पवन कामको सिलसिलामा जहाँतहाँ पुगिरहन्छ । त्यसवेला ऊ बागलुङ पुगेको थियो । त्यहाँ पुगेको तेस्रो साँझ जरूरी फोन आयो । उसले अचानक काठमाडौँ फिर्ता जाने निर्णय गर्यो ।

काठमाडौँ फर्कने विकल्प बस मात्रै थियो । ऊ हड्बडाएर बस काउण्टर पुग्यो । तीन बजे बस छुट्ने कुराले झन् हड्बढाउँदै समयमै बसपार्कमा पुग्यो । बसमा चढेपछि हतारमै झोलालाई सीटको माथि खाँदखुद पार्यो । एउटा चुरोट खानु पर्यो सोचेर ऊ बसबाट बाहिरियो । पहिला भए रक्सी पनि चाहिन्थ्यो तर धेरै भयो उसलाई अब रक्सी चाहिन्न । त्यही एउटा चुरोटले काम चल्छ ।

बसमा सँगैको सीटमा त्यस्तै ३५-३६ वर्षकी महिला परिन् । उनीसँग ५÷६ वर्षको एउटा फुच्चे पनि थियो । बसमा चढेपछि उसले काँक्रो बेच्न आउनेसँग काँक्रो किन्यो । काँक्रोको एउटा चिरो फुच्चेलाई दयो । ती छेउको सीटमा बसेकी महिलालाई समेत खान दियो । आफूले अर्को एक चिरो काँक्रो खायो । बल्ल दुवैले अलिअलि आपसमा गफगाफ शुरू गरे ।

गफ गर्दै जाँदा महिला चाँडै खुली । ती महिलाले उसलाई आफ्नो कहानी यसरी सुनाइन् ।

“म सानै थिएँ । एक साँझ मेरो घरमा बिहेको कुरा गर्न केही नयाँ मान्छेहरू आए । उनीहरू मेरो आफ्नै मीत मामासँग आएका थिए । त्यतिखेर म नौँ कक्षामा पढ्दै थिएँ । मेरो उमेर जम्मा १६ वर्षको थियो । त्यतिखेर म गणितको गृहकार्य गर्दै थिएँ । आमाले चिच्याउँदै मलाई तल आइज भनिन् । अनि मन नलाग्दा नलाग्दै तल भान्सामा झरेँ ।

‘चिया बनाएर बाहिर पाहुनालाई लगिदे ।’– आमाले भनिन् ।

‘हस् ।’– मैले भनेँ र सोहीअनुसार गरेँ ।

साँझ पर्दै थियो । गोधूलि उज्यालो बाँकी थियो । मैले सबैलाई चिया दिएँ । राम्रो उज्यालो नभएका कारण मैले मीत मामाबाहेक अरूको भेउ पाउन सकिनँ ।

चिया दिएपछि आमा र म मिलेर खाना बनायौँ । सबैलाई खाना खान दियौँ । खानापछि उनीहरूले बासँग मेरो हात मागे ।

बाआमाले पनि सो प्रस्तावलाई मसँग एक वचन नसोधीकनै ‘हुन्छ’ भने । यसरी मलाई नसोधी मेरो बिहेको निर्णय भयो । अबको एक हप्तापछि बिहे गर्ने मिति तय भयो ।

सबै निदाउने तरखरमा लागे । मेरो भने निद हरायो । मनमा के–के सोच्दासोच्दै अबेरसम्म निद आएन । बिहानपख झुपुक्क निदाएछु । उनीहरू कतिखेर उठेर गए, मैले पत्तो नै पाइनँ ।

‘नानी ! अब तिमी स्कूल जानुपर्दैन । भोलिबाट घरको काम सिक्नुपर्छ ।’ – उनीहरू फर्केपछि आमाले भनिन् ।

म रोएर स्कूल जान जिद्दी गर्दा पनि आमा कसैगरी मानिनन् ।

‘नानी ! रितै यस्तै हो, पीर नमान । सबैको जिन्दगी यस्तैगरी चलेको हो । तिमीले पनि यसलाई स्वीकार गर ।’ यस्तै केके भन्दै आमाले मलाई सम्झाइन् ।

