सानैमा उसकी आमाले राखिदिएको नाम ‘भोटे’ ! साना भुरालाई साबिकभन्दा अलग, अनौठो नाम राखिदिए रोग-व्याध लाग्दैन भन्ने गाउँघरको जनविश्वास । के आशामा ‘भोटेआमा’ गुरुङनीले उसको नाम ‘भोटे’ राखिन्; कसैले सोध्न भ्याएनन् शायद ! सानो हुञ्जेल दलमान गुरुङको छोरो वीरमान ऊ ठूलो भएपछि सबैका लागि ‘भोटे कान्छा’ बनेको थियो । बाल्यकालमै बाबु बितेपछि उसकी दुखिया बुढी आमाले भोटे कान्छा उर्फ वीरमानलाई पढाउन सकिनन् ! आमाको बुढ्याइँ र आर्थिक अभावले उसलाई थिम्पूको शहरी निगम (सिटी कर्पोरेसन) मा सफाइ कर्मचारीको रूपमा जागिरे बनाएको थियो । मलेरियाले उसकी आमाको सिकिस्त अवस्था भएको सुनेर एक दिन ऊ गाउँ झऱ्यो !

~~~             ~~~

यसै त भोटे कान्छो गाउँतिर झर्दा ‘गाउँमा नयाँ शासन चलेको छ’ भनेको सुनेर त्राहिमाम् थियो । ऊ जागिरको सिलसिलामा थिम्पूतिरै बस्ने, उस बेला सञ्चारको सुविधा पनि नाइँ ! पढा-लेखाबिनाको मान्छे, खबर कागजहरू पढ्ने कुरो पनि भएन । यसर्थमा उसले दक्षिण भुटानमा चलेको आन्दोलनका बारेमा सुनेका कानेकुराकै भर मात्र बुझेको थियो ।

“दक्षिणका बासिन्दाहरूले देशमा अर्कै राजा बनाउने आन्दोलन गर्दैछन्, नयाँ राजा बनाएर भुटान देश पनि नेपालसँग मिलाउने रे, बम-गोली गट्ठा बोकेर आर.बी.ए.को सेखासेखी लडाइँ गर्दैछन् रे । यो बेला दक्षिणमा बस्नेहरूलाई राजधानीतिर आउन नदिनू, उत्तरमा बस्नेहरु पनि दक्षिणतिर नजानू, सरकारको काम गर्नेहरू त झन् जाँदै नजानू भन्ने राजाको आदेश जारी छ !” यस्तै कुरा थिए भोटे कान्छाले सुनेको हल्लामा । त्यो बेलाको सञ्चारमाध्यम नै ‘हल्ला’ थियो ! हल्लामा जति कुरा चले, तिनै सूचनामा आधारित विश्वास बनाएर बाँच्नु त्यो समयको परिवेश ।

आमाको सिकिस्त अवस्थाका अगाडि भोटे कान्छालाई यस्तो हल्लाले रोक्न सकेन । ऊ झटारिएर गाउँ पस्यो !

“भोटे कान्छो गाउँ पस्यो रे”, अर्कै पक्षको तर, उस्तै प्रकृतिको हल्ला गाउँभरि चल्यो । सोमलाल कारबारीको दलानमा धेरै मान्छेहरू अघि नै भेला भएका थिए । ‘गाउँको सुरक्षार्थ’ भनेर केही बलिया-बाङ्गा मान्छेहरूको समूह बनेको थियो । गाउँमा राजधानी वा जिल्ला मुख्यालयतिरबाट आएका जोकोहीमाथि शङ्काको दृष्टि राखेर ‘चम्चा’ उपनाम दिइन्थ्यो ! ‘भेलेन्टेरी गाठ’ भनिने त्यो समूहको नाइके जीतबहादुरले भोटे कान्छाको घरमा पनि खानतलासी गर्ने टोली खटायो । समूहले भोटे कान्छालाई सोमलाल कारबारीको दलानमा झिकाउने आदेश पाएको थियो ।

