आफूले जीवनको अनुभूति लिएयता समय सधैं दौडिरह्यो;  समयले मेरो सुस्ततालाई कहिल्यै पर्खेन। जीवनमा कति रमाइला घडी आए, कति व्यथाका क्षणहरु आए ! समयले तिनलाई पनि साथमै लिएर गयो।

जीवनले मेरो युगका सत्र र अठार पत्र उक्काउँदासम्म म आनन्दित थिएँ। प्रफुल्लित थिएँ। हजार सपनाको महल बनाएर त्यसैमा विचरण गरिरहेको थिएँ। अकस्मात एउटा जल्लाद केही जुक्ति जुटाएर मलाई फेदैसम्म नङ्ग्याउन तयार भयो। अनेक छलछामका तानाबाना बुनेर मलाई ‘द्रोही’, ‘अराष्ट्रियतत्व’ को माला पहिर्याउँदै सम्मान गर्यो ! त्यसपछि त म ‘राष्ट्रविहीन लाहुरे’ भएँ !

मेरो अनुपस्थितिको शून्यताले बेस्सरी निचोरेर बौरिँदै थिए मेरा बा। फेरि त्यही जल्लाद आयो;  मेरा बाको आस्था–भरोसाको शिर चट्ट छिनाल्यो र ‘१’  नम्बर लगाएर डिलमाथि राख्यो। मेरी आमाको छाती चर्रर चिर्यो र फोक्सो–कलेजोको अर्को भाग लगाएर ‘२’ नम्बर लेख्यो। हेर्दाहेर्दै निमेषभरमा मेरो सुन्दर परिवारलाई सातवटा टुक्रामा बाँडेर सात वटै नम्बर लगायो।

जीवन भावनामा उचालिएर हावामा बगेजस्तो पक्कै हुँदैन। मर्नेहरू मरिरहँदा पनि बाँच्नेहरू रमाउनुपर्छ। टुक्रा–टुक्रा खुशी बटुलेर उत्सव मनाउनुपर्छ, चाहे ती उत्सव आफ्नै लागि हुन् कि अरुका लागि। अझ, ‘खुशी’को क्रय–विक्रय हुने देशमा त कुरैं नगरौं, के के हुन्छ ! त्योबेला त्यस मुलुकमा ‘खुशी’को बिक्री गरिन्थ्यो।

त्यसैले बाध्यकारी खुशी हुने हुकूम शिरोपर गर्दै मेरा बाहरू पनि खुशी भइटोपले। पहिले नै कन्पारोमा छाप ठोकेर नम्बर खोपेकै थियो। ‘बा’हरू अमुक देशको ‘नम्बरी’ नागरिक हुन पाउँदा धेरै प्रफुल्लित भए। ‘कहिल्यै धुलिया नलाग्ने फलामको बाकसमा हामी सधैं सुरक्षित छौं’ भन्ने मेरा ‘बा’को उद्गार मैले पनि हजारचोटि नै सुनेको हुँला।

यतिमै त्यो जल्लाद चुप लाग्न सकेन। अझै धेरै खुशी उत्पादन गर्नका लागि एकदेखि छसम्मका सबै जुटेर सातौं भागमा परेको चोक्टालाई सिमानापारि लगी मिल्काउनुपर्ने शर्त राख्यो। सबै मिलेर दिनभरि त्यसै गरे अनि बेलुकी हुकूमको खुशी प्रमाणित गराउन बेस्सरी अट्टहास लगाए। त्यसपछि क्रमशः नम्बरहरु तल तल झर्दै गए। पालो सबैको आयो। हो; ‘भूटान’ नाम गरेको दक्षिण एशियाली एउटा मुलुकबाट यसरी नै जनता लखेटिए।

कुनै न कुनै बाध्यताबिना मान्छेले आफ्नो थातथलो छोड्ने इच्छा गर्दै गर्दैन। आफ्नो हित चाहनु संसारका सबै जीवहरुको नैसर्गिक गुण हो।

सिमानापारि दशैंमा पहाडबाट झारेका भेडाच्याङ्ग्राझैं मान्छेहरूको बजार बढिरहेको थियो। अभाव र हैजाले कति त्यतै सोत्तर भए, गनेर संख्या तोक्न पनि साध्य थिएन। जेनतेन सास तानेर आफूलाई के भएको हो भनी टुङ्गो गर्न लाग्दै के थिए, त्यहाँ पनि अर्को कसाई देखापर्यो। तर, त्यो कसाईलाई ती भेडाच्याङ्ग्राहरूको जिउडालले लोभ्याउन सकेन शायद ! र, ‘भारत’ नामको त्यो कसाईले अझ अर्को देशको सिमानापारि लगेर मिल्काइदियो।

त्यसपश्चात शुरु भयो यहुदीहरूलाई ‘हिटलरी ग्यास च्याम्बर’ तिर लगिनुभन्दा अघि ‘कन्सन्ट्रेशन क्याम्प’भित्र गुम्सिँदो झैं जिन्दगी!

