बितेका केही दिनदेखि इजरायल र प्यालेस्टाइनबीच भीषण युद्ध चलिरहेको कुरा यहाँहरूलाई थाहा छ । युद्धमा मारिनेहरूको सङ्ख्या प्रतिघण्टा बढिरहेको छ भने घाइते हुनेको चित्कार र पूर्वाधार तथा धलमालको क्षति हेर्दा विश्वविनासको लक्षण अनुमान गर्न सकिन्छ ।

‘हमास’ नामको उग्रवादी सङ्गठनले इजरायलमा आक्रमण गरेपछि मारिनेहरूको सनाखत नभइरहेको अवस्था, उनीहरूको खोजी तथा उद्धारमा आफन्तहरूले गरेको पुकार र आर्तनादले विश्वभरिका मानिसहरूको मर्म छोएको छ । हरेकको हृदय-स्पन्दनमा पीडाको सुईले घोचेको छ । अझ यसमा नेपालीहरू पनि हताहत हुन पुगेकाले विश्वभरिका नेपालीहरूको मन रुनु अस्वाभाविक होइन । यससँगै उता इजरायलद्वारा गाजापट्टिमा गरिएको हमासविरुद्ध प्रत्याक्रमणमा मारिएका प्यालेस्टाइनी र तिनका आफन्तहरूको पनि उही गति छ । दुवै तर्फ गरी ३ हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् ।

आज म यहाँ युद्धमा कसले कति मान्छे मार्याे, कुन देशका कति नागरिक हताहत भए, कसको जीत-हार भयो अथवा कसले कस्ता अस्त्र प्रयोग गर्याे भन्ने सन्दर्भ नभएर वास्तवमा यो समस्या कसरी सुरु भयो भन्ने विमर्शमा केन्द्रित हुन चाहन्छु ।

विश्वभरि उपनिवेश कायम गर्ने अभियानमा लागेका ब्रिटिसहरूको स्थिति दोस्रो विश्वयुद्धको समाप्तिसँगै खच्किएको थियो । यही क्रममा दक्षिणपूर्वी एसियाका देशहरूमा जापानले चढाई गर्न थालेपछि चक्रवर्ती ब्रिटिसराजको विश्वव्यापी ख्यातिमा थप ह्रास भयो । नतिजा स्वरूप ब्रिटिसहरू सन् १९४७ पछि क्रमशः भारतलगायत वरिपरिका प्रायद्वीपमा विद्यमान उपनिवेशहरू छोडेर फर्किए । त्यो बेला मध्यपूर्वको प्यालेस्टाइनी क्षेत्र पनि ब्रिटिसराजकै उपनिवेश थियो ।

विश्वभरिबाट कूटनीतिक हार, युद्धमा नोक्सानी, व्यापारमा घाटा ब्योहोर्न थालेपछि सन् १९४७ मा लेबर पार्टीका क्लेमेण्ट रिचर्ड एट्ली नेतृत्वको ब्रिटेन सरकारले आफ्नो अधीनस्थ प्यालेस्टाइन पनि त्याग्ने निधो गरेको थियो । यसरी ब्रिटिसले छोडेपछि स्वतन्त्र यहुदी राज्यको रूपमा इजरायल बन्यो तर, पुरानो प्यालेस्टाइन रहेन । इजरायलको सिमाना तोकिए । बाहिरका पुरानो प्यालेस्टाइनका गाजापट्टि, ह्वेस्टब्यांकजस्ता क्षेत्रहरू पनि छिमेकी मुलुक जोर्डन र इजिप्टको अधीनमा रहने इन्तजाम गरियो ।

त्यसको लगत्तैदेखि स्वतन्त्र प्यालेस्टाइन राज्यस्थापना हुनुपर्ने माग राखेर विभिन्न भूमिगत, अर्धभूमिगत इस्लामिक जातीय सङ्गठनहरू उठ्न थाले । सबैभन्दा पहिले प्यालेस्टाइन मुक्ति सङ्गठन (पी.एल.ओ.) यस विषयमा सक्रिय थियो । त्यसपछि आजका दिनसम्म हमास, हिजबुल्ला, मुजाहिद्दिन के के हो के के; नाम लिई साध्य छैन ।

अब पाठकहरूले बुझिसक्नुभयो: एक अर्कामा युद्धरत यी दुई देशबीचको यो द्वन्द्व आजदेखिको होइन । इजरायल राज्यस्थापनाको घोषणाकै दिनदेखि यी दुई क्षेत्र युद्धग्रस्त रहँदै आएका छन् । १९४८, मे १४ तारिखका दिन यहुदी नेता डेभिड बेन गुरियनले इजरायल राज्यस्थापनाको घोषणा गरेकै दिन सर्वप्रथम अमेरिकाले त्यसको समर्थन गरेको थियो भने सोही दिन प्यालेस्टाइनी पक्षधर अरबीहरूले युद्धको घोषणा पनि गरेका थिए । सोही दिनदेखि दुवै पक्षबीच भीषण मारामारी सुरु भएको थियो । त्यसको एक वर्षपश्चात्, यस्तो कोलाहलकै बीचमा संयुक्त राष्ट्रसङ्घले पनि समर्थन गरेपछि स्वतन्त्र इजरायल स्थापनाको घोषणाले आधिकारिक मान्यता पाएको थियो ।

