Chovar Blues Mobile Size

१०. भालुहरूकाे लडाइँ, अंशः २

“तर अमरदाइ …!’ गीताले कराएर भनी ।

‘साह्रो नबोल, दानवले सुन्छ’ भकुन्डे भाइले भन्यो । अनि उनीहरू हिउँमा घन्टदैमुन्टदै भाग्न थाले । …अनि एक्कासि भकुन्डे भाइको हात झडकारेर सुनकेस्रा कराई “भकुन्डे भाइ ! हेर ! अगाडि के को उज्यालो ?’

सबै छक्क परेर उभिए ।

‘त्यो त हाम्रो घर हो’ तीन भालु खुसीले उफ्रे ‘भित्र कसले मैनबत्ती बालेछ ?… को पसेछ त्यहाँ ?’

साँच्चै उनीहरू त तीन भालुहरूको घरमा पो आइपुगेछन्‌ !… सबै छक्क परेर झ्यालबाट निस्केको उज्यालोतिर हेर्न थाले कतै हिउँ-दानवले त्यो घर फेला पारेर भित्र पसेर बत्ती बालेको त होइन ?… को होला त त्यहाँभित्र ?… उनीहरूलाई डर पनि लाग्यो ।

हुँ…. यँ… हुइँ हुइँ हुइँ -आँधी जोडले चलेर उनीहरूलाई कक्रय्यायो । भकुन्डे भाइ काम्दै चिच्यायो ‘हामी यसरी बाहिरै उभियौं भने हिउँले कठाङग्रिएर जम्नेछौँ । …झट्टै भित्र पसौं । …भित्र जो भए पनि पत्ता लागिहाल्छ ।’

भाले भालु अगाडि बढेर ढोका खोल्यो । सबै डराईडराई भित्र पसे ।

‘यहाँ त केही पनि देखिँदैन !’ भाले भालुले कोठामा चारैतिर हेरेर भन्यो “तर यो मैनबत्ती कसले बाल्यो ? हामीले त बालेर छोडेका थिएनौँ । …सबै निभाएरै गएका थियौं ।’

एनिड ब्लाइटन

“हो, निभाएरै गएका थियौँ,’ भकुन्डे भाइले भन्यो ।

“अनि यो मेरो मेच !’ भालुले भन्यो, ‘यसमा पक्कै कोही बसेको छ। किनभने यसको गद्दा खजमजिएको छ ।

साँच्चै त्यो मेचको गद्दा खजमजिएको थियो । अनि पोथी भालुको मेचका गद्दा पनि छरिएका थिए । सानो भालुको मेचको त पीध नै भाँच्चएको थियो ।

“मेरो मेच त भाँचदिएछ ।’ सानो भालु रुन थाल्यो । तर गीता भने खित्खित्‌ गर्दै हाँस्न थाली – ‘यो त कथामा जस्तै भयो ।… अब तिमीहरू हलुवाको बारेमा कुरा गर्नेछौ ।’

‘हो, हो । …हलुवाकै बारेमा कुरा गर्छौं । …मेरो हलुवा कसैले कोट्याएर खाएको छ’ भाले भालुले झोकिँदै भन्यो । अनि पोथी पनि आफ्नो हलुवा कोट्टिएको देखी । सानो भालु त आफ्नो हलुवाको कचौरा हेरेर रुनै थाल्यो “मेरो हलुवा ! …बा, मेरा हलुवा त कसैले खाइदिएछ ।’

‘यो त बडो गजब भयो बा !’ भकुन्डे भाइले अनौठो मानेर भन्यो “कसले मैनबत्ती बाल्यो ? …कसले हलुवा खायो ! …को मेचमा बस्यो ? कसले मेच भाँच्यो ? …के यहाँ भूत आयो ?’

“नत्र कसले गर्यो यो सबै उपद्रो ?’ भालुले भन्यो ।

“मैले त होइन, म त तिमीहरूसँगै थिएँ । …म पनि हिउँका गोला बनाएर फ्याँम्तै थिएँ ।’ गीताले भनी ।

“हो, हो तिमी त हामीसँगै थियौ । सबै सँगै थियौं । …तर कसले गर्यो यो सबै ?’ भाले भालु गर्जन थाल्यो ।

जे भयो भयो, भकुन्डे भाइले भन्यो ‘तर अमर पनि त भेटिएन ! ऊ मात्र भेटिएको भए । ….अब उसलाई कहाँ खोज्न जाने ?’

‘त के फेरि बाहिर हिउँमा जाने ?’ आशिषले काम्दै भन्यो । ‘नाइँ बा ! …मेरो त बाहिरको सिरेटोको सम्झनाले नै रौं ठाडा हुन्छन्‌ ।’

अब के गर्ने त ? …बडो नमज्जा भयो ।’ भकुन्डे भाइले भन्यो ‘हामीले अमरलाई बचाउन सकेनौँ ।’

भकुन्डे भाइको कुरा सुनेर गीता रुन थाली । ‘अब के गर्ने ? …अमर दाइलाई नपाए हामी कसरी घर जाने ? …बा-आमाले मार्नुहुन्छ आशिषदाइ ! …अब के गर्ने ?’