केही दिन पत्तैविना बिते । घर नजिकैकी साइली आएर मेरो जीउको नाप लिएर गई । घरमा पाहुनाहरू आए । कोही टपरी गाँस्ने, कोही चामल केलाउने, कोही घर रङ्गाउने, कोही के गर्ने गर्न थाले । हप्ता दिन बित्न समय लागेन । बिहेको तयारी धुमधामसँग चल्यो ।

बिहेको दिन आयो । मलाई सबै मिलेर सिँगारेर चिटिक्क पारे । बेहुला आएपछि स्वयम्बर गराउन मलाई समेत जग्गेमा लगे । मैले घुम्टोभित्रबाट एक झलक बेहुलालाई हेरेँ । पहिलोपटक हेर्दा बेहुलालाई राम्रै देखेँ ।”

कोही आफन्त भेट्ता झैँ बोलिरहेकी थिई अनिता । ऊ एकोहोरो आफ्नो कथा भनिरहेकी थिई । बस पोखरा बसपार्कमा आएर रोकियो । ऊ पनि रोकिई ।

सबै जना खाना खान झरे । पवन र अनिता पनि झरे । दुवै जना एउटै टेबुलमा बसे । सँगसँगै खाना खाए । खानामा एकै खालको रुचि थियो । शुद्ध शाकाहारी खाना खाए । खाना खाएपछि दुबै जना आ–आफ्नै सीटमा फर्किए । बस गुड्न थाल्यो । अनिता चुपचाप बसी । पवनले नै कुरा कोट्यायो । कथा फेरि हुरू भयो ।

‘छोरी, घरमा राम्रो गर्नुपर्छ । घरका सबैलाई आदरसत्कार गर्नुपर्छ । सबैले भनेको मान्नुपर्छ । कसैलाई पनि मुखमुखै लाग्नु हुन्न । राम्रोसँग घर गरेर खानुपर्छ ।’ – बिहेको सबै प्रक्रिया सकाउँदै बेहुली अन्माउने बेलामा आमाले मलाई भनिन् ।

उनले यति भनेर सम्झाउँदा मेरो मन भक्कानियो । बेस्सरी रोएँ । बच्चाले आमाको काख पाएजस्तै उनको अँगालोमा रोएँ । आमाले बेहुलालाई पाले पुण्य, मारे पाप भन्दै मेरो हात थमाइन् ।

जन्ती घर फर्क्यो । घर पुगेको रात बेहुली भित्र्याएपछि बेहुला हराए । खाना खाने समयमा बेहुला नभेटेपछि मैले भोकै पर्खिनुपर्यो । मेरा लागि मात्र होइन सबैका लागि अचम्मै भयो तर घरका मानिस उति आत्तिएका देखिएनन् ।

झण्डै १० बजेतिर उनी नशामा लट्ठिएर घर आए । बल्ल खाना खान बोलाए । उनी खानालगत्तै कोठामा गए । म भाँडाचुलो गर्न बसेँ । घरको सबै काम सकेपछि मलाई सजाएको कोठामा पठाए ।

कोठामा पुगेपछि थाहा भयो, उनी रक्सीको मातमा रहेछन् ।”

यति भनेर अनिता बाहिर हेर्न थाली । ऊ अब केही बोल्न सकिन । उसको तनमन, मस्तिष्क, हृदयमा अमूर्त केही चल्दै थियो । पवन पनि तत्काल केही बोलेन । वातावरण स्तब्ध जस्तै भयो तर गाडी एकनास गुडिरह्यो ।

“म रक्सी भनेपछि साह्रै घृणा गर्थें । मेरो माइतमा कोही पनि रक्सी खादैन थे । म ज्यादै डराएँ । त्यस गन्धले छाँगाबाट खसे जस्ती भएँ ।”

ऊ फेरि रोकिई ।

पवन पनि मौन बन्यो ।

“उनले मलाई मनोमानी लुटे ।” अनिताले पछ्यौरा तानेर आँसु पुछ्दै अलि जोडले भनी, “म केवल पीडामा छट्पटाएँ” ऊ भन्दै गई । “उनको रहर पुगेछ क्यार, उनी मस्तसँग निदाए । सहनुको विकल्पमा मैले निरन्तर सहिरहेँ ।”