फ्य्रांक्लिन डी. रुसवेल्टको निधनपश्चात् अमेरिकाका ३३ औँ राष्ट्रपति बनेका ह्यारिस एस. ट्र्यूम्यानले इजरायल राज्यस्थापनाको घोषणा हुनेबित्तिकै समर्थन जनाएर प्रशंसनीय काम गरे कि गलत गरे, मैले विश्लेषण गरेको छैन । तर, जे भए पनि न्याय सन्तुलित र निष्पक्ष हुनुपर्ने कुरा चाहिं संयुक्त राष्ट्रसङ्घले निर्धारण गर्नुपर्ने विषय थियो ।  सन् १९४९ मे ११ को दिन संयुक्त राष्ट्रसङ्घीय महासभाले दुई-तिहाई मतद्वारा इजरायल राज्यस्थापनाको समर्थन गरिरहँदा त्यसअघिका निर्णयहरू के कस्ता थिए-तिनको कार्यान्वयन पक्ष कतिको कामकारी थियो भनेर निर्क्योल गरिनु जरुरी थियो ।

इजरायल राज्यस्थापनाको समर्थन जनाउने संयुक्त राष्ट्रसङ्घीय महासभाको सङ्कल्प प्रस्ताव सङ्ख्या २७३ अनुसार तत्कालीन सदस्य राष्ट्रहरूमध्ये ३७ ले सो प्रस्तावको पक्षमा मतदान गरेका थिए, विरुद्धमा १२ राष्ट्रको मतदान परेको थियो भने ९ राष्ट्रले तटस्थ रहने निर्णय गरेका थिए । यसरी २१ राष्ट्रको विमतिमा पारित भएको मतदान नतिजाले स्थायी द्वन्द्वको सङ्केत देखाएकै थियो । त्यो बेलै ती विरोधी मतदाताहरूबाट थप राय लिइनु थियो भने विषयको लेखाजोखा उही बेला हुने’थ्यो । संयुक्त राष्ट्रसङ्घजस्तो विश्वभरिका सरकारहरूको छाता सङ्गठन, आफ्ना निर्णयहरूको परिचालन र प्रभावकारितामा उदासीन रहेको हो कि भन्ने सङ्केतहरू त्यही बेलादेखि आजसम्म पनि देखिएकै छन् ।

इजरायल राज्यघोषणालाई औपचारिक मान्यता दिनुभन्दा दुई वर्षअघि नै, यानिकि सन् १९४७ मै ब्रिटिसराजले प्यालेस्टाइन त्याग्ने निधो गर्नेबित्तिकै संयुक्त राष्ट्रसङ्घले सो क्षेत्रलाई यहुदी र अरबी जातीय बाहुल्यताको आधारमा दुई वटा छुट्टाछुट्टै राज्य स्थापना गर्ने र सधैँका लागि मुद्दा सुल्झाउने बाटो तय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको सङ्कल्प प्रस्तावसङ्ख्या १८१ मा उल्लेख भए अनुसार पुरानो प्यालेस्टाइनबाट यहुदी आबाद केही भूभाग इजरायल र अरबी आबाद केही भागहरू प्यालेस्टाइन बन्ने अनि मध्य भागको चर्चित महानगर यरुसलेम (जरुसलेम) चाहिँ संयुक्त राष्ट्रसङ्घकै अधीनमा अन्तर्राष्ट्रिय केन्द्र बन्ने निर्णय भएको थियो । संयुक्त राष्ट्रसङ्घको यो निर्णयलाई इजरायली पक्षले स्वीकार गरे पनि प्यालेस्टाइन पक्षधर अरबीहरूले चाहिँ मानेका थिएनन् । उनीहरूले इजरायल र यहुदीहरूको अस्तित्व स्विकार्नै नसकिने जिद्दीमा ‘जिहाद’ नै घोषणा गरिसकेका थिए ।

यसरी, सन् १९४८/१९४९ मा इजरायल बनिरहँदा न समर्थक राष्ट्रहरूले यस तथ्यको खोजी गरे न त संयुक्त राष्ट्रसङ्घले नै यस विषयमा ध्यान दियो । अतः यहाँनेर जटिल र गम्भीर त्रुटि के हुन गयो भने यहुदीहरूका लागि इजरायल राज्यस्थापनाको घोषणा र समर्थन भइरहँदा संयुक्त राष्ट्रसङ्घ स्वयंले गरेको निर्णयाधारित स्वतन्त्र प्यालेस्टाइन राज्यको कुराचाहिं ओझेलमा पऱ्यो ।

अतः यहाँसम्मका कुराले पाठकहरूलाई यो समस्या माटोको विवाद अर्थात् सिमानाको लडाइँ हो कि भन्ने टुङ्गोमा पुर्याएकाे हुनसक्छ । तर, अन्तिम निचोड त्यो पनि होइन । यो विषय द्वन्द्व एउटा अंश मात्र हो । विवादको मूल केन्द्रमा त अरू नै गम्भीर विषय छन् ।

सतही आँखाले हेर्दा अथवा दायाँ मस्तिष्कले बुझ्दा यो समस्या प्यालेस्टाइन र इजरायलबीच कसको जमिन कति हो भन्ने सवालमा सिमानाको लडाइँजस्तै देखिन्छ तर, वास्तविकता त्यति मात्र होइन ।

म यहाँनेर यो समस्याको जड कोट्याउन जाँदै छु । यहाँहरूलाई थाहा छ, इजरायल र प्यालेस्टाइनबीच युद्धको चर्चा उठ्नासाथ विश्वभरिका देश र सरकारहरू तिनको पक्ष-विपक्षमा उभिन्छन् ! यहुदीहरू स्वयं त आफ्नै जातिको इजरायल पक्षधर हुने नै भए । अतिरिक्त सारा विश्वका मुसलमानहरू प्यालेस्टाइनको पक्षमा बहुलाउँछन् भने इसाईहरू यहुदीको पक्षमा । मुसलमान र इसाईबाहेक अन्यहरू पनि यो पक्षपाती विचारबाट अलग रहन सक्तैनन् ।

