तारानाथ सर भौतिक शरीरमा रहनुभएन । हिजो अर्थात् मङ्गलबार बिहान ११:३० बजेतिर साहित्यकार निर्मोही व्यासबाट यो दुःखद समाचार सुन्नेबित्तिकै श्रद्धासुमन अर्पण गर्न पशुपति आर्यघाट पुगेँ । फर्किएपछि भने उहाँसँगका संस्मरणहरूमा रूमल्लिन पुगेँ ।

मेरो समकालीन मित्रहरूमा तारानाथ शर्माको नाम नसुन्ने कमै छन् होला । उहाँ नेपाली गैरआख्यान लेखनमा कुनै समय एकछत्र राज गरेका जब्बर लेखक थिए । मैले करिब पैँतिस वर्षअघि भेट्दा उनी ‘ताना शर्मा’बाट तारानाथ शर्माका रूपमा पुन: फर्किसकेका थिए । प्रखर समालोचक,  मार्क्सवादी चिन्तक,  फ्रिडियन उपन्यासकार- सरको पुरानो परिचय हो । र आक्रामक निबन्धकारबाट मिलनसार, शालीन र आदरणीय व्यक्तित्व,  सन्तुलित लेखक र अलिकति राजावादी, अलिकति प्रजातंन्त्रवादी – नँया चिनारी हो तारानाथ सरको । उहाँ दुई जना छोराको बुबा, नियात्राकार; अनुवादक; विश्व साहित्यको  विद्यार्थी;  कवि; लचिलो समालोचक; गीतकार र  मिजासिलो  निबन्धकार – मैले भेटेको र चिनेकाे तारानाथ शर्माको छोटो र मीठो परिचय यही नै हो ।

तारानाथ शर्मा

मैले भेट्दा उहाँ तत्कालीन रानी ऐश्वर्याको नेतृत्वको समाज कल्याण परिषद्मा कार्यरत् हुनुहुन्थ्याे, र रानीको नेपाली गीत र कविताहरू अङ्ग्रेजी अनुवाद पनि गर्नुभएको थियो । हुन त त्यो समय उहाँले ‘पैसा पाए जोसुकैको बारेमा लेख्न तयार छु’ भनी दिएको अभिव्यक्ति निकै विवादित पनि भएका थियो । सोही कालखण्डमा उहाँ मेरो बालाजुको डेरामा पनि आउनुभएकाे थियो । तर पञ्चायतको अवसानपछि तारानाथ सरलाई सबैले मण्डले भन्न थाले, र एक किसिमको सामाजिक बहिष्कार जस्तै भयो । त्योबेला उहाँ निक्कै निराश देखिनुहुन्थ्याे ।

सरको सरस्वती नगरस्थित घरमा म हप्तामा एकपल्ट भेट्न जान्थेँ । आर्थिक अभावले गर्दा सर फेरि विदेशै पलायन गर्नुपर्ने हो कि भन्ने मनस्थितिमा हुनुहुन्थ्यो तर देशको मायाले त्यसो गर्न पनि सकिरहुभएकाे थिएन । त्यस समय सरलाई आफू मन पर्ने पुस्तक सिक्किमका लेखक लालबहादुर बस्नेतको अङ्ग्रेजी उपन्यास His Majesty’s Paying Guest पढ्न दिएँ, जुन नेपालमा प्रतिबन्धित थियो । पुस्तक पढेपछि बस्नेतको भाषा र लेखनशैलीबाट प्रभावित भएर उहाँ आफैँले पुस्तक राख्ने विचार व्यक्त गर्नुभयो । मैले पनि सहर्ष स्वीकार गरेँ । त्यस पुस्तककाे साटो उहाले मलाई बेलायततिर बरालिँदा किनेको उपन्यास ‘लोलिता’ दिनुभयो । दुःखको कुरा, मेरो त्यो पुस्तक चोरी भयो ।