ऊ पुनः मौन बसी ।

“दोस्रो दिन मलाई चार नबज्दै सासूले उठाइन् । पँधेरोमा लगेर नुहाउन लगाइन् । उनी लगनमा लगाएको सिन्दुर उज्यालोमा अरूले नदेखून् भनेर यस्तो गरेको भन्दै थिइन् । पँधेरोबाट फर्केपछि घरधन्दामै बिहान बित्यो । दिउँसो घरमा पूजा लगाए । साँझ पुजा सकिएपछि उनी फेरि हराए । उनी अघिल्लो दिनझैँ अबेर घर फर्के । घरमा फर्कंदा फेरि मातेर आए ।

प्रायः पाहुना बिदा भइसकेका थिए । उनले त्यो साँझ खाना खाएनन् । सिधै आफ्नो कोठातिर लागे । भातभान्सा सकाएर म कोठामा पुग्दा उनी कोठामै बसेर पिउँदै रहेछन् । म पुगेपछि उनको अत्याचार शुरू भयो । मैले मानिनँ, प्रतिकार गरेँ । रोएँ, कराएँ ।

उनले ममाथि हात उठाए । रुनुबाहेक के गर्न सक्थेँ र ? म कोठामै बसेर रोइरहेँ । उनले यति कुटे कि म कतिखेर बेहोस भएछु । ब्यूझँदा त घर पछाडिको झाडीमा रहेछु । सुस्तरी उठेँ । ममा फेरि घरमा जाने साहस थिएन । म उठेर घरतिर नगई हिँडेँ । बाटो सोध्दै घिस्रिँदै माइती घरतिर लागेँ ।

अर्को साँझ अबेर म माइत पुगेँ । मलाई एक्कासि त्यहाँ देखेर सबैजना तर्सिए । बिहेको भोलिपल्टै यसरी हिँडेकी भनेर केके नराम्रो भने । उल्टै सबैले मलाई नै दोषी ठहराए । माइतमा त झन् मलाई आफ्नो पीडा भन्ने मौकासमेत मिलेन । बरु अझै अपहेलित भएँ । मैले यो कसैगरी सहन सकिनँ । राति नै निरुद्देश्य त्यहाँबाट पनि हिडेँ ।”

* * * *

कथा भन्दै गर्दा अनिता निकै कठोर बन्दै गइरहेकी आभास हुन्थ्यो । उसले आफ्ना तिनै कठोर आँखाले पवनको अनुहार हेरी ।

पवनको अनुहारमा छट्पटी थियो । ऊ चिट्चिट पसिना काढेर मलिन अनुहारमा अनिताको कथा सुनिरहेको थियो ।

“होइन तपाईंमा किन यस्तो छट्पटी ?”– अनिताले प्रश्न गरी ।

“हँ ? हैन… हैन । त्यस्तो केही हैन । तपाईंको जीवन कथामा डुबेछु के । त्यही भएर मन थाम्न सकिनँ ।” पवन सम्हालिँदै बोल्यो ।

“कि मेरो कथाले हजुरलाई अप्ठ्यारो पर्यो ?” अनिताले पवनको मन जाँच्न खोजी ।

“छैन । किन मलाई अप्ठ्यारो पर्नु र ? म त कथा गम्भीर भएर सुनिरहेको छु । अझै अगाडि सुनाउनु न बरु ।” पवनले भन्यो ।

“हिँड्न त हिँडेँ तर अब जाने कहाँ ? समस्या झन् थुप्रियो । गाउँमा अपमानित भएर बस्न सकिएन । शहरमा केही विकल्प भेटिएला लाग्यो । योजनैविना शहर भासिएँ ।”

अनिता फेरि रोकिई । आँखाबाट झरेका आँसु पुछी । एक पटक लामो स्वास फेरी ।

“शहर कहाँ सजिलो रछ र ? सबै खालका मान्छेले भरिएको शहर । यही शहर आफैँमा समस्या हो, समाधान पनि हो । शहरमा पुगेपछि अनेकौँ हण्डर खाएर बल्ल बाँच्न सक्ने भएँ । त्यहीँ समय बाग्लुङतिरको एक जना केटासँग भेट भयो । मध्यम कदका उनी फरासिला थिए । बिस्तारै उनैसँग प्रेम बस्यो । मैले उनीसँगै घरबार गर्ने निर्णय गरेँ ।

बिहेपछि शहर बस्न पाइएन । हामी उनैको गाउँ गयौँ । गाउँ गएर बस्न थालेको एक वर्ष भएको थियो । ममाथि फेरि बज्रपात भयो । एक बिहान घाँस काट्न गएका उनी घर फर्केनन् ।”