मैले त्यहीबेला महसुस गरेको हुँ, एउटा सिंगो मान्छेलाई आफूजस्तै अर्को मान्छेले, ‘ऊ हेर त, त्यो देशबिनाको मान्छे’ भनेर अर्द्धमानवका रूपमा सम्वोधन गरिरहँदा जे अनुभूत हुन्छ, त्यो शब्दमा अभिव्यक्त गर्नै नसकिँदो रहेछ।

भोक, रोग, शोक र आर्तनादहरुलाई जीवनका गहना सम्झेर बाँच्नु निक्कै स्वादिलो पनि हुँदो रहेछ। समयको एउटा कालखण्डले दिएको त्यो अनुभव जीवनमा कहिल्यै भुल्नलायक छैन। हामीजस्तै लाखौं, करोडौं जीवनले संसारमा कति त्यस्ता अनुभूति सँगालेका होलान्? आफ्नै मनले बेलाबेला प्रश्न गर्छ।

मनिसहरुले एकठाउँबाट अर्को ठाउँमा बसाइँ सर्नु ऐतिहासिक क्रम हो। तर, त्यो सराइ सधैं सहज हुँदैन। सर्नुका कारणहरू पनि सहज हुँदैनन्।

मानव इतिहासको पाषाण युगदेखि नै विभिन्न बाध्यताले मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सर्न थालेका हुन्। शक्तिशाली मान्छेले आफ्नो प्रभाव फैलाउँदै जाँदा दुर्बलहरू पाखा लाग्नु नैसर्गिक प्रक्रिया नै होला। समुद्रमा ठूलो माछाले सानो माछालाई निल्छ। जङ्गलमा बलिष्ठ बाघले दुर्वल मृगलाई शिकार बनाउँछ। योभन्दा पनि निर्मम एउटा सर्पले आफूजस्तै अर्को सर्पलाई सिङ्गै निल्छ। मानवलाई यस्ता पशुसित तुलना गर्न मिल्दैन भन्ने आदर्श छ। तथापि, मान्छे पनि यो आदर्शभन्दा पर रहेको देखिँदैन।

मानिसहरूको बसाइँसराइ एउटा स्वैच्छिक र अर्को बाध्यकारी हुन्छ भन्ने आम भनाइ छ। तर, मलाई के लाग्छ भने कुनै न कुनै बाध्यताबिना मान्छेले आफ्नो थातथलो छोड्ने इच्छा गर्दै गर्दैन। आफ्नो हित चाहनु संसारका सबै जीवहरुको नैसर्गिक गुण हो। मान्छे पनि जीवनको मूल्यसँग आफ्नो आदर्शको गरिमा राख्न चाहन्छ। त्यो कुरा जब सम्भव नहुने परिस्थिति उसले बुझ्छ, बसाइँ सर्नु निर्विकल्प उपाय उसले ठान्छ।

देशबिनाको मान्छे वा राष्ट्रविहीन लाहुरे हुँदा मनोबल गिराएर हुतिहारा बन्नु हुँदैन भन्ने ज्ञान मैले इतिहासको अध्ययन गरेरै आर्जन गरेको हुँ।

अनिकाल, खडेरी, हैंजा, समुद्रीआँधी, बाढी, पैह्रो आदिको प्रकोप त प्राकृतिक कारणहरू भए। तर, विस्तारवाद, उपनिवेशवाद, सांस्कृतिक अतिक्रमण, सशस्त्र युद्ध, राजनीतिक वर्चस्वको दमनजस्ता कारणले विस्थापित हुनेहरूको संख्या संसारमा अधिक छ। यी भनेका एउटा शक्तिशाली मान्छेले अर्को निर्बल मान्छेमाथि गरेको चढाइँबाट उत्पन्न हुने नतिजा हुन्। यसरी भन्न सकिन्छ संसारमा जति पनि राष्ट्रविहीन (देशबिनाका) मानिसहरूको संख्या छ, त्यो संख्या निर्माण गर्नमा उनीहरूजस्तै अर्को मान्छे जिम्मेवार छ।

