सृष्टिको आदिकालदेखि नै वात्सल्य र ममताको गुणले सुसज्जित नारी जातिमा शारीरिक मानसिक अजस्र शक्तिको स्रोत लुकेको छ।
अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बहुचर्चित हस्ताक्षर पारिजातकाे याे लेख साहित्य पाेस्टका पाठकका लागि पस्केका छाैँ ।
“आइमाई केटाकेटी” कति मायालु कति न्यानो सम्बोधन यसै हलुका किसिमले सोच्दा।
“आइमाई केटाकेटी यसरी एक्लै दुक्लै हिँड्न हुन्न….! ” कति सुरक्षाको अँगालोले बाँधिएको सम्बोधन यसरी नै हलुका किसिमले सोच्दा ।
“आइमाई केटाकेटी भएर बढ्ता हाँस्न बोल्न हुन्न” कति अपमानजनक सम्बोधन अझ गहिरिएर सोच्दा।
“आइमाई केटाकेटी भएर बढ्ता जान्ने हुनुहुन्न” कति दमनकारी सम्बोधन गहिरिएर सोच्दा यो “आइमाई केटाकेटी” भन्ने शब्ददेखि नै घृणा भएर आउँछ मलाई। सुन्दा मायालु बुझिने यस सम्बोधनमा कति हीनता, कति अपहेलना, कति शोषण र कति अपमान लुकेको छ ।
– सृष्टिको आदिकालदेखि नै वात्सल्य र ममताको गुणले सुसज्जित नारी जातिमा शारीरिक मानसिक अजस्र शक्तिको स्रोत लुकेको छ। यिनै नारी जातिको गुण र क्षमताले आदिम मानव समाजको ढाँचाकाँचा तयार भएको तथ्य इतिहासले बताउँछ।
समाज पितृसत्तात्मकतातर्फ उन्मुख हुन थालेपछि पुरुषहरूले नारी जातिलाई बिस्तारै घरभित्र बज्यादै ल्याए र “शक्तिहीन र क्षमताहीन छस्” भनी बिस्तारै हेप्दै, शोषण गर्दै ल्याए। नारी जाति क्रमशः परास्त हुँदै आए अन्धविश्वास रूढी र संस्कारहरूमा साँघुरो भएर अस्तित्व धान्दै आए आत्मविश्वासहरू चिहान पार्दै आए।
– आज विश्वभरि नै नारी जाति कतै पूँजीवादका हत्केलामा छन् भने कतै सामन्तवादको पैतालामुनि।
– लाखौं वर्षको शोषणले यस शक्तिशाली र क्षमताशील स्त्रीलिङ्गलाई मनोवैज्ञानिक रूपले परास्त हुन बाध्य तुल्याए कि हामी साँच्चै शक्तिहीन लिङ्ग हौँ भनी सोच्न बाध्य तुल्याए तर सत्य यसको ठीक उल्टो छ। वैज्ञानिकरूपमा समाज यति अघि बढिसक्दा पनि समाजका एकथरि मिचाहा पुरुषवर्गले नारी जातिलाई सधैँ अपमान गरेको छ र सधैँ यस्ता भनाइहरू फैलाइदिएको छ जसले नारी जातिलाई आफ्नो शक्तिबोध र अस्मिताबोध हुनदेखि वञ्चित राख्छन् ।
यस विशाल र व्यापक विषयलाई अलिकति अथवा एकै झमटमा अभिव्यक्त गरेर सकिँदैन त्यसैले स-साना प्रसङ्गहरूबाट जाऊँ।
हामी आधी आकाश माग्छौँ ।