जस्तै: भारत कुनै न कुनै तर्क र सर्त अघि सारेर भए पनि इजरायलकै पक्षमा उभिन्छ । हमास र प्यालेस्टाइनीहरूलाई मुसलमानबाहेकको कम समर्थन मिल्नुमा एउटा दर्बिलो कारण माथि नै उल्लेख भइसकेको छ । त्यो के हो भने उनीहरूले इजरायल र यहुदीको अस्तित्वलाई कुनै हालतमा मान्दैनन् । यो संसारबाट यहुदीहरूको सर्वनाश हुनुपर्ने तिनीहरूको अटुट टेक रहँदै आएको छ । यसरी विगत १३ सय वर्षभन्दा अघिदेखि अनेक प्रताडना भोगेर बाँचिरहेको यहुदी नश्ललाई समाप्त गर्न अरबीहरू ज्यान अर्पेर लागेका छन् ।

मैले आजसम्म ठ्याम्मै नबुझेको कुरोचाहिं के भने  सामान्यतः विश्वभरिका मुसलमानइतर कम्युनिस्ट भनिने समूहहरू किन सधैं कसैको वंश र सर्वनाश गर्न तम्सिएका तिनै अरबपरस्त प्यालेस्टाइनीहरूको समर्थनमा उफ्रिन्छन् ? वामपन्थी अथवा कम्युनिस्ट भनिएका समूहहरू इजरायल-प्यालेस्टाइनको यो सवाल मात्र होइन, हिट्लरको पक्षमा पनि दिलोज्यान दिएर लागेका थिए । हिट्लर प्रसङ्ग पनि अलिकति चर्चा गरिहालौं । ‘कम्युनिस्ट शासनतन्त्रका देश’ भनेर विश्वले परिभाषित गरेका रुस, चीनको कुरा नगरौं । कम्युनिष्टबाहेक अन्य नश्लवादी शासकहरू पनि हिट्लरको समर्थनमा खूब उचालिन्थे । भारतमा ब्रिटिसविरुद्ध स्वतन्त्रताको सङ्ग्राम चलिरहँदा नेपालजस्तो सानो ठाउँका जहानियाँ शासकहरू पनि हिट्लरको समर्थनमा खूबै गर्व गर्दथे ।

ब्रिटिस साम्राज्यवादको विरोधमा स्वाधीन भारतको लागि आन्दोलन चलिरहेको बेला इटलीका बेनिटो मुसोलिनीको फाँसीवाद चरमचुलीमा पुगेको थियो । साथ साथै जर्मनेली नाइके हिटलर नश्लवादी साम्राज्यको विस्तारमा जाज्वल्यमान बनेर उदाइरहेको थियो । हिटलरी नश्लीय साम्राज्यको तुलनामा मुसोलिनीको फाँसीवाद केही नम्र हो कि झैँ धेरैले मानेका थिए । किनकि मुसोलिनी भन्थे, “मजदुर वर्गले पुँजीपति वर्गसित वर्गीय समन्वय गरेर जानुपर्दछ । आपसमा मिलेर सामाजिक जीवन चलाउनुपर्छ ।” झलक्क सुन्दा राम्रै लाग्ने यो वर्गीय समन्वयको नारा बिरालो र परेवा मिलेर एउटा छाप्रीमा बसेजस्तै थियो । बिरालोले परेवालाई कुनै परिश्रमबिना खान पाउने र परेवाले बिरालोको विरोध गर्नै नहुने यो चेतनाले विश्वलाई जलाउने सङ्केतहरू देखिँदै थिए ।

मुसोलिनीले तापेको यो झरिलो भुङ्ग्रोमा नश्लीय भाटी फुकेर ज्वालो उठाउने हिट्लर जर्मनीमा सीमित नरहेर विश्वराजनीतिमा फैलियो । जर्मनबाटै फिँजिएको ‘नमस्कार’ गर्ने एउटा शैली थियो ‘Hail Hitler’ (हिट्लरको जय होस्) । सिनेमा हलतिर हिट्लरका ठूल्ठूला तस्बिरहरू टाँगिएका हुन्थे । जर्मनी बाहिर पनि सार्वजनिक समारोहहरूमा हिट्लरको तस्बिर टाँगेर जर्मनेली राष्ट्रिय धूनमा सबै उभिएर शिष्टाचार दर्शाएपछि कुनै पनि औपचारिक कार्यक्रम सुरु हुने चलन बसिसकेको थियो ।

त्यो समय यस्तो थियो, खण्ड खण्ड भूगोलका देशहरू अलग भए पनि चेतनाले विश्वभरिका मानिसहरू केवल दुई भागमा बाँडिएका थिए । इटली, जापान र जर्मनीले संयुक्त रूपमा एउटा विचारको प्रतिनिधित्व गर्दै थिए भने त्यस इतरका अन्य शक्तिहरू विपरीत विचारलाई बोकेर हिँडेका थिए ।

यस्तो परिस्थितिमा नेपाल र भारततिर आफूलाई ‘राष्ट्रवादी’ भन्न रुचाउनेहरू पनि सार्वजनिक समारोहहरूमा हिट्लर र मुसोलिनीका तस्बिर झण्डाजस्तै गरी टाँग्थे । भारतमा अङ्ग्रेजविरुद्ध आन्दोलन जारी थियो तर, समग्र अङ्ग्रेजविरुद्ध अभियानको केन्द्र हिट्लरको पक्षपोषण थिएन । यद्यपि, त्यहीँनेर एकटा पक्ष थियो जो, नजानिँदो पाराले अङ्ग्रेजको समर्थन गर्थ्यो खुल्ला रूपमा चाहिँ विरोध गरेझैँ देखाउँथ्यो । तर, आफ्ना रहस्यमयी गुह्य गतिविधिमा हिट्लरको पक्षधरता लिन्थ्यो ।

