‘अब म बाहिरका भूते छौँडाहरूलाई तिमीहरूलाई जादूको मन्त्र सिकाउँछु भनेर डाक्छु । उनीहरू बाहिर जम्मा हुनासाथ म ढोका खोलिदिन्छु । अनि सबैजना एकैपल्ट निस्केर उनीहरूलाई रूखबाट खङार्नु पर्छ’ भकुन्डे भाइले एकै सासमा आफ्नो योजना बतायो ।

‘त्यसो होइन’ अमरले भन्यो ‘मैले एउटा अर्कै जुक्ति सोचेको छु । उनीहरूलाई कोठाभित्र पस्न दिने । अनि सबैलाई एकैपल्ट चिप्लेटीको मुखबाट धकेलेर तल खसालिदिने । तलतिरबाट लोखर्केले घोप्टेमा भोटेताल्चा मारिदिन्छ । अनि त छौंडाहरू माथि चढ्न पनि सक्तैनन्‌, तल झर्न पनि सक्तैनन्‌ । सबै त्यही चिप्लेटीको खोक्रोमा कैद भएर रहन्छन्‌ । अनि पछि एक एक गर्दै तिनीहरूलाई पकडेर थुन्ने, कसो ?’

वा ! गजबको जुक्ति झिम्यौ अमर तिमीले’ जुँगे हिउँमानवले तारिफ गर्दै भन्यो । ‘त्यसो भए म मेरा मान्छे दुई जनालाई माथि बादलको भर्याङमा पठाउँछु । केही गरी छौंडाहरू बादलमाथिको धरतीतिर भाग्न खोजे भने उनीहरूले रोक्छन्‌ । छ जनालाई तल पठाउँछु । उनीहरू घोप्टेमा ताल्चा मारेर बस्छन्‌ । जुन छौँडो त्यताबाट उम्केर जङ्गलमा भाग्न खोज्छ त्यसलाई तिनीहरूले समात्छन्‌ ।’

‘ठीक छ !’ अमरले भन्यो । त्यसपछि तुरुन्तै छजना सेता हिउँमानव चिप्लेटीको बाटो तल झरी घोप्टेमा भोटे ताल्चा मारेर त्यसको मुखमा बसे । अनि भकुन्डे भाइले ढोका ठटाउँदै करायो “भूत भाइ हो ! मलाई बाहिर निस्कन दैऊ । म तिमीहरूलाई आफ्नो जादूमन्त्र सिकाइदिन्छु ।’

‘त्यसो भए हामी ढोका खोलिदिन्छौं । हामीलाई आफ्नो मन्त्र सिका, नभए हामी तँलाई काँचै खान्छौं” छौंडाहरूले बाहिरबाट भने । अनि तलबाट, माथिबाट आफ्ना सबै साथीहरूलाई बोलाए । सबै छौंडा एकै ठाउँमा भेला भएपछि नाइके छौँडाले भकुन्डे भाइको ढोका खोलिदियो । ढोका खुल्नासाथ दुईजना खैरे हिउँमानव उफ्रेर बाहिर निस्की एकदम रूखको टुप्पातिर उक्ले । उनीहरू बादलमाथि उक्लने भर्याङको मुखमा पालो बसे । भूतका छौंडाहरूमा खलबली पर्यो | यसो गर्ने कि उसो गर्ने केही टुङ्गो नपाएर उनीहरू अलमलिए । यही मौकामा सेता हिउँमानवहरूले एकैपल्ट हमला गरेर सबै छौंडाहरूलाई कोठामा हुले । तर केही छौँडाहरू उम्केर रूख चढ्न थाले ।

अनि अमर, भकुन्डे भाइ, गीता र आशिष पनि कोठाबाट निक्लेर ओर्लदै रुखका बासिन्दाहरूका ढोका एक एक गरी खोल्दै उनीहरूलाई कैदबाट छुटाउन थाले । हिमानीको ढोका गीताले खोली । गीतालाई देखेर हिमानी साह्रै खुसी भई ।