तर समाजका एकथरि स्वार्थी पुरुषवर्गले हामीलाई आधी इञ्च पनि दिन चाहँदैनन । आइमाई केटाकेटी भने जस्तै नेपाली सामन्तवादी समाजमा नारी जातिलाई लिएर यति धेरै असभ्य र अपमानजनक उखानहरू छन्, जसले हाम्रो शिर ठाडाे गर्न कहिल्यै दिँदैन। आधी आकाश चाहनेहरूले भाषामा, साहित्यमा तथा बोलचालमा पनि यस्ता उखानहरूको वहिष्कार गर्नुपर्छ। निमुखाहरूको बीचमा गएर पनि यस्ता उखानहरू सविस्तार व्याख्या गरिदिएर आपसमा यस्ता उखानहरूको आदान- प्रदान गर्न छोडाउन सक्नुपर्छ।
नेपाली भाषामा यति धेरै यस्ता उखानहरू छन्, जसले सधैँ पुरुषहरूलाई उठाउने र नारी जातिलाई होच्याउने अर्थ मात्र दिन्छन्। कतै-कतै महिलाहरू पनि यस्ता उखानहरू रुचि लिएर प्रयोग गर्ने गर्छन् तर त्यो हाम्रो दोष होइन त्यो त पुरुष हैकमवाला समाजले युगौँदेखि हामीमा थोपरिदिएको सङ्कीर्णताबोधको संस्कार हो। जतिसुकै सङ्कीर्ण बन्ने वातावरणको काँडेबार हालेर धेरैपछि हामीमा सङ्कीर्ण दृष्टिकोणको प्रादुर्भाव हुनु कुनै अस्वाभाविक होइन तर अब परिवर्तनकारी इतिहास अघि बढिसकेको छ त्यसैले जान्ने सुन्नेहरूको मौनता एकदमै सामयिक ठहरिँदैन ।
सधैँभरि शोषणको कोलमुनि पेलिएका स्वास्नीमान्छेहरूलाई उनीहरू भन्ने गर्छन्, “बाखा सम्ममा चर्दैन आइमाई सुखमा बस्दैन” सुख दिँदै नदिएपछि सुखमा बस्ने कहाँ ? यसको अर्थ यसरी लाग्छ तर यो उखानलाई पुराणहरू बढाे अपमानजनक स्थितिमा प्रयोग गर्छन्…
“बाघको हजार गुँड” र
“खुट्टा भए जुत्ता जति पनि आउँछ”
यी उखानहरूमा कति अपमान लुकेको छ। के स्वास्नीमान्छेहरू पुरुषको जुत्ता मात्र हुन् उनीहरूले जति चाहे पनि फेर्न सकिने ? यस्तो उखान प्रायः पाइँदैन, जसमा लोग्नेमान्छेहरूलाई हेय तुल्याइएको होस्। यहाँ म केही यस्ता उखानहरू प्रस्तुत गर्न चाहन्छु, जहाँ पुरुष कतै पनि पर्दैन र उखानहरू स्वास्नीमान्छेहरूलाई लिएर साह्रै असभ्य र वीभत्स छन्।
– “काम पाएन बुहारी पाडाको…”
– “कुन्ताकी बुहारी भटमास खाएकी”
– “ठाउँ न ठहर बूढीको रहर”
– “घ्यू न तेल पका बूढी सेल”
– “हिस्स बू हढी हरिया दाँत ”
– ”चोक्टा खान गाकी बूढी झोलमा डुबेर मरी”
– “रातभरि उड्यो बूढी त ज्युँदै”
– “छोरी कुटेर बुहारी तर्साउनु”
– “सौताको रिसले पोइको नाक काट्नु”
-“हुँदा जोगी ख्वाइ, नहुँदा राँडी रुवाइ ”
– “गरीबलाई दिन्छु नभन्नू, राँडीलाई लान्छु नभन्नू”
-“ढिलो होस् छोरा होस्” आदि- आदि।
निराश्रित, एकलास भइसकेका बूढी आमैहरूलाई अथवा निराश्रित एक्ली विधवाहरूको यस्तो अपमान किन ?
(महिला मुक्तिका हिमायतीहरूले यस प्रश्नतर्फ ध्यान दिन आवश्यक छ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









