
एलबीज्यू !
जिन्दगीको माने के हो ?
यो शीर्षक होइन । प्रश्न पनि होइन । हँसिमजाक पनि होइन । यो त तपाईँकै कविताको पङ्ति हो एल.बी. सर साभार मात्र गरेको ।
तपाईं घुँडा फेर्न विदेश हुनुहुन्छ यतिखेर । हामी मुख फेर्न चितवन छौँ । कमलनगरको भित्रितिर कतै । हामी सम्झिरहन्छौँ तपाईँलाई खासमा विनामुडमा पनि । आज त बिर्सने कुरा नै भएन । यो सम्झिने मन जो छ ।
धेरैलाई थाहा भएको कुरा हो — राजधानी बस्ने तन्नेरी पुस्तामा महेशपछि मलाई प्यार गर्नुहुन्छ तपाईंले भलै सामाजिक सञ्जालमा हामी जोडिएको एकाद वर्षमात्र भएको छ । अरू धेरै कुरा त बिर्सिएँ, हाम्रो औपचारिक भेट नमोबुद्ध साहित्य यात्रामा भएको हो नि, ‘ह्वाँ के भकुन्डे बेसीमा ।’
ग्रह, नक्षेत्र र राशि हाम्रो के मिल्छ कुन्नि ? थाहा छैन । तपाईंलाई मैले जहिलेबाट चिनेँ एउटा उर्जा र प्रेरणाको स्रोतको रूपमा बुझेँ । जुन दिन भेटेँ त्यो दिनदेखि मेरो उर्जा डब्लिएर शतकमा पुग्यो । तपाईंकै फेभरेट खेल क्रिकेटको शब्द पो आयो गाँठे किनकी आज माहौल खास छ दीपावली त्यसमाथि चितवनको तास ।

एलबी छेत्री
गत साल तपाईंले नेपाल-भारत साहित्य महोत्सवमा निम्ता दिनुभयो । जिम्मेवारीसहित निम्ता त्यो पनि भाषाको मानकीकरण शीर्षक दिएर । म खासमा भाषाको अनुसन्धाता थिइन । एमए मात्र गरेको भाषामा । मेरो पिएचडी साहित्यको अन्य क्षेत्रमा हो । तैपनि काम चलाएँ । तपाईंले प्रशंसा गर्नुभयो । म फुरुङ्ग भएँ । खासमा तपाईंले मलाई मोटिभेट गर्न फुर्क्याएको होला है ? पेपर त खास काम लाग्ने लेखे जस्तो लाग्दैन मलाई । मान्छेको जातै फुर्के स्वभावको हुने के । म चितवनबाट फुर्केको रुखमा चढेर राजधानी रमना भएको थिएँ । याद छ नि तपाईंलाई ?
फेरि चितवन साहित्य समाजको कार्यक्रममा पुनः मुलाकात भइहाल्यो । तपाईं काठमाडौं आउँदा पनि भेट भइरह्यो । हुँदाहुँदा संयोग पनि कस्तो परेको थियो भने तापाईं एकल कवितावाचन गर्न पोखरा जाँदा म विश्वविद्यालयको कामले सरक्कै पोखरा पुगेँ । ठ्याक्कै भेट भयो बैदामे तालको छेवैमा । पुसको जाडो थियो । पोखरा सहर चिसिएर लगभग ओसिएको परालजस्तो भएको थियो । मान्छेका दैनिकी मुस्किलले चलेका थिए । यस्तै माहौलमा एक उमेरमा पाकेका तर मनका जवानी फुलेका कविले एकल कविता भन्ने आँट गरेका थिए । त्यो किशोरमन भएका कवि अरू कोही नभएर तपाईं नै हुनुहुन्थ्यो । पोखरा त्यसै पनि साहित्य रुचाउने सहर । एलवी सरका कविता सुन्न भनेसि कति आतुर थिए सम्झनूस् त त्यो माहौल ?
