“ग्रेभडीगर्स एन्ड गर्लफ्रेन्ड” का केही कथा पढिसकेको छु । केही दिन “द्रौपदी अवशेष” मा व्यस्त रहेँ । अबको पालो “कल्पग्रन्थ” को । गह्रुङ्गो “कल्पग्रन्थ” उचाल्दै मैले म्याडमलाई अनुरोध गरेँ, “म नगरकोटीलाई पढ्दै छु । एउटा फोटो खिचिदेऊ न प्लिज ।” म्यामले मोबाइलबाट आफ्नो दक्षता देखाउनुभयो । मैले पुस्तकको पाना पल्टाएँ । औँलालाई पनि के भाको खै! त्यही पाना पल्टायो जहाँ लेखिएको थियो, “मेरो यौनजीवनमा सेक्स ग्रहण लागेको छ, त्यसैले ।” ३०–२० पानामा लेखकको यौन अभिव्यक्ति भेटेपछि त्यसपछि जिज्ञासा भयो— यसरी यौन प्रसङ्ग आउँदा पाठकमा उत्सुकता बढ्नुलाई अन्यथा लिन मिल्दैन । मलाई लाग्छ कुमारजीको चाहना पनि त्यही नै हो – पाठकमा उत्सुकता जगाउने – जसरी हुन्छ ।

फेरि आँखा पनि ठ्याक्क त्यहीँ गएर अड्किए जहाँ लेखिएको छ  “सेक्स ग्रहण । ह्वाट नन्सेन्स?” मलाई लाग्यो यहाँ प्रश्नवाचक वाक्य नराखेर पूर्ण विराम राख्नुपर्ने तर लागेर मात्र कहाँ हुन्छ र ? एक, म गलत हुन सक्छु किनकि मेरो ग्रामर कमजोर छ । दुई, नगरकोटियन स्टाइल हुन सक्छ तर  एलबी स्टाइलले पढ्ने क्रममा यस्ता कुरा पनि नोटिस गर्दै हिँड्छ । उसको कुरा स्टाइलै न हो ।

लगत्तै अर्को छोटा-छोटा पाँच वाक्यको एउटा अनुच्छेद रहेछ, “यसमा आश्चर्यको कौनो बात नाही छे । माई डार्लिँग । केक र आइसक्रिमले मेरो शरीरमा वीर्य उत्पादनको प्रोसेसलाई डिसिन्क्रोनाइज्ड गरिदिन्छन् । मेरो यौन जीवनको केस स्टडी गर्ने चिकित्सकहरूको निष्कर्ष  हो यो । मैले जीवनमा केक र आइस्क्रिम  भसक्कै खाएँ । त्यसैले फल हो यो ।”

“जनता जान्न चाहन्छन्” कार्यक्रममा ऋषि धमला घरिघरि भन्ने गर्छन्, “जनताले मलाई सोधेका छन्— ऋषिलाई सोधे कि सोधेनन्, तर मलाई सोधेका छन् एक-दुईले “सर नगरकोटी स्टाइल कसरी बुझ्नुहुन्छ?”  म अन्योलमा पर्छु ।  उहाँको स्टाइल नबुझेर होइन  ।  कसरी भन्ने ?

माथिको अनुच्छेदमा मैले पाएँ पहिलो वाक्य  मैथिली भाषामा छ । वाक्यको अन्तिम दुई शब्द “माई डार्लिंङ, अङ्ग्रेजीका हुन् । अनि खस भाषामा लेखिएको दोस्रो वाक्यको “केक” र “आइसक्रिम” अङ्ग्रेजी शब्द हुन् । त्यही वाक्यमा वीर्य उत्पादनको कुरा छ । फेरि “प्रोसेस” “डिसिन्क्रोनाइज्ड” अङ्ग्रेजी शब्द छन् । यस्तै यस्तै । कुमारजीको  शब्द चयन,  वाक्य र अनुच्छेद संरचना, पटकथाको बनोट, प्रस्तुति आदि आदि नै नगरकोटियन स्टाइल हो ।

अनि म यस कथालाई सुरूबाटै पढ्न थालेँ । पृष्ठ ३०२ बाट सोझै २९१ मा पुगेँ । कथाको शीर्षक रहेछ “अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो ।” प्रारम्भ चिठीबाट रहेछ ।

प्रिय अब्सुल कादिर,

नमस्ते एन्ड सलाम वालेकुम !