नेपालमा त्यो बेला राणाहरू शासक थिए । नेपाली राणाहरूका घर-घरमा हिट्लर, मुसोलिनीका तस्बिर हुन्थे । ‘सिंहदरबार ग्यालरी हलको माथिल्लो तलामा राणाहरूले सुनौलो फ्रेम राखेर हिट्लर र मुसोलिनीका ठूल्ठूला फोटाहरू टाँगिराखेका थिए । राणाहरूको भनाइ थियो, ‘हामी पनि फासिस्ट हौं ।’ अनि यसरी हिट्लरभक्तिमा समर्पित भारत-नेपालका यी शक्तिहरू अनेकौँ जुक्तिले आफैंलाई ‘राष्ट्रवादी’ भनाउन लागिपरेका थिए । हिट्लरबारे पढ्नुभएको भए यहाँहरूलाई जानकारी हुनुपर्छ हिट्लरले आफैंलाई ‘आर्य’ भनेको थियो । आफ्नो नश्ललाई उसले ‘शुद्धप्रजाति’ भनेको थियो भने उसको चेतनाले अब २० हजार वर्षसम्म विश्वराजनीतिमा अकण्टक राज गर्ने घोषणा पनि गरिसकेको थियो । [स्मरणका पानाहरू:स्वः तुलसीलाल अमात्य] कुरो जे होस्, अहिलेको स्थिति पनि हिट्लर कालभन्दा धेरै फरक देखिएको छैन । हिट्लरका हंसरूपी मानवदेहहरू धेरैतिर सक्रिय छन् ।

समग्रतामा के बुझिन्छ भने अधिकांश वामपन्थी र नश्लवादीहरू प्यालेस्टाइनको पक्षमा अनि मुसलमानबाहेक गैर-वामपन्थी, ‘दामपन्थी’ र ‘हामपन्थी’हरू इजरायलको पक्षमा अडिग छन् जुन परिस्थितिले विश्वमानव समुदायलाई दुई ध्रुवीय समूहमा विभाजित गरिदिएको छ । विश्वमा भय र त्रासदीको स्थिति कायम राख्न यही एउटा विषय काफी छ ।

अतः यो द्वन्द्व इजरायल र प्यालेस्टाइनबीच सिमानाको विवाद मात्र नभएर ‘धर्म’ भनिने अभिमानी नश्लीय चेतना र ‘वाद’ भनिने सामाजिक/राजनीतिक नाफा-नोक्सानकाे तराजु बोकेका व्यापारी सौदागरहरू बीचको लुछाचुँडी पनि हो भन्ने बुझाउन अब मैले पाठकहरूका लागि थप व्याख्या गरिरहनु आवश्यक छैन भन्ने लागेको छ ।

प्रबुद्ध पाठकहरूलाई ज्ञात होला: संसारभरि नै धर्म भनिने अन्धविश्वासी जडताबाट पैदा भएको द्वन्द्वग्रस्त चेतनाको यो क्रम विगत केही हजार वर्षदेखि जारी छ । जसको एक अंशस्वरूप सन् १९४८ मा इजरायल देश बनेपछि पनि टुङ्गो नलागेर आजसम्म तन्किँदै घिसिएको छ । यो विवाद हताहत सुल्झेलाझैं छैन । यसै त युक्रेनविरुद्ध रुसले गतवर्षदेखि चलाएको नरसंहारको सिलसिलाले विश्वलाई जर्जरतातिर धकेलिरहेकै थियो; अहिले इजरायल-प्यालेस्टाइनको यो दुर्बुद्धिजन्य महामारी सम्भवतः हिट्लरकै समयमा झैं अर्को विश्वयुद्धको निम्तो वा स्वागतको सूत्रपात पनि हुनसक्छ !

यति कुरा भएपछि अब पाठकहरूलाई लाग्न सक्छ विश्वका सारा सैद्धान्तिक मत र यति धेरै मानिसहरूलाई पक्ष-विपक्षमा लडाउन सक्ने त्यस्तो केचाहिं होला त इजरायल र प्यालेस्टाइनबीच यरुसलेमको केन्द्रमा [?] !

आफू दर्शनशास्त्रको विद्यार्थी भएको नाताले पनि मैले बुझे जति कुरा पाठकहरूका लागि यहाँ पस्किन जाँदैछु ।

सुरुको प्रस्थानविन्दुमा इजरायल राष्ट्रको प्रसङ्ग उठाऊँ । इशापूर्वको दोस्रो सहस्राब्दीमा इजरायल केन्द्रीकृत महागणराज्यको रूपमा सञ्चालित थियो । तर, आन्तरिक जातीय द्वन्द्व र विवादका कारण केही पछि गएर यो समरिया र जुदाह (जुडा) दुई खेमामा बाँडियो । यद्यपि, इजरायल संयुक्त हुँदाताकाको राजधानी यरुसलेमलाई यी दुवैले पवित्र तीर्थस्थलको रूपमा साझा बनाएका थिए । यसपछि सिलसिलाबद्ध रूपमा इशापूर्व ७२२ मा नव-आसिरियन साम्राज्यले समरिया (इजरायल) माथि कब्जा गऱ्यो भने इशापूर्वकै ५८६ मा जुदाहमाथि बेबिलोनियन साम्राज्यले कब्जा जमायो । यी अतिक्रमणको क्रममा यरुसलेम, इजरायल र जुदाहका हजारौँ यहुदीहरूलाई बेबिलोनिया र युनान (नयाँ नाम ग्रिस) मा दास बनाइएको थियो । सोही क्रममा यहुदीहरूका राजा सोलोमनले यरुसलेमस्थित मोरिया पहाडमा बनाएको पवित्र मन्दिर (टेम्पल माउण्ट) पनि भत्काइएको थियो ।