तपाईंका सम्बोधन कविताले पुषको जाडो हटाएर माहौलमा सरगर्मी थपिदिएको थियो । राजधानी फर्किएको निकै दिनपछि अचानक मन झसङ्ग भयो । तपाईंका किताब ल्याएर कोठामा थन्क्याएको धेरै दिए बितेका थिए । कहिल्यै सुबिस्ताले पढ्ने समय नै मिलेन । एकदिन त तपाईंका भए जति पुस्तक, केही थान ‘चरैवेति’ भेला गरेँ र २ दिन तपाईंलाई छुट्याएँ र ‘भीडमा हराएको मान्छे’ कवितासङ्ग्रहबाट मेलो थालें । टिपोट पनि गरेँ । फेरि कतै बहकिएँ आफ्नै कथालेखनतिर लागेँ सायद । काम थाँति छोडेर चितवन आएर सम्झिएर के गर्नु ?
चितवनकै भूमिमा बसेर आज तपाईंलाई एउटा प्रश्न सोध्न मन छ । कहिल्यै आफूलाई कवि भनेर चिनाउनु हुन्न किन हो ? म कवि होइन कविता कोर्छु भन्नु हुन्छ । यो त मिल्ने कुरा भएन है एलवी सर । मैले यसको रहस्य थाहा पाउन तपाईंका कविताहरू छिचोलेर पढ्ने निधो गरेँ । थालेँ । परेको ठाउँमा दोहोर्याएँ । कविता उपकरणका दृष्टिले तपाईंका कविता औसत प्रकृतिकै पाएँ । के त्यसो भए छोडिदिनू कविता लेख्न ? होइन कवितालाई हेर्ने दृष्टि २ प्रकृतिको हुन्छन् एउटा शिल्प पक्ष, जहाँ कविताका आम डिभाइहरू हेरिन्छन् । मेटाफोर आदि क्या । अर्को विचार वा अन्तर्वस्तु । दोस्रो दृष्टिबाट तपाईंका कविता राम्रा माने । प्रथम श्रेणीका छन् । डिस्टिङ्सन छुँदैन । हिजोआज महेशको सङ्गतले म पनि कविता लेख्छु तर राम्रा कविता लेखेजस्तो लाग्दैन सायद यस्तै मनोविज्ञानले तपाईंलाई पनि कवि हुँ भन्ने इन्कारको भावना आएको हुनुपर्छ । मलाई शङ्का गर्ने छुट दिनू न । यो मेरो प्रारम्भिक लख मात्र हो है ।

डा. अशोक थापा
तर कुरा त्यस्तो होइनरहेछ । तपाईंले सापेक्षित कुरा गर्नु भएको अन्दाज लगाएँ । खासमा तपाईंले आख्यान लेख्न चाहेको देखेँ । राम्रा कथा लेखेको देखेँ । लघुकथा लेखेको देखेँ । तपाईंको मनमा यो छ कि “म आख्यानकार हो कवि होइन । मेरा कथा बुझेर पढ । मलाई कथाकार भन । कवि नभन ।” यस्तो मनोविज्ञान पो मैले भेटेँ । मेरो अन्दाज मिलेन भने पनि नरिसाउनु होला । फौजीहरूको स्वभाव थोरबहुत बुझ्छु म ।
तर त्यसरी कहाँ पाइन्छ एलबी सर । कवि बनेर एकल कवितावाचन गर्ने, मधुपर्क, गरिमा आदिमा कविता छपाउने, कवितासङ्ग्रह निकाल्ने, परेको ठाउँमा कविता भट्याउने अनि मलाई कवि नभन भन्न कहाँ पाइन्छ ? राम्रो-नराम्रो कविताको कसी त व्यक्तिगत कुरा हो । मलाई जगधीश शमशेरको कविता फिटिक्कै मन पर्दैन । केही लाग्छ ? उनले ‘नरसिंह अवतार’ काव्य लेखे । एमए पढ्दा पढियो पनि भुटीभाङ बुझिएन । भरे त्यो काव्य मदन पुरस्कार प्राप्त टेक्स रहेछ । मलाई मननपरेको काव्यले पुरस्कार पायो केही लाग्छ ? मलाई हाइकु देखेँ भनेँ कम्परा तातेर आउँछ । तेजबिलाजीको समीक्षा नै लेखिदिएँ “सरी मलाई हाइकु मन पर्दैन भनेर” तपाईं आफैले स्विकार्नु भएको छ “म आफ्ना कविताको भावसँग सन्तुष्ट छु तर कवितासँग छैन ।” कतिपय कवितामा तपाईं अझै पनि सन्तुष्ट नभएको सुराक मैले भेटेको छु ।
