‘ए नानी हो, तिमीहरू छोरी मान्छे भएर टोपी लगाएर हिंड्दै छौ, छक्कै परें त म ! हामी लोग्नेमान्छेले पो त टोपी लगाउने होइन?’ टोपी लगाएर आउँदै गरेका तीन चार जना केटीको समूहलाई सिम्लागेले आफ्नो टोपी झिकेर पुनः आफ्नै टाउकोमा नै दुई हातले थाम्दै यसरी प्रश्न गरे ।
उनलाई त्यस दिन जीवनमै सबैभन्दा अनौठो लागेको थियो । उनले त छोरी मान्छेले मजेत्रो, शल, गम्छा ओडेर हिंडेको देखेका थिए । त्यो भन्दा बढी त टाउको खुल्लै हिंडेका महिलाहरूको संस्कृति देखेका थिए ।तर टोपी लगाउने केटीहरू देखेका थिएनन् ।

त्यसैले यो दृष्य उनको नजरमा पहिलो र अनौठो थियो ।
टोपी दिवसको नौटङ्की गाउँमा भर्खर छिर्दैथियो । केटा हुन् वा केटी हुन्, सबैले टोपी लगाएर अनेकौं पोजका फोटा खिच्ने र सामाजिक सञ्जालमा हाल्ने नयाँ चलन आइराखेको थियो युवा समुदायमा ।

फेसबुकका भित्ताहरू सबै टोपीका टालाले भरिएका हुन्थे । सबैले अनेकौँ रुप र सारका टोपी लगाएका देखिन्थे ।यसको प्रतीकात्मक अर्थ हुन्थ्यो, हामी नेपाली हौँ । अथवा यो नेपालीको शान हो । सगरमाथा हो । उचाइ हो ।

आफ्नै बाबु मर्दा पनि टोपी लगाउन लाज मानेर ‘ह्याट’लगाएर आफ्नो संस्कृति देखाउने रमेशहरु पनि उस दिन टोपीमा थिए ।

जाडोले चिल्दा पनि टोपी नलगाउने, बरु टाउको ह्वाङ्गै राख्ने बिनोदहरू पनि उसदिन टोपीमा थिए ।

सुट र कोट लगाएर पनि टोपी लाउन लजाउने सुवोधहरू पनि उसदिन टोपीमा थिए ।

ती सबलाई सिम्लागेले त देख्न पाएका थिएनन् नै । किनभने उनको मोबाइल पनि थिएन र सामाजिक सञ्जाल पनि ।

त्यही भएर यी सब कुरा सिम्लागेको इन्द्रीयभन्दा कर्यौ कोस टाढका विषयहरू थिए ।

००००

सिम्लागेको जन्मथालो शिरुबारी गाउँ हो ।

पहाडको विकट गाउँ । सुख्खा डाँडा र साँघुरा बाटाले पोतिएको गाउँ ।

परिवारको एक्लो सन्तान थिए उनी ।

उनको जन्मका बारेमा धेरै मिथकहरू छन् ।

उनकी आमा खोलाखेतमा जन गएका बेला उनी त्यहीं जन्मेका हुन् । अथवा उनकी आमा दाउरा बोक्न जङ्गलमा गएकी बेला उनी त्यहीं जङ्गलमै जन्मेका हुन् । अथवा उनकी आमा खेतमा धान रोप्न जाँदा हिलै गरामा उनी जन्मेका हुन्, आदि ।

जब उनका दाँत पनि उम्रिएका थिएनन्, उनी आफ्नी आमाले जन गर्न जाँदा दिएका मकैका खाजाको चबु खान्थे । उनको हर्लिक्स पनि त्यही चाबु थियो । सेर्लेक्स पनि त्यही चाबु थियो । बिस्कुट पनि त्यही चाबु थियो । गिलीभात पनि त्यही चाबु थियो ।

सानो छँदा उनी दिनभरी कोक्रोमा हुन्थे । पछि रुखका फेदमा हुन्थे । उनीमा र्कोपोलो वा भास्कोडिगामा जस्तै थिए सानैदेखि । हिँड्न नथालुञ्जेल आमाको कोक्रामा उनको यात्रा सुरु हुन्थ्यो । हिंडन थालेपछि उनको यात्राबाबुसँग हुन्थ्यो । बाबु जसका घरमा जन गर्न जान्थे, सिम्लागेलाई सँगै लान्थे । उनको बाल्यकाल रोमाञ्चक थियो । उनी साँच्चिकै अन्वेषक भए ।