~~~                        ~~~

ढिँडो पकाएर रित्याइएको डल्ले भाँडो अगेनो छेउमा लडिरहेको ! घर भित्र-बाहिर मकैका खोसेला, खोयाहरू बग्रेल्ती; झिँगाहरू आपसमा कुरुक्षेत्र मच्चाइरहेका ! औले ज्वरोले सिकिस्त आमाको शिर आफ्नो काखमा राखेर मनतातो पानी पिलाउँदै भोटे कान्छो आमालाई अब थिम्पूको अस्पताल लाने बताइरहेको थियो ।

यस्तैमा घरमाथिको पाखाबाट एक हुल मान्छेहरू हरेकका हातमा लट्ठी, खुकुरी, ढुङ्गा, घारा बोकेर ओरालै आफ्नो घरतिर दौडिरहेका भोटे कान्छाले देख्यो ! सुस्तरी साउतीमा उसले आमालाई पनि भन्यो र औँल्याएर भीडतिर देखायो । आमाले ज्यान बँचाएर भाग्न भनिन् । ऊ भाग्न मानेन । निकै रिसाएर सकी नसकी घोक्र्याउन खोजिन् । त्यसपछि ऊ बिस्तारै मझेरीमा ओर्लिएर सालबन्दीको वनतिर अल्पियो !

~~~             ~~~

उसको शरीर त ऊ आफैँ बोकेर हिँडिरहेको थियो तर, मन भने घरमै ! आमालाई एक्लै छोडी भाग्नुपरेकोले खिन्नता भरिएको उसको मन जति अघि बढ्यो उति धेरै अत्तालिँदै’थ्यो ! उसले जीवनमा कहिल्यै नदेखेका जङ्गल, खोला, बगर हुँदै दौडिरह्यो अनिश्चित गन्तव्यतिर । दौडिँदा दौडिँदै लङ्खरको झण्डै आधा किलोमिटर अग्लो भीरबाट ऊ खस्यो ! भोटे कान्छो अब गाउँलेहरूको आँखाबाट मात्र होइन, ऊ आफैँदेखि पनि हरायो ।

~~~             ~~~

भोटे कान्छो होसमा फर्किँदा आफैँलाई एउटा समूहभित्र पायो जुन समूहले अनकण्टार जङ्गलभित्र हतियारको जोहो गर्ने, बन्दुक र बमगोला बनाउने काम गर्थ्यो । समूहका मान्छेहरू कोही झुम्रे-झुत्रे पनि थिए तर, अधिकांशले सैनिकजस्तै लुगा लगाएका थिए । उनीहरूको बोलीचाली भोटे कान्छोले केही बुझ्थ्यो, केही बुझ्दैन’थ्यो । थिम्पूतिर बोलिने जोङ्खादेखि भारतमा बोलिने हिन्दी, बङ्गला, बोडो, उराँव, आसामी धेरै भाषा बोलिँदै’थ्यो त्यहाँ । भोटे कान्छो भने आफूजस्तै नेपालीभाषा बोल्नेहरूसँग मात्र लहसिन्थ्यो । त्यो समूह के हो, त्यसको नेता को हो, लक्ष्य र उद्देश्यहरू के थिए: उसलाई थाहा हुने कुरै भएन । ऊभित्र यस्ता कुरा कसैलाई सोध्ने आँट पनि थिएन । जसले दुई मुट्ठी खान दिन्छ उसैको सोझो गर्नु भन्ने सामाजिक आदर्शलाई उसले सहजै पालन गऱ्यो । बाल्यकालमा बाबुले शिकार खेल्दा पछि पछि दौडिने भोटे कान्छो बन्दुक-बारुदका कुरामा भने हल्का परिचित थियो । यी सबै कुरा देखेर उसले आफैँलाई एउटा सैनिक भएको ठान्यो । ‘शायद मलाई गाउँलेहरूले मार्न लागेका थाहा पाएर सुरक्षा दिन यी सैनिकहरूले यहाँ लुकाएका होलान् !’ मनमनै यति गमेर उसले चित्त बुझायो ।

~~~             ~~~

समय क्रममा उसलाई पनि बन्दुकधारी समूहको सदस्य बन्न पाएकोमा गर्वबोध हुन थाल्यो । तर, कुनै युद्ध वा दोहोरो भिडन्तको स्थिति उसले आजसम्म प्रत्यक्ष देखेको थिएन । यस्तैमा एकदिन उसलाई विशेष तालिममा भाग लिन भनियो । तालिम सकेर ऊ समूह नाइकेको हुकुम मान्न तयार योद्धा भयो ।