तपाईं आफैले भन्नु भएको छ ‘धेरै पटक शब्दहरू फेरेँ, वाक्य फेरेँ, परिच्छेद नै फेरेँ, कवितै फेरेँ तर चित्तबुझ्दो कविता बन्दै बनेन ।’ कविता प्रकाशनमा नल्याउने विचार गर्नु भयो तर ल्याउनु भयो । यसमा दुई कुरा आउन सक्छन् । एउटा पाठकले जे भने पनि मेरा कविता राम्रा छन् भन्ने स्व-अभिमान । दोस्रो अरूले पनि यस्तैयस्तै त लेखेका छन् नि । धन्न भूपि शेरचनले जस्तै च्यातेर चै फाल्नु भएन छ । जेहोस् हामीले कविता सँगालो पढ्न पायौँ । पुराना बुढाहरूको सालैजो भाका तपाईंले मिस गर्नु भएको कुरा पुस्तकको भूमिकामा लेख्नु भएको छ । म कुनैदिन गाएरै सुनाइदिउँला । आफैँ मादल बजाएर । स्न्याक चै तपाईंले व्यवस्था गर्नुपर्छ ।
एकजना पाठकले तपाईंलाई समाजिक सञ्जालमा भनेछन् “यो कविता कसरी भयो ?” सायद उनले क्राफ्टिङलाई बढी ध्यान दिए । औपचारिकता खोजे कवितामा, शृङ्खला खोजे । विचारलाई उनले भ्यालु नै दिएनन् ।
तपाईंलाई अर्को पनि चिन्ता देखेँ । आजको पुस्ताले पुस्तक पढ्दैन । ठीक हो । पुस्तक मात्र पढ्ने ड्रगिस्टहरू पनि यस क्षेत्रमा छन् । अर्को पनि चिन्ता छ । पढ्दै नपढी समीक्षा लेख्छन् । यो पनि आंशिक सत्य कुरा हो । कस्मम ! तपाईंका कविता धरैपटक दोहोर्याएर पढेको छु, नत्र यो लेखको शीर्षक तपाईंको कविता सँगालोभित्रको बिच्चबाट तानेर राख्न सक्थेँ र ?
अब अलि फर्मल हुन चाहेँ । आजको मान्छेको जीवनमूल्य र चिन्तनमा आएको बदलावलाई तपाईंले कवितामा गहिरिएर भन्न चाहेको देखेँ । प्रकृतिको सम्मानले मात्र मानव अस्तित्व जीवन्त हुन्छ (हे मान्छे, पृ. २५) नत्र हाम्रो खैरियत छैन भन्ने पनि बुझेँ । अतीत स्मृतिमा तीव्र नस्टाल्जिक तलाउमा डुबेको पनि हो नि कवि (त्यो क्षण, पृ. २६) । मान्छेको जीवनमा भावनात्मक उतारचढाव, आरोहअवरोह आइरहन्छ भन्ने कुरा पनि कविताबाट पाठकले पाउने अर्को मार्मिक पक्ष हो । खास कुरा आत्मविश्वास र अन्तर तहमा रहेको अस्तित्व ठूलो कुरा हो मानवजीवनमा (म विशाल वृक्ष पृ. २७) अनि सिर्जनातिरको उत्कट अभिरुचि र समर्पण (एउटा प्रश्न आफैलाई, पृ. २९) ले मात्र सबल सर्जक बन्न सकिन्छ । म आफैं त्यो प्रयास छु भन्ने पनि अप्रत्यक्ष भाव भेटिन्छ । सडकको खास गन्तव्य नभए जस्तै मान्छेका गन्तव्य पनि अनन्त नटुङ्गिने खालको हुन्छन् (सडक भएका मान्छेहरू, पृ. ३२) जीवनपर्यन्त यो चलिरहन्छ भन्ने कुरा पनि पढ्न पाइन्छ । स्खलित हुँदै गएको मानवताप्रतिको धेरै सुर्ता (विचारको गर्भाशन पृ. ३३) गर्नु भएको प्रतीत भयो ।
अर्को कुरा वैभवले र घमण्डले मूल्यहीन बनाएका मूल्यवान वस्तु हाम्रा युवा स्रोतलाई सडकमा बिस्ट्याएको गोबर जत्तिको मूल्य पनि नदिइरहेको यथार्थ (ऊर्जाको थुप्रो, पृ. ३६) प्रस्टसँग भनिदिनु भएको हैन र ? कि मैले गलत व्याख्या गर्दैछु ? हामी नकारात्मक अभिमानमा छौ, बेचिएका युवा मानव (हाम्रो अभिमान, पृ. ३७) को विषयमा विनाहिच्किचाहट बोल्नु भएको छ नि । नभनीकन धेरै कुरा भन्न सक्नु तपाईंका कविताका खास विशेषता देख्छु म त अन्य समीक्षकले के देख्छन् कुन्नि ?