मेराे सरसँगका धेरै रमाइलो प्रशंगहरू छन् । सन् १९९२ मा तारानाथ सरले कुमार प्रधानसँग भेट्ने इच्छा राख्नुभयो । पुतलीसडकस्थित नगेन्द्र शर्मा दाइको घरमा हामी भेला भयौँ । त्यहाँ गफ गर्दागर्दै नेपाली भाषाले भारतमा संवैधानिक मान्यता पाएको खबर पायौँ । हामी खुसीले गदगद् भयौँ । उहाँहरुले दार्जीलिङमा बिताएको सृजनात्मक क्षणहरुको कुरा सुनेर म निकै प्रभावित भएका थिएँ ।

शरद् प्रधान

त्यसबखत म एक स्कुलमा कार्यरत थिएँ, र स्कुलको कार्यक्रममा सरलाई आमन्त्रण गरी रहन्थेँ । त्यही समय मेरो सम्पादनमा वि.स. २०४९ मा आस्था नामक साहित्यिक पत्रिका स्कुलबाट निकाल्ने निधो गरेँ । लेख र कविता माग्ने क्रममा पारिजात, मोहन कोइराला, मत्य्सेन्द्र प्रधान अनि तारानाथ शर्मा सरलाई पनि अनुरोध गरेँ । निक्कै कर लगाएपछि तारानाथ सरले लेख लिन घरमा बोलाउनु भयो ।  लेख हातमा परेपछि म चकित भएँ । त्यो लेख त मलाई नै सम्बोधन गरेर पो लेखेको रहेछ । लेखको शीर्षक थियो – मैले के लेख्ने ?

उक्त लेखको सुरूमा सर लेख्नुहुन्छ, “निकै दिन भइसक्यो शरद भाइ मलाई एउटा लेख मागेको मागेकै हुनुहुन्छ । मैले टार्दै आएको छु कहिले अचेल मलाई लेख्न मन लाग्दैन, कहिले म विषय नै पाउँदिन भनेर र कहिले चाहिँ लेखेरै पनि केही उपलब्धि छैन र यस समाजमा हुँदैन पनि भनेर । लेखेर के के न गर्न सकिन्छ भन्ने थियो (र छँदै छ पनि छन त !), तर यस समाजमा लेख्ने मान्छेको कुनै इज्जत छैन र, भने पनि हुन्छ कुनै अस्तित्व छैन । लेख्न छाडेर ढोका कुर्नु पर्थियो, कुरिएन । लेख्न छाडेर लात र हात बजार्नु पर्थ्यो, बार्सिलोना त जान पाइन्थ्यो । हेर्नुहोस् न, लेख्न छाडेर अड्डातिर नोकरी गर्नुपर्थ्यो, गरिएन ।” पन्ध्र सय शब्दको लेखमा करिब १० पटक शरद भाइ भनेर मलाई सम्बोधन गर्नुभएको छ । यो लेखबाट त्यसबेलाकाे सरको उदासीन मानसिकता उजागर हुन्छ । लेखेर केही हुन्न, पढेर केही हुन्न भन्ने भावमा लेखिएको यो लेख निक्कै मर्मस्पर्शी छ ।

