अच्युत कोइराला
‘महामनाहरू, तपाईंहरू यहाँ आउनु भएको छ । मलाई ज्यादै खुसी लाग्यो, तपाईं-हाम्रो भेट भो । मेरो नाम, निकै विख्यात छ । थाहा होला, क्लार्क ओलोफ्सन !’
बैंकमा हल्का भिड छ । मान्छे त्यति धेरै छैनन् । त्यसैले यो लुट्नका लागि निकै आदर्श अवस्था छ । बैंकमा छिरेको छ, एउटा नौजवान । ऊ प्रायः यस्तो लुटपाटमा सहभागी भइरहन्छ । ऊ भन्छ, ‘लुट्नु मेरो आवश्यकता त हो तर त्यो भन्दा बढी देशले थाहा पाओस्, म ज्यूँदै छु । मलाई देशले नबिर्सियोस् ।’
हालै नेटफ्लिक्समा कमेडी-थ्रिलर विधामा ‘क्लार्क’ शृंखला आएको छ । हास्यपुट मुख्य धारा छ यसको तर यसले निकै रोचक कुरा, रोचक तरिकाले व्यक्त गर्छ । जब तपाईं यो शृंखला हेर्न थाल्नुहुन्छ, शुरूमै शृंखलाले तपाईंलाई सच्याउँछ, यो कथा आधा सत्य हो र आधा चाहिँ बनावटी ! सत्य यस कारणले यहाँ घटेका घटनामा कुनै तलमाथि नगरी देखाइएका छन्, आधा बनावटी चाहिँ उसका संवादका लागि । यो हेर्दै गर्दा तपाईंलाई हेक्का रहोस्, त्यो बदमास जो निकै लोकप्रिय थियो कुनै समयमा, त्यसले उधुम मच्चाएका घटना सही त हुन् तर त्यसलाई अभिव्यक्तिको माध्यममा जुन रोचकता छर्कनुपर्ने हुन्छ, त्यसमा चाहिँ पर्याप्त कल्पनाशील घोलिएको छ ।
ताइँनतुइँका अमेरिकी शृंखलाहरूबाट वाक्क दिक्क हुनुभयो भने तपाईं युरोपेली शृंखलातिर छिर्नुस् । यसले तपाईंलाई पर्याप्त मनोरञ्जन र त्यो पनि आफ्नै स्टाइलका साथ दिन्छ । क्लार्क त्यसैको एउटा नमूना हो ।
खैर, एउटा जानकारी चाहिँ तपाईंलाई यहाँ दिइहालूँ- यसमा पर्याप्त यौन र नग्नदृश्य छन् । तपाईं अभ्यस्त हुनुहुन्न भने अप्ठेरोमा पर्न सक्नुहुन्छ ।
[embedyt] https://www.youtube.com/watch?v=pDuKaZkWClA[/embedyt]
‘क्लार्क’ शृंखलातर्फ म आकर्षित हुनुको एउटा कारण चाहिँ तपाईं-हामीले सुन्ने गरेको ‘स्टकहोम सिन्ड्रोम’ पनि एक हो । क्लार्क ओलोफ्सनले भरमार बैंक डकैती गरे पनि, उसले आफ्नो सम्पर्कमा आएका कयौँ स्त्रीहरूको दुरूपयोग र खासगरी यौन शोषण गरेको भए पनि उसप्रति ती स्त्रीहरूको आकर्षण र सहानुभूति सधैँ रहिरह्यो । कसरी एउटा क्रूर व्यक्तिको क्रूरताका बाबजुद पनि कोही स्त्री उसलाई प्रेम गरिरहन सकेकी होली भन्ने आश्चर्यमाथि संसारमा धेरै अनुसन्धान भएका छन् । त्यस्ता अनुसन्धानहरू सन् ७० को दशकपछि घनीभूत भएका छन् । ती खोज अनुसन्धानले निकालेको निष्कर्षमध्ये एउटा ‘स्टकहोम सिन्ड्रोम’ पनि हो । र, त्यसमा क्लार्क ओलोफ्सनलाई उदाहरणका रूपमा उभ्याइने गरिन्छ ।
कुनै पुरूष रूपको आकर्षक छ, स्मार्ट पनि छ तर बेबकुफी र गल्तीलाई तत्काल स्वीकार गर्छ भने त्यस्ता पुरूषप्रति स्त्रीहरूको आकर्षण गहिरो हुने गर्छ । यही कुरा यो शृंखलाभरि प्रकट भइरहन्छ । आफू गल्ती गर्छ, गल्ती गरे पनि त्यो अरूको भलाईको लागि हो भन्नेमा विश्वस्त पार्छ, त्यतिमा पनि विश्वस्त हुन नसके माफी माग्छ । र, त्यो माफीलाई उसका प्रेमिकाहरूले चाँडै नै विश्वास गर्छन् ।
