भारतका प्रख्यात कवि तथा गीतकार जावेद अख्तर आफ्नो परिवार, निजी जीवन र प्रथम प्रधानमन्त्री जवाहर लाल नेहरूसँगको भेटका बारेमा इन्डिया टुडे म्यागेजिनमा सौरभ द्विवेदीसँग यसरी स्मृति बाँड्छन्ः

पिता जाँनिसार अख्तरका बारेमा ?
मेरा पिता जाँनिसार अख्तरले मलाई एउटा साह्रै गतिलो कुरा भन्नुभएको थियो । उहाँले के भन्नुभएको थियो भने‑ हेर छोरा, अप्ठेरो भाषामा, अप्ठेरो तरिकाले लेख्नु ज्यादै सजिलो छ तर सहज र सरल भाषामा लेख्नु ज्यादै अप्ठेरो हुन्छ । सरल भाषामा तिमीले त्यो बेला मात्र लेख्न सक्छौ, जब तिम्रो सोच प्रस्ट हुन्छ ।

छोरी जोया र छोरा फरहानका बारेमा नि ?
‘दिल धडकने दो’ फिल्म निर्देशन गर्ने पक्का भएपछि जोयाले संवाद अरूलाई नै लेख्न दिई, कुकुरको संवाद भने मलाई लेख्न लगाई । मेरो बाउले कुकुरको भाषा बुझ्छ भनेर दिएकी हो कि ! वा, कुकुरले बोल्ने संवादलाई विश्वसनीय बनाउन सक्छ भन्ने विश्वास हो कि ? उसले जे सुकै जवाफ दिए पनि मलाई सोध्न चाहिँ डर सधैँ लागिरहन्छ कि साँच्चिकै भनिदेली भनेर ।
अर्को रोचक कुरा पनि भनिहालूँ, ‘रक अन’ फिल्मका लागि छोरा फरहानले ज्यादै अप्ठेरो गीत लेख्न लगायो‑ मेरी लन्ड्री का एक बिल । यसका शब्दावलीहरू हेर्नु त, कति अप्ठेरो छ ! त्यो वर्ष मैले साराका सारा अवार्ड जोधा‑अकबर फिल्मका लागि पाएँ । रक अन फिल्मका लागि मैले गरेको मिहिनेत भने कसैले देखेन ।

पत्नी शबाना आजमी र पूर्वपत्नी हनी इरानीका बारेमा नि ?
शबाना हरेक भूमिकामा पर्फेक्टनिस्ट छे । छोरीका रूपमा ऊ यस्ती छ कि तपाईंले त्यस्ती छोरी कहीँ पनि देख्नु भएको छैन होला । उसले आफ्नो बुवा कैफी आजमीका लागि गरेका काम देख्दा छोरी मान्छेले बाउका लागि कति गरेको होलाजस्तो लाग्छ ।
साथीका रूपमा म उसमा यति भर परेको हुन्छु कि कहिलेकाहीँ मैले उसलाई कति दुःख दिएको होला जस्तो लाग्छ ।
पूर्व पत्नी हनी इरानी र म ज्यादै मिल्ने साथी छौँ । उसले मेरो किताबमा एउटा टिप्पणी लेखेकी छ । साह्रै राम्रो टिप्पणी ! उसले लेखेकी छः असल साथीहरूले कहिले पनि एकअर्कासँग बिहे गर्नुहुन्न । र, उसको टिप्पणी मलाई चित्त बुझ्यो ।

भाइ सलमान अख्तरका बारेमा ?
ऊ ज्यादै ब्रिलियन्ट मानिस मान्छु । उसले यति मीठा शेर (सायरी) लेखेको छ कि तिनका बारेमा सोच्दा मात्र पनि म रोमान्चित हुन्छु र कल्पिन्छु‑ काश, ती मैले लेखेको भए !
जो छुपाने की थी वो बात बता दी मुझको
जिन्दगी तूने बहुत सख्त सजा दी मुझको
सलमान बोल्न पनि साह्रै राम्रोसँग बोल्छ । उसको हास्यरस, हास्यपुट पनि कम गज्जबको छैन ।

प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूका बारेमा नि ?
नेहरूका बिना हामीले आधुनिक इन्डिया कल्पना नै गर्न सक्दैनौँ । उनी पुरानो र नयाँ इन्डिया बीचको सेतु हुन् । उनले प्रजातन्त्रको जरो देशको धर्तिमा भित्रसम्म पुर्याएका छन् ।
एक दिन उनी अलिगढ विश्वविद्यालयको पुस्तकालय बनाउनका लागि आधारशीला राख्ने कार्यक्रममा आइपुगेका थिए । सारा साना‑साना केटाकेटीहरू पुगेका थिए र त्यसमा म पनि एउटा थिएँ । म र मेरो एउटा साथी त्यहाँ गीत गाउन भनेर ल्याइएका थियौँ । मेरी एक जना छिमेकी थिइन् । उनलाई मैले प्रधानमन्त्री नेहरूछेउ गएर गीत गाउँछु भनेको सुनेपछि उनले नेहरूको एउटा तस्बिर र तिरङ्गा झण्डा दिइन् । ताकि प्रधानमन्त्रीलाई त्यो दिन सकियोस् । नेहरू गाडीमा चढ्न जाँदै गर्दा मलाई झल्याँस्स झण्डा र तस्बिरको याद आयो र दौडँदै गएँ । उनको छेउ पुग्नै लाग्दा कसैले रोक्यो तर उनले छेउ आउन दिए । मैले उनलाई उनको तस्बिर र झण्डा दिएँ । उनले तस्बिर र झण्डा हेरे । उनलाई लाग्यो होला, यो केटोले यति राम्रो चिज बनाएछ । त्यसपछि खल्तीबाट एउटा कलम निकाले र तस्बिरमा हस्ताक्षर गरेर मलाई दिए ।
अब सोच्नुस्, एउटा बच्चाले प्रधानमन्त्रीसँग यसरी बेखौफ भेट्ने वा प्रधानमन्त्रीले पनि आउन दिने समय थियो त्यो ।
कस्ता दिन थिए ! कस्ता दिन आए !!