अनिता पुनः मौन बसी । केही समालिएर भन्दै गई ।

“हाम्रो घर नजिकै बारीको डीलमा पहरो थियो । त्यही पहरा छेउको रूखमा घाँस काट्न जाँदा रूखबाट खसेछन् । अस्पताल लान नपाई उनी बिते । मेरा दुःखका दिन फेरि शुरू भए ।

घर परिवारमा म लोग्ने टोकुवा भएँ । सासू ससुराको दिनहुँको टोकसोले त्यहाँ बस्न सक्ने स्थिति रहेन । उनको नासो पेटमा ४ महीनाको लाग्दै थियो । मैले उसलाई पनि जन्माउनु थियो । दुःखै सहेर पनि मैले बच्चालाई जन्माएँ ।

छोरो हुर्किंदै गयो । ख्यालख्यालमै अब उसलाई पढाउने बेला भयो । गाउँमा राम्रो स्कूल थिएन । गाउँमा नबस्ने निर्णय सुनाएँ । ससुराले त्यो कुरा सुन्नै मानेनन् । तर आमाछोरा जबरजस्ती जस्तो गरी काठमाडौं हिड्यौँ । अहिले त्यही अभागीनी, जो तपाईंको छेउको सीटमा बसिरहेकी छे ।”– अनिताले आफ्नो दुःखद कथा टुङ्ग्याई ।

* * * *

अनिता कथा भनिरहँदा दृढ थिई । कथा सुन्ने पवन भने केही वेचैन थियो । उसको अनुहार रुनु र हाँस्नुको अवस्थामा थियो । बालक अनिताको काखमा निदाएको थियो । अनिताले पनि बाहिर पर परसम्म हेरिरहेकी थिइ ।

“साँच्चै, त्यो पुरानो केटालाई अहिले भेटे के गर्नुहुन्छ ?” सन्नाटालाई चिर्दै एकाएक पवनले सोध्यो ।

“खै ! के भनम् ? उही त हो मेरो जीवन खण्डहर बनाउने भुइँचालो । फूलको कोपिला जस्तो मेरो जिन्दगीलाई तहसनहस पार्ने आँधीहुरी हो ऊ । मलाई घरको न घाटको बनाउने छाल हो ऊ । अब उसैलाई के गर्छु भन्नु ?” लामो खुइय गर्दै अनिता बोली ।

“प्रयास गरेको भए केटालाई सुधार्न सकिन्थ्यो कि । त्यसरी समस्या देखेर भाग्न हुन्थेन कि ।” पवनले निधार चाउरी पार्दै प्रश्न गर्यो ।

“कुरा त सही हो । आलोकाँचो बुद्धि त्यति धेरै कहाँ सोच्न सकेँ र ? कलिलो मन साह्रै डरायो, अत्तालियो । अनि म घरबाट भागेँ ।” अनिता बोली ।

“त्यो केटाले पनि दुःख पायो होला । कयौँ हण्डर खायो होला । अहिले पनि त्यो दिन सम्झेर ऊ रोइरहेको होला । फेरि उसलाई कसले छोरी दियो होला ? हैन र ?” पवनले एकै सासमा यी वाक्य बोल्यो ।

“अरे ! हजुरको आँखामा आँसु ? केटा मान्छेहरू पनि रुन्छन् ?” पवनको आँखामा आँसु देखेर अनिताले आश्चार्य मानी ।

पवन केही बोलेन ।

“बसको हावाले हानेर आँसु आको होला । म कहाँ रोको छु त ?” पवनले केहीवेरको सन्नाटा चिर्दै आँखा पुछ्दै भन्यो र फेरि मौन बस्यो ।

“तपाईँले भनेको हुनसक्छ । एउटै घटनाबाट मान्छेलाई सधैं खराब देखिरहनु हुँदैन थियो होला । अहिले केही थाहा पाउँदैछु । जीवन यात्रामा धेरै कुरा सिकेँ । अहिले जतिको जीवन बुझेकी भए उसलाई सुधार गर्न पनि सक्थेँ होला । तर…।”

अनिता बीचमै रोकिई । ऊ रोकिएसँगै बस पनि मुग्लिङमा आएर रोकियो । सबै जना चियाखाजा खान झरे । उनीहरूले पनि चिया पिए । बसले फेरि आफ्नो रफ्तार लियो ।