आम मान्छेको सोचाइ ‘राम्रो म नराम्रो तँ’ को वास्तविकतालाई तपाईंले उजागर गर्नु भएको छ (तिमी मजस्तो, म तिमीजस्तो, पृ. ३९), देश परिवर्तनका लागि लोकतन्त्र मात्र काफी छैन । लोकतन्त्र हाम्रो जस्तै छाडातन्त्रमा बदललिन पनि सक्छ त्यसैले कहिलेकाहीँ राजनीतिक रूपमा सकारात्मक ‘कु’ पनि आवश्यकता पर्नसक्छ (वर्षौँ को अभिलाषा, पृ. ४१) भन्ने सत्य तर तिक्त कुरा पनि भेटेको छु । सँगसँगै विकासको हत्या, जनताको सपनाको हत्या र शिशु प्रजातन्त्रको हत्या भएकोमा तीव्र निराशा पनि भेटेँ तपाईंको कवितामा (वसन्तविना, पृ. ४३), प्रेम र प्रेमिल गुनासा पनि ठाउँठाउँमा आएका छन् (सपना देखाएर, ४५) कमिलाको बिम्ब बनाएर निर्घिनी मानवीय प्रवृत्तिको भन्डाफोर (हे कमिला तँ कति निर्लज्ज रै’छस् पृ. ५१), आजका खन्चुवा र अघोरी मान्छेको स्वभावलाई पर्दाफास गरिएको छ (पाँचतारे होटलमा निम्तो, पृ. ५५), शून्यताको भाव (म शून्य पृ. ५९), अलि चुनौती र अभिमानी व्यक्तिप्रति ड्यासिङ भाव (हो, तेरो घर छ पृ. ६१), आफ्नैले आफ्नै रगत अनि भ्रातृत्वको हत्या गरेको सन्दर्भ (एउटा व्यथा, पृ. ६५), राष्ट्रियता र अपनत्वका लागि हामीले जोगाउनु छ हाम्रो स्वाभिमान (हाम्रो स्वाभिमान, पृ. ६७), पहिचान हराएको समय, अहिलेको यान्त्रिक समयमा गुमनाम बन्दै गरेको मान्छेको अवस्था (भीडमा हराएको मान्छ, पृ. ७९), अमानवीय बन्दै गरेको वर्तमान विश्व (विनाश-कुण्डको मोह, पृ. ८४), सृजनाको मूल्य नबुझेर त्यसको मूल जरो ध्वस्त पार्ने खोज्ने व्यक्तिहरू प्रति व्यङ्ग्य (म गमलामा फूल रोपिरहेछु, पृ. ८७), जीवन अपेक्षा र भत्कोस (जिन्दगीको माने, पृ.१०७) आदि पक्षहरू कवितामा गुम्फित भाव बनेर रहेका छन् ।
यति सरसर्ती कुरा गरिसकेपछि मैले तपाईंका कवितामा क्रमशः प्रयोग भएका चिन्तनलाई उल्लेख गर्न चाहेः
अस्तित्वको जीवन-दर्शन – बिहान उदाएको घामको अस्तित्व साँझ मुर्झाउँछ भन्ने दिगो अस्तित्वको खोजी गर्न पटमूर्ख अरू जीव नभएर मान्छे नै हो । मुराकामी भन्छन् ‘यसो हेर्दा सर्वस्व देखिन्छ आकाशमा तर कुनै चिज त्यहाँ देखिँदैन खै अस्तित्व?’ तपाईँका कवितामा नभएको अस्तित्वको खोजी, सम्भाव्य अस्तित्वको खोजी, बाँच्ने पयो खोज्ने अस्तित्वको खोजी गरिएको छ । कवि सिल्भिया प्लाथले भने जस्तै ‘मैले गहिरो सास फेर्छु र मेरो हृदयको पुरानो घमण्ड सुन्छु ।’ मान्छेले आफ्नो अस्तित्वको बारेमा सोच्छ र यसको सङ्कट भएको अनुभूति गरिरहन्छ । यस प्रकृतिको चुनौतीका कुरा आएका छन् कवितामा ।
