सिसिफसको कथा भन्दै
गाउँ गाउँ डुली हिँड्ने
एउटा कविले
एक बिहान-
मेरो छेउ उभिएर भन्यो
“मलाई सुन !”
दोबाटोमा उसैलाई पर्खीरहेकी
तरुणी कविताले भनी,
“कल्पनाबाट ओराली मलाई
अक्षरहरूका गहना सजाएर नलेखी
के सु्न्न सक्छौ र कविलाई तिमी ?
त्यसैले कविलाई सु्न्नभन्दा पहिले
“मलाई लेख !”
यही सुन्ने र लेख्ने द्विविधामा
अल्मलिएँ म विलखबन्द,
र सोचेँ-
लेखिदिउँ न त अलिकति कविता !
समरको सिपाहीले बन्दुक उठाएझैं
कलम उचालेर औंलाहरूमा
बाक्लो कापी सिरानीमाथि राखी
असरल्ल केही शब्दहरू थुपारेँ-
अनि सोधेँ आफैँलाई
के यही हो कविता ?
सुस्तरी बोले शब्दहरू-
एउटा कविले कल्पना गर्छ
कल्पनामै खान्छ, कल्पनामै सुत्छ
र, कल्पनासँगै ऊ रिसाउँछ कहिले
कल्पनामै ऊ
महल बनाउँछ र भत्काउँछ
कहिले त ऊ
भैंसीले गोब्य्राउँदा पनि
महल ठडिएको देख्छ
के यस्तै कविको
अविरल कल्पना हो कविता ?
एउटा कवि, अण्डा हेरेर
लाखौं कुखुराको व्यापार गर्छ-
घाटा सहन नसकी कहिले
आफ्नै खेतीमा बर्डफ्लु खन्याउँछ
र, निमग्न सुस्ताउँछ !
शक्तिको भक्ति गर्छ कवि
कवि, विद्रोह पनि गर्छ
भय र मोहमा कहिले
आत्मरति पनि गर्छ-
यस्तै यस्तै अनेक
तर्कनामा ऊ कविता जन्माउँछ !
मरुस्थलमा फूल फुलाउँछ कवि
बगैंचा फाँडेर रूग्न पनि बनाउँछ
जसरी जता फर्काएर पछारे पनि
मस्त सुतिदिन्छे कविता लमतन्न
अनि हुन्छ समागम दुईबीच
जो निर्दिष्ट छन्-
व्यतित विगत र
कल्पित आगतलाई रेखाङ्कन गरी
‘ईहलोक’मा ‘सिर्जना’ जन्माउन !
अहँ ! लेख्तिन म कविता
लेखिनलाई कविता
त्यसका सङ्गीहरूको साथ चाहिन्छ
पहिले कल्पना र कला नहुर्काई
असम्भव छ कविता जन्माउन-
चैतन्यको रूपरङ नमिलेको
म लठुवासित कहिल्यै
नजिकिन्न कल्पना
कोल्टिन्छे सिर्जना परैबाट
आँखा कड्काएर
न त मस्किन्छे कला कुनै दिन-
यो रूग्ण मरुभूमि चेत बोकेर
के कविता लेखौँला र खै-
यही सोचेर मैले
कहिल्यै कविता लेखिनँ !
ःःःःःःःः