गत वर्ष २०१६ को अक्टोबरमा तिमीसित भेट भएको थियो ।

नढाँटी भन्छु सुन्दर प्रारम्भ । बडो मजा आयो । अनि अर्को वाक्यले त झसङ्ग बनायो । “हामी जयपुरको डिग्गी प्यालेसमा सार्क राष्ट्रका कवि, लेखकहरू जम्मा भएका थियौँ । सन्दर्भ थियो — साउथ एसियन सुफी फेस्टिभल ।”

मलाई झसङ्ग केले बनायो? मैले यहाँ भन्नु नै पर्छ— मलाई  मिर्जा  गालिबको एउटा शेर याद आयो—

कलकत्ते का जो जक्र किया तू ने हमनशीं

इक तीर मेरे सीने में मारा कि हाए हाए

जिक्र अर्थात् सन्दर्भ । कथामा जिक्र आयो – जयपुरको डिग्गी प्यालेसको अनि सार्क राष्ट्रका कवि, लेखकहरू जयपुर पुगेको अनि साउथ एसियन सुफी फेस्टिभलमा कविता वाचनको मलाई झसङ्ग हुनु नै थियो । अचानक मेरो दिमागमा पनि एउटा शेर बन्यो —

जयपुर डिग्गी प्यालेस का जो जिक्र किया “कल्पग्रन्थ” ने

यादें लौट आई चार बरस पहले वाली सुफी फेस्टिभल की

म झसङ्ग हुनु स्वाभाविक थियो । चार वर्षअघि अक्टुबर ७, २०१७  जयपुर सुफी फेस्टिबलको कार्यक्रममा म पनि पुगेको थिएँ । नेपालबाट  हामी धेरैको सङ्ख्यामा पुगेका थियौँ । ठाउँ “जयपुर डिग्गी प्यालेस” ।  कवि भीष्म उप्रेतीजी र म सँगै एउटै कोठामा बसेका थियौँ । कार्यक्रमका लागि जानुअघि कवि समीक्षक महेश पौड्यालसँग मेरो विमर्श हुँदा महेशले मलाई सुझाएका थिए — सर हजुर जाने हो भने कविता मात्र पढेर नआउनुहोला । कार्यपत्र प्रस्तुत गर्नुहोला ।” र मैले त्यसै गरेको थिएँ । मेरो पाँच दिन खर्चेर निर्माण गरेको कार्यपत्रको शीर्षक थियो — Denouncemnt of War and Adocacy For Peace In modetry Nepali Poetry । मलाई अझै याद छ मैले मेरो कार्यपत्र पढ्ने बेलामा नेपालबाट जयपुर कार्यपत्रमा सहभागी मित्रहरुमध्ये धेरै जना जयपुर घुम्न र किनमेल गर्न जानुभएको थियो । अन्य देशका भने निकै मात्रामा उपस्थित थिए । एकजना भारतीय कवि अर्पण कुमारले त मेरो मन्तव्यको भिडियो नै बनाउन भ्याएछन् र युट्युबमै राखी दिएछन् Prof. LB Chhetri (Nepal) delivering his lecture at South Asian Sufi Festival शीर्षक  बनाएर ।  अर्को दिन बिहान लोकल पत्रकारहरू आएर अङ्ग्रेजी र हिन्दीमा मेरो अन्तरवार्ता लिएका थिए । साथै जयपुरको लोकल पत्रिकाका मेरो नाम र फोटो सहित खबर थियो ।

आतङ्कवाद हिंसा और सङ्घर्ष के बीच दुनिया रहने की आदी —  नेपाल के लघुकथा लेखक व कवि एल बी छेत्री ने कहा कि दुनिया ऐसे समय मे रहने की आदी हो चुकी है, जब आतङ्कवाद, हिंसा और सङ्घर्ष हर कहीं फैला हुआ  है । उन्होने कहा विभिन्न देशों और धर्मों की बीच युद्ध को रोकना कवियों का धर्म है । उन्होने नेपाल को बुद्ध की भूमि और शान्ति का प्रचारक बताया  ।  

म अपार हर्षित थिएँ । अर्थात् खुसीको ठेगाना थिएन । म मक्ख थिएँ । कार्यक्रम संयोजक आदरणीय अजीत कौरकी सुपुत्रीले आफैँ आएर मलाई पत्रिका दिएकी थिइन् । धेरैजसो मौन बस्ने म नेपाली साथीहरूको अघिल्तिर गएर उभिन्थेँ । कतैबाट बधाई हामफाल्छ कि भनेर । कठै, तर गुनासो थिएन । मैले एक जना पत्रकारितामा संलग्न मित्रलाई अनुरोध गरेको थिएँ, “लौ न, यो खबर बनाएर नेपाल मेडियामा पठाउनु पऱ्यो । भोलिको नेपाली पत्रिकामा छापिएर आउँछ ।” तर ड्राफ्ट बनेन । मेरो नेपाली भाषा निकै कमजोर रहेकाले येन केन लेखेँ र भीष्मजीले शुद्धाशुद्धि हेर्दिनुभयो र काठमाडौँ पठाइदिएँ । त्यो  कुनै अनलाइन पत्रिकामा छापिएको थियो ।