प्रणय दर्शन – प्रणय दर्शनमा तापईंको छवि नै रसिक स्वभावको भनेर एलवी स्टायल भन्छन् पाठकहरू । तपाईं प्रणयभित्र इमान्दारिता, स्वस्थता र विश्वासको वातावरणसहितको प्रणय अपेक्षा गरिएको गर्नुहुन्छ । बन्धन नभएको अन्कन्डिसनल प्रणयको पक्षमा देखिनु हुन्छ । तपाईंका व्यक्तिगत स्टेटस हुन् वा सेन्स अफ ह्युमरले भरिएका अभिव्यक्त रोमान्टिक ठान्छन् पाठकले । साथै स्त्रीसम्बन्धका विषयमा तपाईंको चिन्तन बहुत प्रस्ट छ भन्ने स्वतः बुझिन्छ । पेन्सनजस्ता कविताले यो कुरा चर्को रूपमा उठाएको छ । सर्तविनाको प्रेमको पक्षमा देखिनु भएको छ तपाईं कवितामा ।
मानवीय उदात्तताको स्खलन – मान्छेको चिन्तन स्वस्थ हुनु नै पर्ने हो । सापेक्षित रूपमा हिजोका मान्छेमा उदात्तता अधिक थियो विश्वास र आध्यात्मिकता थियो तर यो विस्तारै गिर्दोक्रममा छ । आज पनि उत्तिकै सर्वभलोको खोजी हुनुपर्ने हो तर कसले खोज्ने हो ? यस प्रश्नको धेरैसँग छैन । मानवले मानव भएर सद्भावको सोच लिएर बाँच्ने छोडेको धेरै भो । मानव भएको पहिलो आभास उदात्तता हो, सद्भाव हो, अरूको सम्मान हो जसले समाजलाई समृद्ध बनाउँछ तर संसार यसको ठीक उल्टो गतिमा भएको गुञ्जायस तपाईंका कवितामा पाइन्छ ।
स्वत्वको रक्षा र स्वाभिमान – स्वाभिमान ढलेपछि मान्छेको गिर्ने भनेको नुर हो । स्वत्व र अस्मितामा दाग लागेपछि अलकत्रामा चोबलेको सुतीको साडी जस्तै बन्दोरहेछ मान्छेको जीवन । यस्तो कालो पोतिएर पनि मान्छेले धुइँधुइँती स्वाभिमान खोजिरहेको हुन्छ । सहजै फेला पारेको भने हुँदैन । पाएजस्तो ठान्छ र एउटा ढोंगलाई वास्तविकता ठानेर बाँचेको हुन्छ । कतिबेला उसको वास्तविक चेहरा उदाङ्ग हुने हो उसले भेउ पाउँदैन । यस प्रकृतिका टर्यो यथार्थलाई तपाईंले आफ्ना कवितामा उठान गर्नु भएको छ ।
अतृप्ति र गुनाशा – जहाँ आभाव हुन्छ त्यहाँ अतृप्तिका घैलाहरू फुट्छन् । गुनासाको कोलाहल मच्चिन्छ । संसार आज कोलाहलमय छ अभावमय छ । संसार आज तृष्णा र गुनासाले भरिएर मनोरोगले ग्रस्त भएर बाँचेको छ । मान्छेले मान्छे भएर त बाँचेको छ अनुहारमा नफरतको भाव बोकेर सास फेरको छ । संसार विकासले झिलिमिली त छ तर मान्छे सुखले अघाएको छैन । दुर्भिक्ष जीवन बाँचिरहेको छ । धिताएर बाँचेको छैन । यस प्रकृतिको खोटो जिन्दगीको दर्शनलाई तपाईंले आफ्ना कविताका हरफहरफमा घुसाउनु भएको छ ।
