मान्ने हो भने जिन्दगी एउटा विश्वविद्यालय हो र प्रत्येक सम्बन्ध शिक्षक ! नमान्नेलाई जिन्दगी फगत दिनगन्ती हो, जुन दिन, सप्ताह, वर्ष हुँदै शतायुमा बद्लिन्छ ।
संवेदनशील मानिसले प्रत्येक सम्बन्धलाई गम्भीरतापूवर्क लिन्छ, असंवेदनशील मानिस कुनै पनि कुरामा गम्भीर हुँदैन । तर यो नठानियोस्, असंवेदनशील मानिस हरदम, हरक्षण संवेदनाहीनता नै बाँचिरहन्छ । असंवेदनशील मानिसमा पनि त्यही भावना हुन्छ, जुन संवेदना भएकोमा हुन्छ ! मात्र कति होशपूर्वक बाँचिन्छ, त्यति मात्र फरक हो । कुनै कुराले छोएपछि को कति समयसम्म संवेदित भइरहन्छ, ऊ बढी संवेदनशील हो र जो चाँडै ‘आSS’को तहमा गएर संवेदना बिर्सन खोज्छ वा त्यसबाट आत्तिन्छ, उसले बेहोसी खोज्छ, ऊ त्यति नै असंवेदनशील ।
विजय कुमारको ‘सम्बन्धहरू’ पढ्दै गर्दा माथिका विचार कुदे । म यहाँ यस पुस्तकमाथि समीक्षा लेखिरहेको छैन, मात्र पुस्तक पढ्दा यसले जुन झन्कार छाडेर गएको छ, त्यसबारे कुरा गरिरहेको छु । समीक्षा मलाई बडो अल्छीलाग्दो लाग्छ । त्यहाँ नियम हुन्छन्, त्यहाँ कसी लगाइन्छन्, ठीक र बेठीकका कुरा हुन्छन् । मेरा लागि भने किताब दुई किसिमका हुन्छन् । पहिलो प्रकारको किताबले मान्छेको हृदय छुन्छन् र दोस्रो प्रकारका पुस्तकले छुँदैनन् । पहिलो प्रकारका पुस्तकमा प्रत्येक शब्दका अर्थ खोजिन्छ, दोस्रो प्रकारका पुस्तकमा फगत अक्षर मात्र ठडिएका हुन्छन् । पहिलो प्रकारका पुस्तकले लामो समयसम्म दिमागलाई झन्झनाहट दिन्छन्, दोस्रो प्रकारका पुस्तक पढेपछि बिर्सिइन्छ । पहिलो प्रकारका पुस्तक हृदयबाट लेखिन्छन्, दोस्रो प्रकारका पुस्तक भने दिमागले । हृदयबाट लेखिएका पुस्तकको आयु तुलनात्मक लामो समयसम्म बाँच्छन् अर्थात् तिनको झन्झनाहट केही समयसम्म रहिरहन्छ ।
प्रत्येक पुस्तकको एक किसिमको झन्झनाहट हुन्छ । फरक यति मात्र हो, त्यसले कति लामो समयसम्म झन्झनाहटले रन्थन्यायो । केही पुस्तकका केही पंक्तिले रन्थनाउँछन्, केही पूरै पुस्तकले रन्थनाउँछन् । र, हरेक पुस्तकले बेग्लाबेग्लै पाठकलाई बेग्लाबेग्लै तरिकाले रन्थनाउँछन् । कुनै पुस्तक यस्ता हुन्छन्, जसले एक समूहलाई छुँदैछुँदैन । अर्को समूहलाई त्यही पुस्तक जीवन बदल्ने किसिमको हुन्छ ।
यस हिसाबले श्रेणी छुट्याउने हो भने ‘सम्बन्धहरू’ मेरा लागि एउटा पठनीय पुस्तक हो, जसले केही दिनसम्म रमरमीमा छाडिदिन्छ । अरूका लागि यही पुस्तक विषय दोहोरिएको या खुसीकै दोस्रो भाग पनि हुनसक्छ । या, अरूका लागि यो पुस्तक केही पनि नहुन सक्छ । उनीहरूका लागि अरू नै किताब ‘प्रोफेट’ बन्न सक्छ ।