यहुदी राजा डेभिडका पुत्र सोलोमनले इ.पू. ९५७ मा यहुदी मतानुसार यहोवा (ईश्वर) का सन्देशवाहक आस्थापुरुष अब्राहमको स्मरणमा सो मन्दिर बनाएका थिए ! यहुदी विश्वासबमोजिम अब्राहमले यहोवाबाट हुकुम भएपछि आफ्नो पुत्र इसाकलाई बली दिन भनेर ठिक्क पारेको स्थान जसलाई ‘डोम अफ् द रक’ नाम दिइएको थियो, त्यसैमाथि राजा डेभिड र सोलोमनले टेम्पल माउण्ट स्थापना गरेका थिए । आफ्नो आस्थाको केन्द्र टेम्पल माउण्ट, यरुसलेम र सम्पूर्ण इजरायलबाट विस्थापित बनेका यहुदीहरू बेबिलोनी साम्राज्य-अन्त्यको कामना गरिरहेका थिए ।

संयोगवश इशापूर्व ५३८ मा पर्शियाली सम्राट साइरस द्वितीयले बेबिलोनी साम्राज्यलाई अपदस्थ गरिदिए र यहुदीहरूलाई पुनः यरुसलेम फर्किएर आफ्नो आस्थाको पवित्र शहरमा पहिले भत्काइएको मन्दिर पुनः जिर्णोद्दार गर्ने आज्ञा दिए । त्यसपश्चात् धेरै यहुदीहरू यरुसलेम फर्किएर सोही स्थानमा नयाँ मन्दिर बनाए ।  तर, यहुदीहरूको यो खुसी धेरै समय टिक्न सकेन ।

इशापूर्वको ३३२ मा फेरि मेसिडोनियाका सम्राज अलेक्जेण्डरले पर्शियाली साम्राज्यलाई ध्वस्त पार्दै जुदाहमाथि कब्जा जमाए । यसपछि यहुदीहरुबीचमा परम्परावादी जमात र नवजागृत गुटको रूपमा समूह विभाजन भयो भने यी दुईको अन्तरसङ्घर्षबाट नयाँ ‘हस्मोनी राजपरम्परा’ अन्तर्गत छुट्टा-छुट्टै राज्य स्थापना गराइदियो । यो राजपरम्परा १४० वर्षसम्म सुचारु थियो ।  इशापूर्वको ६३ मा पुनः रोमन साम्राज्यका मार्शल जेनरल पोम्पीले हस्मोनियन राजालाई अपदस्थ गरी यरुसलेम र यस वरिपरिका क्षेत्रहरू कब्जा गरे र हेरोद एन्टिपसलाई त्यहाँको नयाँ राजा बनाइदिए । पहिले औपनिवेशिक क्षेत्र बनेको इजरायललाई क्रमश इशापूर्वको छैटौं शताब्दीमा आएर रोमन साम्राज्यले पूर्ण रूपमा अधीन गऱ्यो ।

यसरी आफ्नो भूमिबाट विस्थापित हुने क्रममा कहिल्यै पनि सम्पूर्ण नश्लका मानिसहरू भूमि रित्तिने गरी बाहिरिन्छन् भन्ने हुँदैन । सजातीय केही मानिसहरू स्थानीय शक्तिको चाकरी गरेर पनि आफ्नै परम्परागत भूमिमा बसिरहन्छन् । स्मरण रहोस् यरुसलेम ध्वस्त भइसकेर पनि इशा मसिह (जिसस क्राइष्ट) लाई शूलीमा टाँगेर हत्या गर्ने सिलसिलामा यहुदी समूहका पुजारीहरू नै जिससविरुद्ध उजुरीकर्ता बनेका थिए भने रोमनी राजा हेरोद त्यस इजलासका अन्तिम-निर्णायक थिए ।

यसरी अनेकपटक भत्किँदै पुनः निर्माण हुँदै जर्जर इतिहास बोकेर बाँचेको यहुदी भूमिमा दोस्रो शताब्दीमा फेरि ७० वर्ष लामो (सन् ६६ देखि १३६ बीच) युद्ध चल्यो जुन युद्धको समाप्तिसम्म इजरायलमा यहुदीहरूकै बाहुल्यता कायम थियो । तर, यहुदीहरूले रोमविरुद्ध युद्धमा पराजय भोगेसँगै रोममा बाइजेण्टाइन साम्राज्यको स्थापना र विस्तारपछि इजरायलको दुर्दशा अथवा यहुदीहरूको बिल्लीबाठ अझ बढ्यो र हिंसा, विस्थापन, ज्यादतीपूर्ण निर्वासन वा सर्वस्वहरणको सिलसिला दशकौंसम्म चल्यो । यसैबीच रोमनहरूले इसाई र स्वतन्त्रता पक्षधर यहुदीहरूलाई तारो बनाइरहे । यहुदी र इसाई दुवै मतावलम्बीहरू रोमनहरूको आक्रमणबाट बच्न विश्वका कुनाकाप्चातिर भागेर हिँडिरहेका थिए । यही बेला यहुदीले ‘डायस्पोरा’ शब्दको प्रतिपादन गरे जसको सामान्य अर्थ ‘एउटै संस्कृति र क्षेत्रीय उत्पत्तिको पहिचान बोकेका तर,  आफ्नो परम्परागत गृहभूमिबाट विस्थापित जनसमूह’ भन्ने हुन्छ । यद्यपि यो शब्दको व्युत्पत्तिमा पुगेर केलाउने हो भनेचाहिं ग्रिक भाषाको ‘डिया स्पिरो’ बाट अपभ्रंशित हुँदै डायस्पोरा बनेको पत्तो लाग्छ जसको अर्थभाव ‘बीऊ छर्नु’ वा ‘छरिनु’ भन्ने हुन्छ ।