पवन र अनिता छलफलमै थिए । चियासँगै रोकिएको छलफल बस गुड्न थालेपछि उही गतिमा अगाडि बढ्यो ।

“तपाईंको मीत मामाको नाम के हो ?” पवनले चिने झैँ केही सम्झे झैँ गरी सोध्यो । मानौँ ऊ अनिताका जीवनका घटनाको साक्षी हो ।

“दिल बहादुर ।” अनिताले धेरै नसोची जवाफ दिई ।

“ती होचा–होचा, नाक अलिक चुच्चो परेको, दाहिने हातको बुढी औँला छिनेका, आधा तालु खुइलिएका, गहुँगोरो वर्णका मान्छे हैनन् त ?” पवनले भन्यो ।

“हो त । ठ्याक्कै तिनै हुन् । तपाईंले कसरी चिन्नु भो ?” अनिताले प्रश्न गरी ।

पवन बोलेन । उसको निधार चाउरिँदै गयो । विपरीत दिशाबाट आएको बसको उज्यालोमा पवनको छटपटी हेर्न लायक थियो । कुनै ठूलो अपराधी पुलिसको अगाडि परेझैँ हड्बडाहट पनि थियो उसमा । उसले छटपटीबाट उम्कने प्रयास गर्दै भन्यो, “सबै काम बिगार्ने मान्छे तिनै त हुन् नि ।”

“आखिर तपाईँको पनि काठमाडौँमा बस्ने ठाउँ रहेनछ । केहि दिन मेरै डेरामा बस्नुस् । त्यो बेहुलालाई म भेटाउन सक्छु ।” ठूलै साहस गरेर हतारहतार पवनले भन्यो ।

“तपाईंले कसरी चिन्नु र मलाई त्यो केटासँग भेटाउनु ?” अनिताले नपत्याएरै जवाफ दिई ।

“धरोधर्म, म जसरी पनि भेटाइदिन्छु । आज मेरै डेरामा जाम । म आजभोलिमै ऊसँग भेटाउन सक्छु ।” पवनले बिन्ती गर्यो ।

अनिताले के सोची ? केही बोलिन ।

पवनले ढिपी गरिरह्यो ।

आखिर अन्कनाउँदै पवनको डेरासम्म जान अनिता सहमत भई ।

उनीहरू तीनै जना डेरामा पुगे । डेरामा मान्छे बसिरहेको भए पनि अस्तव्यस्त थियो । मैलो तन्ना र तकिया असरल्ल थिए । चुलोमा जमेका फोहोर देखेर अनिताले पवनको लापर्बाह जीवन बारे कल्पना गरी । उसका दुःखलाई पनि अनुभूत गरी ।

डेरामा सानी गुडिया खेल्दै थिई । उसको मैलो कपालले अनिताको मन कटक्क खायो । उसले ढिला नगरी केटाकेटीहरूलाई आपसमा दाजुबहिनीको रूपमा चिनजान गराइदिई । त्यसपछि केटाकेटी एकअर्कासँग मिलेर खेल्न थाले ।

पवनले खानाका लागि आवश्यक सामान जुटायो । अनिता खाना बनाउन थाली । पवनले तरकारी ल्यायो । पवन नहुँदा छोरी हेरिदिने अर्को कोठाकी जमुना खाना खाएर अफिस हिँडी । अनिताले खाना खाएको भाँडा माझी । चुलो सफा गरी । मैला भएका कपडा धोई । व्यस्ततामै दिन बित्यो ।

साँझ पवन कामबाट फर्कियो । उनीहरू तीन जनालाई कोठामै छाडेर पवन आफ्नो साथी दिनेशकोमा सुत्न गयो ।

* * * *

हप्ता दिनसम्म यसरी नै चल्यो । पवन साँझ साथीकोमा जाने क्रम जारी थियो । अनिताले पवन किन यसो गर्दैछ केही पत्तो पाएकी थिइन । उसले पवन एकल पुरुष हो भन्नेसम्म बुझिसकेकी थिई । एक इमानदार र असल भएको पाए पनि उसका पुरुषलाई हेर्ने आँखा सकारात्मक बनिसकेका थिएनन् ।