विभिन्न अध्ययन/अनुसन्धानले देखाएअनुसार मानिसहरूको बसाइँसराइ सबैभन्दा पहिले अफ्रिकाबाट शुरु भएको थियो। आजभन्दा दशलाख वर्ष पहिले होमोइरेक्टस प्रजाति त्यहाँबाट विस्थापित भएको मानिन्छ। दशलाख ५० हजार वर्ष पहिलेदेखि अफ्रिकाको पूर्ण आवादी ओगटेको होमोस्यापियन्स मानव प्रजाति आजभन्दा ७० हजार वर्ष पहिले त्यहाँबाट यूरेसिया, यूरोप, अष्ट्रेलिया, एशिया हुँदै सम्पूर्ण संसारमा फैलिएको थियो।

यसरी हाम्रा प्राचीन पुर्खाहरू बद्लिँदो वातावरण, जमीनको प्राकृतिक उतारचढाव, खाद्यको अभाव र आफूभन्दा शक्तिशाली अर्को पक्षको दमन आदि कारणले एक ठाउँबाट अर्को ठाउँ सर्दै थिए। आजभन्दा आठ हजार वर्षअघि भीषण खडेरी र अनिकालका कारण दक्षिण चीनको भूमिबाट चिनियाँहरूको ताइवानको टापुमा बसाइँसराइलाई सोही रूपको उदाहरण मान्न सकिन्छ। सिन्धु उपत्यकाबाट आर्यहरु गंगा किनारतिर सरेको कुरालाई यस्तै घटनाहरुसित जोडिएको छ।

जुनसुकै कारणले सरेको भए पनि मान्छेले आफू पुगेको नयाँ ठाउँबाट फेरि सर्नु नपरोस् भनेर त्यहाँ हरेक दृष्टिले आफ्नो प्रभाव कायम गर्ने प्रयास गर्छ। त्यस्ता प्रयासमा मान्छेले आफूभन्दा अलग अस्तित्व धान्नेहरूलाई युद्धबाट परास्त गर्नेदेखि भाषा, संस्कृति, संस्कार, जीवनपद्धति सबै चीजमा अतिक्रमण गर्दछ। एकले अर्कोमाथि चढाइँ गर्ने, फेरि शक्तिसञ्चय भएपछि अर्कोले पुरानोमाथि रिस फेर्ने यो क्रम सदियौंदेखि चलिरहेको छ।

यद्यपि, गहिरो रूपमा मनन् गर्ने स्थापित कुराचाहिं के छ भने नयाँ ठाउँमा सरेकाहरू कि पूर्ण रूपमा विलय भएका छन् कि त पुरानो ठाउँमा छुटेका भन्दा धेरै प्रगति गरेर देखाएका छन्।

पौराणिक पात्र कृष्णले आफू जन्मेकै ठाउँमा हुर्किएर देवत्व प्रमाणित गरेका थिएनन्। रामले अयोध्यामै बसेर मर्यादा–पुरुषको उपाधि हासिल गरेका थिएनन्। बाह्रौं शताब्दीमा शानवंशले अतिक्रमण नगरिञ्जेल पूर्वोत्तर भारतमा वात्सायन–वंशको आधिपत्य थियो। ‘कामसूत्र’ लेखेर हिन्दू समाजमा ख्याति कमाएका ऋषि वात्स्यायनले बर्माबाट फैलिएको पागन संस्कृतिमाथि अतिक्रमण गरे। पागनहरूलाई भगाएर आफ्नो शक्ति बिस्तार गर्दै जाँदा उनले नै आसाममा कामक्ष माईको मन्दिर बनाएको कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख छ। उनकै साखा–सन्तानका रूपमा वात्स्यायनवंशले आफूलाई चिनाउँछन्। तर, शान वंशले पुनः वात्स्यायनवंशमाथि आक्रमण गर्यो। सो आक्रमणपछि वात्स्यायनका सन्तानहरू भागेर कश्मीर पुगे। त्यहाँ पनि मुगलहरूको कब्जा भएपछि फेरि भागेर पञ्जाब –सिन्धप्रान्त पुगे। तिनीहरू त्यहाँ पनि पुनःस्थापित भएकै छन्।

भूटानको शासकीय पक्षले जति नै धारे हात लाएर सरापे पनि, डाहले जति नै जले पनि ‘विख नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन’ भन्ने नेपाली उखानलाई पुनर्वासमा अमेरिका पुगेका भूटानीहरुले राम्रै गरी दर्शाएका छन्।