म “कल्पग्रन्थ” बाट बाहिर निस्केछु, सरी  तर प्रसङ्गवश नै हो  । अब मुद्दामा फर्कौँ ।

पुस्तकको आकार बाक्लो छ । म पनि कथा लेख्ने गर्छु  । तीन सङ्ग्रह प्रकाशित छन् । मैले पढ्दै गरेको कथा “अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो  ।” मैले लेख्ने शैली भन्दा निकै लामो छ – २५ पृष्ठको ।  मेरा कथाहरूको लम्बाइ औसतमा तीन पृष्ठ  । त्यो पनि छाडौँ । कसैले सोध्न सक्छ – नगरकोटीलाई पढ्न के गर्नुपर्छ सर ? मैले भन्ने छु — नगरकोटीलाई पढ्न लगातार पढ्दै जानुपर्छ  । बोर फिल गर्नु हुँदैन  । बोर फिल नगरी पढ्दै जाँदा एक समय आउँछ जब उहाँको लेखनीले वा भनौँ कथाले आनन्द दिन थाल्छ  । कहिलेकाहीँ प्योर खसीको मासु ल्याएपछि त्यसमा रहेको अनावश्यक सामग्री जस्तै- हड्डी, बोसो, नसा, छाला पनि पन्छ्याउँदै पकाउँदाको आनन्द नै छुट्टै हुन्छ । नगरकोटी पठनको यो यात्रामा धेरै अनावश्यक कुरा भेटिएलान सतर्क पाठकले तिनलाई पन्छ्याउँदै पढ्ने हो भने आकर्षक दृश्य, सुन्दर थिम साथै अनौठा वर्णनहरू भेटिन्छन् ।  जो भेटिन्छन्, निकै महत्त्वपूर्ण हुन्छन् प्रत्येक पाठकका लागि । नगरकोटीको कल्पनाशीलताको प्रसंशा गर्नुपर्छ । यसै कथामा हामी नगरकोटीको कविताप्रतिको धारणा भेट्छौँ – “कविता मलाई मौन आत्माको प्रार्थानाजस्तो लाग्छ  ।” (पृष्ठ २९२) एक ठाउँमा लेखकले कादिरलाई सोधेका छन् “आप रहते कहाँ पे हैँ ?” अर्थात्, तिमी काहाँ बस्छौ ? र कादिरले आफू बस्ने ठाउँको परिचय बडो अनौठो तरिकाले दिन्छन् –एउटा भवनको पाँचौ तलामा एउटा फ्ल्याट छ र त्यहाँ एउटा सुत्ने कोठा छ । सुत्ने कोठाको भित्तामा एउटा ठूलो पोस्टर छ जसमा एउटा नदी बगिरहन्छ । म त्यस नदीको किनरमा बस्छु । यस काव्यात्मक अभिव्यक्तिको भिन्दै सौन्दर्य छ । पाठक अवश्य नै मोहित हुन्छन् वा हुन सक्छन् । एउटा समस्या पनि देखिन्छ – कथाको परिभाषामा भनिएको छ – कथाले एउटा मुद्दा लिएर हिडेको हुन्छ तर “अब्दुल कादिरको बेडरुममा एउटा नदी बगिरहन्थ्यो” मा कतै मुद्दै भेटिन्न अनि भेटियो भने मुद्दैमुद्दा भेटिन्छन् ।  कथा भित्रै धेरै थरीका कथा, निबन्ध, कविता, वार्षिक प्रतिवेदन, प्रोलोगबाट सुरु भएर एपिलगसम्म भेटिन्छन् । कसैले त प्रश्न पनि गरेका छन् मलाई   – “यो के गऱ्या हो कुमार नगरकोटीले, सर?”

“विनिर्माण” — मेरो एक शब्दको विशाल उत्तर ।

“किन सर ?” फेरि प्रश्न आउँछ ।

“नयाँ निर्माणका लागि ।”