उनी भास्को डि गामा भए । मार्को पोलो भए । कोलम्बस भए ।

बाबुसँग हिंडिरहँदाउनले माटो देखे । प्रकृति देखे । पाइतालामा तीखा ढुङ्गाको स्पर्श अनुभूत गरे । पानीको बेग देखे । हावाको रङ्ग देखे । उकालो र ओरालो देखे । पसिनाको धारो देखे । पहिरो र खोलाको विभत्स रुप देखे । जन (खेताला) लाई गरिने गाली पनि देखे । कामको बीचमा आराम गर्ने साधन सुर्ती तानेका खेतालाहरुको हाँसो पनि देखे । तिनले आवाज निकालेर हाँसेको पनि देखे ।

घरबाहिर निस्कएपछि सबैतिर उनका स्कुलै स्कुल हुन्थे । उनको स्कुल त्यही थियो । तिनै ढुङ्गा र माटो थिए । तिनै खोल्सामा बग्ने सङ्लो पानी थिए । तिनै उकाला र ओराला बाटा थिए । तिनै रुख र मकैका बोट थिए । अनि तिनै प्रकृतिका परिवर्तनहरु उनका शिक्षक थिए । ती डाँडा, खोल्सा, पाखा, माटो, ढुङ्गा, रुख, भुटेका मकै, कुखुरा, चरा र जनावरका आवाज उनका गुरुहरू थिए । तिनैबाट उनले पढे । उनले आफ्नो जीवनमा जति पढे, तिनैबाट पढे । तिनैबाट सिके । तिनका आयामबाट उनको चेतनाको दियो बल्न थाल्यो ।

किन भने सरकारले खोलिदिएको गाउँको स्कुलको घरमा उनी कहिल्यै गएनन् । त्यो उनको टाढाको तीर्थ थियो । जोरजाम केही भएन त्यहाँसम्म जान । लगिदिने पनि कोही भएनन् ।

तर त्यो यात्रा लामो रहेन । एघार वर्षमा नै सुनामी आयो उनको जीवनमा । उनका बाबुको मृत्यु भयो । र त्यसपछि उनको बाबुसँगको यात्रा अवरुद्द भयो ।

आमा धान नाचेर अर्कैसँग बिहे गरेर गइन् । सिम्लागे एक्लै भए । उनकी फुपूले उनलाई फुपूले पालिन् त्यसपछि ।
तिनै फुपूले उनलाई एउटा बानी पनि बसाल्न लगाइन् ।

त्यो टोपी लगाउने बानी थियो ।

‘सिम्लागे, यो टोपी कहिल्यै नफुकाल्नू । लगाइराख्नू है ।’ फुपूले उसलाई पहिलोचोटि टोपी लगाइदिंदै गर्दा भनेकी थिइन् ।

‘अनि हरायो भने ?’

‘हरायो, फाट्यो भने अर्को किन्नु पर्छ ।’

उनले फुपूको यो वचन बचाएर राखे ।

घरको माया लाग्ने उमेर भएपछि सिम्लागे फुपूलाई छोडेर शिरुबारीमा बाबुआमाको घरमा आएर एक्लै बस्न थाले ।
र पेशा भने बाबुकै निरन्तरता बन्यो । अर्थात जन जाने ।

००००

फूपूको हातमा हुर्किए पनि सिम्लागे घर फर्किँदा रित्तै थिए । शिरुबारीमा सिर्फ घर थियो वरिपरि ढुङ्गाको पर्खाल लगाएर माथि खरको छानो भएको छाप्रो । अर्थात् भित्र एक घर एक कोठा थियो । त्यसैमा पकाउने, खाने, सुत्ने ।

उनको टोपी लगाउने अनौठो बानी परिसकेको थियो । तर टोपी सधैँ एउटै हुन्थ्यो । बुट्टेदार तर मैलो । पसिनाको भारी हुन्थ्यो । त्यसको भित्री सेतो कपडाको हुन्थ्यो, तर त्यो कालो कपडा बराबर हुन्थ्यो । मैलो र काई । मैले देख्दा सधैँ त्यही टोपी लगाएको हुन्थ्यो । बुट्टेदार । ढाकाको ।

किन लगाएको टोपी ? उनैलाई थाहा थिएन । अरुले लगाएका छन्, त्यसैले । अरु लुगा फाटेका हुन्थे, टोपीजस्तै । उनी अर्को लुगा फेर्न निर्कै वर्ष कुर्थे, तर टोपी सुरुवालभन्दा, दौराभन्दा छिटो फाटिदिन्थ्यो ।

अचम्म ! टोपीचाहिं छिटो फाट्ने । तर पनि दूलो परेको, वरिपरि च्याङ्ला भएको टोपी भए पनि उनी लगाएरै हिँड्थे ।
राष्ट्रियता जोगाउन हो ?

