
१७ जनवरी १९४५ मा भारतको ग्वालियरमा जन्मिएका कवि जावेद अख्तर जति भारतमा लोकप्रिय र प्रेरक छन्, नेपालमा पनि उत्तिकै रूचाइन्छन् । उनी एक प्रतिष्ठित कवि, लेखक गीतकार र पटकथा लेखक हुन् भनिरहनु परेन । उनका पिता जान निसार अख्तर उर्दूका प्रसिद्ध कवि थिए र आमा सफिया अख्तर पनि एक प्रतिभाशाली लेखिका थिइन्।
भारतीय फिल्मको पटकथा लेखनमा र खासगरी हिन्दी फिल्ममा उनको सलीम खानसँगको जोडीले “सलीम-जावेद” नामबाट यति ठूलो नाम कमाए कि त्यो जोडीले हिन्दी फिल्म उद्योगमा ठूलो योगदान गर्यो। यो जोडीले शोले (1975), जंजीर (1973), दीवार (1975), डन (1978) जस्ता फिल्म लेख्यो ।
उनका गीत पनि उत्तिकै लोकप्रिय रहे । उनका गीतमा गहिरो अर्थपूर्ण भाव, गहिराई र सौन्दर्य पाइन्छ। उनका चर्चित गीतहरूमध्ये एक लड़की को देखा तो ऐसा लगा (फिल्म: १९४२: अ लभ स्टोरी), संध्या हो या सावन (फिल्म: परिन्दा), दिल धड़कने दो (फिल्म: जिंदगी ना मिलेगी दोबारा) लाई लिन सकिन्छ ।

जावेद अख्तर बुवा र भाइ सलमानसँग
उनी फिल्ममा मात्र व्यस्त रहेनन् । जावेद अख्तरका कविता पनि निकै लोकप्रिय छन् । उनका कविता संग्रह ‘तरकश’ विशेष चर्चित छ। उनका कविताहरूमा प्रेम, समाज, मानवीय संवेदना र जीवनका विभिन्न पक्ष झल्कन्छन्।
उनको ख्याति त उनले पाँच पटक राष्ट्रिय पुरस्कार, फिल्मफेयर अवार्ड (१३ पटक), भारत सरकारबाट पद्म श्री (1999) र पद्म भूषण (2007) लगायतका सम्मान पाएबाटै आँक्न सकिन्छ । उनको सबैभन्दा सुन्दर पक्ष भनेको प्रगतिशील विचारधाराका उनी धार्मिक कट्टरता र सामाजिक अन्यायको खुला विरोध गर्छन्।
जावेद अख्तरको पहिलो विवाह हनी ईरानीसँग भएको थियो। तर पछि उनीहरूबीच पारपाचुके भयो । त्यसपछि उनले प्रसिद्ध अभिनेत्री शबाना आजमीसँग विवाह गरे। प्रथम वैवाहिक सम्बन्धबाट उनका छोरा फरहान अख्तर एक सफल निर्देशक, अभिनेता र गायक छन् भने छोरी जोया अख्तर एक प्रतिभाशाली निर्देशकका रूपमा चर्चित छिन् ।
हालै डकुमेन्ट्री फिल्ममेकर नसरीन मुन्नी कबीरले अख्तरसँगको संवाद ‘कन्भरसेसन विद जावेद अख्तर’ नामक डकुमेन्ट्री बनाएकी छन् । सो कुराकानी उनको जन्मदिनको अवसरमा संक्षेपमाः
राम्रो जीवनको चाहना के हुन्छ? तपाईंले चाहेजस्तै जीवन पाउनुभयो ?
म आफ्नो आलोकाँचो उमेरमा मेरो जीवनले कस्तो मोड लेला भनेर कल्पना पनि गर्न सक्दिनथेँ ! मैले धेरै अनुभव प्राप्त गरें, धेरै घर र शहरमा बसें। थाहा छैन कति मानिसहरूसँग फरक-फरक परिस्थितिमा भेट भयो। अहिलेसम्मको जीवन एउटा नाटकजस्तो उतार-चढावले भरिएको छ, जसमा केही राम्रा त केही अप्रिय क्षणहरू पनि छन्। मलाई लाग्छ, यदि मैले आफ्नो बाटो पहिले नै थाहा पाएको भए, मेरो आँखा अगाडि आकाश होइन, बन्द भित्ताहरू मात्र हुने थिए। यो त त्यस्तै हो, जस्तो तपाईंलाई कुनै फिल्मको अन्तिम लाइन थाहा भए पनि पहिलो दृश्य हेर्न सुरु नै गर्नुभएको छैन।
तपाईं आफ्नो वास्तविक ‘स्व’ कहिले महसुस गर्नुभयो?