ऊ फेरी प्रश्न गर्न चाहन्छ  । म मेरो दाहिने हातको मिडिल औँलो मुखमा लगेर चुप लाग्न भन्छु र आफैँ बोल्छु— लेखक सधैँभरि परम्परालाई पच्छ्यएर मात्र हिँड्ने होइन । उसले नयाँ बाटाको खोजी गर्नु अपराध होइन । सत्य के हो भने कालान्तरदेखि चलिआएको बाटालाई भत्काएर नितान्त नयाँ बाटो बनाउन युग लाग्छ । हामीले बिर्सन हुँदैन — सेक्सपियर आज पनि जिउँदै छ , मिल्टन जिउँदै छ  । तीभन्दा पनि अघिका होमरहरू जिउँदै छन् ।  भानुभक्त, लक्ष्मीप्रसाद देवकोटा अमर छन् । मदनमणि माड्साब, विपीहरू नेपाली साहित्यको प्रारम्भिक बाटो बनाउने इन्जिनियर हुन् ।  अब सीमाको कुरा र सीमा यदि रेकर्ड हो भने भत्काउनकै लागि बनाइन्छन् रेकर्डहरू  । मात्र यत्ति हो— सीमा भत्काउने चाहना राख्नेले नयाँ सीमाको परिकल्पना पनि गरेको हुनुपर्दछ ।

कुमार नगरकोटीको लेखनीमा बाटो बिराएको, बाटो बिग्रेको, बाटो भत्केको जस्तो कसै-कसैले देख्न सक्छन् तर मौलिकता छ  । अर्थात् शैलीमा परिवर्तन छ  । यो परिवर्तनलाई नै नेपाली उत्तरआधुनिकवादको प्रयोग भन्ने कि? यो प्रश्नको जवाफ नेपाली साहित्यका विशेषज्ञज्यूहरूले दिनुहोला आवश्यक ठाने ।

कथा लेख्ने हो, भन्ने हो, मञ्चन गर्ने हो । कसरी लेख्ने हो वा भन्ने हो लेखकको अधिकारभित्र पर्छ । कथा राम्रो भयो वा भएन, मन पर्छ पर्दैन त्यो पाठकको अधिकारभित्र पर्छ । हामी साहित्यको उत्तरआधुनिक युगमा छौँ । उत्तरआधुनिकवादको परिकल्पना पश्चिमा देशहरूको हो र पश्चिमेली साहित्य हामी मनग्य पढ्छौँ र दुर्गन्ध वा सुगन्ध दुवैबाट परिचित छौँ ।  सोको प्रभाव र छुट्टै विषय नेपाली विश्वविद्यालयहरूको मानसिकतामा पनि छ ।

लेखक आफ्नो शैलीमा लेख्न अभ्यस्त भएझैँ पाठक पनि अमुक लेखकको चिरपरिचित शैलीसँग रम्मिएका हुन्छन् । अचानक लेखकको शैलीमा परिवर्तन आउँदा पाठकलाई अप्ठ्यारो महसुस हन सक्छ किनकि उसले पनि आफ्नो पठनशैलीमा परिवर्तन ल्याउनुपर्ने भयो । उसलाई वाक्कदिक्क लाग्न सक्छ । मन नपर्न सक्छ । क्रमशः उसले आफ्नो पठनशैलीमा परिवर्तन ल्याउन थाल्छ किनकि अमुक लेखकका रचना उसलाई निकै मन पर्छन् ।

प्रश्न अरू पनि उठ्न सक्छन् । कथाको विषयवस्तुमा भन्दा बुनोटमा बढी छलफल गर्नुपर्ने स्थिति आयो भने कथासारको के होला? अर्को कुरा— प्रयोगवादी साहित्यको सर्जक निश्चय नै एक्लो हुन्छ तर उसलाई पढ्ने पाठकहरूको त एउटा अमूर्त तर सामूहिक सत्ता हुन्छ । त्यसै सत्ताले हो कुनै पनि प्रयोगलाई स्थापित गर्ने वा खारेज गर्ने । यहाँ जे पनि हुन सक्छ । नगरकोटी यस्तो कुनै पनि परिणतिका लागि तयार छन् र अन्तिम कुरा, परम्परालाई भत्काउनुका पछाडि पनि सार्थक कारण हुन्छन् र ती कारणको जग पाठकहरूको मानसिक संसारमा अवस्थित हुन्छ । नगरोकटियन प्रयोगका कारण र प्रयोजन पत्ता लगाउन सजिलै सकिँदैन । यो असजिलोपनका जबाफ त समयले, फेरि पनि नगरकोटीसँगै माग्ल नि?

अन्त्यमा, मलाई कसैले सोध्लान् अरे – तपाईँले यति दुःख गरेर मात्र एउटा कथामा आफ्नो समीक्षा लेख्नुभयो । जरुरी थियो र ? पढलान् र कसैले ? म निर्धक्क भन्नेछु— कुमारले त्यति दुःख गरेर यति बाक्लो किताब केका लागि लेखे? नगरकोटीको प्रस्तुतिमा भेटिने कल्पनाशीलताको प्रशंसा गर्नुपर्छ । यो पुस्तक उनको स्टाइल हो । कसैले त पढ्लान् नै । यो लेख पनि त एलबी स्टाइल हो । कसैले त पढ्लान् नै ।

एलबी छेत्री, कविडाँडा