दर्जनौँ डकैतीमा परेको क्लार्कलाई उनीहरू अपराधी मान्न तयार हुँदैनन् । बरू उसलाई त्यसका लागि बाध्य बनाइएको वा ऊ त्यस्तो हुनुमा अरूकै प्रमुख दोष रहेको ठान्छन् ।
हुन त मनोवैज्ञानिकहरूले अपहरितहरू वा अपराधीको चङ्गुलमा फसेकाहरूको अपराधीमाथि नै गरिने विश्वास, संवेदना र सरोकारलाई सो क्रममा अपहरितहरूले भोगेको ‘ट्रमा’ मुख्य कारण मान्छन् ।
अर्कोतर्फ आकर्षणशास्त्रले भन्छ, कोही सुन्दर स्त्री या पुरूष छ भने र ऊ अपराधी हो भने पनि मान्छेहरूले तुरून्तै पत्याउँदैनन् । क्लार्कको सन्दर्भमा पनि सोही कुरा लागू हुन्छ ।
आकर्षणशास्त्रको अर्को एउटा नियमले भन्छ, यदि कसैलाई आकर्षित गर्नु छ भने कमजोर हृदय भएकाहरू छान्नू । ती कमजोरीहरू कहिले भावनात्मक हुनसक्छन्, कहिलेकाहीँ शारीरिक त कहिले सामाजिक हुनसक्छन् । जस्तोः अनाकर्षक स्त्रीलाई प्रशंसा गरेर कुनै पुरूषले चाँडै फकाउन सक्छ । अथवा, आकर्षक स्त्रीको कमजोरी पैसा वा लुगाफाटा वा गरगहना छ भने तिनको पूर्ति गरेर छट्टुले तिनलाई वशमा पार्न कुनै समय लाग्दैन । जहिले पनि अरूले कमजोरीमा खेल्ने गर्छन् । मेरो कमजोरी के हो भनेर बुझ्ने मान्छे, अरूको वशमा पर्दैन । अधिकांशतः मान्छेले आफ्नो कमजोरी बुझेका हुँदैनन् र जसले उसको कमजोरी बुझ्छन्, सकुञ्जेल शोषण गरिरहन्छन् ।
क्लार्क अरूको कमजोरीमा खेल्ने पुरूष थियो । ऊ अरूले के सोच्छन् भनेर कहिल्यै विचार पुर्याउँदैनथ्यो । उसका नजिकका स्त्रीहरू पनि केहीबेर दुःख त मान्थे तर खराब काम गरेर पाएको प्रख्यातिमा खुसी हुन्थे । आफू कुनै समय उसको नजिक थिएँ भन्ने कुरामा गर्व गर्थे । यस्तो कुरामा गर्व गर्नु पनि सम्भवतः एक किसिमको रोग हुँदो हो ।
त्यसो त क्लार्कको त्यो व्यक्तित्व त्यसै बनेको होइन । उसका जँड्याहा बाउआमा, तिनको दैनिक झैँझगडा, बाउसँग नजिकिन खोज्नु र सधैँ अपहेलित हुनु लगायतका व्यवहारबाट ऊ कति अनाशक्त थियो भने जेलमा हुँदा जब प्रहरीले उसलाई तेरो बाउ मर्यो भनेर सुनाउँछ, उसका आँखाबाट आँशु त आउँछन् तर दुःखका आउँदैनन् । उसलाई एक किसिमको सन्तोषको आँशु आउँछ ।
जब जब ऊ आफ्नो बाउ सम्झन्छ, उसलाई बाउबाट भोगेको अपमान, अभाव र अविराम कुटपिट मात्र सम्झना आउँछ । एक दिन फोटो खिच्दै गर्दा फोटोग्राफरले हाँस्नू भन्छ, क्लार्क मज्जाले हाँस्छ । उसको बाउले लबटो लाउँदै भन्छ, ‘यस्तो भद्दा तरिकाले हाँस्छस् ?’ र, जुन तस्बिर खिचिन्छ, त्यहाँ मुक्त हाँसो होइन, रून्चे हाँसो देखिन्छ ।
एक पटक बाउआमाको झगडा हुँदै गर्दा बीचमा ऊ छुट्याउन आइपुग्छ, यही क्रममा बाउको रक्सीको बोतल पोखरीमा झर्छ । बोतल झारेको निहुँमा यति भकुर्छ कि त्यसपछि बोतल ल्याउने आदेश दिन्छ । कहिल्यै नपौडेको छोरोले अन्ततः ज्यान जोखिममा राखेर बोतल ल्याइदिनु पर्छ ।
