इन्डियामा सार्क ट्याङ्क नामक टेलिभिजन रियालिटी सो निकै लोकप्रिय भएको छ । यो सो जापानबाट शुरू भएको थियो, जसलाई टाइगर अफ मनी भनिन्थ्यो । यसलाई सोनी इन्टरटेन्मेन्ट नामक कम्पनीले संसारभरिका टेलिभिजनलाई बेच्न शुरू गर्यो । टाइगर अफ मनी बेलायतमा ड्रागन्स डेन बन्यो । अमेरिकामा त्यही सो सार्क ट्याङ्कमा परिणत भयो । भारतमा भने सार्क ट्याङ्क इन्डियाको नाममा निकै लोकप्रिय हुन थालेको छ ।
बेलायत र अमेरिकामा विगत चौध वर्षदेखि प्रसारण भइरहेको यो सोले भारतमा पहिलो शृंखलाबाट नै निकै रकम कमाउन थालेको छ ।
बेलायतको बिबिसी टेलिभिजनबाट प्रसारण भइरहेको ड्रागन्स डेनमा लगानीकर्ता बनेका स्टिभन बार्लेटले पनि बिबिसीमा आफूलाई प्रस्तुत गरेयता निकै लोकप्रिय भएका छन् । उनले एउटा सामाजिक सञ्जाल बनाएका थिए र सोही सञ्जालका कारण उनी करोडपति बन्न पुगे ।
व्यवसायिकतामा ग्ल्यामर देखेर अचेल हरकोही व्यवसायी बन्न खोजिरहेको छ । सर्वसाधारणको यही रूचिलाई ध्यानमा राखेर लगानीकर्ता तथा ड्रागन स्टिभनले सम्भावित नयाँ व्यवसायीहरूका लागि मनी स्कुल खोल्ने बताएका छन् ।
जम्माजम्मी ३० वर्ष उमेरका उनले खोल्ने यो मनी स्कुलमा हाललाई बेलायतको ग्रेनफेल टावरमा आगलागीमा धन र ज्यान दुवै गुमाएका परिवारका लागि सित्तैमा तालिम दिने भएका छन् ।
ग्रेनफेल टावर बेलायतको आवासीय टावर थियो । यो टावरमा सन् २०१७ जुन १४ मा आगलागी हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।
यस टावरमा बसोबास गर्ने सर्वसाधारणले टावरका सञ्चालक तथा कम्पनीलाई आफ्नो क्षतिको बदलामा क्षतिपूर्ति दिनुपर्ने भन्दै मुद्दा हालेका थिए । यदि अदालतले क्षतिपूर्ति मुद्दालाई सदर गर्यो भने कम्पनीले करोडौँ पाउन्ड तिर्नुपर्ने हुन्छ ।
यो आगलागीका कारण सो क्षेत्रका ८५ भन्दा बढी व्यवसायलाई क्षति पुगेको थियो ।
मनी स्कुल खोल्नुको कारण खुलाउँदै स्टिभन बार्टलेटले भने, उद्यमशीलता चारैतिर फैलन थालेको छ । हरकोही उद्यमी बन्न चाहिरहेको छ । जो पनि मसँग भेट्छ, केही न केही गर्न खोजिरहेको र त्यसलाई अझ ठूलो बनाउन सुझाव मागिरहेको छ । यस्तोमा सबैलाई मैले सित्तैमा सुझाव दिन भ्याउँदिनँ । अँ, केही ज्यादै कमजोर व्यक्तिका लागि म सामूहिक रूपमा केही गर्न सक्छु भन्ने लाग्यो । त्यसका लागि मैले मनी स्कुलको एउटा आइडिया ल्याएको हुँ । यसमा प्रभावित व्यक्तिहरूले हरेक सप्ताहान्तमा भेला भएर आफ्नो धूलिसात भएको व्यापारलाई उठाउन मबाट हुनसक्ने सहयोग लिन सक्ने छन् ।
उनले आफ्नो स्कुलमार्फत सर्वसाधारणलाई करका बारेमा बुझाउने, तिनलाई कसरी लगानी सुरक्षित गर्ने, कमाउने तरिकाहरू के के हुन्छन् र कमाएको कुरालाई कसरी बढीभन्दा बढी वचत गर्न सकिन्छ भनी सिकाउने बताएका छन् । वचत गर्नु, वचतलाई लगानी गर्नु र त्यसबाट नाफा निकालेर पुनः लगानी गर्नु एउटा रोचक कार्य भएको र यसलाई रोचक तरिकाले सिकाउन सकिने उनको बुझाइ छ । उनले सोही कुरा अग्निपीडितहरूलाई सित्तैमा गर्न खोजेको बताएका छन् ।
स्टिभन दुई पटक स्कुलबाट निष्काशनमा परेका थिए । उनले जीवनमा धेरै हन्डर ठक्कर खाएपछि व्यवसायीका रूपमा प्रख्याति बटुलेका थिए । त्यसपछि जब उनी बिबिसीको टेलिभिजन रियालिटी सो ड्रागन्स डेनमा देखापरे, धेरैको मन उनले जिते । टेलिभिजनमा लगानीका लागि आउने प्रायः सामाजिक कार्य गरिरहेका र धेरैको भलो हुने कम नाफा दिलाउने व्यापारमा पनि निकै लगानी गरेर दर्शकहरूको मन जित्ने गरेका छन् ।
अग्निपीडितहरूका लागि उनले टावरमा आवतजावतमा सघाउ पुर्याउन केही बस दान दिएका छन् । त्यस्तै सोही टावरमा रहेको फुटबल टोलीका लागि पनि निकै ठूलो रकम सहयोग गरेका छन् ।
सरकारबाट पाउनुपर्ने सेवा सुविधाहरूबाट वञ्चितहरूका लागि फाइदा दिलनउनसमेत उनले एउटा बेग्लै सामाजिक संस्था बनाएका छन् र सो संस्थामार्फत उनीहरूका लागि काम खोजिदिने, खेलकुदमा सहयोग गर्नेदेखि अन्य कानुनी तथा आर्थिक अड्चन फुकाउने कार्य गरिरहेका छन् ।
यही कारणले ड्रागन्स डेनका अन्य व्यवसायीको तुलनामा स्टिभन निकै लोकप्रिय छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।