सुरुमा रोमन अतिक्रमणको दबदबाले आफ्नो भूमिबाट विस्थापित भएका ग्रिसेली र यहुदी दुई समुदायलाई ‘डायस्पोरा’ शब्दबाट चिन्न थालिएको थियो तर कालान्तरमा यो शब्द विश्वभरिका विस्थापित मानिसहरूमा प्रयोग हुन थाल्यो ।

इशापश्चात् तेस्रो शताब्दी, यानिकि सन् ३०६- ३३७ सम्म राज गरेका रोमनी राजा कन्सटेण्टाइनले इसाई मत ग्रहण गरेपछि भने जिससका अनुयायी र रोमनीहरूबीचको काटमारको सिलसिला मत्थर भयो, इसाईहरूले आंशिक राहत पाए । तर, यहुदीहरूको स्थितिमा सुधार आएन । किनभने उनीहरूले इशा (जिसस) विरुद्ध राजा हेरोदमा उजुरी गरेर उनको हत्यामा साथ दिएका थिए भन्ने कुरा माथि नै उल्लेख भइसक्यो ! त्यसो त इशालाई राजा हेरोदले बाल्यकालदेखि नै मार्ने जमर्को गरिरहेका छन् भन्ने थाहा थियो । यसैकारण उनको सुरक्षार्थ जन्मस्थल बेथलहेमबाट भगाएर उत्तरी इजरायलको नाजरेथ भन्ने ठाउँमा लुकाइएको थियो । पछि उनी यरुसलेम फर्किनासाथ शूलीमा टाँगेर हत्या गरियो ।

यहाँसम्म आइपुग्दा मैले यरुसलेम यहुदी र इसाईका निम्ति किन मूल्यवान् छ भनेर यथेष्ट व्याख्या गरिसकें झैं लागेको छ । अथवा सारांश उल्लेख गर्नुपर्दा यति भन्न सकिन्छः यहुदीहरूका प्रथम प्रदर्शक अब्राहमले आफ्नो पुत्र इसाहकलाई यहोवाको हुकुमअनुसार बली दिन तयार पारेको ठाउँ, यहुदीका प्रथम कल्याणकर्ता मोजेस, जसले ग्रिसमा दासता भोगिरहेको आफ्नो ठूलो सजातीय जमातलाई उन्मुक्ति दिलाएर यरुसलेमसम्म ल्याइपुर्याए-उनीहरूको स्मरणमा बनेको पवित्र मन्दिरस्थल टेम्पल माउण्ट !

केही हजार वर्षअघि नै ‘महान् इजरायल’ राष्ट्रको राजधानी: यहुदीहरूका लागि यरुसलेम महत्वको स्थान नहुने कुरै आएन । यता इसाईहरूका लागि पनि यो पवित्र भूमि थियो । यरुसलेमकै नजिक बेथलहेमको एउटा भेडा गोठमा जिसस जन्मिएका थिए भने नाजारेथबाट फर्किएपछि यरुसलेमकै मन्दिरमा उनलाई शूली टाँगिएको थियो । जिससका अनुयायीहरूका निम्ति अझ बढी भावनात्मक सम्बन्धको स्थान बन्यो यरुसलेम !

अब पालो आयो यरुसलेममाथि अरबी अर्थात् इस्लाम वा मुसलमानहरूको दाबी प्रसङ्ग ! सन् ६३२ मा जब पैगम्बर मुहम्मदको निधन भयो त्यसपछि खलिफा बनेका थिए उनकै शिष्य अबुबकर । अबुबकरको निधनपछि उमर तेस्रो खलिफा बने । उमरले सन् ६३८ तिर यरुसलेममाथि आक्रमण गरी कब्जा जमाए ।

त्यसपछि बुनिएको छ इस्लामी कथा जसमा भनिएको छ पैगम्बर मुहम्मदले साउदी अरबको मदिनाबाट आकाशमार्ग हुँदै एकै रातमा यरुसलेममा अवतरण गरेका थिए । केही समय यरुसलेमको टेम्पल माउण्टमा बिताएपछि टेम्पल माउण्टभित्र अवस्थित ‘डोम अफ् द रक’माथि उक्लेर त्यहीँबाट बुराक नामको घोडा चढी ‘जन्नत’ (अल्लाह नगरी) को यात्रामा गए ।

अब पाठकहरूले बुझ्नुभयो; एउटै अब्राहिमिक परिवारका यी तीन सन्तानले किन यरुसलेममाथि निर्विघ्न स्वामित्व ग्रहण गर्न चाहेका रहेछन् ।

कुरो यतिमै टुङ्गिंदैन । खलिफा उमरले आक्रमण गरेपछि लगातार ४६० वर्षसम्म यरुसलेम अरबीहरूकै अधीनमा रह्यो । यरुसलेमजस्तो पवित्रा भूमि अरबीहरूको अधीनमा रहेको देखेर फ्रान्सका पोप उर्बान द्वितीयलाई सही नसक्नु भएको थियो । सन् १०९५ मा उनले आफ्ना अनुयायीहरू डाकेर यरुसलेमको पवित्र भूमि र त्यहाँको गिर्जाघरलाई अरबीहरूको अधीनबाट मुक्त गराउन को तयार हुन्छ उसले सारा जीवनमा गरेको तपस्या बराबर फल पाउँछ भन्ने घोषणा गरे । त्यसपछि हजारौँ इसाईहरू ‘क्रुसेडर’ बनेर यरुसलेमको पैदल यात्रामा निस्किए । विभिन्न अड्चन र असफलताहरू झेल्दै लगभग चार वर्षपछि सन् १०९९ मा यरुसलेम पुगेर क्रुसेडरहरूले भीषण आक्रमण गरे ।