यस्ता तमाम इतिहास र मिथकहरू मैले राष्ट्रविहीन लाहुरे भएकै बेलामा पढ्न र बुझ्न पाएको हुँ। देशबिनाको मान्छे वा राष्ट्रविहीन लाहुरे हुँदा मनोबल गिराएर हुतिहारा बन्नु हुँदैन भन्ने ज्ञान मैले इतिहासको अध्ययन गरेरै आर्जन गरेको हुँ। इटलीका क्रिष्टोफर कोलम्बसले स्पेनको जलयात्री बनेर अमेरिका पत्ता लगाए। जर्मनीका अल्बर्ट आइन्सटाइनले विश्ववैज्ञानिकको उपाधि लिए। जर्मनीकै कार्ल मार्क्सले राष्ट्रविहीन भएर राजनीतिक दर्शन लेखे।

कुरो त्यतिमात्र कहाँ हो र? केही दशक पनि बितेको छैन, भारतबाट बँधुवा मजदुरका रूपमा फिजी पुर्याइएकाहरूकै सन्तति महेन्द्र चौधरी त्यहाँका प्रधानमन्त्री बनेका थिए। भारतकै बिहारबाट बँधुवा मजदुरका रूपमा मरिशस पुगेका राम गुलामका सन्तानले मरिशसलाई बेलायती उपनिवेशबाट मुक्त गराए। शिवसागर रामगुलाम सन् १९८५ सम्म त्यहाँका प्रधानमन्त्री थिए।

यो सन्दर्भमा नेपाललाई पनि जोडीहालौं न ! ऐतिहासिक नेपाल (गोर्खा राज्य) बाट हाम्रा पुर्खामात्र भूटानतिर पसेका थिएनन्। संसारमा अहिले जति पनि नेपालीभाषीहरु छन्, ती सबै कुनै न कुनै समयमा नेपालसित साइनो गाँसिएकै थिए। बेलायती साहित्य वाङ्मयका हस्ती वि.एस.नइपलले सन् २००१ को नोबल पुरस्कार थाप्तै गर्दा आफू नेपाली पुर्खाको (‘नेपाल’ थरको) सन्तान भएको बताएका थिए। नेपालबाट बाहिर जानेहरूको मात्र कुरो नगरौं। आपत्कालमा बर्माबाट ज्यान बचाउन फुत्किएका अनेकौं मान्छेहरू नेपाल फर्किएर पुनःस्थापित भएका छन्।

यहुदीहरुले आफ्नो राष्ट्रसँगै सम्पूर्ण अस्तित्व गुमाएर पनि करीब साढे चार सय वर्षपछि इजरायल नामक आफ्नो राष्ट्र पुनर्स्थापित गराएका छन्।

यहुदीझैं हामी पनि फेरि बौरिँदैछौं, मुर्दाबाट पुनः जाग्दैछौं। धुलो टक्टक्याउँदै फेरि उठ्तैछौं। हाम्रो मनोबल बढाउनमा संसारमा थुप्रै इष्टमित्रहरू रहेछन् भन्ने कुरो पनि त्यही क्रममा आभास भएको छ। मानवताको खडेरी परेको मरुभूमिमा हामी नङ्ग्राबाट बौरियौं, रौंबाटै जाग्यौं, भेलमा हेलिएर आएको लुँडीबाटै उठिरहेका छौं। अर्काकै सहारामा सही, हामी कलमहरु तिखारेर अक्षर, शब्द र वाक्यहरुमार्फत ब्यूँझिरहेका छौं। भाषा र साहित्य हाम्रा लागि ढुकढुकी–स्पन्दन बनिदिएका छन्। हाम्रो अस्तित्व नामेट पार्ने जल्लादको जुन अभिप्राय थियो, पूरा हुनै सकेन। भाग्यले ठेलेर पर कता हो कता पुर्याए पनि हामीलाई आफ्नै परिश्रमले तानेर फेरि जीवनको नजिक पुर्याइदिएको छ।

एकचोटि सास फेर्ने हावामाथि नै प्रतिबन्ध लागेको त्यो बेला खुल्ला सास फेर्न दिने त्यो मुलुक–नेपालप्रति कृतज्ञ छौं हामी एकबेला ‘शरणार्थी’ उपमाले चिनिएका मान्छेहरू !

आज त नेपालबाट जहाज चढेर समुद्र तरेको पनि दशक नाघिसक्यो। पुनर्वास भइसके पनि पूर्व भूटानी शरणार्थीहरूलाई नेपालको माया खूब लाग्छ। किनकि उनीहरूले आपतकालमा ओत लाग्ने बास नेपालमा पाएका थिए। नियमित ज्यामी–मजदूरीको साबिकभन्दा एक चौथाई कम ज्यालामा काम गरे। दुई मुठा सागको दाम आउला भनेर शिविर आसपासका खेतहरूमा रोजगारी गर्थे उनीहरू। राहतस्वरूप पेट भर्न दिएको चामलसित साटेर भए पनि भर्खरै जन्मिएका बच्चालाई शिविर वरिपरिका गाउँबाट दूध ल्याएर खुवाएका थिए। त्यति मात्र होइन, स्कूल र कलेजमा पुगेका विद्यार्थी किशोरहरूको सम्बन्ध बिस्तार भएको थियो जो आज आएर विवाहबन्धनमा परिणत भइरहेको छ। कैयौं युवाहरू अमेरिकाबाट नेपाल पुगेर विवाह गरिरहेका छन्।