रेडियोमा समाचार आउँदा ‘यो राष्ट्रियता भनेको के हो’ भनेर गाउँको हेडसरलाई सोधेका थिए । टोपी र राष्ट्रियताको तालमेल तिनलाई के थाहा ? उनको राष्ट्रियता भनेको हरेक दिन अधिकारी गाउँमा अधिकारीहरूका मेला जानु र ज्याला ल्याएर जीवन धान्नु । उनको राष्ट्र भनेको अधिकारी गाउँ हो । उनका मन्त्री भनेका अधिकारी बाहुन । उनको राष्ट्रियता भनेको अधिकारीहरूलाई खुशी पारेर सधैंभरी तिनको काम गर्ने अवसर पाउनु । सधैभरी बेंसीको भारी बोक्ने अवसर पाउनु हो । सधैंभरी कोदालो खन्ने र भारी बोक्ने मौका पाउनु हो । सधैंभरी दाउरा काट्न र बोक्न उनलाई बोलावट हुनु हो ।

यसरी दैनिक काम गरेर पसिना बगाउनु उनको जीवन पद्धति थियो ।

एक दिनभरी काम गर्दा उनी बीस पटकसम्म पसिनाले लुथ्रुक्कै भिज्थे र त्यही टोपीले पसिना पुस्थे । टोपी रुमाल हो ?उनलाई थाहा थिएन ।

उनी अधिकारी गाउँमा बनी माग्न जान्थे । मकै, कोदो, भटमास, गहुँ, पैसा जे पाए पनि माग्थे र पछि काम सघाएर तिर्थे । अनि अधिकार्नी आमैहरूले भुटेका मकै र भटमास दिन्थे । उनी त्यही टोपी थापेर खान्थे । मेलामा काम गर्न जाँदा पनि उनी त्यही टोपीमा मकैका खाजा थापेर खान्थे । अनि खाइसकेर टोपी टक्टक्याउँदै टाउकोमा छिराउँथे । टोपी थाल हो ? टोपी प्लेट हो ?उनलाई थाहा थिएन ।

खोला खेत बनी अर्थात जन तिर्न साउने झरीमा एक महिना उनको दैनिक आवतजावत नित्यकर्म हुन्थ्यो । दिनभरी काम गरिसकेपछि बेलुका काँचा धान, काँचा मकै, काँचो पराल वा मकैका हरिया ढोडको भारी लिएर एक घण्टाको उकालो लाग्नुपथ्र्यो उनले । टाउकामा नाम्लो हुन्थ्यो । तालु खाल्टो पथ्र्यो । दुख्थ्यो । बेलाबेलामा नाम्लो वर्तिर पर्तिर सार्थे टाउकामा । त्यही भएर टाउकामा वारपार करङ्ग जस्ता नाम्लाका डाम हुन्थे । तालु भतभती पोल्थ्यो । त्यो दुखाइ कम गर्न उनी टोपी बिब्ल्याँटो पारेर दोबारेर टाउकामा राख्थे र त्यो टोपीमाथि नाम्लो राखेर भारी बोक्थे । टोपी टाउकाको रक्षक हेलमेट हो ?उनलाई थाहा थिएन ।

एउटी छोरी जन्मिएकी थिई, पछि आफैँ मेलाबजारबाट बिहे गरेर हिंडेकी थिई । त्यही भएर सिम्लागे र उनकी श्रीमती मात्रै त्यो घरमा छिर्थे ।

एक दिन उनकी श्रीमतीलाई ज्वरो आयो । केही निल्नु भएन । स्वास फेर्न गाहृो भयो । उनले श्रीमतीलाई तङ्ग्रयाउन भनेर भैंसीको मासु एक पावाल्याएर पकाएर खुवाए । झन् स्वास फेर्नै गाहृो भयो । उनले सिम्लागेलाई एक्लै यस धरतीमा छाडेर गइन् । अब सिम्लागे एक्लै भए । उनी रोए चौपट्टै । र, त्यही टोपी झिकेर आँसु पुछे र फेरि टाउकामा राखे । आँसु पुछ्ने रुमाल हो टोपी ? उनलाई थाहा थिएन ।