यसरी ३८ दिन (जून ७ देखि जुलाई १५ सम्म) मा इसाई क्रुसेडरहरूले यरुसलेममाथि पूर्णाधिकार कायम गरे । तर, करिब २ सयवर्ष यरुसलेमको शासन हाँकेपछि सन् १२९१ मा इसाईहरू पनि इजिप्टको सुल्तान बैबारको आक्रमणमा परी त्यहाँबाट विस्थापित भए ।  अब पालो आयो अटोमन साम्राज्यको । सन् १५१७ मा ओटोमन साम्राज्यले यरुसलेम र त्यस वरिपरिका सबै क्षेत्रहरू हडप्यो । क्रमशः बेलायती साम्राज्यले सन् १९१७ मा यरुसलेमलगायत सम्पूर्ण यहुदी क्षेत्र अथवा ‘प्यालेस्टाइन’ अटोमन साम्राज्यबाट खोसेर कब्जा गर्याे । ब्रिटिस अधीनस्थ बनेपछि के के भयो भन्ने प्रसङ्ग लेखको प्रारम्भमै उल्लेख भइसकेको छ ।

केही प्रसङ्गहरू छुटेको अनुमान गर्दै निम्न बुँदाहरू थप्ने अनुमति चाहन्छु । यहुदी र इसाईहरूले टेम्पल माउण्ट भन्ने स्थानलाई अरबीहरू हरम-अल-शरिफ भन्दछन् । त्यसकै नजिक उनीहरूले अल-अक्सा नाम गरेको अर्को एउटा मस्जिद निर्माण गरेका छन् ।

यसरी नै इसाईहरूले पनि सोही ठाउँमा ‘सेण्ट मेरी चर्च’ नामको गिर्जाघर निर्माण गरेका छन् । यसरी हेर्दा अहिले बरु यहुदीहरू चाहिं अन्यायमा देखिन्छन् । किनभने उनीहरूकै पुर्खाले बनाएको मन्दिरमा उनीहरूलाई प्रवेश निषेध छ । यहुदीहरूलाई अल-अक्सा मस्जिदको बाहिरपट्टि भित्तामा मात्र पूजा र दर्शन गर्ने अनुमति छ । यहुदीहरूलाई आफ्नै पौरखी भूमिमा दोस्रो दर्जाको  नागरिक भएको अनुभूत गराउन यो कुरा नै काफी छ ।

अझै छुटेको प्रसङ्ग के हुनसक्छ भने अब्राहिमिक परिवारका यी तीन विश्वासधारा बीचको अन्तरसम्बन्ध ! अब्राहिमिक परिवार भनेको के होला ! पाठकहरूमा यी सम्प्रदायहरूका बीचमा के सम्बन्ध होला भन्ने जिज्ञासा बढिरहेको होला ! तपाईंहरूलाई त्यस्तो लागेन र ?

अब सुन्नुस् यहुदी किंवदन्ती अनुसार यहुदीहरूका प्रथम पुर्खा अब्राहका सारा र हजारा नाम गरेका दुई पत्नी थिए । सौताको झगडामा साराले हजारालाई गाउँ निकाला गराइन् । पहिले त अब्राहमले साराको यो निर्णयप्रति आपत्ति जनाएका थिए । तर, यहोबाको अप्रत्याशित सन्देश आएकाले साराको यो निर्णय अब्राहमका लागि पनि मान्य भयो । त्यसपछि उनी दोस्री पत्नी हजाराका साथमा उनको पुत्र इस्माइललाई लिएर पूर्व हानिए । अरबको मरुभूमिमा आइपुगेर उनीहरूले आफ्नो बासस्थल बनाए । अब्राहम र इस्माइल बाबु-छोराले बनाएको भनिएको अरबको मक्कास्थित कावा छ; जसलाई संसारभरिका मुसलमानहरूले पवित्रस्थल मान्दछन् । कावाभित्र पनि एउटा कालो रङ्गको ठूलो पत्थर छ जसलाई मुसलमानहरू अल्लाहले उपहारस्वरूप पठाइदिएको विश्वास गर्दछन् । त्यही कावामा एउटा कुवा छ जसलाई अरबीहरू आब-ए-जमजम भन्दछन् । आब-ए जमजमको अर्थ पवित्र जलस्रोत हो । यो कुवाको उत्पत्तिबारे इस्लामिक किंवदन्ती कस्तो छ भने: सपनामा यहोबाले अब्राहमलाई हुकुम गरे कि तिमी झट्टै हेब्रोन फर्क ! हेब्रोन भनेको अहिलेको जोर्डन अधीनस्त ह्वेस्टब्यांकस्थित एउटा पहाडी क्षेत्र हो । त्यसपछि उनी हजारा र इस्माइललाई त्यहीँ छोडिराखेर फर्किए ।