‘सम्बन्धहरू’मा पाठकले खोज्ने भनेको विजय कुमारलाई विजयी बनाउने सम्बन्ध के कस्ता थिए भन्ने हो । तर उनले यसमा सीमित अवधिमा फेला परेका केही पात्रहरूले पढाएका पाठ वा तिनले सम्झाएका विषय वा पात्रमाथिको टिप्पणी बन्न पुगेको छ । यही यसको गुण पनि हो र अवगुण पनि । गुण यस कारणले कि उनले कहिल्यै नसुनिएका नदेखिएका पात्रहरूलाई त्यागेर त्यस्ता पात्रमाथि केन्द्रित भएका छन्, जसलाई कसैले यसअघि सुने देखेको थिएन । अवगुण यस कारणले कि, उनले यसमा के-के न खुलासा गरेका होलान् भन्ने अपेक्षालाई उनले उपेक्षा गरेका छन् । मलाई भने यही कुरा मन पर्यो, उनको उपेक्षा मन पर्यो । उनले देशका ठूला नामलाई पूरै प्रतिबन्ध लगाइदिएका छन् । केही ठूला नामका प्रशंग त आउँछन् तर ती निकै अल्पसमयका लागि आउँछन् ।
मान्छेले जीवनमा जे सिक्छ, हरेक पटक नयाँ सिक्छ ? कि पुरानै कुरालाई उसले परिस्कृत रूपमा सिक्छ ? सायद परिस्कृत रूपमा सिक्छ नत्र त ‘खुसी’मा उनले प्रायः जे अनुभूत गरेका छन्, तिनै कुरा यहाँ किन दोहोरिन्छन् त ? किन दोहोरिन्छन् भने उनले त्यो बेला जे कुरा भन्न खोजेका थिए, अहिले त्यही कुरालाई सामान्य व्यक्तिहरूमार्फत् उदाहरणसहित बुझाउन सकिएला कि भन्ने सोचे ।
यो किताब पढ्दै गर्दा मेरो दिमागमा सर्रर तीन पुस्तक दौडिए । र, तीमध्ये पहिलो थियो- हरिवंश राय बच्चनको आत्मकथाको तेस्रो भाग ‘बसेरे से दूर’ । यसमा बच्चनले पुस्तक अन्त्य गर्दैगर्दा यति भावुक बनाइदिन्छन् कि पद्य यति सुमधुर र सुललित कसरी हुन सक्छ भन्ने मनमा उठिरहन्छ । त्यसमा उनले आफ्नो जन्मभूमि इलाहावादसँग बिदा माग्छन् र त्यो बिदा लगभग २० पेजसम्म लम्बिन्छ । उनले आफ्नो नौ पुस्ता बिताएको जन्मभूमिसँग बिदा माग्छन्, त्यो जमिनसँग बिदा माग्छन्, हलक्क हुर्किएका बेला बदमासी गरेका छरछिमेक, कुदे-दौडेका जमिन, पितृ भएका सम्बन्ध, हिजोसम्म यहीँ थिए र आज गायब भएका अनुहारहरू सबैसबैसँग उनले बिदा माग्छन् । आफू पढेको स्कुल-कलेज, पछि त्यही कलेजमा पढाउँदाका क्षण, तिनले निर्माण गरेका काया र बुद्धि, तिनको योगदान सबै सबै उनले सम्झिएका छन् ।
उससँग रिसाउनु त आफैँसँग रिसाउनुबराबर हुन्छ । किनभने म त्यही माटोको त थिएँ ! उसैको पानी, उसकै श्वास, उसैको स्वर र उसकै मुद्राको म छायाँ त थिएँ !