त्यसमाथि भाषा–साहित्यको सम्बन्ध अझ गहन छ। भाषाले समाजको पहिचान गराउँछ भने साहित्यले सहअस्तित्वबोध र गौरवगाथा बोकेको हुन्छ। भूटानीहरुमा नेपाली भाषाप्रतिको मोह अत्यन्तै गाढा छ। भूटानको सरकारले उनीहरूमाथि दमन गर्ने क्रममा नेपाली भाषाप्रति देखाएको घिनलाग्दो हरकत पनि त्यसको एउटा कारण हुनसक्छ। अष्ट्रेलिया–अमेरिका पुगेका हरेक युवा स्पन्दनमा अहिले नेपाली भाषासाहित्य र सङ्गीतप्रतिको चाह दिन दोगुणा रात चौगुणा बढिरहेको छ।

अष्ट्रेलियामा ‘भूटानीज इथ्निक स्कूल’ नामक संस्थान नै दर्ता भएको छ भने अमेरिका र अन्य देशहरुमा विभिन्न साहित्यिक–सामाजिक संगठनहरू क्रियाशील छन्। कैयौं पुनर्वासित भूटानीहरु गीतकार, गजलकार, गायक, सङ्गीतकार, लेखक–पत्रकार बनेका छन् र ती सबैको नेपालका कुनै न कुनै व्यक्ति वा संगठनसित सम्बन्ध बिस्तार भइरहेकै छ। यो अत्यन्तै गर्वबोधको कुरा हो। तर, यो लहरमा पनि आंशिक नकारात्मक प्रवृत्तिहरु हुँदै नभएका होइनन्।

त्यो नकारात्मक प्रवृत्ति के भने पुनर्वासित तर्फका केही पैसाको धाक प्रदर्शन गर्ने, धनको पोकोलाई आड बनाएर योग्यताविहीन कलाको विज्ञापन गर्ने अनि अर्को पक्ष तिनीहरुलाई नै आयआर्जनको स्रोत ठानेर सकेसम्म असुली गर्नेहरू प्रशस्तै देखिएका छन्। यस्ता मौकामा चौका हान्न खोज्नेहरूदेखि दुवैतर्फी होशियार बस्नु सबैका लागि लाभदायक हुने’थ्यो।

पाठकहरुले बुझिसक्नु भयो, पूर्व भूटानी शरणार्थीहरु साधन–सुविधाले सम्पन्न छन्। तर, यति हुँदा पनि उनीहरुको हृदयाकाशमा उज्यालो घाम लाग्न पाएको छैन। किनभने उनीहरूमाथि भएको अन्यायको सम्बोधन अझै हुनसकेको छैन। उनीहरुमाथि बार–बार अन्याय भएको छ। नेपाल सम्झिँदा भूटानीहरु खिन्न हुनुपर्ने सबैभन्दा मुख्य दुइवटा कुरा छन्। ती के भने दक्षिण एशियामा अन्याय–अत्याचार भए, कुनै विशेष समुदाय र जाति–भाषामाथि राजनीतिक दमन भएमा, त्यस्तो ज्यादतीबाट बँच्नका लागि यूरोप र अमेरिकातिरै पस्नुपर्छ भन्ने एउटा नजीर नेपालले बसाइदियो। हुन त भूटानको कूटनीति र भारतको दादागिरीका अगाडि केही नलागेपछि नेपालले त्यसो गरेको थियो। यद्यपि, नेपालले भारतका सामु राख्नसक्ने एउटा खरो प्रश्न कहिल्यै राखेन। त्यो प्रश्न हो – ‘विश्वको विशाल गणतन्त्र भनिएको भारतमा त्यस्तो कुनै सचेतक, चिन्तक छैन जसले भारतीय नश्ल नमिसिए पनि अन्याय–उत्पीडनमा परेकाहरुको बचाउ गरोस्, पैरवी गरोस्?’