अनिता पवनको डेरामा बस्न थालेको दुई हप्ता भइसकेको थियो । पवनको छोरी सपनीमा पनि मलाई छाडेर नजानु भन्दै रुने गर्थिन् । अनिताको मन यो देखेर तानियो । एक साँझ खाना पस्कँदै गर्दा अनिता प्रश्न सूचक बोली । उसले पवनको छोरी र उसकी आमाका बारे सोधी ।

पवन के के भनेर भाग्न खोज्यो । अनिताले धेरै सोधखोज गरेपछि पवन आफ्नो कथा भन्न बाध्य भयो ।

“म मकवानपुरको पहाडी भू–भागमा जन्मेहुर्केको अधबैंसे युवक हुँ । बिहे त गरेँ तर दोस्रो दिनमै पहिलो श्रीमतीले छाडेर हिँडी । पुनःमैले दोस्रो बिहे गरेँ । दोस्रो श्रीमतीबाट एउटी छोरी जन्मिई । आखिरमा ऊ पनि दोस्रो सन्तान जन्माउन नसकेर बिती । अहिले मेरो भन्नु यही एउटी छोरी मात्रै छे ।” पवनले ती छोरी र आमाको कथा भन्यो ।

“ओहो ! तपाईँको कथा त दुःखद पो रैछ ।” अनिताले सहानुभूति जनाई ।

“जीवन सुखदुःखकै सम्मीश्रण न हो । मात्र थोरैधेरै भन्ने रहेछ । कसैका भागमा दुःख धेरै पर्छ । कसैको भागमा सुख । हाम्रोमा चाहिं सुख थोरै दुःख धेरै परेको रहेछ क्यार ।” पवनले भन्यो ।

“मलाई तपाईँको पहिलो बिहेको कथा पनि सुन्न मन भयो । के तपाईँ मलाई त्यो कथा सुनाउन सक्नुहुन्छ ?” अनिताले भनी ।

पवन बोलेन । उसको अनुहारको भाव बदलियो ।

अनिता कोठाकै वरपर वरपर गरिरही । भान्छामा गएर घटघट पानी पिई । पुनः आएर उसले जिद्दी कसी ।

“मेरो पहिलो बिहेको कथा तपाईँको कथासँग मिल्छ ।” कसैगरी उम्कन नसक्ने भएपछि पवनले भन्यो ।

“उसो भए तपाईँको कथा झन् सुन्न मन भयो । चाँडो सुनाउनुस् न ।” अनिता फुरुङ्ग पर्दै भनी ।

“दुखियाको दुःख के सुन्नुहुन्छ र ? आखिर दुःखै थपिने न हो ।” पवनले एकपटक आफ्नो आँखा बन्द गर्यो । लामो स्वास तान्यो । अनि विस्तारै बोल्यो ।

“खाना पकाउन हतार भो । चाँडो बताउनुस् न आफ्नो कथा ।” अनिताले हार मानिन ।

“मैले कक्षा दशमा पढ्दापढ्दै पढाइ छाडेँ । साथीहरूसँग हिड्न थालेँ । तिनै साथीहरूले मलाई रक्सी खान सिकाए । चुरोटको लत लगाए । तासको खालमा जमाए । त्यो आदत मलाई पनि रमाइलो लाग्दै गयो । बिस्तारै मलाई रक्सी र तास नभई नहुने भो ।” पवनले रक्सी खान थाल्नुको कथा सुनायो ।

अनिता मौन बनेर पवनको कथा सुनिरही ।

“गाउँमा मैले रक्सी खान थालेको हल्ला चल्यो । एकानदोकान मैदान भने झैँ घरसम्म पनि यो कुरा पुग्यो । घरकाले पिर मान्न थाले । गाउँमा मलाई कसैले छोरी नदिने भए । अब छोराको बिहे नहुने भएकामा घरकालाई समेत पिरलो भो ।

हाम्रो दयनीय अवस्थामा नजिकैको नाता पर्ने एक जनाले गुन लगाए । एक कोश टाढा च्याउँच्याउँ भन्ने गाउँमा लगे । त्यहाँ एउटी केटीको कुरा गरे । केटी नौँ कक्षामा पढ्दै रहिछे । तिनैसँग बिहेको कुरा छिन्यौँ । बिहे धूमधामसँग भयो । सयौँ जन्ती लगेर बेहुली लिएर घरमा आयौँ ।