उनले लेखेका छन्ः अँ, मैले त्यही दिन त्यस जमिनसँग बिदा लिएको थिएँ, जसमा मेरो काया प्रायः आधा शताब्दीदेखि उभिएको थियो । उससित मैले कयौँ चोटि पिण्ड छुटाउने अवसर खोजेँ हुँला, त्यो बेला उपेक्षापूर्ण दृष्टिले तिनलाई हेरेँ हुँला, अवसरलाई लात हानेँ हुँला, उसका तर्फ पिठ्यूँ देखाएँ हुँला । शब्द मनुष्यका भावनाहरू अभिव्यक्त गर्न कति अपूर्ण माध्यम छ है ? म इलाहावादबाट त्यति धेरै रिसाएको थिइनँ, जति दुःखी थिएँ । उससँग रिसाउनु त आफैँसँग रिसाउनुबराबर हुन्छ । किनभने म त्यही माटोको त थिएँ ! उसैको पानी, उसकै श्वास, उसैको स्वर र उसकै मुद्राको म छायाँ त थिएँ !
यति भनेर उनले बिदा माग्छन्, ए कर्कल को माटोको मूल स्थान, मलाई बिदा देऊ ! ए रामापुरको माटो, मेरो कृतज्ञता स्वीकार गर, मलाई बिदा देऊ, तिमीबाट म अब निकै टाढा-धेरै टाढा जाँदैछु । ए भूमि मलाई बिदा देऊ । हराभरा खेती, जहाँ मैले आलीआली दौडँदा सम्हालिएर हिँडेको छु, मलाई बिदा देऊ । छेउका सन्त-महन्त मलाई बिदा देऊ !
यसरी उनले सबैसबैसँग बिदा माग्छन् ।
‘सम्बन्धहरू’ पढ्दा उनका जिन्दगीका ती सबै गुरूहरूलाई धन्यवाद दिएजस्तो लाग्यो मलाई । ती जसले सिकाए, ती जसले सिकाउन सक्थे तर सिकाएनन्, ती जो विजयसँगबाट सिके र जसले उनबाट सिक्न नचाही पिठ्यूँ फेरे, ती सबैसबैलाई उनले यही किताबमार्फत् सम्झिएका छन्, धन्यवाद दिएका छन् । यो धन्यवादले उनी अर्को यात्राको तयारीमा छन् भन्ने गहिरो महसुस गराए । यो पुस्तकमा उनले सिकेका, ग्रहण गरेका, ग्रहण गर्न नसकेका र गर्न नचाहेका अनेकन् चिजका बारेमा खुलेर पोखिएका छन् । र, शायद भनिरहेका छन्- जो मैले दिन सकेँ, त्यसका लागि धन्यवाद । जो मैले यसमार्फत् दिन सकिनँ, माफी चाहन्छु ।
विजयलाई पढ्दै गर्दा मेरो दिमागमा दौडिएको अर्को किताब थियो, ट्युस्डे विद् मोरी । अमेरिकी लेखक मिच एल्बमले जीवनको उत्तरार्धमा रहेका उनका प्राध्यापकसँग हरेक मंगलबार बिताएका क्षण, उनीसँग गरेका कुराकानी र त्यसको प्रभावका बारेमा मिहिन तरिकाले लेखेका छन् । कलेजबाट ग्य्राजुएट हुँदा मिचलाई उनका प्राध्यापक मोरीले फेरिफेरि भेट्नु है भनेका थिए तर जुन बेला उनी भेट्न तयार भएका थिए, जिन्दगीका दिव्य डेढ दशक अन्तै कतै खर्च भइसकेका थिए । जस्तो बेलामा उनले भेटेका थिए, उनी मोटर न्युरोन डिजिजका कारण साह्रै अशक्त भएका थिए । त्यस्तो अशक्ततामा पनि एउटा प्रोफेसरले आफ्नो प्यारो विद्यार्थीले अन्तिम असाइन्मेन्ट दिलाएका थिए– जिन्दगी बुझ्ने असाइन्मेन्ट ।
हरेक मंगलबार मिच मोरीसँग भेट्थे र दिमागबाहेक केही नचल्ने मोरीले उनलाई आफ्ना अनेकन् अनुभव र अनुभूति सुनाउँथे । त्यहाँ उनले सम्बन्धका कथा सुनाउँछन्, महत्त्व बुझाउँछन्, विवाह, स्वास्थ्य, बाँच्ने शैली आदिआदिबारे आफ्ना धारणा राख्छन् । जब मोरीको निधन हुन्छ, पछि त्यही भेट एउटा सुन्दर कृतिको रूप लिन्छ ।
विजय पनि सारा व्यस्तता त्यागेर काठमाडौँको दक्षिणी भेगको गुम्बामा छिर्छन् । त्यहाँ आफैँ खाना बनाउँछन्, मोबाइल र सामाजिक सञ्जालको लत त्याग्छन्, अल्छ्याइँ त्याग्छन्, खाना बनाउन सिक्छन् र पदयात्रामा निस्कन्छन् । त्यहीँ उनले सिक्छन्, साना-साना कुराको महत्त्व के हो ? गुम्बामा भेटिएकी भिक्षुणी र बाटामा भेटिएका युवासँग संवाद गर्दागर्दै उनी सारा संसारका व्यथा र खुसी उधिन्न थाल्छन् । मानौँ, ती सारा कुरा उनका लागि कसैले जिन्दगी बुझ्ने वा सम्बन्धहरू बुझ्ने असाइन्मेन्ट दिएको होओस् र त्यो पूरा गरेर एउटा असल विद्यार्थीको परिचय दिन उनी आतुर होऊन् ! यस मामिलामा उनी एउटा असल विद्यार्थी साबित भएका छन्, भलै त्यहाँ उनले लामा-लामा लेक्चर दिएका किन नहोऊन् !