नेपाल आफैंले पनि पितृभूमिमा आएका शरणार्थीहरुलाई नागरिकता दिन सक्थ्यो। तर, त्यसो गरिएन, बरु ‘शरणार्थीलाई बसोबास गर्न दिइएको भूमिकर’ भनेर अन्तर्राष्ट्रिय संस्थाहरूबाट हर्जाना उठाइयो। नेपालको सरकारी पक्षले शरणार्थीहरूबाट प्राप्त हुने ‘अकबरी सुन’ (विम्बात्मक) भूटानीहरूभन्दा पहिले नै तिब्बतीहरूबाट चिनिसकेको थियो।

नेपालको सरकारी तहले गरेको अझै शर्मनाक बितण्डा हो भूटानसित वार्ता गर्न जाँदा भूटानले राखेका शर्तहरु सरासर मान्नु। झापामा हुने शरणार्थीहरूलाई चार भागमा वर्गीकृत गर्ने र एक भागमा परेकालाई मात्र भूटान फिर्ता गर्ने भन्ने भूटानको शर्त नेपालले मानिदिएकै कारण शरणार्थीहरूको स्वदेशफिर्तीको मुद्दाले सम्बोधित हुन पाएन। त्यो कसरी भने भूटान सरकारले अडान राखेको थियो शरणार्थीलाई चारवटा वर्गमा विभाजित गर्ने र वर्ग १ मा पर्ने कोही भेटिएमा फिर्ता लैजाने। उसको शर्तानुसार शरणार्थीहरुको चार वर्गीकरणमा – १. भूलवश कसैको प्रभावमा परेर देश छोडेका, २. भूटानबाट आफ्नो जायजेथा सरकारलाई बुझाएर स्वेच्छाले देश छोडेका, ३. भूटानसित कुनै साइनो नभएका विदेशी र, ४. भूटानमा आतंकवादी क्रियाकलाप सञ्चालन गरी सजायबाट जोगिन भागेका अपराधीहरु– भनेर तोकिएको थियो।

यो शर्तमा नेपालले भूटानलाई सहमतिको हस्ताक्षर गरिदिनु नै अक्षम्य कूटनीतिक त्रुटि भयो। भूटान पनि राष्ट्रसंघको सदस्य राष्ट्र हो र नेपाल पनि। यदि भूटानमा आतंकवादी क्रियाकलाप गरेकाहरू कोही शरणार्थी बनेका थिए भने तिनलाई सहजै अन्तर्राष्ट्रिय कानून प्रयोग गरेर भूटानमै कारबाही चलाउन सक्थे। तर, भूटानका नागरिकलाई आतंकवादी बनाउने थिम्पूको शर्तमा सही ठोकेर नेपालले पनि आफूलाई कूटनीतिक अपराधी सावित गरिदियो र, भूटान–नेपाल दुवै मिलेर राष्ट्रसंघलाई स्वयं आतंकवादीको पालनपोषण गर्ने संस्था सावित गर्न खोजे। भूटानसित साइनो नभई भूटानी शरणार्थी बनेका र भूटानमा आतंकवादी क्रियाकलाप गरी भागेका मान्छेहरू कोही थिए भने दुबै देशले संयुक्तराष्ट्रसंघको सहयोगमा सजिलै प्रमाणित गर्न सक्थे। तर, वास्तविकता त्यस्तो थिएन। थिम्पूको सरकार शरणार्थी मामिलामा आफैं आतंकवादी बनेको थियो भने नेपाल उसैलाई सही थपिदिने साक्षीमात्र बन्यो।

नेपाल सन्दर्भमा एउटा अर्को पनि विडम्बना थपियो। वि.सं ७२ को भूकम्प गएपछिको एउटा काण्ड छ। कुरो के भने नेपालमा भूकम्प गएर धेरै मानिसहरूलाई प्रभावित बनाएको थियो। विश्वभरिबाट आर्थिक लगायतका भौतिक सहयोगको अभियान चलिरहेको थियो। नेपालको निकटतम छिमेकी मुलुक भारतले पनि आपत्कालीन सहयोगको अभियान चलाइरहेको थियो।

यस्तैमा भूटानका तत्कालीन प्रधानमन्त्री (आनुष्ठानिक पद) छिरिङ तोब्गे पारोबाट सरररर उडेर काठमाडौ आए र तत्कालीन नेपाली प्रधानमन्त्री सुशील कोइरालाको हातमा राजाले पठाएको १० करोड रुपियाँको चेक थमाए। भारतको भरोसिलो आड लिएर कूटनीतिक तहमा सधैं नेपाललाई पछार्दै आएको थिम्पूले कूटिलतापूर्वक थमाएको चेक भुइँमा झरिहाल्ला कि भनेझैं गरी कोइरालाले च्याप्प समातेर सकी नसकी खिस्स मुस्कुराए। भूकम्पको बेला नेपालमा विश्वभरिबाट आएको अरबौं, खरबौं रकम आउने क्रम चलिरहेको थियो। त्यो लहरमा थिम्पूबाट आएको १० करोड ‘हात्तीको मुखमा जीरा समान’ थियो। त्यसले नेपालको शाख गिराउनबाहेक के नै गर्न सम्भव थियो र? ‘शरणार्थी समस्याको समाधानमा ठोस पहल नगर्ने थिम्पूको सरकारबाट हामी जस्तै आपत परिआए पनि आर्थिक सहायता लिँदैनौं’ भनेर नेपाल सरकारले त्यतिबेला उद्घोष गरेको भए अन्तर्राष्ट्रिय समुदायमा भूटानको शिर नत हुन्थ्यो, नैतिक दवाब पर्थ्यो। खै त त्यति विचार किन पुर्याइएन?