बिहेको साँझ जे हुनु पर्थ्यो फरक भयो । साथीहरूले मलाई पनि आफूहरूसँगै राखेर रक्सी पिलाए । यसरी बस्दा मलाई समेत रमाइलो लाग्यो । अबेर आफ्नो कोठामा छिर्दा बेहुली थाकेर निदाइसकेकी रहिछिन् । मैले मन थाम्न सकिनँ । जबरजस्ती तिनीसँग सुहागरात मनाएँ । उनी पीडाले छट्पटिँदा पनि वास्ता गरिनँ । नशाले लट्ठिएको मान्छेलाई केको दयामाया ? मात्रै उसलाई भोगेँछु । दोस्रो साँझ पनि रक्सीको मातमा म कोठामा पसेँ । मैले अघिल्लो दिनकै हर्कत देखाउन खोज्दा श्रीमतीले प्रतिकार गर्न थालेपछि अनाहकमा मैले उसमाथि हात उठाएँ ।

झगडाको शुरूआत यहीँबाट भयो । नशाको तालमा मैले मरणासन्न हुने गरी कुटेर उसलाई झ्यालबाट बाहिर फालेँ अनि आफू चाहिँ गएर मस्तसँग सुतेँ । घरका कसैले मलाई रोक्न सकेनन् । पहिला पहिला पनि खुकुरी बोकेर घरमा उपद्रो गर्ने गरेकाले मसँग सबै डराए, कोही बोलेनन् । उज्यालो हुँदा मेरो सबै नशा उत्रिसकेको थियो । बल्ल होशमा आएर मैले श्रीमतीलाई खोजेँ, तर घरमा कतै भेटिनँ । माइतमा बुझ्न गएँ । उता पनि भेटिनँ । बिहेको दोस्रो रातमै श्रीमतीले मलाई छाडेर अल्पिई ।” उसले आफ्नो बिहेको रातसम्मको कथा सम्झियो ।

यहाँ अनिता अन्योलमा परी । पवनले भनिरहेको कथा उसको जीवन कथासँग मिलिरहेको थियो । पवन एकोहोरो आफ्नो कथा भनिरहेको थियो ।

त्यस घटनाले मलाई पश्चातापमा पुर्यायो । अन्ततः मैले रक्सी छाडेँ । तर मसँग अब बाँकी केही थिएन । तीन वर्ष साउदीको अचाक्लीको गर्मीमा बिताएँ । त्यहाँ घर बनाउने काम थियो । नेपाल फर्केपछि यतै घर बनाउने काम गर्न थालेँ ।” पवनले आफ्नो कथा भन्दै गयो ।

“विदेशबाट फर्केपछि घरकाले चितवनतिरकी केटीसँग मेरो दोस्रो बिहे गराइदिए । माया गर्ने श्रीमती पाएर मेरो खुसी बढ्यो । एउटी छोरी जन्मेपछि घर उज्यालो देखियो । दुई वर्षपछि गर्भमा दोस्रो बच्चा बस्यो । सुत्केरी व्यथाले आमा बिती । बच्चा पनि बचेन । फेरि म साहाराविहिन बनेँ । ममा अब जिम्मेवारी थपियो । छोरीको पालनपोषणको बोझ उठाउनु पर्यो । जे भए निहार मानिनँ । काम गरिरहेँ । आफ्नो गृहस्थी चलाइरहेँ ।

काठमाडौंमा काम लगाउने ठेकेदारले मलाई बाग्लुङ लगेको तेस्रो दिन कोठामा छोरी बिरामी भएको खबर आयो । मैले घर फर्कने निर्णय गरेँ । यसरी बससम्म आएको थिएँ ।” पवनले अनितालाई आफ्नो कथा सुनायो ।

अनिता छाँगाबाट खसे जस्तै भई । उसले आफ्नो कथासँग पवनको कथा जोडिएको पाई ।

“भनेपछि मलाई यो हालतमा ल्याउने हजुर नै हो ?”– सम्हालिँदै अनिताले भनी ।

“कसरी भनूँ ? भन्न पनि मलाई साह्रै शरम लागिरहेको छ । तिम्रो मीत मामाले लिएर गएको त्यो अभागी बेहुला नै म थिएँ । जसले तिम्रो यो हालत बनायो । बिन्ती ! मलाई माफ गरिदेऊ ।” अनिताको अगाडि केही जोड नचलेपछि पवनले लामो श्वास फेर्दै भन्यो ।