पतीवियोग र छोराको पीडाले शिथिल भएकी हजारालाई इस्माइलले पानी मागेपछि झन् धेरै छटपटी भयो । पानीको खोजीमा सफा र मरुवा भन्ने दुई पहाडमा उनले सात फन्का मारिन् । कतै पानी पत्तो लागेन । त्यसपछि उनले यहोबा पुकारिन् । यहोबा उत्पन्न भएर भुइँमा खुट्टा बजारेपछि पानीको मूल फुट्यो । त्यही स्थानलाई आब-ए-जमजमको नामले आज चिनिन्छ । आज ‘हज’ गर्न भनेर मक्का जाने मुसलमानहरू अब्राहम पत्नी हजाराले फन्का मारेका तिनै दुई पहाडको वरिपरि परिक्रमा गर्दछन् । छोराको तिर्खाले अत्तालिएकी हजारा पहाडको तलमाथि दौडिएको नक्कल गर्ने हुँदा आजका हजयात्रीहरू सयौंको ज्यान पनि जाने गरेको छ ।

तिनै अब्राहमपुत्र इस्माइलका कैयौं पुस्तापछि मक्कामा पैगम्बर मुहम्मदको जन्म भएको अरबीहरू विश्वास गर्दछन् । ऐतिहासिक तथ्यअनुसार मुहम्मद कुरैसी प्रजातिका अरबीको सन्तानका रूपमा जन्मिएका थिए । कुरैसी भनेको भारतीयहरूमा कैयाँ-मारवाडी वा नेपालीमा नेवार जाति समुदायझैं अरबी व्यापारी वर्गको खलक हो । सन् ६१० देखि उनले सपनामा अल्लाहले आफूलाई सन्देश पठाएर कुरान लेख्ने हुकुम बताउन थाले । त्यसपछि क्रमशः उनले कुरानको प्रकाशन गर्दै नयाँ इस्लाम सम्प्रदाय निर्माण गरे ।

उता अब्राहमकी अर्की पत्नी साराबाट इसाहक जन्मिएका थिए । इसाहकबाट जेकब जन्मिए । जेकबलाई एउटा विशेष धार्मिक उत्सवमा दोस्रो नाम इजरायल दिइएको थियो । जेकबका १२ भाइ छोरा थिए । जेकबको दोस्रो नामबाटै अहिलेको राष्ट्रनाम इजरायल रहेको र तिनै १२ भाइबाट फैलिएका सन्तानहरु अहिलेको इजरायलका जनजातिहरु हुन् भन्ने विश्वास गरिन्छ । चमत्कारिक रूपमा अब्राहमको जेठो छोरो इस्मालका सन्ततिहरू कालो वर्ण र इसाहकका सन्ततिहरू चाहिं श्वेतवर्णका भएको पनि विश्वास गरिन्छ ।

यसअतिरिक्त इस्लामिकहरूले यहुदी शास्त्र ‘तह्नक’बाट मुख्य पाँच पुस्तकहरू ‘तोराह’लाई अल्लाहकै सन्देशको रूपमा मान्दछन्  भने मोजेसलाई अरबीहरू मुसा भन्छन् । जेकबलाई याकुब भन्छन् । यतिसम्म कि यहुदीहरूका पुर्ख्यौली राजा सोलोमनलाई अरबीहरू सुलेमानको नामले चिन्दछन् भने उनलाई पनि अल्लाहकै सन्देशवाहक ‘नबी’ मान्दछन् । अरबीहरुले जिसस क्राइष्टलाई पनि पैगम्बर मानेका छन् । यहुदी र अरबीहरुबीचको प्राचीन इतिहासमा आधारित अन्तरसम्बन्ध बुझ्न यति कुरा पर्याप्त होलान् ।

अब यता इसाई र यहुदीबीचको अन्तरसम्बन्धबारे कुरा गर्नपर्छ जस्तो लागेन । इसाईहरू पनि यहुदी शास्त्रीय वाङ्मयका पाँच पुस्तक ‘तोराह’ भित्रका सन्देशहरूलाई इशा मसिहकै वाणीको रूपमा मान्दछन् । तोराहका वाणीहरू समेटेर उनीहरूले बाइबलको पुरानो खण्ड नै निर्माण गरेका छन् जसलाई ‘ओल्ड टेस्टामेण्ट’ नाम दिइएको छ । इसाईहरुले यहुदीसितको अन्तरसम्बन्धलाई नकार्ने सम्भावनाको कुरै आउँदैन ।

किनभने इशा (जिसस) स्वयं यहुदीका वंशज थिए । यही वंशजको आधारमा उनलाई शूली टाँग्ने निर्णय गर्नुपूर्व रोमी राज्यपाल पिलातुस (Pontius Pilate)-ले बारम्बार ‘तिमी यहुदीहरूको राजा हो?’ भनेर जोडतोडका साथ सोधेका थिए । यो सोधाइबाट के सङ्केत बुझ्न सकिन्छ भने जिसस एक स्वतन्त्रता पक्षधर मुखर व्यक्ति थिए । उनको निर्भीकतादेखि रोमी साम्राज्यका हिमायतीहरू डराएका थिए । त्यसैकारण उनका विरुद्धमा यरुसलेमका पुजारीहरू उठाएर षड्यन्त्रपूर्वक उनको हत्या गरियो ।

अन्त्यमा हामी उही प्रश्नको घेरामा पुग्छौं यरुसलेम कसको अधीनमा रहने ? अरबी परस्त फिलिस्तिनी (प्यालेस्टाइनी), यहुदी वा इसाई जे भने पनि, ज-जसका बीचमा युद्ध भए पनि सारा समस्याको जड यरुसलेममाथिको स्वामित्व नै हो ! यसले हस्तिनापुरमाथिको स्वामित्व कसको अधीनमा भन्ने प्रश्नबाट महाभारत अथवा कुरुक्षेत्र जन्मिएजस्तै शास्त्रीय संस्मरणको शृङ्खला निर्माण गरिदिएको छ ।