यो लेख छापेको केही समयपछि सरले ‘The Rising Nepal’मा प्रधानसम्पादकको रूपमा नियुक्ति पाउनुभयो । उहाँ यो नियुक्तिपछि म उहाँलाई भेट्न गइरहन्थेँ, राइजिङ्ग नेपालमा । म कार्यरत स्कुलमा काम गर्ने वातावरण बिग्रिएपछि सरलाई पत्रकारिता गर्ने इच्छा जाहेर गरेँ । उहाँले राइजिङ्ग नेपालमा भन्दा ‘द काठमाडौं पोस्ट’मा काम गर्न उपयुक्त हुन्छ भनी सम्पादकलाई एउटा सिफारिस पत्र लेखिदिनुभयो, जसको आधारमा मलाई सोझै उप-सम्पादकमा नियुक्ति दिइयो । सरको कार्यकालमा राइजिङ्ग नेपालमा केही लेखहरू लेखेँ क्षद्म-नाममा, किनकि ‘द काठमाडौं पोस्ट’मा कार्यरत हुँदा अर्को पत्रिकामा लेख्न पाइँदैन थियो । कहिलेकाहीँ उहाँको अनुरोधमा राइजिङ्ग नेपालको निम्ति तत्कालै सम्पादकलाई पत्र पनि लेखेँ । एकदमै कम सम्पादकलाई पत्र आउने भएकोले कहिलेकाहीँ सर आफैँले पनि लेख्नुहुन्थ्यो ।  बाहिरबाट आएकोले होला, उहाँलाई राइजिङ्ग नेपालका सम्पादन र कार्मचारीहरूले कमै सहयोग गर्थे ।

तारानाथ सरले पूरा कार्यकाल नसकिन्दै राइजिङ्ग नेपाल छोड्नुपर्यो ।  मेरो अनुरोधमा सरले ‘द काठमाडौं पोस्ट’मा लेखहरु लेख्नुभयो । उहाँ एकदिन हतारिँदै ‘द काठमाडौं पोस्ट’मा मलाई भेट्न आउनुभयो । दिन थियो शनिबार । सरको एउटा जापानसम्बन्धी अङ्ग्रेजीमा लेखिएको लेख ‘द काठमाडौं पोस्ट’को सन्डे पोस्टमा भोलिपल्ट छाप्नु थियो । उहाँको अनुरोधलाई स्विकार्दै एउटा लेख झिकेर सरको लेख राखिदिएँ । सायद त्यो प्रायोजित लेख थियो । सरको सुन्दर हस्ताक्षरमा लेखिएको उक्त लेखको पाण्डुलिपि मसँग अहिले पनि सुरक्षित छ ।

वि.स. २०५३ मैले तारानाथ सरको जीवनी र कृतित्वलाई समेटेर एउटा लेख  द काठमाडौं पोस्ट’मा प्रकाशित गरेको थिएँ । सो लेख पढेर कामको सिलसिलामा काठमाडौं आएका एक जना अर्जेन्टिनाका लेखकले सरलाई क्षेत्रपाटीको होटेल हारातीमा भेट्न बोलाए छन् । ती लेखकसँग मेरो पनि भेट भयो त्यही होटेलमा । सरको निक्कै प्रशंसा गरे उनले ।

सन् १९९५ मा मैले सम्पादन गरेको अङ्ग्रेजी भाषाको पर्यटन पत्रिका ‘एभेरेष्ट भिजिटर’को  तारानाथ सर सल्लाहकार हुनुहुन्थ्यो । सरले लेख पनि लेख्नुभएको थियो उक्त पत्रिका ।

शङ्कर लामिछाने निबन्धकोशमा म कार्यकारी सदस्य हुँदा पुरस्कार चयन समितिमा सदस्य हुने अवसर पाएको थिएँ । हामीले सर्वसम्मतिले तारानाथ सरलाई पचास हजार रकमको पुरस्कार दिने निर्णय गरेका थियौँ । उक्त पुरस्कार होटेल शङ्करमा सरलाई प्रधान गरिएको थियो ।

सरलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति तथा उपकुलपति भएर साहित्य सेवा गर्ने ठूलो इच्छा थियो । तर सरलाई न पञ्चायती शासकले पत्याए न त्यसपछिका शासक वर्गले नै । खुलेर चाकडी गर्न नसक्नु सरको कमजोरी साबित भयो । तर सरको गरिमा नेपाल प्रज्ञा प्रतिष्ठानको कुनै पनि कुलपति वा उपकुलपति भन्दा कम छैन, बढी नै छ ।

मलाई सम्बोधन गरेर तारानाथ सरले लेखेकाे लेख