अझ उल्लेख्य कुरो थियो — सिम्लागेको हाँसो । उनी यत्ति ठूलो आवाज निकालेर हाँस्थे कि उनले हाँस्दा गाउँका धेरै मानिसले सुन्थे । आवाजको तीखोपन र त्यसको गहिराई मात्रै होइन, उनको हाँसामा निश्छलता थियो, खुल्लापन थियो, पवित्रता थियो । मित्रवता थियो । आत्माको आवाज थियो । त्योभन्दा बढी कलात्मकता थियो । उनले धौ फुकाएर हाँस्न थालेपछि त्यहाँवरिपरि भएका सबै मान्छे हाँस्न थाल्थे । हाँस्दाहाँस्दा आँखामा आँसु आउँथे । अनि उनी त्यही टोपी शिरबाट झिकेर आँसु पुछ्थे । टोपीले हर्षका पनि पुछ्न सक्छ ? पीडाका आँसु र हर्षका आँसु एकै हुन् ? कि स्वाद फरक पाउँछ उनको टोपीले ? उनलाई थाहा थिएन ।

असारको दिन थियो । पानी नपरेको निकै भएको थियो । किसानहरू निरास थिए । गाउँमा प्रधानमन्त्री आउने हल्ला भयो । हल्ला के, उर्दी भयो ।त्यो खबरले किसानहरूको मुहारमा मुस्कान आयो । मानौं, केही राहत आइहाल्छ ।

गाउँको स्कुलको चौरमा हेलिकप्टर बस्ने चाँजो मिलाइएको थियो । सेना र पुलिसको निकै बाक्लो उपस्थिति थियो । गाउँका सबै मानिस भेला हुँदै थिए । सिम्लागे पनि गए । सबैका आँखा आकासमा थिए ।

‘कस्तो हेलिकप्टरमा हाम्रा प्रधानमन्त्री आउने हुन् ? को को आउने हुन् ? उनकी श्रीमती पनि आउँछिन् ? अनि प्रधानमन्त्रीले कोट कस्तो लाउँदा रहेछन् ? जुत्ता कस्ता लाउँदा रहेछन् ? उनकी श्रीमतीले कस्तो सारी लाउँदिरहिछन् ?’ सिम्लागे जो पायो उसैलाई यी प्रश्न गरिरहन्थे । लाजको ज्ञान उनलाई थिएन ।

तिनका खुट्टा भुइँमा थिएनन् । आकासतिरै थिए । आँखासँगै । कसरी उडेको होला त्यत्रो गरुङ्गो फलाम ? सिम्लागे चकित थिए ।

यतिकैमा कालो हेलिकप्टर आयो । त्यहाँ प्रधानमन्त्री, उनकी श्रीमती, सालो, बुबा र उनका सल्लाहकार थिए । हेलिकप्टर भुइँमा बस्यो । सेनाले तिनलाई परै रोकेको हुनाले सिम्लागे र अरु सर्वसाधारण मानिस हेलिकप्टरको नजिक जान पाएनन् ।

‘सर हजुर । प्रधानमन्त्री भनेको हावाजाजमा मात्रै हिंडनु पर्छ होला । यता आउनुहुन्छ हामीलाई भेट्न ?’ सिम्लागे छेउको पुलिसलाई फिराद गर्दै थिए । पुलिसले उनको कुरा ध्यानदिएन ।

प्रधानमन्त्री हेलिकप्टरबाट बाहिर आउनेबित्तिकै सिम्लागे उफ्रिए,  ‘उ…उ.. मेरो जस्तै टोपी लगाएछन् प्रधानमन्त्रीले ।’

‘अँ अँ, तेरो नै राम्रो नि, सिम्लागे ।’ हजुरआमाले मुस्कुराउँदै उत्तर दिनुभयो र सिम्लागेलाई हौस्याउनु भयो ।

कार्यक्रम सकिएपछि प्रधानमन्त्री हेलिकप्टरतिर लम्किए । भित्र पसे । अरु पनि पसे । हेलिकप्टरको पङ्खा घुम्न थाल्यो । मानिसहरूको भीड हेलिकप्टरतिर ओइरियो । यही मौकामा प्रधानमन्त्रीले सबैलाई हातको इसाराले चुम्बन दिए । भीड झन् नजिक आयो । हेलिकप्टर उड्न लाग्यो । भीड झन नजिक आयो । सेना र पुलिसले पनि रोक्न सकेनन् । प्रधानमन्त्रीलाई बाइबाइ गर्न सबै झुम्मिए । हातले इसारा गरे । प्रधानमन्त्री पनि मुस्कुराए । त्यसपछि हेलिकप्टर बिस्तारै धरती छोड्दैमाथि उड्न थाल्यो । जोडसँग हावा फ्याँक्यो । धुलो फ्याँक्यो ।