यस्तोमा उनका निजी अनुभूति ‘खुसी’मा पहिले आइसकेको भन्दै केहीले आलोचना गरिरहेको भए पनि एउटा स्वतन्त्र पुस्तकको हिसाबले पढ्नेहरूलाई भने यसले न्याय गरेको छ ।
यो पुस्तक पढ्दै जाँदा मलाई दिमागमा अर्को पुस्तक झल्झली आइरह्यो, सोफीज् वर्ल्ड ! जस्टिन गार्डरको सन् १९९१ मा नर्वेली भाषामा निस्केको र १९९४ मा अंग्रेजीमा अनूदित यो उपन्यासले कसको पो मन तानेको छैन र ?
‘सम्बन्धहरू’मा कहिलेकाहीँ विजय आफैँ सोफी बनेका छन् र कहिलेकाहीँ आफैँ प्राध्यापक । प्रश्नोत्तर शैली संसारकै सबैभन्दा सजिलो र उम्दा शैली हो, जहाँ कुराहरू बुझ्न सजिलो हुन्छ । जिन्दगीका कठिन से कठिन कुराहरू पनि सरल तरिकाले व्याख्या गर्नु लेखकको सबैभन्दा ठूलो सफलता हो, सबैभन्दा अप्ठेरो कुरा पनि यही हो । ‘सोफीज् वर्ल्ड’मा लेखकले संसारका सबैभन्दा अप्ठेरा फिलोसफीका कुराहरूलाई सरलतम् भाषामा एउटी किशोरीले बुझ्ने तरिकाले अभिव्यक्त गरेका छन् । ठीक त्यही कुरा विजयले ‘सम्बन्धहरू’मार्फत् बुझाउने प्रयास गरेका छन् । यस्तोमा उनका निजी अनुभूति ‘खुसी’मा पहिले आइसकेको भन्दै केहीले आलोचना गरिरहेको भए पनि एउटा स्वतन्त्र पुस्तकको हिसाबले पढ्नेहरूलाई भने यसले न्याय गरेको छ । अघिल्लो कृतिमा उनी केही आलोचक थिए भने यसमा उनी प्रायः दृष्टा बनेका छन् ।
एउटा कृतिको सफलता भन्नु यसको भाषा हो । भाषाले तानिसकेपछि पाठक जब गुदीभित्र छिर्न थाल्छ, त्यसले उसलाई तान्यो भने भाषाप्रतिको न्याय ठहरिन्छ । कसैको भाषा मीठो हुन्छ तर भित्रको गुदी हुँदैन, कसैको गुदी राम्रो भए पनि भाषाले तान्दैन । यो समस्याबाट ‘सम्बन्धहरू’ मुक्त छ ।
समग्रमा विजय कुमारले जीवनको आधा शताब्दीमा जे जाने, बुझे, जे जति सिके, त्यो अरूलाई बाँड्न चाहे । लिने-नलिने, गुन्ने या त्याग्ने पाठकको पात्रतामा भर पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।