“पोखरा त साँच्चिको पोखरा नै रैछ”, पोखरालाई सम्झँदा मस्तिष्कमा एउटा धून बज्छ जसले पोखराको तृष्णा मेटाउँछ । प्रेमप्रकाश मल्ले लेखेको यस गीतमा पोखराको चित्रण आजीवन सदस्य भएर बाँचेको छ ।
यही गीत सुन्दै हुर्केका हुन् पोखराको काखमा प्रा.डा. अशोक थापा । फेवाताल जति शान्त छ, त्यसकै हाराहारीमा शान्त स्वभावका अशोक थापालाई पोखराको काख आमाको काख जत्तिकै मन पर्छ ।
स्कुल पढ्दा गणितमा खासै हिसाब नमिलाएका थापाले कालान्तरमा साहित्यको हिसाब भने र्याङको ठ्याङ मिलाइरहेका छन् ।
अशोक थापालाई पहिले कहिले टौदहमा, प्रायः कक्षा कोठामा, कहिले लाइब्रेरीमा भेटिन्थ्यो । तर आजकाल उनलाई भेटिने ठाउँको दायरा बढेको छ । आजकाल उनलाई कुनै कथामा, कुनै पुस्तकमा, कुनै कवितामा भेटिन्छ । वा भनौँ न आजकाल थापालाई शब्दमा भेटिन्छ । शब्दमा हराउनेहरूलाई खोज्न सजिलो हुन्छ हो ? किनकि मैले शब्दसँग लुकेकाहरूलाई सजिलै भेटेको छु । उनीहरू भ्रममा छन् कि शब्दमा हराएपछि कसैले भेट्दैन भन्ने, तर सत्यचाहिँ यो हो कि शब्दसाग लुकेकाहरूलाई सबैले देखिरहेका हुन्छन् । लुकेजस्तो गरेर देखिएका अशोक थापालाई यो कुरा थाहा छ कि छैन ?
बाल्यकाल पोखराकै कुनाकन्दरामा बिताएका थापाले आफ्नो अक्षराङ्कको सुरुवात पनि त्यहीँबाट गरेका थिए ।
लाजलाई पेवा सम्पत्ति मानेका उनले भविष्यमा सयौँ विद्यार्थीको सामुन्ने विश्वका सिद्धान्तको कुरा गर्छु होला भन्ने कल्पनासमेत गरेका थिएनन् ।
कक्षा कोठामा होस् वा गाउँघरमा, अशोकलाई एकदमै लजालु स्वभावको भनेर चिनिन्थ्यो । बाटोमा चिनेकासँग बोल्नुपर्छ भनेर, धेरैपटक मान्छे देख्दा अशोकले बाटो फेरेका थिए । बाटो फेरेको कुरा बुवालाई बटुवाले कान फुकिदिन्थे । बुवाले अशोकलाई साँझमा अन्तर्मुखीको उपाधि दिनुहुन्थ्यो । उपाधिले फरक राखेन किनकि त्यसपछि पनि धेरैपटक बटुवासँगको जम्काभेटमा अशोकले बाटो फेरेका थिए ।
एकदिन कक्षा चलिरहेको थियो । विद्यार्थीको जमातले ‘आज नपढौँ गीत गाऔँ’ भने । कसले गीत गाउन सक्छ भन्ने प्रश्नमा अशोकको नाम भीडबाट आयो । ‘मबोहक अरु अशोक पनि छ कि !’ भनेर अशोकलाई मनमा नलागेको होइन । तर आफूलाई नै भनेको भन्ने थाहा पाएपछि उनी कक्षाको अगाडि गए ।
मैले माथि भनेको थिएँ, अशोक लाजका भकारी हुन् । उनलाई त्योबेला के भयो होला भन्ने कुरा म सहजै अनुमान लगाउन सक्छु ।
शिक्षकको कुरालाई टार्न नसकेपछि अशोकले सुरुमा आँखा चिम्ले अनि स्वर खोले । त्योबेला आफूले कस्तो गीत गाएँ भन्दा पनि आफूले कसरी गाएँ होला भन्ने तानाबाना आज पनि मनले बुनिरहन्छ उनलाई ।
लाजले जरा गाड्दै लगेको अशोकलाई विद्यालयमा शिक्षकको रूपमा प्रवेश गरेपछि भने लाजको जरा मासिँदै गएको बताउँछन् । गीत सङ्गीतमा रुची राख्ने अशोकले बाजागाजा पनि गज्जबैले बजाउँछन् । हाँस्यरस चेतमा धनी भएर पनि होला उनी भएको ठाउँमा वातावरण जहिल्यै रमाइलो हुन्छ ।
विद्यार्थीका प्रिय शिक्षक बनेका अशोकलाई विश्वविद्यालयको प्राङ्गणमा विद्यार्थीको जमातले घेरिरहेको भेटिन्छ । उनी विश्वविद्यालयका सेलिब्रेटी शिक्षक हुन् ।
आफ्नो नवप्रकाशित पुस्तक ‘सन्तापको धुन’को कार्यक्रममा आजकाल अशोकलाई कहिले पूर्व त कहिले पश्चिम र पोखराकै सेरोफेरोमा भेटिन्छ ।
आँखाले देखेका कुरालाई टपक्क टिपेर मनमा राख्न सक्ने अशोकले शब्दमा बुन्न भने धेरैपछि मात्र सुरु गरेका हुन् । त्यही शब्दको सुन्दर नतिजा हो, ‘सन्तापको धून’ ।