धुलो, रुखकापात र कागजका पत्ता आँखाभरि छिरे । निमेषमै शान्त भयो आकास । सबै घरतिर लाग्नथाले ।

मेरी हजुरआमाले घरबाट ढिकीमा कुटेका मसिना धानका चिउरा ल्याउनुभएको थियो । हामीहरूलाई चिउरा दिनुभयो । हामीले हाफ पैण्टको गोजीमा हाल्यौं ।

‘सिम्लागे, चिउरा थाप ।’ हजुरआमाले सिम्लागेलाई दुई अँजुलीले चिउरा दिनखोज्नुभयो । सिम्लागेले हतार हतार टाउकामा दुईटै हातलगे टोपीझिक्न । तर त्यहाँ टोपीथिएन । गरैगरा पारेर भेडाको ऊन काटेजस्तरी काटिएको उनको कपालमात्रै थियो । टोपी हेलिकप्टरको हावाले अघि उडाइसकेको थियो । उनको चिउरा खानपाउँदा पलाएको मुस्कान एकाएक निरासामा बदलियो । उनीकुदे टोपीखोज्न । तर भेट्टाएनन् ।

‘हुन्दे, सिम्लागे । एउटा टोपी म बालिघरे दमाइआका बेलासिलाउन लगाइदिन्छु तँलाई । चिउरा चाहिँथाप यो कागजमा ।’

आँखाभरी आँशु पार्दै उनले एउटा पुरानो कपीको पानामा चिउरा थापे र खाए ।

हामी घर फिर्यौँ । सिम्लागे पनि हामी सँगै आए । तर उनको खित्का छोडेर आँखा नै पुरिनेगरी, वल्लो घर,पल्लो घर सबैले सुन्ने गरी हाँस्ने उनको हाँसो प्रधानमन्त्रीको हेलिकप्टरको हावाले निमोठिदिएको थियो । उनलाई अरु केही चाहिएको थिएन । बस्, त्यही एउटा टोपी । त्यही पनि राज्यको हावाले उडाइदियो । उनको सपना उडाइदियो । राज्यले सपना उडाउनेहरूको ताँतीमा सिम्लागे पनि थिए ।

अर्को हप्ता सिम्लागे हाम्रो घरमा आए । उनले घुर्मैलो नफाटेको पुरानो टोपी लगाएका थिए ।

‘टोपी किनिस कि क्या हो, सिम्लागे ? मैले नयाँ दिने भनेकै थिएँ ।’ हजुरआमाले सान्त्वना दिन खोज्नु भयो ।

‘बाँझघरे माइलाले दिएको नि काकी । मलाई टोपी चाहिरहन्छ । सारै दयालु छन् नि बाँझघरे माइला । उनले केही न केही दिइरन्छन् । भगवान हुन् उनी ।’

त्यसको केही दिनमा झरी सुरु भयो । बर्षाद अत्याधिक हुनु सुरु भयो । बाढी र पहिराका विभत्स कथाहरु सुरु भए । अनि त्यही कथामा अर्को पटकथा थपियो । र पहिरोले सिम्लागेको घर बगायो । र उनी पनि बगे । उनको लीला समाप्त भयो ।

त्यसको केही दिन पछि बाँझघरे माइला हाम्रो घरमा आए ।

‘बिचरा सिम्लागे ! कस्तो मर्नभयो नि, नानी?’ हजुरआमाले बाँझघरेसँग दुखेसो पोख्नुभयो, ‘तैले दिएको टोपी पनि लाएर आएको थियो अस्ति । म पनि दिउँलाभन्दै थिएँ, तैले नै छिटो दिछस् । भैगो । उसको टोपी लाउने इच्छा पूरा भयो ।’

‘सिम्लागे, ढाँट मोरो ! एउटा बनीमा लगेको नि त्यो टोपी । तिर्दै नतिरी मर्यो ! ढाँटको राजा !’

हजुरआमा ट्वाल्ल परेर बाँझघरेको मुखमा हेरिरहनुभएको थियो ।

म सिम्लागेले खित्का छाडेर हाँसेको मुस्कान र हाँसोको आयाम पढ्न थालें । कति पवित्र थियो ! मैले पनि सिम्लागेको जसरी हाँस्न नखोजेको पनि होइन, तर सबै कृतिम हाँसो मात्रै प्रकट भयो । अनि सर्पका जस्ता दुईवटा दाँतमात्रै तेर्सिए !