भेट पनि पातलो हुँदैछ
बुवाआमासँगको भेटघाट पनि
फेसबुकमा मुख हेर्ने दिनमा सीमित हुँदैछ
साथीभाइहरूको कुराकानी
मेसेन्जरको डल्लोमा सीमित हुँदैछ
धन्न गोजीमा एउटा यन्त्र बोकेको छु
टाढै भए पनि
बुवाको आशीर्वाद सुनाउँछ
आमाको सम्झना सुनाउँछ
साँच्चै यहाँ म मात्रै दौडन्न
सबै सबै दौडिन्छन्
ठेला दौडिन्छ
गाडा दौडिन्छ
रिक्सा दौडिन्छ
टेम्पु दौडिन्छ
ट्याक्सी दौडिन्छ
फुटपाथ दौडिन्छ
र सँगसँगै सिंगो शहर दौडिन्छ
यादहरूमा
जब भदौरे झरीपछि चर्को घाम लाग्छ
म घरकै आँगनमा हुन्छु
जब कलकल बग्ने खोलाको पानी देख्छु
असोजको हरियाली धानखेतमा पानी चहार्दै हुन्छु
जब शहर झकमक्क बत्तीले जगमगाउँछ
म साँझ जुनकीरीहरूसँगै हुन्छु
जब गमलामा फूलहरू देख्छु
आँगनको डिलको वामरी फूलको वासना महसुस गर्छु
शहरमा मान्छेहरूको भिड छ
र पनि एक्लो महसुस गर्छु!
शायद
“वनको चरी वनैमा रमाउछ !”
भनेको यही नै होला
प्रिय गाउँ !
तिमीलाई शहरले एउटा चिठ्ठी पठाएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१० कार्तिक २०८२, सोमबार 