लुगा धुने आइमाई आफ्नै घरमा थुनुवा भएर बस्नुपर्दा साह्रै रिसाएकी थिई । ऊ थुनाबाट उम्कनासाथ ऊफ्रँदै छौँडाहरूलाई सराप्न थाली । “मेरै घरमा थुन्ने यी भूतका छौँडाहरूलाई मैले जान्याछु । यिनका पित्त नकाडी त… !” यति भन्दै उसले आफ्नो लुगा धुने अटलभरिको साबुनपानी ती छौंडाहरूमाथि खन्याउन थाली । भूतका छौँडाहरूको साँच्चै दोहोलो काढियो । त्यो देखेर अमर र गीताहरूले आफ्नो हाँसो रोक्न सकेनन्‌ ।

अनि आशिषले गएर श्री के-नाम-के-रेको ढोका खोलिदियो । ढोका खुल्नासाथ श्री के-नाम-के-रे झोक्किदै र बडबडाउँदै बाहिर निस्क्यो । उसको । पछिपछि काम्टे बा पनि दङ्ग पर्दै निस्क्यो । श्री के-नाम-के-रे रिसले चुर भएर भूतहरूमाथि खनियो । उसले उनीहरूलाई सुकूल चुटेकै निर्घातसँग चुट्न थाल्यो । त्यो देखेर काम्टे बा पनि नाच्दै आफ्ना ताप्के, काम्टा र केतलीहरूले उनीहरूलाई हिर्काउन थाल्यो ।

वा ! म्या सोझो हात !’ गीता ताली पिट्दै खुसीले कराउन थाली । नभन्दै काम्टेको हात कस्तो सोझो थियो भने उसले हिर्काएको एउटा काम्टो पनि खेर जाँदैनथ्यो । त्यो गएर एउटा न एउटा भूतको टाउकोमा टुटिल्को उठाइदिन्थ्यो।

अनि गीताले गएर लाटोकोसेरोलाई छुटाई । लाटोकोसेरो पनि रिसले आगो भएको थियो । ऊ भूतहरूका टाउकामाथि उड्दै आफ्ना नङ्ग्राले उनीहरूका मुख, आँखा र नाक चिथोर्न थाल्यो । बिचरा भूतका लाल छौंडाहरू रगताम्मे भएर रुन थाले । यता र उति भाग्न थाले । तर भागेर कहाँ जाने !

अमरले अब रिसाहा बाउन्नेको ढोका खोलिदियो । रिसाहा बाउन्ने त ढोका खुल्नासाथ रिसको झोंकमा बाघझैँ अमरलाई झम्टन आयो । तर अमरलाई चिनेपछि ऊ एकैपल्ट भूतका छौँडाहरूमाथि खनियो र आँखै नहेरी उनीहरूलाई चुट्न थाल्यो । छौंडाहरू ऐय्या बाबा गर्दै टाउको -जिउ छेक्न थाले ।

हिमानी यो सबै देखेर धेरै नै डराएकी थिई । तर पनि गीता र उसले मिलेर केही लाल छौंडाहरूलाई पकडेर भकुन्डे भाइको कोठामा धकेले । भूतहरू धुनधानमारपिट खप्न नसकेर यता र उति दगुर्दा चिप्लेटीको मुखबाट एक एक गर्दै तल खस्न थाले । तर तल घोप्टेमा भोटे ताल्चा मारेकाले घोप्टे खुल्ने कुरै थिएन। अनि ती छौंडाहरू एक एक गर्दै चिप्लेटीकै खोक्रोमा खाताखात लाग्दै गए ।

मास्तिर भाग्न खोज्दा कति छौंडाहरूलाई माथि भर्याङको मुखमा पालो बसेका सेता हिउँमानवले समातेर तलतिर फ्याँकिदिए । अनि कति जङ्गलभित्र भाग्न खोज्नेलाई तल बसेका छजना सेताले समात्दै बाँधेर लडाए । यसरी अमर, भकुन्डे भाइ र सेता हिउँमानवहरू मिलेर एक घन्टामा सबै लाल छौँडाहरूलाई समातेर कैदी बनाए ।

यसरी इन्द्रजाली रूखका बासिन्दाहरूलाई दु:ख दिएर उनीहरूका जादु-मन्त्र सिक्न खोज्ने भूतका दुष्ट छौँडाहरूलाई जितेपछि सबैजना आनन्दले नाच्न गाउन थाले । बिचरा भूत-छौँडाहरू आफ्नो दुर्भाग्यमा रुँदै कैदी भएर बसे ।