वैयक्तिकता र स्वअस्तित्व – आधुनिकताको एउटा छाप । पुँजीवादको एउटा मूल कडी । सामूहिक सोचबाट विच्छेद र मान्छेहरू मान्छेहरूकै भिडमा हराउनुको वास्तविकता । विलाउनुको चोट । निर्वैयक्तिकता निम्त्याउने उद्दात्त चिन्तनले हो । समूहिक चिन्तनले हो । ‘सर्व हिताय सर्व सुखाय ‘ र ‘भवतु शब्ब मंगलम’को चिन्तनले हो । यो मर्मलाई तपाईंले आफ्ना कवितामा उठाउनु भएको छ । वर्तमान समाजमा व्यक्तिकेन्द्री स्वभाव तीव्र रूपमा हावी छ । हामी होइन ‘म’को वर्चस्व कायम रहेको छ । आफूमा मपाईँत्वका गर्व गर्नेहरूको सङ्ख्या व्यापक रहेको कुरा अप्रत्यक्ष रूपमा तपाईंको कवितामा आएका छन् ।
डायस्पोरिक विलयन – विलयन आजको हाम्रो विशाल मर्म हो । आऊ न युवा यो देशलाई बनाऊँ । मातृभूमिको ऋण बुझाऊँ । युवाहरू अस्ताउनु संसारभरको पीडा हो तर हाम्रो अहिले खास पेचिलो मुद्दा हो । तपाईंले आफ्ना कवितामा छरेको यो बलियो चिन्तन हो । तपाईंको मात्र नभएर समसामयिक नेपाली कविताको मूल प्रवृत्ति र सूचक पनि हो यो । तपाईंको कवितात्मक विश्वास के देखेँ भने प्रवासन भनेको फर्किने द्वार नभएको सुरुङ होइन ।
गन्थन लामो भइसक्यो । निचोडमा कुरा के हो भने तपाईंको हृदयमा राग छ । साहित्यको राग । सिर्जनाको राग । केही जरुरी छैन चेतनामा सिर्जनाको दियो रहेका व्यक्तिहरू ठूला साहित्यकार बन्छन् नै भन्ने तर त्यो देशको साहित्यलाई समृद्ध बनाउनमा उनीहरूको अहम् भूमिका निर्वाह जरुर गर्नसक्छन् । ठूला लेखक उदार भावनाका नहुन पनि सक्छन् तर तिनीहरूलाई लोकप्रिय बनाउन उदारमना भएका व्यक्तिले सक्छन् त्यस्तो विशाल मन तपाईंमा छ । मैले सौराहामा भनेको थिएँ तपाईं मोफसलको कमलमणि ! जवाफ “बाबु यो तपाइँको सद्भाव हो ।” वास्तवमा मैल यो कुरा तपाईंलाई चाकडी गर्ने मकसदले भनेको थिइन । तपाईंको जीवनको परिभाषा के हो ? मलाई थाहा भएन मेरो बुझाइमा जिन्दगीको माने देवकोटाले प्रश्नोत्तर कवितामा भनेजस्तै “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरूलाई दिनु जहाँ छ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘सन्तापको धून’ कथासङ्ग्रहमा मैले भेटेका पात्रहरू (नवपुस्ता/पुस्तकानुभूति)