कथा खोज्न धेरै टाढा जान पर्दैन । कथा कहिले खुट्टामा अल्झिरहेको हुन्छ । कथा कहिले आमाको चुरामा बजिरहेको हुन्छ । कथा कहिले बुवाको पसिना बनेर गनाइरहेको हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको ‘सन्तापको धून’ लाई पेज टर्नर नामक प्रकाशनले बजारमा ल्याएको हो । हुन त अशोकले कविता पनि नलेखेका होइनन् । तर पहिले कथालाई बजारमा पठाएपछि कविताको पालो आउँछ भन्ने उनलाई लाग्यो वा लागेन ? तर हामी सामाजिक सञ्जालमा उनका कविता पढिरहनेलाई भने उनको कवितासङ्ग्रहको प्रतीक्षा भनेछ ।
घरमा साहित्यको माहोल नै भएर, साहित्य नै पढेका परिवारका सदस्य भने थिएनन् अशोक । तर पढ्नुपर्छ भन्ने मानसिकता भएको परिवारमा पढेका सदस्य भने थिए । कक्षाका किताबमा कहिले कविता त कहिले कथामात्र पढेका अशोकले जीवनको कालखण्डमा नाटकमा पिएचडी नै गर्छु भन्ने सोच भने फेवातालको एक अञ्जुली पानीजति पनि थिएन ।
उनलाई कथाले तान्दै लग्यो, शब्दले बेर्दै लग्यो, पाखाहरूले सिकाउँदै लग्यो । खेतको माटोले उनलाई जमिन सिकायो । आकाशमा उड्ने चराले अलिकति आकाशको नियम सिकायो ।
विद्यालयको किताबमा मात्र सीमित अशोकलाई कोर्सबाहिरको किताबले कसरी मोहनी लगायो भन्ने कुराको पनि गज्जबको कथा छ ।
म भन्छु नि कथा कस्तो छ ।
अशोकको बुवा गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो । राजाले एकदिन बुवालाई कँसेर एक डोको किताब उपहार पठाइदिए । उपहार पाएको किताब बार्दलीमा नै बसिरहे । कसैले ती किताबलाई छुने आँट गरेन ।
पाखामा बाँदर रुँघ्ने जिम्मा प्रायः अशोकको आँखामा आउँथ्यो । पाखामा बाँदर रुँघ्दा उपहारमा पाएका किताब पनि पाखासम्म जान थाले । चितवन र राराको चित्रहरू भएको पुस्तक कति च्यातिए त कति मैलिए ।
बाँदरहरूको एउटा सिद्धान्त थियो । महिनामा ३० दिन बाली रुघ्यो भने उनीहरू ३० दिन नै आउँदैनन् थिए । तर २८ दिनमा रुघ्यो र २ दिन हेर्न गएन भने बाँदरहरूले २ दिनमा २८ दिन रुघेको कथालाई घाममा सुकाइदिन्थे । त्यसैले बाँदर रुघ्नबाट अशोकलाई बिदा थिएन ।
अशोकसँगै बार्दलीबाट बिस्तारै बिस्तारै किताबहरू पाखातिर लागे ।
चित्र हेर्दै च्यातिको पाना जमिनमा छरिएपछि कुनै दिन बाँदरले त्यो चित्रमा रारा चिन्यो कि चिनेन ? त्यो चित्रमा चितवनको एक सिङ्गे गैँडा चिन्यो कि चिनेन ? चित्रमा रारा तालको पानी देख्दा बाँदरले आफ्नो प्यास मेटाउने कल्पना गर्यो कि गरेन ? चितवनको बाघलाई चित्रमा देख्दा बाँदर तर्सियो कि तर्सेन ? म जमिनमा छरिएका चित्र सम्झँदा बाँदरलाई पनि सम्झन्छु ।
खैर, अशोकले किताबको थाकबाट एकदिन ‘मन’ शीर्षकको उपन्यास बोकेर पाखातिर लागे । तर उपन्यासमा चित्र थिएन । सकसको कालो बादलले उनलाई निमोठ्यो । तर बाँदरतिर आँखा लगाउँदै उपन्यास पढेर उनले सके । त्यसपछि उनी चित्रमा भन्दा धेरै शब्दमा हराउन थाले । राजाले त्यतिका किताब उपहारमा नपठाइदिएको भए आज अशोकलाई हामी के भनेर चिन्थ्यौँ ?
माथि गणितको कुरा थियो । अशोकका दाजु गणितका पण्डित थिए । अशोक भने गणित विषयमा कुनै चित्रकारले रङ भर्न बिर्सिएको चित्रजस्तै थिए । गणितले उनलाई पत्याएन तर जीवनले यस्तो मोड लियो । जीवनभर साथ दिनलाई आउनुभएकी म्याडम गणितकै शिक्षक हुनुहुन्छ । विद्यालयमा हिसाब नमिले पनि जीवनको हिसाब भने सहजै मिलिरहेको अनुमान लगाउन सकिन्छ ।
‘सन्तापको धून’ निकालेका अशोकले अब उपन्यास निकाल्ने तयारी गर्दैछन् । आशा त उक्त उपन्यास भुइँको नै हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।