‘नरोऊ गीता नरोऊ !’ आशिषले गीताको कपाल मुसार्दै भन्यो । त्यसैबेला अर्को कोठाबाट आएको घुर्र-घुर्र आवाजले सबैका कान ठाडा गरायो । सुत्ने कोठामा कोही मन्द-मन्द घुरिरहेको थियो । भकुन्डे भाइले चाल मार्दै ढोकामा गएर कान थाप्यो । उसले खासखुस गर्दै भन्यो ‘भित्र कोही सुतिरहेको जस्तो। …हामीले भित्र त हेर्दै हेरेनौं । …हेर्ने कुरै सोचेनौं ।

‘चुप !… चुप !…’ सुनकेस्रा मैयाँले सबैलाई चुप लाग्ने सान गरी । “भित्र कोही छ भने हामीले त्यसलाई निद्रैमा सजिलैसँग समातेर बाँध्नु पर्छु । ऊ बिउँझ्यो भने फेरि खतरा हुन सक्छ ।’

सुनकेस्राको सल्लाहमा सबै जना चाल मारेर एक-एक गर्दै सुत्ने कोठामा पसे । भित्र धमिलो उज्यालो मात्र थियो । त्यही धमिलोमा बच्चो भालुको पलङमा कोही मुख छोपेर सुतेको देखियो । त्यो देखेर बच्चो भालु रुन थाल्यो “मेरो पलङ ! …बा हेर्नोस्‌, मेरो पलङमा चोर सुतिरहेको छ ।’

‘उठ्‌ ए चोर ! …अर्काको घरमा पसेर अर्काको पलङमा किन सुतिस्‌ ?’ भाले भालु एकदम गर्जँदै पलङतिर झम्टन खोज्यो । तर भकुन्डे भाइले उसलाई समातेर रोक्तै भन्यो “चुप !… चुप !… ऊ बिउँझ्यो भने खतरा हुन्छ ।’

अनि सबैले भालुको छालाको बख्खुमा गुटमुटिएको त्यस अचम्मको बच्चो चोरलाई आँखा च्यातेर हेरे – …कतै यो हिउँ-दानवको नोकर त होइन !… उनीहरू अलि डराए । …कतै यसले सबैलाई मार्ने त होइन !

“लौ, यसलाई नबिउँझँदैमा बाँधिहाल्नु पर्छ । यो हाम्रो शत्रु हो’ भाले भालुले छाप्राको कुनाबाट एउटा डोरी लिएर आउँदै भन्यो । अनि ऊ डोरीको एक छेऊ समातेर पलङको एकापट्टि र भकुन्डे भाइ अर्को छेऊ समातेर अर्कोतिर उभिए । अनि त्यो सुतेको चोरलाई खाटैमा टनटनी कस्त सुरु गरे ।

“पक्डियो ! …पक्डियो ! …चोर पक्डियो !’ गीता खुसीले ताली पिट्दै उफ्रन थाली । अमर एक्कासि निद्राबाट बिउँझेर जुर्मुरायो । तर ऊ खाटैमा बाँधिएकोले चलमलाउन सकेन । कसले बाँध्यो उसलाई खाटमा ! .. के हिउँ-दानवले उसलाई भेट्यो ! ‘…के …के… …’ अमर बन्धनबाट छुट्न छट्पटाउन थाल्यो । तर भालु र भकुन्डे भाइले उसलाई झन्‌-झन्‌ बन्धनमा कस्न थाले । तानातानमा अमरले ओढेको ओढ्ने खस्यो । अमरको अनुहार देखेर गीता र आशिष एक्कासि चिच्याए “भुकन्डे भाइ ! .. ,हेर, यो त अमर दाइ हो ! अमर दाइ !’

‘अमर !’ भकुन्डे भाइको हातबाट डोरी फुस्क्यो । गीता र आशिष अमरतिर दगुरे । उनीहरूले अमरलाई हत्त र पत्त बन्धनबाट फुकाए र उसलाई गम्लङ्ग अँगालो हाले । अमरले पनि आफ्ना भाइ-बहिनीलाई चिनेर अँगालोमा बाँध्यो ‘ओ ! गीता !… आशिष !… तिमीहरू यहाँ ?’

रमेश विकल

‘तिमी यहाँ कसरी आइपुग्यौ दाइ ?… यो त सुनकेस्रा मैयाँ र उनका भालुहरूको घर हो। …हामी त यहाँ पहिल्यै आएर सुनकेस्रा र भालुहरूलाई लिएर तिमीलाई खोज्न गएका’ गीताले भनी । अनि अमरले पनि आफू हिउँ-दानवको कब्जामा परेदेखिका सबै कुराको बेलिबिस्तार लगाउँदै भन्यो । लडाईँ पर्न लागेको देखेर मौका छोपेर भागेर यहाँ आइपुगेँ । दगुरेर भागिरहँदा अचानक मेरा आँखा आश्चर्यले च्यात्तिएझैँ भए । म दगुर्दा दगुर्दै टक्क रोकेँ किनभने त्यस अनकन्टार हिउँ धरतीको माझमा चारैतिर गुलाफका लहरा र फुलले दुलहीझैँ सिंगारिएको एउटा चिटिक्क परेको घर मेरा आँखाअगाडि उभिएको थियो । मलाई आफू सपना देखिरहेछु कि भन्ने लाग्यो । त्यस्तो ठाउँमा यो जादुको पुतली घर ! मलाई त्यस घरभित्र पसेर हेर्ने इच्छा लाग्यो, भोक पनि लागिरहेथ्यो, केही खानेकुरा पनि पाइन्छ कि ! म ज्यादै थाकेको पनि त थिएँ ।

क्रमश….

नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।