~~~             ~~~

सन् १९९० को डिसेम्बर महिना । भोलि १७ तारिख, भुटानको राजपरम्परा स्थापनाको वार्षिक उत्सव हुने दिन । भोटे कान्छो सामेल बटालियनको युनिटलाई तीन दिनको पैदल हिँडाएर एउटा खोलाको किनारमा पुऱ्याइयो । कताबाट कता गइयो, कहाँ पुगेर बिसाइयो भन्ने कुरामा न भोटे न त समूहका अरू कसैलाई दिसोपत्तो थियो ।

भोक-तिर्खाको कुरा बताएर साध्य थिएन । जङ्गलमा एक झप्को निदाउने पनि कल्पना मात्र सम्भव थियो । समूहलाई आधा आधा बनाएर खोला बगरको वारिपारि बाँडियो । कसैलाई तार-बम माटोमा गाडेर फ्युज जोड्ने जिम्मेवारी तोकियो भने कसैका हातमा बन्दुक थमाइयो ।  टक-टक उज्यालो देखिने जुनेली रातको समय थियो ।

यस्तैमा समूह नायकको आदेशात्मक जानकारी घोषणा भयो, “हामी भारत र भुटानको सिमानामा छौं । अहिले रातको २ बजेको छ । हामी भोलि बेलुकीसम्म यहीँ रहनेछौं र अपराह्नको ठिक चार बजेपछि पूर्वबाट आउने भिआइपी गाडीलाई बमले उडाउने छौं । बन्दुकेहरूले पनि गोली दागेर सबैलाई स्वाहा पार्नु पर्नेछ । त्यसपछि हामी फेरि जङ्गलतिर पस्नेछौँ ।”

यस्तो आदेशपछि भोटे कान्छामा छट्पटि बढ्यो । नजिकको साथीसित उसले खासखुस आवाजमा प्रश्न गऱ्योः भिआइपी गाडीमा को आउँछ ? ‘राजा र होम मिनिस्टर’-साथीले उत्तर दियो । यस्तो उत्तर पाएपछि भने भोटे कान्छाका लागि उसले टेकेको धर्ती भासियो । क्रमशः आफू गहिरो गर्तमा गाडिँदै गएको उसले अनुभूत गऱ्यो ।

तालिममा पारङ्गत देखिएकोले संयोगवश उसलाई तार-बमको फ्युज जोड्ने जिम्मेवारी तोकिएको थियो । भोलिपल्ट बेलुकी बताइएको समयमा पूर्वबाट भिआइपी गाडी आयो । प्रस्टसँग देखिने गरी राजा जिग्मे सिंगे, गृहमन्त्री नाम्गेल वाङ्चुक, मन्त्रीहरु दागो छिरिङ, ठिन्ले जाम्छो लहरै बसेका थिए । पछि पछि सुरक्षाकर्मीको गाडी थियो !

~~~             ~~~

आफ्ना मामलीपट्टिका जिजु दालचन गुरुङ र बाजे गर्जमानहरूको इतिहास उसले राम्रै गरी सुनेको थियो । सन् १८८७ मा सर्वप्रथम दालचन गुरुङ र गर्जमान गुरुङ (बाबु-छोरा)ले पारोका राजा (पेन्लप)बाट दक्षिण भुटानमा रैती बसाउने र कर असुली गरी प्रशासन चलाउने लिखित अख्तियार पाएका थिए । त्यसको ठिक ५९ वर्षपछि सन् १९४६ मा भोटे कान्छाका बाजे गर्जमानलाई पारोमा मेजमानको निम्तो गरी मारिएको थियो ।

आफूले पुर्खादेखि देउता मानेको राजालाई ‘मार्ने’ जिम्मेवारी हातमा लिएर अनेक तर्कनामा डुब्यो ऊ ! एक मनले उसलाई भन्यो: नसोच कान्छा केही नसोच, तँलाई जे जिम्मा दिइएको छ त्यो काम गर ! अर्को मनले भन्यो: आफूले गरेको कर्मको फल तैँले नै भोग्नुपर्छ । छोड्दे कान्छा, राजालाई नमार ! तैँले मारिस् भने एकजनाको ज्यान हत्या मात्र हुँदैन; देशको व्यवस्थामै धक्का लाग्छ । एउटा सिङ्गै जातिको अस्मितामा अबगाल लाग्छ । राजा भनेको देउता हो । उसको मस्तिष्कले निर्णय गऱ्यो; मार्नुभन्दा बरु मर्नु निको !
झोसमा लुकेकै अवस्थाबाट भोटे कान्छाले मनमनै घुँडा टेकेर राजालाई दण्डवत् नमन गऱ्यो ।