अमेरिकामा पुनर्वासित भइसकेका भूटानीहरुले पनि नेपालमा भूकम्पको बेला करीब करोड रुपैयाँको हाराहारीमा सहयोग रकम पठाएका थिए। यदि नेपालका तर्फबाट कुनै निकायले आधिकारिक तहमा पुनर्वासित भूटानीहरुलाई सम्बोधन गरेको भए त्यसबखत थिम्पूको सरकारले दिएको भन्दा बढी रकम त निर्वासित भूटानीहरूबाटै नेपाल सरकारको हात लाग्ने थियो। तर अहँ, त्यस्तो कहिल्यै भएन। तैपनि, नेपालमा जारी धुर्मुश–सुन्तलीको निर्माण अभियानदेखि अशक्त र अपांगलाई सहयोग गर्ने, वृद्धवृद्धाका आश्रममा अनुदान गर्ने र कलासाहित्यका प्रतिष्ठानसम्म पुनर्वासित भूटानीहरुको हात फैलिइरहेकै छ र फैलिइरहने छ।

उनीहरूसित अहिले ठूला घर छन्, बालबालिका राम्रा स्कूलहरुमा पढ्छन्। मझेरीमा चिल्ला गाडी छन्। धेरैले राम्रो व्यापारव्यवसाय चलाएका छन्। केही युवाहरु अमेरिकी सेनामा प्रवेश गरेका छन् भने केहीले चुनाव जितेर हासिल हुने राजनीतिक प्रतिनिधित्वका सरकारी पदहरू पनि लिन थालेका छन्। तर, पनि उनीहरुको मनमा एउटा खिन्नताले बलियो जरा गाडेर बसेको छ। त्यो के हो भने थिम्पूको राजदरबारले उनीहरुलाई दमननीति अपनाएर अन्यायपूर्वक देशनिकाला गरेको थियो।

अहिले आएर आफ्ना छिमेकी मुलुकबाट लखेटिएका हिन्दूहरुलाई नागरिकता दिने भन्दै कानून बनाइरहेको वर्तमान भारतले उतिबेला कान पनि हल्लाएन। पुरानो यूपीएवाला सरकार र मन्त्रीहरूले जे जे गरे, पुरानो कुरो भयो। तर, भाजपाका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा सर्वप्रथम भारतको सर्वोच्च कार्यकारी पद लिनेबित्तिकै थिम्पूको भ्रमण गरे र राजदरबारकै जयगान गाए। अहिले ‘निर्वासित हिन्दूहरुलाई भारतीय नागरिकता दिइने’ स्रोत–देशहरुको नामावलीमा भूटानको नाम सामेल छैन। मानौं भूटानबाट लखेटिएका हिन्दूहरु भाजपाप्रभावी दिल्लीका लागि असली हिन्दू नै होइनन्। सुन्दा र हेर्दा यस्तो लाग्छ – भारतका लागि हिन्दू हुनलाई विशेष नश्लीय आवरण पनि चाहिन्छ।

दशकौंसम्म देशविहीन बनेर, गैरनागरिक फिरंगीका रूपमा उदास जिन्दगी भोगेका भूटानीहरूलाई अहिले अमेरिकालगायतका देशमा नागरिक बन्न पाउँदा गर्वले छाती फुलेको छ। आफूसित देश हुनु वा देशसित आफू हुनु र नहुनुको भिन्नता उनीहरुले राम्ररी बुझेका छन्।