यो त्यस्तै हो, जस्तो कुनै रुखलाई सोध्नु—यो रुख कहिले बन्यो? खास रुखको कुन भाग रुख हो? यसको जरा, हाँगा, पात, फूल वा फल? यी सबै रुख हुन्। त्यसैगरी, रुखको जरा पनि, जुन आँखाले देख्न सकिँदैन, माटोभित्र छोपिएको हुन्छ। हाम्रो जीवनका कथा पनि यस्तै आपसमा जोडिएका हुन्छन्। मेरो बाल्यकाल कस्तो थियो भनेर सोध्नुहुन्छ भने—मेरी आमाको मृत्युले मेरो जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्यो। मैले र मेरो सानो भाइ सलमानले त्यो दुःखलाई सामना गर्नुपर्यो। म ८ वर्षको हुँदा आमाले संसार छाड्नुभयो । यदि त्यो घटना नभएको भए, म आज जस्तो छु, त्यस्तो हुँदै हुँदिनथेँ।
तपाईंले जीवनमा धेरै कामहरू गर्नुभयो । सम्झेर ल्याउँदा के लाग्छ ?
तपाईंको काम नै तपाईंको पहिचान हो। मानिसहरू भ्यान गग, गालिब, कालिदास र माइकल एन्जेलोको कुरा गर्छन्। हो, यी मानिसहरूको समयका अरू राम्रा मानिस पनि थिए होला। तर ती सबै बिर्सिइएका छन्। शेक्सपियरको स्वभाव कस्तो थियो, कसलाई मतलब छ? शेक्सपियर उनको नाटक हो, कीट्स उनको कविता हो। कुरोसावा उनको फिल्म हो। यदि तपाईंको काम चम्किलो छ भने तपाईं पनि सधैं चम्किरहनुहुनेछ।
तपाईं मुम्बई आउँदा बुबासँग ५ दिन मात्र बस्नुभयो। किन ५ दिन मात्र ?
मेरी सौतेनी आमाले रिसमा मलाई चड्कन हानेर घरबाट निकालेकी थिइन्। त्यो पनि मेरो बुबाकै अगाडि । उनी मलाई हेर्न पनि चाहँदैनथिइन्। म त्यतिबेला २० वर्षको पनि थिइनँ। म मुम्बईको सडकमा केवल २७ पैसा लिएर हिंडेको थिएँ।
तपाईंका बुबाले तपाईंलाई साथ दिनुभएन?
जे भयो, त्यो भइसक्यो। अहिले त्यसबारे कुरा गर्नुको अर्थ छैन। मलाई संघर्ष र विरोधाभासमा जीवन बिताउने बानी थियो। जब भोक लाग्थ्यो, दाल-भातको कल्पना गर्थें। किनभने त्यो समयमा मसालेदार खानेकुरा शरीरले माग्दैनथ्यो। दाल-भातको सादगी नै स्वास्थ्यका लागि उपयुक्त हुन्थ्यो।
तपाईंले हार कहिल्यै मान्नु भएन, हैन?
धेरै नाजुक क्षणहरू आए, तर मैले कहिल्यै हार मानिनँ। मैले जहिले पनि खराब समय सधैंका लागि हुँदैन भन्ने नै सोचेँ । मेरो आशावाद नै मेरो सबैभन्दा ठूलो शक्ति रह्यो।
यदि आशावादले तपाईंलाई सघायो पनि भन्नुहुन्छ अनि यसलाई मूर्खतापूर्ण पनि भन्नुहुन्छ त ?
यदि म निष्पक्ष भएर हेर्ने हो भने, म निराशाको समुद्रमा डुब्ने थिएँ। तर म निष्पक्ष रहिनँ। म १८ वर्षको थिएँ, मेरो अन्तिम प्यान्ट पनि च्यातिएको थियो। तर मलाई लाग्यो, यो कथा मेरो सफलताको किताबमा मुख्य हिस्सा बन्नेछ।
तपाईंले जीवनमा धेरै कठिनाइहरू देख्नुभयो, फुटेका र क्रेटहरूको ओछ्यानमा पनि सुत्नुभयो, है ?
जीवनप्रति म आभारी छु कि मैले यति धेरै प्राप्त गरें। जब म स्वादिष्ट खानेकुरा खाँदैछु, म सोच्दछु कि के म यसको योग्य छु? सडकमा जीवन बिताइरहेका मानिसहरूलाई हेर्दा मेरो मनमा प्रश्न उठ्छ कि म तिनीहरूभन्दा प्रतिभाशाली हुँ? जीवनले मलाई मौका दियो, जुन शायद तिनीहरूलाई दिएन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