~~~             ~~~

राजाको गाडी पार गरेर गइसक्यो; सेनाको गाडी पनि फुत्कियो ! तर, बम फाटेन ! किन ? के भयो ? भोटे कान्छा कहाँ गयो ? सबैतिर हल्लीखल्ली मच्चियो तर, उसलाई कसैले भेटेन ! समूहले घोषणा गऱ्यो, ‘भोटे कान्छा त सुराकी गर्न आएको सरकारी गुप्तचर पो रहेछ !’

~~~             ~~~

समूहबाट फुत्किएर बाघले लखेटेको मृगझैँ दौडियो ऊ एक्लै कता हो कता ! बिहानको मिरमिरेमा ऊ माउखोला पार गर्दै’थ्यो ! हुर्दुराउँदै घर पुग्यो ! यति दिन जे जे व्योहोर्नुपरे पनि अब आमालाई अस्पताल पुऱ्याएर बँचाउने उसको सपना थियो । घर पुग्नेबित्तिकै पिँढीमा उसले चिठ्ठीहरूको बिटो देख्यो । आमा ओछ्यानमा घ्यार घ्यार थिइन् । चिठ्ठीभन्दा आमातिर उसको ध्यान गयो । अस्तिदेखि आजसम्म के के भयो: सबै जान्न उत्सुक थियो ऊ ।

आमाले स्याँ स्याँ गर्दै विवरण सुनाइन्- तँ भागेपछि ‘छोरो भगाइस्’ भनेर मलाई आर्मीको क्याम्पमा लगियो । त्यहाँको डासुले तँ राजाविरोधी, देशविरोधी, आतङ्कवादी भएको बात लगायो । ३० दिनभित्र देशको सिमाना काटी जानु भन्ने आदेश छ, अब त २२ दिन मात्र बाँकी होला ! आमाका कुरा सुन्दै उसले चिठ्ठी कोट्याउने जमर्को गऱ्यो । तर, पढ्न नसकेपछि चिठ्ठी खोल्नुको अर्थ रहेन । हतार हतार पूर्ण मण्डलको घरतिर दौडियो । त्यहाँ पुगेपछि थाहा पायो उसले- मण्डललाई पनि ‘राजाविरोधी षड्यन्त्रमा लागेको’ फत्तुर धरेर अस्ति नै आर्मीले कैदी बनाइसकेछ !

~~~             ~~~

गाउँभरि गुहार्दा उसले बल्ल बमबहादुर कारबारीको सहयोगमा चिठ्ठीको व्योहोरा बुझ्न पायो । सन् १८८७ देखि त्यो बेलासम्म सबै सरकारी कामकाजका कागजहरू नेपाली भाषामै लेखिन्थे । उसलाई लेखिएको पत्र पनि अलिकति जोंखा र धेरै अंश नेपालीमै थियो ।