तर उसले कहिल्यै पनि आफू यस्तो पृष्ठभूमिबाट आएको सुनाउँदैन । उसले सधैँ आफू सम्पन्न परिवार, सुन्दर परिवार, मायालु बाउको कथा हालेर युवतीहरूलाई भुल्याइरहन्छ ।
शृंखलाभरि क्लार्कले कोमल तरिकाले सम्झने भनेको उसकी आमालाई मात्र हो । खासगरी जब उसकी आमा पागलखानामा लगिन्छे, त्यहाँ आमाछोराको विछोडलाई निर्देशकले निकै मिहिनेत साथ खिचेका छन् ।
कुनै युवा बिग्रन्छ भने उसको जन्मजात गुण अर्थात् जिनमा पाइने बानीबेहोराको हात कति र परिवार तथा समाजको हात कति हुन्छ भन्ने बारेमा संसारभर बहस अझै चलिरहेको छ । कसैले पनि कसको हात कति हुन्छ भनी अहिलेसम्म यकिन बताउन सकेको छैन । तर यति चाहिँ क्लार्कको सन्दर्भमा भन्न सकिन्छ, बाल्यकालमा बाउबाट भोगेको क्रूरतम व्यवहारले उसलाई सधैँ अरूको नजरमा परिरहूँ भन्ने बनायो । उसले आफ्नो आवश्यकता यति ठूलो बनायो कि त्यसलाई व्यवस्थापन गर्न बैंक नै लुट्नुपर्यो ।
क्लार्कले कयौँ बैंक लुट्यो तर उसलाई कहिल्यै अपराध महसुस भएन । बरू त्यसमा उसलाई मजा आइरह्यो । अँ, अन्य लुटेरालेझैँ उसले कहिल्यै कसैमाथि हातपात गरेन । उसले नम्र भएर आग्रह गर्थ्यो । डराएकाहरूलाई आश्वस्त पार्थ्यो । कुनै डकैत सदस्यले धम्क्याए भने पनि उसले तिनलाई हप्काएर शान्त बनाउँथ्यो । राति डर लागे, भोक लागे, उसले सबैलाई खानपिनको व्यवस्था मिलाउँथ्यो र त्यहाँबाट भाग्न तिनैको सहयोग लिन्थ्यो ।
‘क्लार्क’ शृंखलाको निष्कर्ष निकै रोचक लाग्यो । त्यहाँ भनिएको छ, उसले अरूलाई राम्रो गर्यो होला, चोट पुर्याएन होला, रमाइलोका लागि सारा उदण्ड गर्यो होला तर उसले कहिले पनि अरूका बारेमा सोचेन । उसले उसकी आमाका बारेमा सोचेन, उसले गर्भवती बनाएर छोडेकी प्रेमिकाका बारेमा सोचेन, उसले लुटेका कयौँ व्यक्ति र तिनको मानसिक दशाका बारेमा सोचेन । सधैँ आफ्ना लागि मात्र सोच्यो । आफ्ना लागि मात्र गर्यो । आफू केन्द्रित काममा ऊ सधैँ मग्न रह्यो । ऊ जेलमा हुँदा सोच्ने एउटै कुरा थियो, कसरी यहाँबाट उम्कन सकिन्छ । उम्किसकेपछि उसको एउटै मात्र ध्यान हुन्थ्यो, कसरी बैंक लुट्ने ! उसले युरोपभरका बैंक डकैती गर्यो र सधैँ एक प्रहरी उसको खोजीमा उसको खोजीमा सँगै यताउति दौडधुप गरिरह्यो ।
यस्ता व्यक्ति अध्ययनका स्रोत हुन् । तिनलाई चिन्नुपर्छ र बेलैमा चिन्नुपर्छ ।
‘क्लार्क’ शृंखलाले त्यस्ता मनोरोगीका बारेमा हँसाएरै बुझाउँछ, सिकाउँछ । अब अघिल्तिर त्यस्ता क्लार्क फेला पारे तपाईं के गर्नुहुन्छ ? तपाईं त्यस्ता व्यक्तिबाट बच्न साइड लाग्नु होला तर मैले बुझेँ, उसलाई सिधासिधा भनिदिँदा ठीक हुन्छ, ‘हे म्यान, यु आर एसहोल !’
[embedyt] https://www.youtube.com/watch?v=S9T_I5jQ24k[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।