बेलायतको च्यानल ४ नामक टेलिभिजनले एउटा कार्यक्रम चलाउने भएको छ, जसमा उसले संसारका कुख्यात चित्रकारका चित्रहरू भेला गर्छ र दर्शकहरू भेला पारेर सो चित्रकला जलाउने कि राख्ने भनी मत माग्नेछ ।

यसै सन्दर्भमा च्यानल ४ ले कुख्यात चित्रकारहरूका चित्रहरू यो सिजनका लागि भेला पारेको छ । करोडौँ डलर मूल्य तिरेर ती चित्रकलाहरू यहाँ भेला पारिन्छ र दर्शकहरूलाई चित्रकारका सबैभन्दा खराब कुराहरू सुनाउँदै यो चित्र कुन बेला कस्तो अवस्थामा सिर्जना गरिएको हो र जलाउन योग्य छ कि छैन भनी सोधिन्छ । दर्शकहरूले जलाउने निर्णय दिए भने तत्काल ती चित्रकलाहरू जलाइन्छ ।

यो कार्यक्रमको नाम हो, आर्ट ट्रबल । यस कार्यक्रमकै लागि भनेर च्यानलले हिटलरदेखि पाब्लो पिकासोका चित्र भेला पारेको छ । कुख्यात पेडोफिल (बालबालिका बलात्कारी) रोल्फ ह्यारिस र यौनदुराचारी एरिक गिलका चित्रहरू पनि ल्याइएको छ ।

कार्यक्रममा चित्र देखाउँदै दुई प्यानलबीच छलफल चलाइन्छ, जसमा विज्ञजनले चित्रकलाको महत्त्व बताउने छन् भने इतिहासकार तथा नैतिकताका पक्षधरहरूले सर्जकको नैतिकता, आचरणमाथि प्रश्न उठाउने छन् । यस्तोमा जुन पक्ष भारी हुन्छ, त्यसका कुरा सुनेर चित्रकलालाई जलाइन्छ ।

यसो गर्नु अब जरूरी भएको च्यानलका कार्यक्रम निर्देशक इयान कात्जले बताए । उनी भन्छन्, ‘आउँदा केही वर्षमा बिबिसी लगायतका केही सरकारी च्यानल (च्यानल फोर) पनि निजीकरणमा जाने हुँदा च्यानलहरूलाई प्रतिस्पर्धी बनाउन नयाँ सोच चाहिने र यो उत्तम कार्यक्रम हो ।’