“थिम्पूमा सरकारी काम गरिरहेको मानवीर गुरुङ उर्फ भोटे कान्छाले आफ्नो दफ्तरमा जानकारी नगराई भागेर बेपत्ता भएकोले उसलाई ‘देशविरोधी गतिविधिमा संलग्न’ भएको ठहर गर्दै गृहमन्त्रालयले सारा जायजेथा जफत गरी ३० दिनभित्र देशनिकालाको निर्देशन जारी गरेको छ । अब उसो मानवीरलाई भुटानको माटोमा हिँडेको मात्र देखिए पनि ज्यूँदो वा मुर्दा गिरफ्तार गरी आजीवन जेल हालिनेछ । यसर्थ निर्देशनअनुसार गर्न गराउन सम्बन्धित ब्लकका गप (मण्डल), छोग्पा (कारबारी)-लाई आदेश गरिन्छ !”

~~~             ~~~

यसरी स्वयंले ज्यान उपहार दिएर बँचाइदिएको राजा र दरवारका लागि ऊ ‘आतङ्कवादी’ ठहरियो ! राजालाई जीवनदान दिएर बद्लामा उसले ‘आतङ्कवादी’को बिल्ला र देशत्यागको सजाय उपहार पायो ! गाउँले जनमनका लागि ‘चम्चा’ (सुराकी) बन्यो र, उद्देश्यविहीन- अपरिचित विद्रोही समूहका लागि ‘लडाकू योद्धा’ जस्ता कलंकमिश्रित परिचयको बिल्ला भिरेर ऊ स्खलित भयो । चौतारोमाथि बसेर बेस्सरी रूँदै पीडा पखाल्न मन थियो उसलाई । यद्यपि, ‘छोरो मान्छे रुनु हुँदैन’ को सामाजिक आदर्श बोकेर अब के गर्ने होलाः गम्न थाल्यो । घरमा भएका वर्तन, झत्ता-झाम्रा कपडा, केही छाक टर्ने सातु-चामल भारी हालेर ऊ बाटा लाग्यो । जाने कता हो उसलाई थाहा थिएन । सुनेको थियो केवलः ‘ऊजस्तै गरी देश छोड्न बाध्य मान्छेहरु सिमानापारि भारतको बंगाल राज्यमा पुगेका छन् ।’

~~~             ~~~

साँझको गोधुलीमा भूरखोलाको जङ्गलभित्र मरिकुच्चै भारी बोकेर हिँडिरहेको भोटे कान्छाले खुइया गरेर निधारको पसिना टोपीले पुछ्यो । डोकोमा बोकेको भारीमाथि उसकी आमालाई राखेको थियो । भारी भुइँमा बिसाएर बिस्तारै आमालाई डोकोमाथिबाट झिक्यो र ढुङ्गामा बसायो ! संयोगवश: त्यही बिहान भारत-भुटानको संयुक्त सेनाले ‘एनटी नेशनल’ हरुको अड्डालाई ध्वस्त गराएर जंगलबाट धेरै युवाहरु पक्राउ गरेको रहेछ । चौबिस घण्ट गस्ती तत्पर राखिएको रहेछ ।

गस्तीको सैनिकले परैबाट काशन जारी गऱ्योः “कौन है ? खडे रहो !” बिरामी आमाले भनिन्-कान्छा; “मलाई छोडिदे । डोको फ्याँकेर तँ भाग ! भागिहाल तँ । जहाँ गएर भए पनि तेरो ज्यान पाल, बाँच । म त भरे पनि मर्ने हुँ, भोलि पनि मर्ने हुँ ! भाग कान्छा भाग । मेरो मायाले आफ्नो ज्यान जोखिम नपार् !” आमाका कुरा सुनेर पनि टेरेको थिएन कान्छा ! यतिकैमा ठ्वाङ् फायर चल्यो ! हवाई फायर भए पनि भोटे कान्छाको मुटुमा घाउ बनाउन त्यो नै काफी थियो । आमाले निकै जबरजस्ती गरेपछि जसोतसो आमालाई झाडीभित्र छोडेर ऊ भाग्यो: कता भाग्यो उसैलाई थाहा थिएन ।

~~~             ~~~

आधा रातमा ऊ पाटगाउँ निस्कियो । आसामको पाटगाउँ उहिल्यैदेखि भुटानको राजनीतिसित परिचित इलाका । सन् १९५४ मा नेपालका भू.पू. प्र.म. गिरिजाप्रसाद कोइरालाले पाटगाउँबाटै घोडा छाँदेर सर्भाङमा पुगी भुटानमा जातीय समानता र सामाजिक न्यायको नारामा विशाल जुलुसको नेतृत्व गरेका थिए । गाउँ पसेर उसले सहयोगीहरू गुहाऱ्यो । आमालाई जङ्गलमा छोडेर आएको बाध्यता पनि सुनायो । राति नै गाउँलेहरू जुटेर भोटेकान्छाकी आमा खोज्न पुगे । तर, रात बित्यो । उसकी आमालाई कसैले भेटेन । भोटे कान्छाको मनमा बलेको आगो त कसैले देखेन । ‘आमालाई शायद सेनाले नै उठाएर लग्यो’ भन्ने सान्त्वनामा अरू सबैले चित्त बुझाए ।

क्रमश…