भूटानको शासकीय पक्षले जति नै धारे हात लाएर सरापे पनि, डाहले जति नै जले पनि ‘विख नभएको सर्प र इख नभएको मान्छे काम लाग्दैन’ भन्ने नेपाली उखानलाई पुनर्वासमा अमेरिका पुगेका भूटानीहरुले राम्रै गरी दर्शाएका छन्। उनीहरू आफ्नो देशबाट लखेटिएर बीसौं वर्ष अभावग्रस्त शरणार्थी जीवनको व्यथा, पीडा र अनुभवलाई अहिले कलात्मक ढाँचामा उतारिरहेका छन्। पुनर्वासमा अमेरिका आएका प्रायः कोही पनि बेरोजगार छैनन्। घर किन्नेहरू पनि ७० प्रतिशतभन्दा माथि छन् भने आफ्नो रोजाइको गाडी नकिन्ने त कोही छैन भने पनि हुन्छ।

नेपाली मन र नेपालीपन भएको मान्छे वनमारा झार जस्तै हो। जहाँ फ्याँक्यो, त्यहीँ उम्रिन्छ र फैलाउँछ। हामी फैलिँदैछौं, फैलाइरहने छौं।

पुनर्वास भएका हरेक ससाना इलाकामा पनि नेपाली शैलीका खाद्य र वर्तनकपडाका पसलहरू छन् जो सबै भूटानीहरुले चलाएका छन्। कसैले लामो दूरीका मालबाहक ट्रक चलाउने जागिर गरेका छन् त कसैले स्थानीय कम्पनीहरुमा विभिन्न तहको मजदूरी गरेर आयआर्जन गरिरहेका छन्। केही स्थानीय विद्यालयमा शिक्षण पेशामा सामेल भएका छन् भने केही अध्ययनपछि स्वास्थ्यसेवामा पनि लागेका छन्। अहिले कोही चिकित्सा विशेषज्ञ डाक्टर बनिसकेका छन् भने अस्पतालहरूमा विशेषीकृत परिचारिका र सामान्य नर्सहरु त कति भए कति!

खुशीमात्र छैन अमेरिकामा, कहालीलाग्दो दुःख पनि छ। कामको हतारोले गर्दा मनमा तनाव र थकान सधैं छ। आफ्नो दायित्व र पेशाप्रति इमानदार नहुनेहरूले तुरुन्तै सडकमा बास बस्नुपर्ने स्थिति आउँछ। उनीहरूमा लागूपदार्थको दुर्व्यसन स्वतः बढ्छ। त्यसको प्रभाव समग्र समाजमा फैलिन्छ। भूटान र नेपालमा शिक्षाको सुविधाबाट वञ्चितहरुलाई भाषाको समस्या छ। उनीहरूले घरबाट बाहिर सार्वजनिक जीवनमा कसैसित वार्तालाप गर्न सक्तैनन्। यद्यपि, श्रम गरेर नकमाई घर चल्दैन। आफूसहित परिवारलाई सडकको बास गराउन कसैलाई पनि इच्छा हुँदैन। केही भारतीय व्यापारीका किराना पसलहरुमा हिन्दी बोल्ने सुविधा हुन्छ, त्यतिमै उनीहरू रमाउँछन्।

कुरो यतिमात्र होइन, जतिसुकै सक्षम व्यक्ति भए पनि विभिन्न प्रयोजनका लागि घरबाट बाहिर गएको मानिस बेलुकी घर फर्किएर आउँछ कि आउँदैन भन्ने निश्चितता हुँदैन। अमेरिकामा हरेक नागरिकलाई खल्तीमा बन्दुक बोक्ने अनुमति प्राप्त छ। कुन सनकी व्यक्तिले सनक चढेको बेला बाटोमै गोली ठोकिदिने हो पत्तै हुँदैन। बन्दुक छूटकै कारण अस्पताल, विद्यालय, बजारलगायतका सार्वजनिक स्थलहरुमा दर्जनौं मानिसहरूको संहार गरिन्छ। यहाँको कानून अति चुस्तदुरुस्त छ। यहाँको प्रहरीलाई अपराध र अपराधीका विरुद्ध जतिसुकै कडा हर्कत अपनाउन अधिकार प्राप्त छ। यद्यपि, संसारभरिकै अव्यक्त नियम हो – सुरक्षा जति कडाइ हुँदै जान्छ, अपराधी र अपराधका घटनाक्रम पनि उत्तिकै फस्टाउँछन्। यस्तो अनिश्चितताको भवसागर पार गरेर पनि भूटानीहरुले शानदार जीवन नै भोगिरहेका छन्।

अहिले आएर मलाई गर्विलो आशा जागिरहेको छ, हामी फेरि पनि स्थापित हुनेछौं र गजबको प्रगति गर्नेछौं। नेपाली मन र नेपालीपन भएको मान्छे वनमारा झार जस्तै हो। जहाँ फ्याँक्यो, त्यहीँ उम्रिन्छ र फैलाउँछ। हामी फैलिँदैछौं, फैलाइरहने छौं।